अन्य

इन्द्रदाइलाई भेट्न जाँदा

मनोज न्यौपाने ‘आदित्य’

दसैँमा घर (विराटनगर) जाने क्रममा कृसुजीले भन्नुभयो, ‘मनोजजी, तपाईं घर गएका बेला पारि पुगेर इन्द्रबहादुर राई दाइलाई भेटेर आउनुहोला । ‘आगोको मूच्र्छना’ काव्यभित्र भूमिकामा उहाँलाई राख्नुपर्यो । पाण्डुलिपि साथमा लैजान नभुल्नुहोला ।’ यो २०६१ को कुरा हो ।‘एक त म कहिल्यै दार्जिलिङ नगएको मान्छे । अर्को, न म इन्द्रदाइले चिनेकै अनुहार । काम पो होला, नहोला !’ मैले सन्देह प्रकट गरेँ  ।कृसुजीले मलाई जानका लागि जोड दिनुभयो।

मैले इन्द्रदाइसँग २०६० वैशाखमा विराटनगरमा वनिता पत्रिकाको वार्षिकोत्सवको अवसरमा आयोजित ‘लीलालेखनको २५ वर्ष’ नामक एक संगोष्ठीमा दुई दिन भेट्न र थोरै संवाद गर्न मौका पाएको थिएँ । त्यस बेला उहाँको सरल भाषामा गहनभन्दा गहन विषयलाई अथ्र्याउने सामथ्र्यले मलाई निकै लठ्याएको थियो । सन्तको जस्तो बोली र पन देखेर उहाँप्रतिको मेरो श्रद्धा अझ चुलिएको थियो । तर, त्यस सिलसिलामा उहाँसँग भेट भएजति सबैलाई उहाँले हेक्का राख्न सम्भव हुने कुरा थिएन।

दसैँ सकिएको केही दिनमै म पुगेँ धरावासी दाइकहाँ । त्यो रात उहाँकै घरमा बास बसियो। भोलिपल्ट बिहान धरावासीदाइले एउटा चिठी मेरो हातमा दिँदै भन्नुभयो, ‘यताको फोनले राम्ररी टिप्दैन । त्यसैले मैले फोनमा गर्ने कुरा यही चिठीमा लेखेको छु । तपाईंले पारि पानी ट्यांकीमा गएर फोेन गर्न नभुल्नुहोला । उहाँ जाडो छल्न सिलिगुडी झर्नुभएको पनि हुन सक्छ । झर्नुभएको भए तपाईंको बाटो छोटियो । दार्जिलिङमै हुनुहुँदो रहेछ भने घुम्न पनि पाउनुभयो।’

अन्तर्वार्ताकारले टिप्पणी गरे छन्, ‘उनको जति कथा हुन्छ, त्यसबाहेक केही हुन्न । गहिरिएर खोज्ने कुरै हुन्न । अर्थ खोज्नुपर्ने केही हुन्न । अनि के लेख्नू ?’ यो पढेपछि इन्द्रदाइ लेखनमा गहनता चाहिने रहेछ भन्ने ठम्याइमा पुग्नुभएछ।

‘अन्तै जानुभएको रहेछ भने नि !’ मैले सम्भावित समस्या औल्याएँ ।‘त्यस्तो अप्ठेरो परे फर्केर यतै आउनुस् । पाण्डुलिपि पनि यतै छोड्दिनुस् । म कसै न कसैको हात उहाँ पुर्‍याइदिउँला ।’तर त्यस्तो अप्ठेरो आइपरेन । पानीट्यांकी पुगेर फोन गर्दा इन्द्रदाइले नै फोन उठाउनुभयो र भन्नुभयो, ‘म घरमै हुन्छु । कहिलेकाहीँ बाटोमा गाडी बिग्रिएर अप्ठेरो पार्छ । आउन ढिला नगर्नुहोला।’

कतै अलमल नगरी म दाइकोमा पुग्दा नेपाली समयअनुसार दिनको २ः३५ बजेको थियो । दाइको घर खोज्न पनि कुनै अप्ठेरो परेन । मैले बन्दोबस्त गरेको होटेलको कर्मचारीले इन्द्रदाइको घरतिरै जाने एक सज्जन मान्छे पनि भेटाइदियो । दाइकहाँ पुगेपछि मैले उहाँलार्ई धरावासी दाइले लेखेको खामबन्दी चिठी र ‘आगोको मूच्र्छना’को पाण्डुलिपि दिएँ।

उहाँले नेपालतिर लेखिँदै गरेका नयाँ कृति, हुँदै गरेका साहित्यिक गतिविधिबारे सोध्नुभयो। यस्तै कुराका बीचमा भाउजूले चिया खाजा ल्याएर दिनुभयो । म खाजा खान थालेँ । दाइ मनमनै धरावासी दाइको चिठी पढ्न थाल्नुभयो । चिठी पढिसकेपछि भन्नुभयो, ‘म भूमिका धरावासी हात पठाइदिन्छु । यस कृतिबारे केही भन्नुपर्ने छ भने भन्नुस्।’

‘यो काव्यमा हामी तीनजना म, कृसु क्षेत्री र चेतनाथ धमला एक भएका छौँ । यसमा कुन हरफ कसको छुट्याइएको छैन । कतै एउटाले लेखेको पंक्तिको माथि अर्काेले केही पंक्ति थपेका छाँै । कतै मुनि थपेका छौँ । कतै चित्त बुझ्दो भएन भनेर सहमतिमा झिकेका छौँ । यसका सबै पंक्ति हामी तिनै जनाका हुन् ।’उहाँले पाण्डुलिपि पल्टाउँदै खुसी व्यक्त गर्नुभयो।

कलेजको कक्षा छोडीछोडी कलेजकै पुस्तकालयमा गएर उहाँका कथा पढेका प्रसंगदेखि स्कुलको पाठ्यपुस्तकमा भएका उहाँका कथा विद्यार्थीलाई पढाएका प्रसंगसम्म मैले उहाँलाई सुनाएँ । आफूले नबुझेका आयाम र लीलाका धेरै कुरा बुझ्न पाएँ । लगभग तीन घन्टा कुराकानी गर्दा उहाँले आयामेली आन्दोलन जन्मको प्रेरणादायी प्रसंग पनि सुनाउनुभयो।
एउटा पुस्तकालयमा उहाँले समरसेट ममका कथाको तीनवटा ठेली पढेपछि त्यसको प्रभावमा २०–२२ दिनमा बीसवटा कथा लेख्नुभएछ । ‘विपना कतिपय’मा तिनै कथा संग्रहित रहेछन् । पछि समरसेट ममको अन्तर्वार्ता कतै पढ्नुभएछ।

त्यहाँ अन्तर्वार्ताकारसँग ममले ‘मैले त्यति धेरै किताब लेखेँ । नोबेल पुरस्कार पाएँ । तर हेमिङ्वे, फकनर र लरेन्सका बारेमा ठेलीका ठेली लेख्ने समालोचकले मेराबारे खासै लेखेका छैनन्’ भनेर गुुनासो व्यक्त गरेका रहेछन् । अन्तर्वार्ताकारले टिप्पणी गरे छन्, ‘उनको जति कथा हुन्छ, त्यसबाहेक केही हुन्न । गहिरिएर खोज्ने कुरै हुन्न । अर्थ खोज्नुपर्ने केही हुन्न । अनि के लेख्नू ?’

यो पढेपछि इन्द्रदाइ लेखनमा गहनता चाहिने रहेछ भन्ने ठम्याइमा पुग्नुभएछ । र, नयाँ बाटो खोजीमा लाग्नुभएछ । यही खोजीका क्रममा इलियटले ‘वेन जोन्सनका नाटकमा जति पात्र छन्, तिनको चरित्र चित्रणमा तेस्रो आयाम छैन’ भन्ने टिप्पणी छ भन्ने वैरागी काइँलाले सुनाएपछि उहाँले खोजेको बाटो फेला पार्न सजिलो भएछ । यही तेस्रो आयामको नामका पत्रिका निकालेर उहाँहरूले नेपाली साहित्यका नौलो आयाम थप्ने काम गर्नुभएको रहेछ।

