अन्य

थोरै लगानीमा धेरै आम्दानी

–नेत्रकुमार श्रेष्ठ, स्किम म्यानेजर, ग्लोबल आईएमई सम्मुनत योजना–१

म्युचुअल फन्ड भनेको के हो ?

सामूहिक लगानी कोष (म्युचुअल फन्ड) भनेको विभिन्न व्यक्ति वा संस्थाबाट सामूहिक लगानी गरेर जम्मा गरेको रकम हो । सानासाना लगानीबाट संकलित रकमको कोष नै म्युचुअल फन्ड हो । यसको व्यवस्थापन र सञ्चालन फन्ड म्यानेजरले गर्छ । म्युचुअल फन्डको  योजना व्यवस्थापकले आफ्नो जिम्मामा लिएको हुन्छ । फन्डमा जम्मा भएको रकम लगानी गरिन्छ र प्राप्त भएको प्रतिफल लगानीकर्तालाई समानुपातिक तवरले वितरण गरिन्छ । यस फन्डलाई इन्भेस्टमेन्ट भेइकल पनि भनिन्छ । यो कोषमा जम्मा भएको रकम धितोपत्र, ऋणपत्र, ट्रेजरी बिल, मुद्रा बजार उपकरण, बैंक निक्षेप तथा अन्य उपकरणमा लगानी गरिन्छ ।

लगानी गर्ने प्रक्रिया

कुनै पनि कम्पनीको सेयरमा लगानी गर्ने प्रक्रिया र म्युचुअल फन्डमा लगानी गर्ने प्रक्रिया करिब एउटै प्रकृतिको हुन्छ  । फन्डमा पैसा जम्मा गर्नका लागि सर्वप्रथम बैंक खाता खोल्नु पर्छ । त्यसपछि मर्चेन्ट बैंकमा डिम्याट खाता खोल्नु पर्छ । दोस्रो बजारमा म्युचुअल फन्डको कारोबार गर्न ब्रोकरकोमा ट्रेडिङ्ग खाता खोल्नु पर्छ । म्युचुअल फन्डले सुरुमा स्किम जारी गर्छ । जसलाई साधरण भाषामा सेयर जारी गर्ने पनि भनिन्छ । सुरुमा स्किम जारी गर्दा प्रतिइकाई  सेयरको मूल्य १० रुपैयाँ पर्छ । फन्डसम्बन्धी जानकारी आवेदन  पत्रमा उल्लेख गरिएको हुन्छ । खुला तथा बन्द हुने मिति, आवेदन दिनुपर्ने न्यूनतम तथा अधिकतम एकाई संख्यालगायत विवरण पत्रमा दिइएको हुन्छ । नेपालमा लगानीकर्ताले कम्तीमा सय कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । सय कित्ताभन्दा कम आवेदन दिन नपाइने प्रावधान छ । प्रतिइकाई १० रुपैयाँको दरले एक हजार लगानी गर्नुपर्ने हुन्छ । सेयर जारी गरिसकेपछि फन्डमा पैसा जम्मा हुन्छ । पैसा जम्मा भएपछि सामूहिक लगानी कोषको सेयर नेप्सेमा १० रुपैयाँप्रति इकाईमा सूचीकृत हुन्छ । त्यसपश्चात् लगानी कोषको फर्मेसनअनुसार दोस्रो बजारमा यसको इकाई मूल्य उतार चढाव हुन्छ । बजारको भाउ बमोजिम कारोबार हुन्छ । कोषले राम्रो गर्दै गएको खण्डमा यसको प्रति इकाई मूल्य बढ्दै जान्छ भने नराम्रो भएको खण्डमा प्रति इकाई घट्दै जान्छ  ।

घाटा र नाफाको भागेदार लगानीकर्ता

सेयर बजारको घटबढले म्युचुअल फन्डको खुद सम्पति मूल्यमा घटबढ हुन्छ । लगानी गरेको कम्पनी फाइदामा गयो भने फन्ड पनि नाफामा जान्छ र प्रतिफल आउँछ । फन्डले रकम लगानी गरेको कम्पनी घाटामा गयो भने फन्डको रकम पनि घाटामा जान्छ । प्रति इकाई १० रुपैयाँमा किनेको फन्डको मूल्य घटेर १० भन्दा कम पनि हुन सक्छ तर त्यही १० रुपैयाँको सेयरको मूल्य बढेर १५ रुपैयाँ पनि हुन सक्छ । त्यसैले घाटा वा नाफाको भागेदार लगानीकर्ता नै हुन्छ । प्रतिफल आयो भने लाभांश पनि लगानीकर्ताले नै लिने हो । लगानी गरेको कम्पनी घाटामा गए घाटा पनि लगानीकर्ताले बेहोर्नु पर्छ  ।

