अन्य

‘सुधार्नुपर्छ सार्वजनिक यातायात’

 जोरपाटीका अशोक खड्का अफिस जान–आउन सार्वजनिक यातायात प्रयोग गर्छन् ।महाबौद्धस्थित एक मोबाइल पसलमा काम गर्ने उनी हरेक दिन जोरपाटी चोकबाट सुन्धाराका लागि बस चढ्छन् । बिहान १० बजे पसल पुग्न ९ बजेअघि नै आएर बस चढ्दा पनि ‘अफिस टाइम’मा पुग्न उनलाई धौ–धौ पर्छ । बस चढेर एक घन्टासम्म उनी पसल पुग्न नसक्नुको कारण हो– पाइलैपिच्छे हुने ट्राफिक जाम।

जोरपाटी–सुन्धाराको दूरी आठ किलोमिटर मात्र हो । तर, कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीलाई डेढदेखि दुई घन्टासम्म लाग्ने गरेको छ । ‘घरबाट छिटै निस्कन्छु,’ खड्का भन्छन्, ‘कहिल्यै भनेका बेला पुगिँदैन, किन ढिलो आएको भनेर गाली खानुपर्छ ।’ट्राफिक नियमअनुसार सहरी क्षेत्रमा प्रतिघन्टा ४० किलोमिटरसम्म गतिमा सवारीसाधन गुडाउन पाइन्छ । यो गतिमा गाडी गुड्न पाउने हो भने जोरपाटी–सुन्धाराको दूरी १२ मिनेटमै तय गर्न सकिन्छ । ट्राफिक जामकै कारण १२ मिनेटमा पार गर्न सकिने दूरीका लागि समेत डेढ घन्टा लाग्ने गरेको हाे।जोरपाटीदेखि सुन्धारसम्म कम्तीमा आधा दर्जन स्थानमा लामो जाम हुने गर्छ । ‘पिक आवर’मा गुड्ने सवारीसाधनले बौद्ध, चावहिल, मित्रपार्क, गौशाला, डिल्लीबजार, पुतलीसडक लगायतको जाम पार गर्नुपर्छ।

लामो समय उपत्यकाको ट्राफिक व्यवस्थापनमा खटिएका पूर्वप्रहरी उपरीक्षक जगत्मान श्रेष्ठ जाम हुने धेरै कारणमध्ये निजी साना सवारी–साधन बढ्नु पनि एक रहेको बताउँछन् । मोटरसाइकल, कारलगयात निजी सवारीसाधनको संख्या बढ्नु र ठूला सार्वजनिक बस कम हुनुले उपत्यकामा जाम बढाएको उनको तर्क छ ।
सार्वजनिक यातायातलाई सुधार गर्न सके मात्र पनि उपत्यकामा धेरै हदसम्म जाम कम हुने उनी बताउँछन् । ‘जबसम्म सार्वजनिक यातायातलाई सुधार्न सकिँदैन, तबसम्म उपत्यकामा निजीको संख्या घटाउन सकिँदैन,’ उनी भन्छन्।

ठूलाखाले बस चलाउने र माइक्रो, टेम्पोजस्ता साना सवारी निरुत्साहित गर्नुपर्ने उनको तर्क छ । त्यस्तै, यात्रुमैत्री सार्वजनिक यातायात भए सहरवासी तिनमै यात्रा गर्न थाल्ने र जाम कम हुने श्रेष्ठ बताउँछन् ।
उनका अनुसार अहिले भनेका बेला गन्तव्य पुग्न नसकिने भएकैले सार्वजनिक यातायातप्रति यात्रुमा निराशा छाएकाले त्यसलाई सुधार्न सके मात्र धेरै हदसम्म जाम कम हुनेछ ।उपत्यकाको सुन्धाराबाट गोंगबु, जोरपाटी, कीर्तिपुर, भक्तपुर, पाटन, बूढानीलकण्ठ, टोखालगायत रुटमा धेरै जाम हुने गर्छ । यी रुटमा चल्ने अधिकांश सवारीसाधनले बिहान साढे आठदेखि साढे ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मको लामो जामको सामना गर्नुपर्छ । यसबेला सार्वजनिक यातायातमा यात्रुले पनि ठेलमठेल गर्दै यात्रा गर्न बाध्य हुने गरेका छन्।

‘सिटमा बसेर कहिल्यै घर जान पाइँदैन,’ बुधबार सुन्धारामा भेटिएकी यात्रु अमृता शाक्यले भनिन्, ‘राम्रोसँग उभिन त पाइँदैन, बस्न पाउनु त परको कुरा ।’सार्वजनिक यातायात सुधार गर्न सके धेरै हदसम्म यस्तो समस्या हल हुने श्रेष्ठ बताउँछन् । उनका अनुसार हाल सार्वजनिक यातायातले अनावश्यक रूपमा यात्रु कुर्ने समेत गरेका छन् । त्यसलाई निरुत्साहित गर्नु पनि जाम कम गर्ने अर्को उपाय हो । ‘जाम कम गर्न बस बिसौनीमा ‘पिक एन्ड ड्रप’ मात्र गर्न पाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने।

साना सवारीसाधन कम गर्दै ठूला सवारी चलाउन सके जाम कम हुने भए पनि अझै पनि उपत्यकामा ठूला बस चल्न सकेका छैनन् । साझा यातायातसहित केही निजी कम्पनीले पनि हाल यस्ता सवारीसाधन चलाउन सुरु गरेका छन् । अझै पनि पर्याप्त मात्रामा यस्ता बस चलेका भने छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई ठूला सवारीसाधनलाई प्रोत्साहन गरिरहेको बताउँछन्।

‘ठूला सार्वजनिक सवारी खरिदमा समेत प्रोत्साहन गर्ने नीति अघि सारेका छौँ,’ उनले भने, ‘साना सवारीलाई विस्थापित गर्दै ठूला सवारीलाई अघि बढाउने प्रयासमा सरकार लागेको छ ।’यसैगरी, सार्वजनिक यातायातले यात्रु कुर्ने बानीलाई सुधार गर्दा मात्र पनि जाम कम हुने बताउँछन्, ट्राफिक इन्जिनियर आशिष गजुरेल । ‘हाम्रोमा यात्रुले सवारीसाधन पर्खिने चलन नै छैन, त्यसैले सवारीका चालक नै यात्रु कुरेर बसेका हुन्छन्,’ गजुरेलले भने, ‘यो बानी हटाउन सके मात्र पनि जाम धेरै कम हुन्छ ।’

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०५:०२ शुक्रबार

सुधार्नुपर्छ सार्वजनिक यातायात