चुम्बन मात्र धान्न सक्ने
तिम्रो कपासे निधारमा
थपक्क आएर बस्यो चट्टान !
हावाले कुल्चँदा पनि बिझाउने
तिम्रो नौनी छातीमाथि
बारुदले खेल्यो होली !
(राबत)
कवि राबतले फेसबुकमा यस्तो कविता पोस्ट गर्दैगर्दा सिरियाको गुटामा अबोध बालबालिकामाथि बम बर्संदै थियो । तिनका क्षतविक्षत शवले संसारभरका मानवतावादीलाई उद्वेलित बनाइरहेको थियो दमास्कसनजिकै कैद ती दृश्यले कविहरूको हृदय छियाछिया भयो । आख्यानकारको आत्मा रोयो र लेखकका आँखा रसाए । घाइते बालबालिकाको मुहार हेर्दै बा–आमाले तिनमा आफ्ना छोराछोरीको छाया देखे।
बाजेबज्यैले नातिनातिनाको तस्बिर देखे, स्वयं बालबालिकाले आफ्नै सहपाठीको झझल्को ।टाढाबाट टेलिभिजनका पर्दा र इन्टरनेटका भित्तामा देखिएका तस्बिरले त हामीलाई यतिविघ्न स्तब्ध पारेको छ भने, स्वयं भोक्तालाई कस्तो भइरहेको होला ? अझ भोक्ता शब्दलाई खिपेर साहित्यको माला गाँस्ने रहेछ भने ? कल्पनातीत सौन्दर्य र शान्तिको अवास्तविक आत्मरतिलाई अक्षरको आवरणमा ढाल्ने शिल्पी रहेछ भने ? कलर र कुची समाएर भावनामा डुब्दै कलाको कालिगडी गर्ने कलाकार रहेछ भने ?सायद प्रश्नहरू जस्तो उत्तरहरू कहिल्यै सहज हुँदैनन् ।
यहाँ त प्रश्नहरू नै असहज छन्, असैह्य छन् । उत्तर कसरी सहज होऊन् ? गएको सात वर्षमा सिरियालीले जे भोगेका छन्, तिनका अगाडि शब्दहरू फिक्का पर्न जान्छन् । क्यानभासमा कुचीले लेपिने कलरहरू ‘डिस्कलर’ बन्न पुगिदिन्छन् । चेहराको प्राकृतिक रूपलाई जस्ताको जस्तै कैद गर्ने क्यामेराहरू ‘डिसफंक्सन’ भइदिन्छन्।
यद्यपि मान्छेहरू खुसी र सहजतामा, शान्ति र सुगमतामा वा जीवन र जोशमा मात्र शब्दहरू खिप्दैनन्, क्यानभासमा कुची चलाउँदैनन् । आराममा असाध्यै धिमा चल्ने शब्दहरू अशान्तिमा दौडन सक्छन् । सुगममा सुस्ताउने कुचीहरू दुर्गममा द्रूत बन्न सक्छन् । त्यसको अर्थ ‘ट्रमा’मा कला कलकलाउँछ वा साहित्य मुर्झाउँछ भन्ने होइन ।अहिले अधिकांश सिरियाली नागरिकले जे भोगिरहेका छन्, तिनले शब्दमा, कलामा, तस्बिरमा वा इसारामा समेत भन्न सक्दैनन् । किनकि तिनीहरू ‘ट्रमा’मा छन्, दिमाग भवितव्यपछिको सन्नाटाले शून्य छ।
सन्नाटामा पनि शक्ति हुन्छ, भाव र संवेग हुन्छ । सन्नाटाको शक्ति, भाव र संवेग कहिलेकाहीँ अप्ठेरो अवस्थामै पनि पोखिन पुग्छ, शब्दका माध्यमबाट, कुची र कलरका माध्यमबाट । ‘ट्रमा’मा रहँदारहँदै पनि कतिपय सिरियाली लेखक, साहित्यकार र कलाकारको शक्ति, भाव र संवेग पोखिइरहेको छ, विभिन्न माध्यमबाट।
