साहित्यिक इतिहासको समीक्षा गर्दा सिर्जनात्मक लेखनका अलावा वैचारिक सैद्धान्तिक विषयले समेत स्थान पाउँछ भने ५० को दशकको झापा कुनै अध्येताका लागि विषय बन्न सक्छ।
साहित्य कलाको दृष्टिकोणले यो दशकमा झापा जिल्ला निकै चर्चाको विषय बन्यो, खासगरी सैद्धान्तिक वाद–विवादको दृष्टिकोणले । बहस बहुआयामिक थिए । के प्रयोगवादी, के प्रगतिवादी सबै नै कुनै न कुनै हिसाबले त्यो बहसका वक्ता बनेका थिए । यसको केन्द्रमा थिए, इन्द्रबहादुर राई र लीलालेखन।
२०४५ सालतिर इन्द्रबहादुर राईको कठपुतलीको मन कथासंग्रह प्रकाशित भएपछि लीलालेखन र यसको प्रयोगबारे नेपाली साहित्यमा केन्द्रीकृत बहस प्रारम्भ भएका थिए । तर, बहसले विकेन्द्रीकृत र घनीभूत हुने मौका पर्खिरहेको थियो । त्यो सन्दर्भ झापाको साहित्यिक माहोलमा जुर्यो ।
यसको प्रस्थान बिन्दुस्वरूप कृष्ण धरावासीको लीलालेखन शीर्षकको समालोचना कृति ०५३ सालमा प्रकाशन भयो । यो कार्य लीलालेखनलाई सरल रूपमा बुझ्न जति महत्वपूर्ण थियो, त्यति नै उपयोगी थियो, आमपाठकमा लीलालेखन र इन्द्रबहादुर राईलाई प्रक्षेपण गर्न । यसको परिणाम नै हो, मेरो इन्द्रबहादुर राईसँगको सम्पर्क र लीलावादी साहित्यिक यात्रा।
२०५३ सालको अन्त्यतिर मैले कुनै नयाँ पाराको किताब पढ्ने लालसाको प्रतिफलस्वरूप कृष्ण धरावासीको लीलालेखन पुस्तक पढ्ने मौका पाएँ । त्यसले मलाई के हो लीलालेखन भन्ने कुतूहलता जगायो । म विज्ञानको विद्यार्थी थिएँ । जिज्ञासा मेरा लागि सामान्यझैँ थियो ।
त्यो पुस्तक मैले आद्योपान्त पढेँ । त्यसले मलाई इन्द्रबहादुर राईको व्यक्तित्वबारे अनेक विम्ब खडा गरिदियो । प्रश्नैप्रश्नले भरिएका ती विम्ब खासमा उनीसँगको लामो सत्संगबाट मात्र सरलीकृत हुने थिए । त्यसो त साहित्यमा प्रयोगबारे समेत म आकृष्ट भएँ । त्यो वेला गजलको आकर्षण युवा लेखकबीच बढिरहेको थियो । म पनि अब्बल गजलकार हुने सपना साँचिरहेको थिएँ । तर इन्द्रबहादुर राईको लेखनशैली र विचारले लगभग कायल भइसकेको म त्यो सपना छोड्न तयार थिएँ ।
सबभन्दा पहिला त मैले कृष्ण धरावासीलाई भेट्ने सोच बनाएँ । संयोगले उनी चन्द्रगढीको कृषि विकास बैंकमा काम गर्दारहेछन्, मेरो घरनजिकै । हामीले भेटघाट नियमितजस्तै ग¥यौँ । मेरा साथी पनि त्यसमा सामेल हुन्थे । हामी घन्टौँ बहस गथ्र्यौं । म कुनै बालकले झैँ उनको धाराप्रवाह विचार सुनिरहन्थेँ । मसँग केवल जिज्ञासा हुन्थे । व्याख्या धरावासी दाइको । उनी पनि आफ्नो विचार व्यक्त गरिसकेपछि भन्थे, ‘अझै बुझ्ने भए इन्द्रबहादुर राई हुँदै हुनुहुन्छ ।’ मलाई लाग्थ्यो, उनलाई भेटिसकेपछि म अन्तिम ठेगानामा पुग्नेछु।
