अन्य

अभिनेत्री शिल्पालाई के मन पर्छ?

नेपाली चलचित्रकी लोकप्रिय अभिनेत्री हुन्– शिल्पा पोखरेल । उनले आफूलाई जीवनमा  प्रिय लाग्ने चीजवस्तुका बारेमा नागरिक परिवारलाई यसरी बताएकी छन् ।

मन पर्ने देश 
देशमा नेपाल नै मलाई प्रिय लाग्छ, म विदेश पनि गएकी छु  । जहाँ गए पनि, जहाँ रमाए पनि आफ्नो देशमा जस्तो आत्मीयता पाइन, खुलेर बोल्न पनि पाइन  । नेपालीमा आत्मीयता छ, सहयोगी भावना छ । जहाँ गए पनि नेपाल नै प्रिय लाग्छ, सुन्दर लाग्छ ।  

नेता 
नेताहरुमा मलाई सबै नेता प्रिय नै लाग्छन्  । सबैले  देशलाई माया गर्छन्  । अझ मलाई पछिल्लो समय अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रिय लाग्छन् । उनी देशका बारेमा केही गरौं भनेर लागी परेका छन् ।  

उपन्यास 
‘चिना हराएको मान्छे’ मलाई धेरै मन पर्ने उपन्यास हो । वरिष्ठ हास्यकलाकार तथा लेखक हरिवंश आचार्यले लेखेको यो उपन्यास जति पढे पनि पढौं–पढांै लाग्छ । वास्तविक जीवनमा मेल खाएको अनुभूति यसले गराउँछ  । यो उपन्यास ‘चिना हराएको मान्छे’ भर्खरै मात्र पढेर सिध्याएँ । म जति पढ्दै जान्छु कता–कता हराएको आभास गरायो । जति–जति पढ्दै गयो उति म आफँै यो पात्र हो कि भन्ने फिल भयो । त्यसैले मलाई यो उपन्यास एकदमै मन परेको हो । 

भेट्न चाहेको व्यक्ति तर नभेटेको 
मलाई अमिताभ बच्चन भेट्न मन लागेको छ । उनी जवानीदेखि बुढेसकालसम्म पनि उस्तै अभिनय गर्छन्  । मलाई उनको अभिनय एकदमै मन पर्छ । उनलाई सधैँ भेट्न पाए हुन्थ्यो जस्तो लाग्छ । 

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई छविराज ओझा, पुष्प खड्का र नवल नेपालसँग  भेटिरहन मन लाग्छ  । चलचित्रको भएर होइन, पर्सनल लाइफमा धेरै सपोर्ट गर्ने मान्छे । उनीहरु ३ जनालाई सधैँ भेटिरहन मन लाग्छ  । 

साहित्यकारमा 
लक्ष्मीप्रसाद देवकोटा । उनले लेखेको मुनामदन एकदमै मन पर्छ । सानामा स्कुलमा सरले यो कविता कन्ठ गर भन्नु भएको थियो त्यसैले यो कहिलै बिर्सन्न ।

घुम्न मन लागेको ठाउँ 
दार्जिलिङ, सिक्किम मलाई एकदमै घुम्न मन पर्छ । यो ठाउँमा पहिलोपटक गएकी थिएँ ।

मन पर्ने कलाकार 
नम्रता श्रेष्ठ मलाई धेरै मन पर्ने कलाकार हुन् । उनले गरेको अभिनय मलाई रियलजस्तो लाग्छ  । नम्रताले एक्टिङ गरेको हो जस्तो फिल नै हुँदैन ।

चरित्र अभिनेता 
मलाई चरित्र अभिनेतामा निर शाह एकदमै मन पर्छ । 

चरित्र अभिनेत्री 
यसमा  मिथिला शर्मा एकदमै मन पर्छ । 

सौन्दर्य सामग्री 
लरियल र म्याक प्रयोग गरिरहेकी छु । 

सपिङ 
मैतिदेवीमा रहेको इद्रास कलेक्सन, यहाँ नै जान्छु । पार्टीमा जाँदा होस् या प्रिमियरमा जाँदा होस् तपाईंलाई यो सुहाउँछ भनेर मिलाएर दिनु हुन्छ । 

ब्याग 
मैले जाराको बोकिरहेकी हुन्छु ।  म प्रायः एउटै ब्याग वर्ष दिनभन्दा बढी बोक्छु । यो ब्यागमा सबै सामान मिलाएर राखेकी छु । ब्याग फेरिरहन मन लाग्दैन । 

सवारी साधन 
मेलै भर्खरै कार किनेकी छु । लामो दूरीमा हिँड्दा कार नै  प्रिय लाग्छ  । काठमाडौंमा स्कुटर । जाममा पनि स्कुटर दौडाउन सकिने भएर पनि स्कुटर मन पर्छ । 

चलचित्र 
मैले सानोमा ममीसँग हलमा गएर पहिलो चोटी हेरेको चलचित्र ‘दर्पण छायाँ’ हो त्यसैले यो मलाई धेरै मन पर्छ । त्यो फिल्ममा मैले डाइलगको त्यति याद गरिन । त्यो फिल्म चलिरहँदा ममी रुनु भएको थियो । म फिल्म हेर्नभन्दा पनि ममी रोएको हेरेर बसेकी थिएँ । त्यसैले यो फिल्म मलाई मन पर्छ । प्रस्तुति: भोला अधिकारी  

नागरिक परिवार