भनिन्छ, सिरियाली गृहयुद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो मानवीय संकट हो । सिरियामा कुनै परिवार यस्तो नहोला, जसका सबै सदस्य सकुशल रहेका हुन् । यस्तो अवस्थामा कला र साहित्यको कुरा सपनाझैँ हुन पुग्छन् । तथापि सिरियालीले गृहयुद्धको त्यही रगतपच्छे वर्तमानलाई आफ्ना शब्दहरूमा कैद गरिरहेका छन्, कविताका माध्यमबाट, कथा र उपन्यासका माध्यमबाट । रगताम्मे वर्तमानको तस्बिर उतार्दै छन्, कुचीको सहायताले क्यानभासमा । वर्तमानमा उतारिएका यिनै शब्द र तस्बिरहरू भविष्यमा इतिहास बन्नेछन् । सायद, सन्नाटाले सिर्जना गरेको मौनतामा पनि सिरियाली कवि, लेखक र कलाकार मौन छैनन्।
अरब वसन्तले छोएपछि सन् २०११ तिर एकाएक सिरियाली लेखन र कलाले क्रान्तिकारी रूप धारण ग¥यो । लोकतन्त्रको उत्कट चाहले कहिल्यै कविता नलेख्नेहरूलाई पनि कवि बनायो । शब्दलाई शिल्पबद्ध र लयबद्ध गर्न नसक्नेले समेत सामाजिक सञ्जालमा ‘मेटाफोरिक’ अभिव्यक्ति सार्वजनिक गर्न थाले । सडकमा लाग्ने नारामा समेत साहित्यिक सानिध्य देखियो।
एसओएएस (स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडी) युनिभर्सिटी अफ लन्डनकी प्राध्यापक सल्वा इस्माइलका अनुसार सिरियाली क्रान्तिमा शब्द र कलाको भूमिका अहं छ । एसओएएसको डिपार्टमेन्ट अफ पोलिटिक्स एन्ड इन्टरनेसनल स्टडीमा अध्यापन गराउने इस्माइलले दी गार्डियन अनलाइन (२१ जुन, २०११)मा लेखेकी थिइन्, ‘शान्तिपूर्ण संघर्षका लागि युवाहरूले कला, व्यंग्य र संगीतलाई हतियारका रूपमा प्राप्त गरेका छन्, जसले बसर अल असद सत्तालाई त्रसित बनाएको छ।’अरब वसन्तको लहर सिरियामा साहित्य र कलाकै रूपमा प्रवेश गरेको थियो, सामाजिक सञ्जालका माध्यमबाट । सिरियाको दारा क्षेत्रका किशोरकिशोरी अग्रपंक्तिमा आउँछन्, शब्द र ‘स्लोगन’का माध्यमबाट लोकतन्त्रप्रति आफ्नो समर्पण देखाउनेको लहरमा।
सन् २०११ को सुरुवातसँगै दारा क्षेत्रका किशोरकिशोरीले बसर सत्ताविरुद्ध स्कुलका भित्ताहरूमा विद्रोहका शब्द पोते, सँगसँगै आफ्ना फेसबुक र ट्विटरका वालहरूमा पनि । कसैले व्यंग्यात्मक शब्द बुने भने कसैले चित्र बनाए । सत्तालाई चुनौती दिने किशोरकिशोरीको यो अभियानलाई हिटलरकालीन गेस्टापोकै शैलीमा काम गर्ने सिरियाली खुफिया एजेन्सी मुखबरातका एजेन्टहरूले सत्ताधारीसम्म पुर्याइहाले।
दारा क्षेत्रबाट कैयौँ किशोरकिशोरी समातिए । कतिपय थुनामा राखिए, कतिपय बेपत्ता पारिए । छोराछोरीको रिहाइका लागि सुरक्षाचौकीहरू पुग्ने मातापितामाथि दुव्र्यवहार भयो । कतिपय सुरक्षा अधिकारीले आमाहरूलाई यत्तिसम्म भन्न भ्याए, ‘छोराछोरीको माया मार, घरमा गएर अर्को जन्माउन संसर्ग गर, चाहन्छौ भने हाम्रै सिपाहीले पनि तिमीहरूलाई गर्भवती बनाइदिन सक्छन्, (जुन २८, २०१६ वार्सकेप डटकम)।’बसर सत्ताका हनुमानहरूको यिनै वाणी र व्यभिचारले दाराका सडक ताते । आफ्ना प्यारा सन्तान बेपत्ता भएपछि असैह्य भई आमाहरू विरोधसभामा उपस्थित हुन थाले । दाराबाट सुरु भएको सिलसिला दौमा र दमास्कससम्म फैलियो।