थोरै पूँजी भएकाले पनि कोषमा लगानी गर्न पाउनु म्युचुअल फन्डकोे विशेषता हो । न्यूनतम एक हजारबाट पनि लगानी गर्न सकिन्छ । त्यसैले अत्यन्तै कम आम्दानी हुनेले पनि म्युचुअल फन्डमा लगानी गरेर पैसा कमाउन सकिन्छ । सेयर बजारको बारेमा जानकारी नभएका लगानीकर्ताका लागि यो भरपर्दो लगानीको माध्यम हो । 

¬फन्डबाट संकलित रकम फन्ड म्यानेजर¬ले विभिन्न ठाउँमा लगानी गर्छ र प्राप्त लाभांश सेयर लगानीकर्तालाई बाँड्छ । कोषको सञ्चालन दक्ष व्यवस्थापकद्वारा गरिने भएकाले जोखिम कम हुन्छ । 

क्यापिटल बैँकमार्फत् फन्ड जम्मा हुन्छ 

फन्डको स्थापना तथा कारोबारका लागि धितोपत्र बोर्डबाट स्वीकृति लिनु पर्छ । कुनै पनि बैंकले सोही बैंकको क्यापिटलमार्फत् बैंकको प्रवद्र्धनमा फन्डको स्थापना गरेको हुन्छ । फन्डले नै प्रतिफलका लागि विभिन्न ठाउँमा लगानी गर्छ । उदाहरणका लागि, ग्लोबल आइएमई बैंकले उसको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा ग्लोबल आइएमई समुन्नत योजना १ सुरु गरेको छ ।  

नेपालमा मर्चेन्ट बैंकले नै म्युचुअल फन्डको स्थापना गर्नेदेखि लिएर फन्ड कलेक्सन गर्न पाउने कानुनी व्यवस्था छ । सामान्यतः नेपालमा दुई प्रकारका बैंक छन्ः एउटा परम्परागत बैंक अर्को क्यापिटल बैंक । क्यापिटल बैंकमा पनि इन्भेस्टमेन्ट र मर्चेन्ट डिपार्टमेन्ट हुन्छ । इन्भेस्टमेन्ट डिपार्टको पाटोले पुँजी इन्भेस्ट गर्ने कार्य गर्छ । सेयर जारी गर्नेदेखि लिएर सेयरको सम्पूर्ण प्रक्रिया पूरा गर्ने काम मर्चेन्ट डिपार्टले गर्छ भने संकलित पुँजीको लगानी गर्ने लगायतको पाटो इन्भेस्मेन्टले गर्छ । नेपालमा २३ वटा क्यापिटल बैंक छन् । जसले म्युचुअल फन्डको स्थापना गर्न सक्छन् तर १३ वटा मात्रै म्युचुअल फन्ड स्थापना भएका छन् । बैंकले म्युचुअल फन्डको सेयर जारी गर्ने काम गर्छन्, जसलाई ‘स्पोन्सर’ गर्ने भनिन्छ । भने फन्डको म्यानेज र डिपोजिट गर्ने काम क्यापिटलले गर्छन् । 

दुई किसिमका बजार 

पुँजीबजार दुई प्रकारमा वर्गीकरण गरिएको छ, प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कुनै धितोपत्रलाई पहिलो पटक सर्वसाधारणको लागि जारी गर्नुपूर्व सूचना दिएर वितर¬ण गरिन्छ । यसरी जारी गरिएको सेयर सामान्यतः प्रतिकित्ता सय रुपैयाँमा अंकित हुन्छ भने सामूहिक लगानी कोषको हकमा भने प्रतिएकाई १० रुपैयाँमा अंकित हुन्छ । म्युचुअल फन्डले पहिलो पटक जारी गरेको सेयरको खरिद गरेर सर्वसाधारणले फन्डमा रकम जम्मा गर्न सक्छन् । प्राथमिक बजारमा वितरण गरिएको धितोपत्रलाई निश्चित समयभित्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिन्छ । यसरी सूचीकृत भएको धितोप¬त्रलाई सर्वसाधारणले दलालमार्फत दोस्रो बजारमा किनबेच गर्न सक्छन् ।¬ दोस्रो बजारमा कारोबार गर्दा घाटा वा नाफा पनि हुन्छ । 

