अन्य

एक्काइसौं शताब्दीमा भगवान् रामको सान्दर्भिकता

हामी धेरैलाई भगवान् रामको कथाबारे थाहा छ । रामायणमा  राम र सीताको विवाह, वनबास जाँदाको अवस्था, राम र लक्ष्मणको भ्रातृत्व र लंकासँग भएको युद्ध आदिबारे लामो व्याख्या गरिएको छ । सँगै भगवान्मा रामको गुणको पनि चर्चा गरिएको छ । हामीले यस लेखमा भगवान् रामको गुणबारे चर्चा गर्छाौ र आजको युगमा भगवान् रामको सान्दर्भिकता कति छ भन्ने पनि चर्चा गर्छौं ।

कुनै व्यक्तिमा भएको व्यक्तित्व अगाडि ल्याउने उसको गुण र क्षमताले मात्र हो । भगवान् राम त्यतिबेला जति सान्दर्भिक हुनुहुन्थ्यो आज त्योभन्दा बढी सान्दर्भिक हुनुहुन्छ । उहाँको सान्दर्भिकता बढ्दै गएको छ । मनुष्यको गुणको आवश्यकता जति–जति समय बित्दै गयो त्यति–त्यति बढ्दै गएको छ । यस्ता महापुरुषहरु हजारौं वर्षभन्दा पहिले जन्मन्छन् । त्यस कारणले अरू सामाजिक आँखाले हेरेर यिनलाई चिन्न पनि गाह्रो हुन्छ । समाज त्यहाँ पुगिसकेकै हुँदैन, जहाँ यिनीहरु हुन्छन् । सामान्य मनुष्यको सोच्न सक्ने दायरा सानो हुन्छ । मानिस सर्वशक्तिमान् र पुज्य बन्ने उसको गुणले हो । यस लेखमा भगवान् रामको गुणगानबारे चर्चा गर्छांै । यस्ता गुण जसको सान्दर्भिकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि उत्तिकै रहनेछ ।

आज्ञाकारिता वा मर्यादा
भगवान् राम मर्यादा पुरुष भनी चिरपरिचित हुनुहुन्थ्यो । भगवान् राम बढी आज्ञाकारी हुनुहुन्थ्यो । जब भगवान् राम वनबास जानुपर्ने भयो । उहाँ बुबाको आज्ञा मानेर वनबास जान तयार हुनुभयो । उहाँले चाहेको भए जान्न भन्न सक्नुहुन्थ्यो झगडा गर्न सक्नुहुन्थ्यो । तर उहाँले बाबुको आज्ञाको शिरोपर गरी वनबास प्रस्थान गर्नुभयो । उहाँमा स्वअनुशासन थियो, यो स्वअनुशासन गहिरो आत्मविश्वासबाट जन्मिन्छ । भगवान् रामलाई वनबास जानु कुनै पनि आपत्तिको विषय रहेन किनभने उहाँलाई वन बस्नु र दरबार बस्नुमा कुनै फरक थिएन । 

उहाँलाई मनको विराटताबारे अथाह ज्ञान थियो । क्षणभंगुर सुखसयलमा उहाँको मन थिएन । जीवनमा म जे गर्न चाहन्छु जंगलमा बसेर पनि गर्न सक्छु भन्ने आत्मविश्वास उहाँमा थियो । यो देखाउनकै लागि भएको आज्ञाकारिता होइन यो सानोतिनो आत्मविश्वासले हुने कुरा होइन, आज्ञाकारिताको पराकाष्ठामा पुगेपछि मात्रै हुने कुरा हो । आफ्नो अनुशासनमा बाँचेको व्यक्तिले मात्रै गर्न सक्छ । आज्ञाकारिताका लागि  गहनतम आत्मविश्वास हुन जरुरी छ । जुन राममा थियो ।

साहस वा सुरवीर
रामायणमा राक्षसहरु मरेको कथा आउँछ । त्यो राक्षस भनेको मान्छे मरेको होइन त्यो त व्यक्तिभित्रको नकारात्मक गुण मारेको भनेको हो ।  पुराणमा प्रतिकात्मक शैली हो । जस्तै कसैले तिम्रो अनुहार चन्द्रमा भन्दा पनि राम्रो भनेको हुन्छ । के चन्द्रमासँग तुलना गरेको हो र ? कुनै खोज गरेर पनि कसैलाई राम्रो भनिँदैन त्यो त प्रेममा राम्रो भनिएको हो । यस्ता प्रेमको शब्दलाई विज्ञान वा गणितका सूत्रमा ढाल्न हुँदैन । पुराणहरु सबै काव्यहरु हुन् ।

भगवान् रामको सानै उमेरमा देखिएको जुन निडरपन छ त्यसले के जनाउँछ भने उहाँको आत्मबोध गहिरो देखिन्छ । उहाँले त्यो आत्मबोध बाल्यकालदेखि नै लिएर जन्मनुभएको थियो । उहाँमा बढी सुरवीर भएको देखिन्छ । उहाँमा साहस वनबास जाँदाकै अवस्थामा पनि देखिन्छ, युद्धकै अवस्थामा पनि देखिन्छ । त्यसकारण उहाँले युद्धमा बानर, लोखर्केलाई पनि सामेल गराउनुभयो । भगवान् रामलाई हार्छु कि भन्ने संशय नै थिएन । उहाँमा पूर्ण आत्मविश्वास थियो । 

