अन्य

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ। 

पुरातात्व विभाग र महानगरपालिकाले स्थानीयको विरोधबीच जबरजस्ती सम्पदा पुनर्निर्माण गर्न ठेक्का लगाएको त्यहाँका सर्वसाधारणको आरोप छ । पाटन मंगलबजारका श्यामबहादुर अमात्यका अनुसार सडक बनाउने निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । ‘सम्पदा पुनर्निर्माणमा टेन्डर आह्वान गरिनुहुन्न भन्ने हाम्रो माग हो,’ उनले भने, ‘सम्पदाको संवेदनशीलता नबुझ्नेलाई टेन्डर पार्नु राम्रो होइन ।’ उनले भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा पनि सम्पदा पुनर्निर्माणमा जिम्मेवार निकायले चासो नदिएको बताए। 

‘सम्पदा पुनर्निर्माण अति नै संवेदनशील हो,’ उनले थपे, ‘अहिले ठेक्का दिएको ठेकेदारलाई काठ प्रयोग र डिजाइन कस्तो गर्ने भन्ने जानकारी पनि छैन।’  

अर्का स्थानीय महेशमान शाक्यले स्थानीय तवरबाटै सम्पदा पुनर्निर्माण हुने भए पनि पुराताŒव विभागले नमानेको बताए । उनले भने, ‘ठेकेदारी प्रथाले सम्पदाको विनास हुन्छ, ठेकेदारहरू सकेसम्म काम चाडैं सक्न खोज्छन् । सम्पदाको मर्म बुझ्दैनन्, हामीले यसको चर्को विरोध पनि गरेका छौं।’ 

ठेकेदार कम्पनीले हालसम्म जग पनि पूरा खनेको छैन । मन्दिरका झ्याल, ढोका, टुँडाल, थामलगायत पुराना काठ यत्रतत्र भुइँमै छरिएका छन् । निर्माण सामग्री जथाभावी फालिँदा बिग्रने अवस्थामा छन्। 

यस विषयमा ठेकेदार सुरेश सिलवालसँग कुरा गर्न खोज्दा उनको फोन उठेन ।
दरबार हेरचाह कार्यालय तथा पुरातात्व विभाग ललितपुर शाखा प्रमुख काजीमान प्याकुरेलले ठेकेदार फिल्डमा नआएकाले पुनर्निर्माण अलपत्र परेको सुनाए । ठेकेदारले बदमासी गर्दा मन्दिर पुनर्निर्माण हुन नसकेको उनको भनाइ छ। 

‘ठेकेदारले काम सुरु गर्छु भने पनि हामीले करिब डेढ महिनापहिले मन्दिर भित्रका सामानहरू निकाल्यौं,’ उनले भने, ‘तर, ठेकेदार कम्पनीले काम अघि बढाएन ।’ उनले अझै पनि कम्पनीले मन्दिर बनाउन आलटाल गरे ठेक्का खारेज समेत गरिने बताए।

ठेकेदारले मन्दिर पुनर्निर्माण गर्ने भन्दै पुनर्निर्माण साम्रगी बाहिर निकालेर अलपत्र पारेको शाखा प्रमुख प्याकुरेलको आरोप छ । उनले ठेकेदारलाई बारम्बार काम गर्न आग्रह गरे पनि वास्तै नगरेको जानकारी दिए । उनका अनुसार ठेकेदारले मन्दिरको आधा जग खनेर अलपत्र छाडेको छ। 

प्रकाशित: १९ माघ २०७४ ०५:१९ शुक्रबार

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र