नेपालमा बन्द फन्ड मात्रै

म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्ः खुलामुखी कोष (फन्ड)र बन्दमुखी कोष (फन्ड) ।

खुल्लामुखी कोष भनेको जुन समयमा पनि किनबेच गर्न सकिन्छ । दोस्रो बजार अर्थात् नेप्सेमा सूचीकृत हुँदैन । लगानीकर्ताले बेच्न चाहेमा कोषले नै किन्नुु पर्छ । ग्लोबल आइएमई क्यापिटलले कोषको स्थापना गरेर सेयर जारी गरी पुँजी संकलन गरेको छ भने सेयर धनीले किनेको सेयर पुनः बिक्री गर्न चाहेमा कोषले नै किनिदिनु पर्छ । यो कार्य जोखिम हुन्छ । त्यसैले नेपालमा खुृलामुखी कोषको अभ्यास छैन ।

नेपालमा बन्दमुखी कोषको मात्रै अभ्यास छ । बन्दमुखी कोष (फन्ड) सेयर जारी गर्दा नै कति वर्षका¬ लागि भन्ने हुन्छ । नेपालमा सामान्यतः ३ देखि ७ वर्षका लागि फन्ड जम्मा गरिन्छ । सात वर्षका लागि रकम जम्मा गर्ने भनिएको छ भने ७ वर्षसम्म लगानीकर्ताले फन्डमा जम्मा भएको रकम भुक्तानी वा कारोवार गर्न पाउँदैनन् । बन्दमुखी कोषले निश्चित पूँजी संकलन गर्छ । सेयरमा जस्तै प्राथमिक सेयर जारी गरेर कोषमा पुँजी संकलन गरिन्छ । बन्दमुखी कोषलाई धितोपत्र बोर्डमा सूचीकृत गरिएको हुन्छ र बोर्डको मापदण्डमा रहेर दोस्रो बजारमा कारोबार गरिन्छ । कारोबार पोर्टफोलियो म्यानेज्मेन्टले गर्ने हो । कोषमा पैसा जम्मा गर्दा तोकिएको समयसीमा सकिएपछि लगानीकर्ताले लगानी सहितको लाभ फिर्ता पाउँछन् । फाइदा भएको खण्डमा बीचबीचमा बोनस पनि बाँडिन्छ ।  

मर्चेन्ट बैंकले सामूहिक लगानी कोषको योजना ल्याउँछन् । मर्चेन्ट बैंकहरुले प्रवद्र्धकको भूमिका खेल्छन् । प्रवद्र्धकले जारी गर्न लागेको कुल एकाई रकमको कम्तिमा १५ प्रतिशत हिस्सा सुरुवाती लगानी गर्छ । बाँकी हिस्सा मर्चेन्ट बैंकले सर्वसाधारण तथा अरु संस्थाहरुलाई प्राथमिक बजारको माध्यमबाट इकाई (सेयर)जारी गर्छ । सामान्यतः मर्चेन्ट बैंक आफैँले कोष व्यवस्थापक र डिपोजिटरीको काम गर्छ ।  

थोरै आम्दानी भएका परिवारका लागि पैसा कमाउने अवसर

थोरै आम्दानी भएका परिवारका लागि पनि म्युचुअल फन्ड एक अवसर हो । हालको समयमा नेपालको सेयर बजारको दोस्रो बजारमा सामूहिक लगानी कोषको प्रति इकाई मूल्य १० रुपैयाँकै हारहारीमा रहेको हुनाले कम रकममा पनि लगानी गर्न सकिन्छ ।  सेयर बजारको बारेमा जानकारी नभएकालाई समेत यसमा लगानी गर्दा आफ्नो लगानी डुब्ने सम्भावना अत्यन्तै कम हुन्छ । त्यसैले सानो रकमबाटै लगानी सुरु गरी भविष्यमा राम्रो प्रतिफलको भागेदार बन्न सकिन्छ  । 