पश्चिम एसिया (युरोपेली र अमेरिकीले मध्यपूर्व भन्छन्)बारे जानकार इस्माइलले ‘स्टडिज इन इथ्निसिटी एन्ड नेसनलिजम्’को डिसेम्बर २०११ अंकमा लेखेको आलेखमा पनि सिरियाली संघर्षमा शब्दशक्तिको प्रभावबारे उल्लेख गरेकी थिइन् ।शब्दको शक्तिले तानेर र सत्ताको दमनले धकेलेर सडकमा उत्रन बाध्य पारिएका सिरियालीले बसर सरकारको जगलाई हल्लाउन थाले । जग हल्लिएपछि निरंकुशताको नांगो नाच देखाउन थाल्यो बसर सत्ताले, आफ्नै नागरिक मारेर।
जब सडक, स्कुल, अस्पताल र कब्रस्थानमा लासका खात लाग्न थाले, शान्तिपूर्ण आन्दोलन हाँकिरहेका केही समूहले हतियार बोके । तिनलाई हतियार बेचेर र बसर सत्तालाई समाप्त पारेर स्वार्थपूर्ति गर्न चाहने अमेरिका र युरोपले यसमा सुनौलो अवसर देखे । तिनले शान्तिपूर्ण आन्दोलन गरिरहेका सिरियालीलाई भड्काएर हतियार भिडाए । त्यसकै आडमा बसर सत्तासँग बार्गेनिङ गर्न थाले।
अमेरिका र युरोपेलीले हतियार थमाएका विद्रोही समूह बलिया बन्न थालेपछि बसर सत्तालाई पनि रसिया र इरानले प्रत्यक्ष त चीनले अप्रत्यक्ष रूपमा सघाउन थाले । त्यसपछि सुरु भयो, सिरियामा २१औँ शताब्दीको सबैभन्दा ठूलो शीतयुद्ध, जहाँ हरेक दिन हारिरहेछन्, सिरियाली र हरेक क्षण जितिरहेछन्, अमेरिका, युरोप, रसिया वा इरान।
हारजितको यही शृंखलाले सिरियालाई ध्वस्त मात्र पारेको छैन, मानवताको अन्त्य गरेको छ । मानवीय संकटको यो अस्वाभाविक तरंगले सिर्जनशीलहरूको मन र मथिंगल हल्लाइदिएको छ । त्यसैले त अहिले संसारभरबाट एकैसाथ सिरियामाथि कविता, कथा र उपन्यास लेखिन थालेका छन् । क्यानभासमा कुची चल्न र रंगमञ्चमा नाटक मञ्चन हुन थालेका छन्।
सिरिया संकटका कारण धर्तीको कुन कुनामा कस्तो खालका सिर्जना भइरहेका छन् ? तिनले कस्तो भाव र संवेग बोकेका छन् ? तिनमा विभत्स र करुण रस मात्र छ कि प्रेमकथा र क्रान्तियोद्धाका रौद्र रूपको प्रतिविम्ब पनि ? सबै प्रश्नको उत्तर सहज रूपमा अहिलै पाउन मुस्किलै पर्ला । यत्ति हो, सिरियाको तस्बिरले संसारभरका सिर्जनशीलको मन हल्लाएको छ, मथिंगल छचल्काएको छ । र, त्यसले उत्पादन गरिरहेको छ, एउटा विशुद्ध फरक खालको युद्ध साहित्य।
‘पिपुल, आइडिया एन्ड थिंस’ जर्नलको सेप्टेम्बर, २०१३ अंकमा इमिली ब्रोले लेख्छिन्, ‘युद्धका नारकीय र तात्कालिक घाउलाई जस्ताको तस्तै उतारेर सिरियालीहरूले ठूलो मात्रामा रोचक सिर्जना गर्दै साहित्यको नयाँ शैली निर्माण गरिरहेका छन् ।’ उनका अनुसार यो शैलीमा युद्धको त्रासदि, अभाव, रोग, भोक, शोकको कथा मात्र छैन, छुट्टै शिल्प समेत विकास भएको छ । सिरियालीको यस्तो शिल्पबारे यसअघि कमै मात्र जानकार थिए।
