अन्य

‘जनता मिले देश बन्छ’

पाटीमा बसेर भलाकुसारी गर्दै वृद्धवृद्धा । तस्बिरः उपेन्द्र

भक्तपुरको सुकुलढोकाबाट केही अगाडि बढेपछि पुगिन्छ, इनाचो पाटी । पाटीमा हरेक दिन स्थानीय वृद्धवृद्धाको जमघट हुने गर्छ । बिहान र बेलुका भजन गुन्जिने यो पाटीमा दिउँसो भने वृद्धवृद्धा भलाकुसारी गर्ने गर्छन् । उनीहरू आ–आफ्ना सुखदुःखका कथा सुन्छन्, सुनाउँछन्।

पाटीमा बसेका वृद्धवृद्धा कुनै एक प्रसंगमा अडिँदैनन् । तिनीहरू कहिले घरायसी कुरा गर्छन् त कहिले सहरवासीका चर्चा । कहिले नगरका समस्याबारे छलफल गर्छन् भने कहिले मुलुकको चिन्ता।

गत बुधबार दिउँसो पाटीमा पुग्दा उनीहरू आफ्नै धुनमा मस्त थिए । परिचय आदानप्रदानपछि उनीहरू संवाददातासँग मुलुकको राजनीतिबारे चर्चा गर्न तयार भए । यही पाटीमा बसेर पत्रपत्रिकामार्फत उनीहरूले धेरै जानकारी पाएका रहेछन् ।  ‘जित्ने मात्र होइन, हार्ने पनि मिल्नुपर्छ,’ हातमा रहेको पत्रिका भुइँमा राख्दै ७६ वर्षीय धर्मरत्न शाक्यले  भने, ‘तब मात्र मुलुकको विकास हुन्छ ।’शाक्य हरेक बिहान खाना खाएपछि पाटीमा आउँछन् । उनको साथमा ताजा पत्रिका पनि हुने गर्छ । उनी पत्रिका पढेर अन्य साथीलाई सुनाउने गर्छन् । ‘समाचार पढेर सुनाउने गरेको छु,’ उनले भने, ‘त्यसपछि उहाँहरू पनि राजनीति र विकासबारे धारणा राख्नुहुन्छ।’

उनको कुरामा सहमति जनाउँछन्, ७७ वर्षीय आशबहादुर कोजु पनि । जवानी खेतीपाती गरेरै बिताएका उनी बुढेसकाल लागेपछि समय कटाउन पाटीमा आउँछन् । ‘यहाँ हामी साथीहरु भेटिन्छौँ, आफ्नो समयमा गरेका सुखदुःख सबै एकआपसमा बाँड्छौँ,’ उनले भने, ‘यसो गर्दा मन पनि हल्का हुन्छ, समय पनि कट्छ ।’

राजनीतिप्रति खासै चासो नभए पनि देशको गतिविधिबारे उनीहरू जानकार नै छन् । उनीहरूलाई भर्खरै मुलुकको प्रधानमन्त्री परिवर्तन भएको पनि थाहा छ । ‘खड्ग ओली प्रधानमन्त्री भएका छन्,’ धर्मरत्न  सुनाउँछन्, ‘हामीलाई केपी भन्दा खड्ग भन्न सजिलो लाग्छ ।’उनको पछाडि रहेका ७९ वर्षीय हरिभक्त गोसाईं मुस्कुराउँदै कुरा सुन्दै थिए । उनी कम बोल्छन् । तर, धेरै जानकारी राख्छन् । ‘हामीलाई अरु केही थाहा छैन,’ गोसाईं भन्छन्, ‘देशको भलो हुने काम सबैले गरून् ।’

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०६:०५ सोमबार

जनता मिले देश बन्छ