त्यसपछि मैले लीलालेखनमाथि केही काम गर्ने निश्चय गरेँ । मलाई यस चिन्तनमा व्याख्यायित विज्ञान र पूर्वीय दृष्टिकोणले तानेका थिए । यी दुईको मिश्रणबाट निसृत लीला विचार जीवन र जगत्लाई बुझ्ने हेर्ने दृष्टिकोण हुन सक्छ भन्ने मलाई लाग्यो । यो कुरा मैले धरावासी दाइलाई भने । दाइले नाइँ भन्ने कुरा थिएन । तर सीधै हुन्छ सुरु गरौँ पनि उनले भनेनन् ।
उनले भने, ‘अरुसँग पनि कुरा गरौँ । हामी मात्र भएर फेरि कतिसम्म गर्न सकिने हो ! विषय सरल त छैन ।’ त्यसपछि केही समय यो प्रसंग थन्कियो । तर म दृढ थिएँ कि अब यसलाई अभियानका रूपमा अघि बढाउनुपर्छ भनेर । मसँग साथीहरू पनि थिए, वर्तमान साहित्य प्रतिष्ठानका । २०५४ सालदेखि हामीले वर्तमान पत्रिका निकाल्न थालेका थियौँ । त्यसको सम्पादक म नै थिएँ । त्यो न्युज प्रिन्ट पेपरमा छापिने दुईपाने एक अनौठो किसिमको पत्रिका थियो । पछि त्यसले किताबको जस्तो रूप र रङ पनि ग्रहण गर्यो ।
यसमार्फत मैले अभियानको तयारी प्रारम्भ गरेँ । वर्तमानको तेस्रो अंकको सम्पादकीयमा मैले कुनै साहित्यिक आन्दोलनको तयारी गर्ने र पत्रिकालाई त्यसको माध्यम बनाउने भन्ने संकेत गरेको थिएँ । कुनै नयाँ साहित्य चिन्तनको आधार लिएर सिर्जना गर्ने, बहस र छलफल गर्ने कि भन्ने सल्लाह भइरहेको छ भन्ने सम्पादकीय मैले लेखेँ । केही अंकमा एक–दुई लेख पनि लेखेँ ।यसरी वर्तमान पत्रिकामा लीलालेखनबारे सामान्य चर्चा–परिचर्चा चल्न थालेपछि एक दिन धरावासी दाइले एकपटक साथीभाइसँग बसेर छलफल गरौँ भने ।
अनि हामी शनिश्चरेस्थित धरावासीदाइको घरमा भेला भयौँ । विष्णुकुमार भट्टराई, कृष्ण बराल, लेखनाथ भट्टराई, पुण्य बराल, म र धरावासीदाइले लामो छलफल गर्यौँ । लीलालेखनको अभियान चलाउने, एउटा पत्रिका पनि निकाल्ने सल्लाह भयो । पत्रिकाका लागि सबैले दुई–तीनवटा लेख तयार पारी राख्ने भन्ने सल्लाह पनि भयो । तर एक–दुई महिनासम्मै यसले मूर्तरूप लिन सकेन । सामूहिक काम हुने छाँट देखिएन ।
त्यसपछि मैले वर्तमान पत्रिकालाई नै लीलालेखन अभियानको मुखपत्रजस्तो बनाउँछु भन्ने निर्णय गरेँ । अनि त्यस पत्रिकाका नाम फेरिएर लीला विचारप्रधान वर्तमान भन्ने भयो । धरावासीदाइ लगायत अरु अग्रजलाई पनि भनेँ कि अर्को पत्रिका ननिस्केसम्म यसैमा सबैले लेखे भयो । सबैले लेखे पनि । त्यसमा इन्द्रबहादुर राईका तीन–चारवटा लेख छापिएका छन् । म सबै अंक उनलाई पठाइदिन्थेँ । उनले खुबै प्रोत्साहन गरे।
वर्तमान पत्रिका कहिले मासिक कहिले द्वैमासिक त कहिले त्रैमासिक भएर २० अंकसम्म प्रकाशन भयो । पत्रिका काठमाडौंदेखि दार्जिलिङ सिक्किमसम्म पठाइन्थ्यो । झापामा त यसको खुब प्रचार भएको थियो । यसका सदस्य पनि बर्सेनि बढिरहेका थिए । पछि गएर वर्तमान पत्रिका लीलावादीहरूको संस्था भनेर चिनिन थाल्यो।