इमिलीले लेखेझैँ सिरिया संकटले साहित्य र कलामा एउटा छुट्टै शैली निर्माण गरिरहेको छ । ती साहित्य र कलामा पनि एकरूपता छैन, सिरिया संकटका कैयौँ पाटा भएझैँ । सिरिया संकट बुझ्न अहिले यत्ति गाह्रो भइसकेको छ कि, कारणहरू खोतल्दा प्याजका पत्र उधिनेझैँ धेरै कुरा उधिन्नुपर्ने हुन्छ । त्यसको प्रभाव साहित्य र कलामा नपर्ने कुरै भएन ।सायद सिरिया संकटका सयौँ पत्रको प्रभावले हुनुपर्छ, सिरियाभित्रै बसेर र शरणार्थी जीवन बिताइरहेका सिरियालीले लेख्ने र बुझ्ने साहित्यमा पनि विविधता छ । कोही कवितालाई हतियार भनिरहेका छन् त कोही हतियारविरोधी।
‘उनीहरू भन्छन्, कविता हतियार हो, मलाई भने त्यस्तो लाग्दैन,’ दी गार्डियनसँगको कुराकानी (सेप्टेम्बर ४, २०१६)मा फ्रान्सको पेरिसमा बस्ने सिरियाली कवि मारम अल मर्सी भन्छिन्, ‘कविता किन हतियार हुनुपर्यो ? कविता हतियार भए भने तिनले हामीलाई युद्धतर्फै लान्छन्, कविता त हतियारविरोधी पो हुनुपर्छ ।’
मर्सीले भनेझैँ कविता कसैका लागि हतियार होला त कसैका लागि हतियार विरोधी शब्दवाण । तर, सत्य के हो भने, सिरिया संकटले सिरियाली साहित्यलाई विश्वभर पुर्याएको छ । कहिल्यै पुस्तकका रूपमा प्रकाशित हुन नसक्ने साहित्य समेत सामाजिक सञ्जालमार्फत भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमार्फत सिरियाली साहित्य संसारभर पुगेको पुष्टि गर्दै अलजजिरा अनलाइनले सेप्टेम्बर ८, २०१३ मा लेखेको थियो, ‘सिरियाली कविता विभिन्न माध्यमबाट फैलिरहेको छ, सार्वजनिक समारोह वा वाचन कार्यक्रममा प्रस्तुत हुनुको साटो सिरियाली कविले आफ्ना कविता फेसबुकजस्ता सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेका छन्।’
सिरियाली मूलकी क्यानेडेली लेखिका तथा अनुवादक घदा अल–आत्रासलाई लाग्छ, गृहयुद्धपछि जसरी सिरियाली कविता विश्वभर फैलिइरहेको छ, त्यसरी कहिल्यै पनि पुग्न सकेको थिएन, (अलजजिरा, सेप्टेम्बर ८, २०१३) । दशकअघिदेखि सिरियाली कविताबारे अनुसन्धान गरिरहेकी उनी भन्छिन्, ‘आज जस्तो खालको साहित्य सिरियाबाट बाहिर आइरहेको छ, त्यस्तो साहित्यबारे हामीले केही वर्षअघिसम्म सपनामा समेत सोचेका थिएनौँ ।’
बसर सत्ताको दमन र बहुराष्ट्रिय स्वार्थको युद्धमैदान बनेपछि धेरै सिरियाली साहित्यकार र कलाकार समेत देश छाडेर भाग्न बाध्य भएका छन् । कोही युरोप पुगेका छन् त कोही अमेरिका । शरणार्थी जीवन बिताउँदाबिताउँदै तिनले कलम तिखारेका छन् । सिरियाभित्र रहँदा कडा सरकारी ‘सेन्सरसिप’ झेलेका उनीहरूले लेखनको स्वतन्त्रता पाएका छन्।
कडा सरकारी सेन्सरसिपबाट उम्कन पाएकैले आफ्नो मुलुक जलेर खरानी भइरहेका बेला पनि कतिपय लेखकले मुटु कसेर तिनलाई शब्दमा उतारिरहेका छन् । त्यसैले सायद, आफ्नो पुस्तकमा प्रतिबन्ध लागेपछि भागेर जर्मनी पुगेका सिरियाली लेखक निहाद साइरसले दी अरब रिभ्युलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामी केवल संकटबाटै उत्कृष्ट साहित्य पाउन सक्छौँ ।’
प्रकाशित: १९ फाल्गुन २०७४ ०१:०० शनिबार