थोरै आम्दानी भएका परिवारले पनि दैनिक दस रुपैयाँ बचाउने हो भने एक महिनामा तीन सय रुपैयाँ बनाउन सकिन्छ । दैनिक दस रुपैयाँ मात्रै बचाउने हो भनेपनि एक महिनामा ३० कित्ताको फन्ड किनेर लगानी गर्न सकिन्छ । सेयरका बारेमा एक्सपोर्ट टिमले नै पनि फन्डमा जम्मा गर्ने भएकाले लगानी डुब्ने सम्भावना कम हुन्छ । 

त्यसैले आजैबाट दैनिक तरकारी किन्ने पैसामा पनि पैसा बचाएर लगानी गर्दा भविष्यमा राम्रो आम्दानी गर्न सकिन्छ । बालबालिकाले पनि स्कुलमा खाजा खाने पैसा बचाएर फन्डमा लगानी गर्न सक्छन् । अभिभावक संरक्षक भएर बालबालिकाले पनि म्युचुअल फन्डमा लगानी गर्न सक्छन् । 

धेरै आय आर्जन भएका लगानीकर्ताले पनि म्युचुअल फन्डमा लगानी गर्न सक्छन् । नेपालमा म्युचुअल फन्ड भित्रिएको ७÷८ वर्ष भयो । नेपालमा म्युचुअल फन्डको सोच नयाँ भएकाले यसबारे त्यतिधेरै प्रचारप्रसार र चासोको क्षेत्रभित्र पर्न सकेको छैन । 

म्यचुल फन्ड सेयर बजारमा आवश्यक छ । साना तथा मझौला  किसिमका आय आर्जन भएका परिवारका लागि यो फाइदाकारी छ । सानो लगानीबाट सेयर बजारमा प्रवेश गर्न चाहनेका लागि सेयर बजारबारे सिक्ने यो राम्रो बाटो हो । 

बैंक र इन्स्योरेन्समा फन्डको लगानी केन्द्रित गर्दा जोखिम पनि हुन सक्ने भएकाले अन्य क्षेत्र पनि हेरेर लगानी गर्दा जोखिम कम गर्न सकिन्छ । 

फन्डको लगानीको क्षेत्र

नेपालमा म्युचल फन्डको लगानीको प्रमुख क्षेत्र सेयर बजार नै हो । फन्डमा संकलित रकम सेयर बजारमा लगानी गरिन्छ । सेयर बजारमा पनि विभिन्न क्षेत्र छन् ।  बैंकिङ क्षेत्र, ऊर्जा, इन्स्योरेन्स, माइक्रो फाइनान्स लगायतमा लगानी गरिन्छ । त्यसैगरी बैंकको फिक्स डिपोजिटमा पनि लगानी गरिन्छ । एउटै क्षेत्रमा लगानी गर्दा जोखिम हुने भएकाले विविध क्षेत्रमा लगानी गर्नु पर्छ । 

पोर्टफोलियो पैसाको बास्केट हो 

पोर्टफोलियो भनेको म्युचुअल फन्डको रकम हो । म्युचुअल फन्डमा एक अर्ब रकम छ भने त्यो एक अर्ब रकम नै पोर्टफोलियो हो । पोर्टफोलियोलाई व्यवस्थापकीय भाषामा पैसाको बास्केट पनि भनिन्छ । बास्केटको पैसा झिकेर विभिन्न क्षेत्रमा लगानी गरिरन्छ । म्युचुअल फन्ड भित्रको पनि पैसा राख्ने फन्ड हो पोर्टफोलियो¬ । यो एक प्रकारको¬ पोर्टफोलियो मेनेज्मेन्टले निक्र्योल गरेपछि केमा लगानी गर्ने भन्ने निर्धारण गरिन्छ र लगानी गरिन्छ । पोर्टफोलियोले कति लगानी गर्ने र कहाँ लगानी गर्ने भन्ने निर्णय लिन्छ । 

सेयर र म्युचुअल फन्डको दुई तरिकाले लगानी गर्न सकिन्छ । पहिलो प्राथमिक बजार र दोस्रो बजारमा गएर पनि सेयर किन्न सकिन्छ । म्युचुअल फन्डको कारोबार गर्ने ब्रोकर ५० वटा छन् ।

म्युचल फन्डको सर्वसाधारण सेयर खुलेको थाहा पाउने तरिका

म्युचुअल फन्ड जारी भएको विभिन्न सञ्चार माध्यमबाट थाहा पाउन सकिन्छ । फन्ड जारीका बारेमा पत्रपत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ । त्यसैगरी विभिन्न व्यक्ति तथा बैंकबाट पनि थाहा पाउन सकिन्छ । 

