अन्य

सेलमै खाेजिन्छ फेसन

रमनराज श्रेष्ठ इन्जिनियर हुन् । उनी शुक्रबार कुमारीपाटीस्थित एन्टा सपमा लुगा किन्दै गरेको भेटिए ।  त्यो पसलमा ‘वाई टु गेट वान’, ४० प्रतिशत छुटलगायत अफर राखिएको थियो ।चिसो मौसमको सकिनै लाग्दा पनि उनको हातमा भने तीन ज्याकेट थियो । ‘मेरो घर विराटनगर हो, घरमा पठाउन एकैचोटि अफरका बेला किनेको हुँ,’ उनले भने । मौसम परिवर्तन हुँदा ‘सेल’ र छुट अफर भएकाले घरका सदस्य सबैलाई किनेको उनी बताउँछन् ।

‘सिजनको अन्त्यमा स्टोर क्लिरेयन्सका यस्ता अफरमा लुगा किन्दा सस्तो भाउमा राम्रो सामान पाइन्छ,’ उनले हास्दै भने । एउटै लुगालाई हरेक वर्ष केही परिवर्तन गरेर फेसनमा ल्याइने उनी बताउँछन् । उनले अफर र सेलमा राखेका लुगा हरेक वर्ष किनेर राख्ने गरेको बताए ।‘मैले प्रायः लुगा अन्तिम समयतिर किन्छु, जसले गर्दा फेसनेबल लुगा पनि थोरै मूल्यमा पाइन्छ,’ उनले भने ।

छोटो समयका लागि राखिने यस्ता अफर र ‘सेल’बाट राम्रा र फेसनेबल सामान किन्न सके फाइदा हुने उनको भनाइ छ ।कोटेश्वरका रोमहर्ष वली कुमारीपाटीस्थित एन्टा सपमा जुत्ता हेर्दै थिए । उनको हातमा रहेको बास्केटमा तीन ज्याकेट थियो । उनी पसलेलाई जुत्तामा पाइने छुट सोध्दै थिए । राम्रो जुत्ता छुटमा पाएकाले किन्न लागेको उनले बताए । ‘सस्तो किन्दा जुत्ता छिटै फाट्छ, त्योभन्दा ब्रान्डेड जुत्ता सेलमा पाएका बेला किन्न फाइदा हुन्छ,’ उनले भने ।

४० प्रतिशत छुटसँगै साइज र रोजाइको कलर पाएकाले स्पोर्ट सुज किनेको उनी बताउँछन् । ‘उही जुत्ताको मूल्य अरुबेला छोइनसक्नु हुन्छ, छुट अफर पाएका बेला लिए आनन्द हुन्छ,’ उनले भने ।फेसनेबल र चित्तबुझ्दो मूल्यमा जुत्ता पाएकाले किनेको उनी बताउँछन् । ‘ज्याकेटको मूल्य पनि चित्तबुझ्दो र दुई वटा किन्दा एउटा फ्रि पाएर किनिहालेँ,’ उनले भने ।चिसो मौसमका फेसनेबल लुगाको स्टक क्लियर गर्न ‘सेल’ लगाउने गरेको कुमारीपाटीस्थित सिन्सियर सपका व्यापारी पुष्परत्न शाक्य बताउँछन् । चाडवाडको समयमा मात्र नभएर स्टक क्लियर गर्न यस्ता अफर दिँदै आएको उनले बताए ।

उनले पसलका हरेक सामानमा शुक्रबारदेखि ५० प्रतिशत छुट राखेका छन् । उनका अनुसार ज्याकेट, हुडसँगै वान पिस, सर्ट, हाफ पाइन्ट, फ्रकलगायत लुगा सेलमा राखिएको छ । ‘चिसो मौसम अन्त्यसँगै गर्मीको सुरुवात हुन लागेकाले १० दिनका लागि ‘सेल’ राखेका हौं,’ उनले भने । स्टक क्लियर गर्न ‘सेल’ राखेको उनको भनाइ छ ।केही समयपछि समर फेसनको सिजन सुरु हुँदै छ । यही मौकामा थुप्रै पसलमा ‘सेल’ राखिएको छ । अधिकांश पसलेले ‘सेल’मा आकर्षक छुट राखेका छन् । ब्रान्डेड र फेसनेबल लुगा लगाउन मन पराउनेका लागि ‘सेल’ गतिलो मौका हुने उपभोक्ता बताउँछन् ।

गोमा मिश्र कुमारीपाटीस्थित फ्याव इन्डियाकी कर्मचारी हुन् । फ्याव इन्डियामा राखिएको छुट र ‘सेल’ अफरमा ग्राहक निकै सन्तुष्ट भएको उनी बताउँछिन् । सधैजसो छुट अफर र ‘सेल’ नदिए वर्षको एकपटक यस्तो अफर राख्दा ग्राहक खुसी भएको उनको अनुभव छ । ‘हामीसँग अग्र्यानिक सामानहरू भएकाले सधै छुट र ‘सेल’ अफर दिँदैनौ, तर यसरी दिँदा ग्राहकको निकै भीड बढेको छ,’ उनले भनिन् ।

