अन्य

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

चितवनकी रोजिना आचार्य नागाबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास राख्छिन् । उनी महाशिवरात्रिका दिन नागाबाबाको दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा एक लजमा बसिरहेकी छन् ।उनी आफ्ना पतिका साथ पशुपति क्षेत्रमा शिवरात्रिका दिन नागाबाबाको दर्शन गर्ने योजनामा छन् ।

आइतबार एकादशीका दिन पशुपतिनाथको मन्दिरमा पूजा गर्न पुगेकी ३५ वर्षीया रोजिना नागाबाबाको दर्शनले आफू उत्साहित भएको अनुभव सुनाइन् । ‘मेरो विवाह गरेको पाँच वर्ष भयो, अझै बच्चा जन्मेको छैन,’ रोजिनाले नागरिकसँगको भेटमा खुलाइन्, ‘बूढापाकाले नागाबाबाको दर्शन गरे सन्तान हुने भनेकाले आएकी हुँ ।’एकादशीका दिनलाई शिवरात्रि पर्वको पहिलो दिन मानिन्छ । एकादशीको एकाबिहानै झन्डै दुई सय नागाबाबाले ‘हरहर महादेव’ भन्दै पशुपति मन्दिर परिसरलाई आफ्नो अखडा बनाए ।

उनीहरूले बलिरहेको धुनीमा मयुरको प्वाँख छुवाएर सबैलाई टाउको र शरीरमा प्रहार गर्दै आशीष दिइरहेका थिए । आइतबार मन्दिरभित्र नागाबाबाको आशीर्वाद लिन किशोरकिशोरीदेखि वृद्धासम्मको उपस्थिति थियो । सबैका आ–आफ्नै मान्यता थिए, उद्देश्य सबैको मनोकांक्षा पूरा होस् भन्ने नै थियो ।‘मैले आज नागाबाबाको दर्शन गरी एसइई परीक्षा पास हुने मनोकामना गरेँ,’ १८ वर्षीया उवर्शी महर्जनले भनिन् । नागाबाबाहरू पनि भक्तजनलाई नजिक बोलाएर खरानीको टीका र मयुरको कुचोले आशीर्वाद दिइरहेका थिए।

भारतका देवघरबाट आएका राम सन्न्यासी नागाबाबाले आपूmले दिएको आशीर्वादले भक्तजनलाई फलिफाप हुने बताए । ‘हामीलाई विश्वास गरेर दर्शन गर्न आएका भक्तजनलाई हृदयबाटै आशीष दिन्छौँ,’ रामले भने, ‘शिवरात्रि शिव र पार्वतीको विवाहको दिन हो, नागाबाबालाई भोलेको अवतार नै मानिन्छ, त्यही भएर भक्तजनले हामीलाई विश्वास गर्छन् ।’

नागाबाबाहरू परापूर्वकालदेखि नै महाशिवरात्रिमा पशुपतिमा मेला भर्न आउने चलन रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । उनले यस वर्ष करिब चार हजार जोगी तथा सन्न्यासीहरू मेलामा सहभागी हुने र आइतबारसम्म हजार बाबाहरू पशुपति क्षेत्रमा प्रवेश गरिसकेको जनाए ।

‘शिवरात्रिको एक आकर्षण नागाबाबाहरू नै हुन्, विगतमा उनीहरूलाई पीताम्बरसहित दक्षिणा दिने चलन थियो,’ उप्रेतीले भने, ‘हाल कोष र गुठी संस्थानले दक्षिणास्वरूप रकम नै दिने गरेको छ ।’ उनले थपे, ‘यो वर्ष बाबाहरूको दक्षिणाका लागि सात लाख रकम छुट्याइएको छ ।’
 

प्रकाशित: २९ माघ २०७४ ०५:५३ सोमबार

सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण