अन्य

‘स्वस्थ बन्न याेग’

काष्ठमण्डप

‘नियमित योगाभ्यास तथा मन स्थिर राख्न सके निरोगी बन्न सकिन्छ,’ ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सकले स्वस्थ जीवन र निरोगीताको सूत्र सुझाए।‘योग गर्ने मानिस सबैभन्दा आनन्दित हुन्छन्,’ नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. प्रकाशराज रेग्मीले भने, ‘त्यस्ता मानिसलाई हतपत रोग लाग्दैन, बरु दीर्घजीवी हुन्छन्।’

उनका अनुसार पछिल्लो समय नेपालीमा मुटु, क्यान्सर र मधुमेहलगायत विभिन्न किसिमका रोगको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगबाट बच्न शरीर मात्रै स्वस्थ भएर पुग्दैन । पूर्ण स्वस्थ हुनका लागि शरीर, दिमाग र मन पनि स्वस्थ हुनुपर्छ ।उनले दिनहुँ योग गर्ने मानिसमा भने यस्ता समस्या बिरलै देखिएको जानकारी दिए । उनले भने, ‘हामी पैसा र आफूले चाहेको चिज पाउँदा धेरै खुसी भएको महसुस गर्छौं, त्यो खुसी क्षणिक हो, मनलाई खुसी छर्ने र आनन्दित पार्ने सूत्र योगाभ्यास हो, यसले पूरै शरीरमा नै स्फूर्ति ल्याउँछ।’  

उनले योगाभ्यास गर्ने र शास्त्रीय संगीत सुन्ने बानी परेका मानिसको स्मरणशक्ति अरुको भन्दा बढी हुने बताए । ‘पछिल्लो समय नेपालमा जस्तासुकै डिप्रेसन रोगको पनि उपचार हुन थालेको छ, योगाभ्यासले ज्ञानेन्द्रियलाई सही ठाउँमा राख्ने र शरीरलाई फूर्तिलो राख्न मद्दत गर्छ,’ उनले भने, ‘धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, स्वस्थकर खानपान गर्ने, पर्याप्त पानी पिउने, नियमित व्यायाम तथा योगा गर्ने,  मोटोपना, रक्तचाप तथा सुगर नियन्त्रण गर्ने र इमोसन कन्ट्रोल गर्ने क्षमताले मानिसको मनलाई आनन्दित राख्न मद्दत गर्छ।’

न्युरोसर्जन डा. वसन्त पन्तका अनुसार शारीरिक रूपमा स्वस्थ रहे पनि मानसिक रूपमा तनाव र चिन्ता लिने मानिसलाई स्वस्थ भन्न सकिँदैन । त्यसले मानिसलाई मानसिक रूपमा कमजोर बनाउँछ । ‘साना कुरामा ध्यान नदिँदा त्यसले मानिसलाई मानसिक रोगी बनाएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा दिमागलाई आनन्द राख्नु हो ।’ उनका अनुसार पछिल्लो समय नेपालमा छारेरोग तथा अन्य थुप्रै मानसिक रोगीको पनि उपचार सम्भव देखिएको छ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले हरेक वर्ष योगाभ्यास र शास्त्रीय संगीतबारे कार्यक्रम आयोजना गर्दै आएको छ । शनिबारको शृंखला पनि त्यसैको निरन्तरता थियो । लोप हुन लागेको शास्त्रीय संगीतलाई जगेर्ना गर्ने र मानिसको मनलाई कसरी स्वस्थ राख्ने भन्नेबारे प्रतिष्ठानले जोड दिँदै आएको छ ।  

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:३७ सोमबार

स्वस्थ बन्न याेग