यसरी लीलालेखनको अभियान चल्दै गर्दा अचानक यसमा नयाँ मोड आयो । लीलालेखनबारे वर्तमान पत्रिकामा प्रकाशित समालोचक चूडामणि रेग्मीको अन्तर्वार्ता त्यसको मूल प्रस्थानबिन्दु थियो । त्यसको प्रतिक्रियास्वरूप कृष्ण धरावासीले बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकमा एक लेख लेखे । दुवैले त्यो वेलाको झापामा दुई कित्ताको नेतृत्व गरे । एकले प्रजातान्त्रिक लेखक वा स्वतन्त्र लेखकहरूको अर्कोले प्रगतिवादी माक्र्सवादी लेखकहरूको । अनि, यी दुई समूहका लेखकहरू लीलालेखनको वैचारिक सैद्धान्तिक आधारका बारेमा आ–आफ्ना मत राख्न थाले ।
उनीहरूले त्यो वेला झापाबाट प्रकाशित हुने दैनिक साप्ताहिक पत्रपत्रिका एवं साहित्यिक पत्रिकामा लेख लेख्न थाले । ती लेख विचारोत्तेजक हुन्थे । खासमा त्यहाँ प्रयोगवाद र प्रगतिवादबीचको सैद्धान्तिक बहस भइरहेको थियो । लीलालेखनले प्रयोगवादको स्थान लिएको थियो । अन्ततोगत्वा यो बहस झापामा मात्र सीमित रहेन, दुवै खेमाका लेखक लीलालेखनलाई हेर्ने मामलामा विभाजितजस्तै भए ।
काठमाडौंको बौद्धिक जमात पनि यसबाट अछुतो रहेन । कतै पुस्तकका भूमिकामा वा साहित्यिक मञ्चमा लीलालेखनबारे बुज्रुक प्रगतिवादी साहित्यकारहरूले विरोध गरिरहे ।मैले अलिकपछि मात्र थाहा पाएँ । प्रगतिवादीहरूले लीलालेखनको विरोध गर्नु केवल साहित्यिक मान्यताको मात्र विरोध थिएन रहेछ । त्यो त इन्द्रबहादुर राईप्रतिको असहमति रहेछ । प्रगतिवाद र प्रगतिवादी लेखकबारे उनले कति दशकअघि कसिलो टिप्पणी दिएका थिए।
मार्क्सवादी प्रतिबद्धताले साहित्यको अपहरण र राजनीतिको स्थापना भइरहेको छ भन्ने उनको मत रहेको थियो । यसको प्रतिफल उनी प्रगतिवादी कित्ताका लेखकद्वारा रुचाइएनन् । लीलालेखन मात्र होइन, उनीद्वारा प्रतिपादित आयामेली लेखन पनि त्यो कित्ताभित्र स्वस्थ बहसमा आएन । यसैकारण पनि झापाको लीलालेखन विषयक बहस वस्तुगतभन्दा पनि इन्द्रबहादुर राईको व्यक्तित्ववरिपरि घुमेको थियो।
त्यसबीच इन्द्रबहादुर राई झापाका साहित्यिक गोष्ठीमा बाक्लै आए । सन्दर्भअनुकूल बनेर होला, त्यो समय झापामा लीलालेखन, तेस्रो आयाम, प्रयोगवादी लेखनबारे प्रशस्त बहस भए । मेरा दुई कृति लीला दृष्टि र कथा इन्द्रेणी दुवैको विमोचनमा उनी झापा आए।
ती हरेक बहसमा उनी सहभागी भए । वर्तमान साहित्य प्रतिष्ठान, सासंक प्रतिष्ठानजस्ता संस्थाले आयोजना गरेका कार्यक्रममा उनले विशेष विचार व्यक्त गरेका छन् । इन्द्रबहादुर राई सहभागी भएका ती हरेक मञ्च र उनीद्वारा व्यक्त विचार कुनै जिज्ञासु साहित्यिक अभियन्ताका लागि मार्गदर्शक बनिरहेका छन्।
प्रकाशित: २६ फाल्गुन २०७४ ०१:३७ शनिबार