म्युचुअल फन्डमा जोखिम न्यून

नेप्सेमा सूचीकृत कम्पनीहरुको सूक्ष्म अध्यन गरेर कम्पनी छान्ने हुनाले यस्ता लगानी कोषले राम्रा कम्पनीहरुमा मात्र लगानी गर्ने गर्छन् । लगानी कोषका विज्ञहरुले बजारलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्छन् । कम्पनीका आधारभूत तथा प्राविधिक पाटो साथै देशको समग्र अर्थतन्त्रको विश्लेषण गर्ने हुनाले र जोखिम न्यूनीकरण गर्ने रणनीतिहरु पनि अपनाउने हुनाले सामूहिक लगानी कोषको लगानी जोखिम कम भएको क्षेत्र मान्न सकिन्छ । लगानी कोषको रकम विभिन्न क्षेत्रहरुमा लगानी गर्ने हुनाले जोखिम न्यूनीकरण हुँदै जान्छ । कुनै समयमा बैंकिङ समूह जोखिम भएको बेला इन्स्योरेन्स समूहले राम्रो गरेको हुन सक्छ, लगानी कोषले जोखिमको आधारमा विभिन्न क्षेत्रमा कति मात्रामा लगानी गर्ने भनेर तय गर्छ ताकि एउटा समूह घट्दा अर्कोले घाटा कम गराउन मद्दत गरोस् । 

नेपालको सेयर मार्केटको घटबढले यसमा फन्डमा पनि असर गर्छ । त्यतिमात्रै हैन देशको राजनीति अवस्थाले देशको अर्थतन्त्र निर्धारण हुन्छ । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने तŒवले म्युचुअल फन्डमा पनि असर गर्छ ।

सामूहिक लगानी कोषको भविष्य 

नेपालको पूँजीबजार विकासउन्मुख छ । यहाँको बजार अन्तर्राष्ट्रिय वित्तीय बजारको स्तरमा पुग्न अझै केही समय लाग्ने देखिन्छ  । वित्तीय बजारमा लगानीयोग्य विभिन्न वित्तीय सामग्री उपलब्ध भएको खण्डमा सामूहिक लगानी कोषलाई फाइदा हुने देखिन्छ । हालको समयमा सामूहिक लगानी कोषको मुख्य लगानी गर्ने क्षेत्र भनेको सेयर बजार हो । त्यसै कारणले जोखिम न्यूनीकरण गर्ने रणनीतिहरु त्यति प्रभावकारी भएको पाइँदैन । अन्तर्राष्ट्रिय बजारमा अप्सन, डेरिभेटिभ र कोमोडिटिजजस्ता वित्तीय औजारहरु हुन्छन्, जसले राम्रो पोर्टफोलियो बनाउन मद्दत गर्छ भने नेपालमा त्यस्तो बजार रहेको पाइँदैन तर निकट भविष्यमा भने अनलाइन ट्रेडिङ्ग साथै विभिन्न वित्तीय औजारको आगमन भएपछि यहाँको सामूहिक लगानी कोषहरुको भविष्य उज्ज्वल रहेको छ  । 

नेपालमा ¬सात वर्षअगाडि ¬म्युचल फन्डमा एक हजार लगानी गरेको व्यक्तिले आज पाँच हजारसम्म कमाएको छ । त्यसैले आज एक हजार लगानी गर्नेले सात वर्षपछि ५÷७ हजार कमाउन सक्छ ।   म्युुचुअल फन्डमा लगानी गर्नेको सुनौलो भविष्य छ । थोरै वा धेरै आय भएकाले पनि यसमा लगानी गर्न सकिन्छ । नेपालमा राजनीतिक स्थायित्वसमेत हुने देखिएकाले आर्थिक क्षेत्रको विकास पनि राम्रै हुने देखिन्छ । नेपालको ग्रामीण भेगमा समेत यसको पहुँच पु¥याएर पुँजी संकलन गर्न सकिन्छ । (उपेन्द्र खड्काले श्रेष्ठसँग गरेको कुराकानीमा आधारित) 

प्रकाशित: ११ चैत्र २०७४ १२:०६ आइतबार

नागरिक परिवार