जब भगवान् राम र राक्षस रावणको आमुन्नेसामुन्ने भेट हुन्छ । राम र लक्ष्मणले खराउ लगाएर आएको देखेर भन्छन्, ‘जाउ तिमीहरु मसँग लडाइँ लड्न सक्दैनांै, तिमीहरुलाई प्राण दान दिएँ ।’ त्यसपछि भगवान् राम भन्नुहुन्छ, ‘हे रावण ! म शस्त्रअस्त्रमा विश्वास गर्दिन, त्यसरी युद्ध जितिन्छ जस्तो पनि लाग्दैन । जे काम हुन्छ त्यो आफूभित्रको सौर्य र धैर्यबाट मात्र हुन्छ भन्ने लाग्छ जुन मसँग छ ।’ सौर्य भनेको जीवनको प्रकाण्ड ज्योति, बलेको ज्योति । त्यसलाई उहाँले दुरुपयोग पनि गर्नुभएन । 

आजको मनुष्यसँग दुई गुण बलवान् र धैर्यवान्मा एउटा मात्र गुण छ तर भगवान् राममा दुवै गुण थिए । यी दुवै गुण भएपछि केहीमा हारिन्न । हार्न त अस्थिर मानसिकताले हार्छ, ऐश्वर्यले जहिल्यै जित्छ । गरिबीले हार्छ, अध्यात्मको भाषामा गरिबी भनेको आफूसँग भएकोले पुग्दैन भन्ने सोच गरिबी हो । आफूसँग भएकोले पुग्छ भन्नु नै ऐश्वर्य हो । यो सोच भगवान् राममा थियो । 

प्रेम
सीता मातालाई भेटेपछि उहाँ गहिरो प्रेममा पर्नुभयो । कसरी गहिरो प्रेममा पर्नुभयो भन्ने कुरा रामायणमा छ । प्रेममा समर्पित हुने गुण भगवान् राममा थियो । मानिसले प्रेममा आफूलाई बचाउँछ । सम्झौता अथवा बार्गेनिङको बाटो खोज्छ । भगवान् रामको जीवनमा त्यस्तो थिएन ।

भगवान् राम र सीता माताको गहिरो प्रेम थियो । देख्दा मात्रै दुई शरीर, उहाँहरुको चेतना एउटै थियो । यस अर्थमा यो प्रष्ट हुन्छ—श्रीमान् जंगल जान्छुभन्दा खुरुखुरु आफू पनि पछि लाग्नू । उहाँहरुको प्रेममा कुनै किसिमको कमी थिएन । त्यसैको पराकाष्ठा हामी कहाँ देख्छौं भने धोवीले रामलाई सीतामाथि औंला उठायो । सीतालाई अग्निपरीक्षा दिन लगाइयो उहाँ सहजै स्विकार्नु भयो । रामलाई प्रतिप्रश्न गर्नुभएन । राम र सीतामा एकअर्कामा धेरै नै विश्वास थियो । 

त्यतिबेला लङका जितेर आएपछि अयोध्या भगवान् रामको राज्य भयो । उनले जनताको कुरा सुन्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसकारण सीता मातामाथि विश्वास हुँदाहुँदै पनि अग्निपरीक्षा दिन लगाउनुभयो । अहिले राजनीति गर्नेहरुले जनताको मनोभावना बुझ्ने काम गरेका छैनन् । यसबाट के सिकिन्छ भने शाषक भएपछि विश्वासै भएको कुरा पनि जनताको माग भएपछि मागअनुसार चल्नुपर्दाे रहेछ भन्ने बुझाउँछ । यो धेरै ठूलो सन्देश हो । 

विनम्रता   
भगवान् राममा भएको अर्काे गुण भनेको विनम्रता हो । आफ्नै कान्छी आमाको कारणबाट वनबास जान बाध्य हुँदा पनि भगवान् रामले तिक्तताको एक वचन बोेल्नुभएन । भगवान् रामको जीवनमा मिठासबाहेक केही पनि छैन । त्यो हदसम्मको विम्रता जो कोहीमा भेटिन्न । कोही अरूले दबाएर विनम्र हुन सक्छन् कोहीमा आफैंमा विनम्रता आउँछ । भगवान् रामले आफूलाई चिनेर विनम्रता ल्याउनुभएको हो ।  यस्तो विनम्रता जस्तोसुकै अवस्थामा पनि हुन्छ ।  

सहकार्यता
भगवान् राममा सहकार्यता गर्ने, अरूको सम्मान गर्ने क्षमता थियो । जंगलमा रहँदा पनि सबैसँग सहकार्य गर्नुभयो । आजको भाषामा भन्ने हो भने उहाँमा कुशल व्यवस्थापकमा हुनुपर्ने गुण,  असल नेतामा हुनपर्ने गुण, सबैलाई मिलाउने गुण आदि थियो । 

हामी आज आ–आफ्नो स्वार्थका लागि लडिरहेका छौं । हामीलाई थाहा छ— पृथ्वी एक छ, हावा एक छ, सूर्य एक छ, मनुष्यता एक छ । सबैको शरीरबाट रगत रातै आउँछ । आजको अवस्थामा पनि भगवान् रामको गुणलाई सम्झेनांै भने कहिले सम्झिने ? 

आजको युगमा प्रायः मानिसमा लोभ, मोह, ईष्र्या, घमण्ड आदि बढ्दै गएको छ । सदाचारका गुण नासिँदै गएका छन्, भगवान् रामका सदाचारका गुणहरू आजको जीवनमा धेरै महत्वपूर्ण छन् । सबैलाई जानकारी होस् ।(शर्मा पोखरा विश्वविद्यालयका प्राध्यापक एवं जीवन विकास विशेषज्ञ हुन् ।)

प्रकाशित: ११ चैत्र २०७४ १२:१६ आइतबार

नागरिक परिवार