भोलिपल्ट थोरबहुत दार्जिलिङ घुमेर म बिदा हुन आएँ दाइकोमा । उहाँ पनि बाहिर निस्कन लाग्नुभएको रहेछ । म सँगसँगै ट्याक्सी स्टेन्डसम्म आउनुभयो । एक पाकेट भुजिया, एक पाकेट बिस्कुट र आधा केजी स्याउ किन्नुभयो । मैले पैसा दिन खोजेँ । मान्नुभएन र त्यो सामान पनि मलाई नै दिनुभयो । मैले लिन मानिनँ । मैले भने, ‘हजुर बुवातुल्य मान्छे, मैले यो लिन मिल्दैन।’

पसलेलाई पैसा दिँदा उसले पनि पैसा लिन मानेन । ऊ पनि इन्द्रदाइतिरै लागेर भन्यो, ‘हजुर हाम्रो पाहुना । पाहुनासँग पैसा लिन मिल्दैन ।’इन्द्रदाइले मेरै बोली पक्रेर भन्नुभयो, ‘बुवातुल्य भनिहाल्नुभयो । अब बुवाले दिएको लिन्न भन्न मिल्दैन । बाटो लामो छ । एक्लै हुनुहुन्छ । कुरा गर्न साथी छैनन् । पट्यार लाग्ला । खाँदै जानुस्।’

जब उहाँले आगोको मूच्र्छनामाथि लेखिदिएको भूमिका हात प¥यो, हाम्रो खुसीको सीमा रहेन । सबैले इन्द्रदाइको भूमिकाले हाम्रो काव्यलाई अर्थवन्त बनाएको टिप्पणी गरे ।विलयन लेखनका सम्बन्धका सबै कुरामा हामीले छलफल गर्ने एक व्यक्तित्व हुनुहुन्थ्यो अभि सुवेदीदाइ । प्रेसबाट छापिनासाथ हामीलाई उहाँलाई तात्तातै किताब पुर्‍यायौँ । अभिदाइले भन्नुभयो, ‘यो तिमीहरूले साह्रै ठीक काम ग¥यौ । इन्द्र दाजुको भूमिका पाउनु धेरै राम्रो कुरा हो।’

बीपी कोइराला फाउन्डेसनले आयोजना गरेको नेपाल—भारत लेखक सम्मेलन, जुन पार्क भिलेज, काठमाडौंमा भएको थियो । त्यसमा भाग लिन इन्द्रदाइ भारतको प्रतिनिधित्व गर्दै आउनुभएको थियो । भेटमा उहाँले भन्नुभयो, ‘तपाईंहरूले मलाई पाण्डुलिपि दिँदा विलयन लेखनबारे केही भन्नुभएन । मैले विलयनबारे लेख्नै पुगेको छैन । अभिले साह्रै राम्रो नाम जुराइदिनुभएछ । राम्रो लाग्यो।’

पछि कुमार आलेको मुस्कान फोटो प्रदर्शनीमा भएको भेटमा उहाँले सोध्नुभयो, ‘विलयनको कुनै नयाँ कृति पढ्न पाएको छैन । केही छन् भने दिनुहोला । निस्कनेवाला छ भने म उता हुन्छु । धरावासीलाई दिनुभयो भने पाउनेछु।’

त्यसपछि वैरागी काइँला दाइको घरमा भएको भेटमा उहाँसँग केही लामो संवाद गर्ने मौका मिल्यो । त्यसबेला उहाँले भन्नुभयो, ‘विभिन्न पुस्तक पढ्दा विलयनका धेरै अर्थ भेटेको छु। यसले समेट्ने क्षेत्र अथाह छ । यसमाथि तपाईंहरूले चिन्तन र सिर्जना गर्न नछोड्नुहोला।’
अब इन्द्र दाइलाई केही सोध्न जाने ठाउँ छैन, उहाँ यस धर्तीमा हुनुहुन्न । यतिबेला विलयन लेखनबारे थप बुझ्न फेरि इन्द्रदाइकहाँ नगएकामा मलाई पछुतो छ।

प्रकाशित: १७ चैत्र २०७४ ००:५५ शनिबार

इन्द्रदाइलाई भेट्न जाँदा