पुराना ग्राहकलाई मात्र नभएर नयाँ ग्राहकलाई समेत आकर्षण गर्ने भएर यस्ता अफर र ‘सेल’ राखिएको उनी बताउँछिन् । आफ्नो व्यक्तित्व लुगामाभन्दा पनि जुत्ता हुन्छ भन्ने मान्यता राख्नेहरू राम्रा ब्रान्डका जुत्ता लगाउन मनपराउँछन् ।‘सेल’ अफरबाट आफूलाई मन पर्ने ब्रान्डेड जुत्ता किन्न सकिन्छ । लुगामा मात्र होइन, विभिन्न ब्रान्डहरूले जुत्तामा पनि आकर्षक छुट दिएका छन् ।कुमारीपाटीस्थित एन्टा सपमा विभिन्न ब्रान्डका जुत्तामा ४० प्रतिशत छुट दिइएको छ ।
फुटपाथ पसलमा खोजिन्छ फेसन
सडकपेटीमा संचालित एक पसलमा महिलाहरू कपडा छान्दै थिए । कोही आफूलाई सुहाउँदो लुगा खोज्दै थिए त कोही व्यापारीसँग मोलमोलाइ गर्दै थिए ।छेउमै बसेका व्यापारी जोडजोडले कराउँदै थिए– ‘हरेक लेडिज आइटम यता । एउटा किन्दा अर्को सित्तैमा । पाँच सयमा टिर्सट, छ सय ९० मा कुर्ती ।’यो दृश्य गत शुक्रबार न्युरोडस्थित एक गल्लीमा देखिएको हो । पसलमा महिलाका लागि कुर्ता, सुरवाल, टिसर्टलगायत राखिएको थियो ।

वीरगन्जका सुन्दरलाल यादव व्यापारी हुन् । उनी तीन वर्षदेखि सडकमै पसल चलाउँदै आएका छन् । ‘आजभोलि ग्राहकले सस्तो मूल्यमा फेसनेबल लुगा खोज्छन्, त्यही अनुसारका लुगा राख्छुु,’ उनले भने ।
उनी न्युरोडका पसलबाट लुगा ल्याएर बेच्ने गरेको बताउँछन् । ‘भूकम्पले भत्किएका पसलबाट लुगा ल्याएर बेच्न सुरु गरेको हँु,’ उनले भने ।

भूकम्पले पसल ढलेपछि उनले फुटपाथ व्यापार थालेका हुन् । त्यसयता उनी कहिले न्युरोड त कहिले सुन्धारामा भेटिन्छन् । ‘थोरै पैसा नाफा खाएर बेच्छु, व्यापार राम्रै छ,’ उनले भने ।
उनका अनुसार प्रत्येक हप्ता फेसन फेरिएर आउँछ । ‘मौसम अनुसारको लुगा बेच्छु, अहिलेका मान्छे फेसनमा निकै रुचि राख्छन्,’ उनले भने ।

कोही ग्राहक नेटमा लुगाको फोटो देखाउँदै आउने गरेको उनले बताए । ‘युवतीहरूको माग बढी हुन्छ, पाएको ल्याउछु, नपाएको त कहाँबाट ल्याउनु ?’ उनले भने ।उनको पसलमा कपडाको थुप्रोमा लुगा छान्दै थिइन्, विमला पाण्डे । काठमाडौंमा बिबिएस पढ्दै गरेकी उनी फुटपाथमै नयाँ फेसन खोज्ने बताउँछिन् । ‘बाहिरबाट पढ्न आएका विद्यार्थीलाई कहाँ महँगो लुगा किनेर पुग्छ र ? म फुटपाथमै किन्छु,’ उनले भनिन्।

पसलमा महँगो हुने भएकाले फुटपाथमै कपडा किन्ने उनी बताउँछिन् । ‘फुटपाथमा लिएको लुगा पसलमा सोध्दा दोब्बर-तेब्बर भाउ भन्छन्,’ उनले भनिन् ।पसलमा व्यापारीले बढी फाइदा खाने भएकाले फुटपाथमा कपडा किन्न जाने गरेको उनले बताइन् । उनलाई  व्यापारीको बढी नाफा खाने प्रवृत्ति मन पर्दैन । ‘भर्खर आएको फेसनेबल टिसर्ट साता वा दश दिनमा ‘सेल’मा पाइन्छ । किन महँगो दाम हाल्नु ?’ उनले ‘सेल’मा कपडा किन्नुको कारण खुलाइन् ।  

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:२६ सोमबार

सेलमै खाेजिन्छ फेसन