अन्य

टीका ट्रेन्ड

कलाकार रागिनी उपाध्यायको निधारमा टीका टल्कन थालेको ३१ वर्ष भयो । उनले निधारमा लगाउने सर्प आकृतिको टीका उनी आफैँ पेन्ट गर्छिन्।

उनी भन्छिन्, ‘आफैँ कलाकार भएको हुनाले आफूले लगाउने हरेक टीका आफैँ पेन्ट गर्छु ।’ रागिनीले सन् १९८७ देखि निधारमा सर्पको आकृतिलाई टीका बनाएर लगाउन सुरु गरेकी हुन्।

उनी आफूले लगाउने टीकालाई आफ्नो कलाको प्रतीकको रुपमा लिन्छिन् । निधारमा सर्पको आकृति बनाउनु आफ्नो मनको इच्छाको अभिव्यक्तिका रूपमा उनी अथ्र्याउँछिन् । उनले टीकाको रूपमा सर्प, त्रिशूल, उदाउँदै गरेको सूर्यको आकृति बनाएर लगाउने गरेकी छन्।

मनका हरेक इच्छा, माया, प्रेम, मान, प्रतिष्ठा, इज्जतकोे संकेतका रूपमा आफ्नो टीकालाई अथ्र्याउन रुचाउँछिन् रागिनी । टीकामा उनको धार्मिक आस्था पनि प्रकट हुने गरेको छ । उनी शिवभक्त हुन् । नारीशक्ति देखाउन उनी त्रिशूल आकृतिको टीका लगाउँछिन्।

जीवनलाई आफूले निधारमा लगाउने टीकासँग तुलना गर्दै उनी भन्छिन्, ‘जीवनमा अमृतभन्दा विष धेरै हुुन्छ । अमृतलाई आत्मसात् गरेर जीवनमा अगाडि बढ्नुपर्छ।’

सर्पलाई प्रेमको प्रतीकका रूपमा निधारमा धारण गरेको उनी बताउँछिन् । ‘सर्पमा विष र अमृत दुवै हुन्छ, हामीले कुन चिजलाई आत्मसात् गर्ने भनी स्वयंले निर्धारण गर्न सक्नुपर्छ,’ उनी भन्छिन् ‘औषधि पनि धेरै भयो भने विष हुन्छ।’

मनका हरेक इच्छा, माया, प्रेम, मान, प्रतिष्ठा, इज्जतकोे संकेतका रूपमा आफ्नो टीकालाई अथ्र्याउन रुचाउँछिन् रागिनी । टीकामा उनको धार्मिक आस्था पनि प्रकट हुने गरेको छ । उनी शिवभक्त हुन् ।  आफूमा भएको नारीशक्ति देखाउन त्रिशूल आकृतिको टीका लगाउने गरेको उनले बताइन् । त्यसैले उनको निधारमा हरसमय  कुनै न कुनै प्रतीकात्मक टीका टल्किएको हुन्छ । केही वर्षअघि छोरीको निधनपछि भने उनले एक वर्ष निधार खाली राखिन्।

यो वियोगपछि टीका लगाउन बन्द गरेकी रागिनी अहिले उदाउँदो सूर्यको टीका लगाउँछिन् । ‘जीवन सुखदुःखको समिश्रण हो, कहिले खुसी त कहिले दुःखका अथाह भारी अपर्झट आइपर्छन् । जसलाई मिलाएर अघि बढ्नुपर्छ,’ उनले भनिन् । निधारमा उदाउँदै गरेको सूर्यलाई उनी आफूभित्र उदय हुन लागेको खुसीको प्रतीक मान्छिन्।

टीकाले आफ्नो परिचयलाई अझै बुलन्द बनाएको उनको अनुभव छ । समाजले महिलालाई विवाहितका रूपमा चिनाउनकै लागि मात्र टीकाको प्रयोग गरेकामा भने उनको असन्तुष्टि छ । ‘पुरुषलाई कुनै पनि प्रकारको बन्देज या पहिरन छुट्याइएको छैन, तर महिलालाई मात्र किन ?’ उनी तर्क गर्छिन् । महिलाले टीका लगाएर ‘म कुनै पुरुषका लागि रिजर्भ भएँ’ भनी मानिने कुरा गलत रहेको उनको तर्क छ।  

न्याय हेल्प नेपालकी पिपुल अपरेसन कार्यक्रम निर्देशक हिमा विष्टको टीका सोख पनि चाखलाग्दो छ । उनको निधार हरेक दिन कालो रङको ठूलो टीकाले सजिएकोे हुन्छ । हिमाको निधारमा कालो ठूलो टीका सजिन थालेको १० वर्ष भइसक्यो।  
सानो हुँदा आमा र हजुरआमाले लगाएको देख्दा लगाउने इच्छा जागेको हिमा बताउँछिन् । उनी सम्झन्छिन्, ‘मुमाले लगाउने टीका नेपालमा पाइँदैनथ्यो । भारतबाट कोही आएका बेला मगाउनुहुन्थ्यो । जुन टीका एउटा पत्तामा एउटा मात्र हुन्थ्यो ।’ आमा र हजुरआमाले रातो रङको टीका लगाए पनि आफूलाई कालो रङ मनपर्ने भएर लगाउन सुरु गरेको उनले बताइन् । ‘कालो रङले आफूलाई आकर्षक देखाउने भएर नै लगाउन सुरु गरेकी हुँ,’ उनले भनिन् । कालो रङको टीका नपाउँदा साह्रै गाह्रो भएको अनुभव उनले सुनाइन्।

‘कालो रङलाई नकारात्मक रूपमा लिने हाम्रो सोचलाई मैले चुनौती दिएकी छु,’ उनले भनिन् । ‘रातो नै राम्रो भन्ने हाम्रो समाजको सोच देख्दा दिक्क लाग्छ,’ उनले भनिन् । अपशकुन हुने भनेर पसलमा कालो टीका नै नपाएको उनको गुनासो छ । ‘पसलमा टीका लिन जाँदा पसलेले कालो टीका नै पाइँँदैन भने । रातो टीका पो लगाउनु राम्रो हुन्छ, कालो लगाउनु अपशकुन हो सम्म भने,’ उनले भनिन्।

धेरै समयसम्म नेपालमा कालो टीका नपाउँदा भारतबाट मगाउने, आफू गएको समय लिएर आउने गरेको उनी बताउँछिन् । ‘कालो टीकाले आफ्नो परिचय दिएकामा खुसी लागेको छ,’ उनी भन्छिन्, ‘कतै गएका बेला कतिले भन्छन्, हजुरले लगाएको देखेर मैले पनि सुरु गरेँ । यस्तो सुन्दा आनन्द लाग्छ।’

सबैको रुचि, सोच एउटै नभएको र आफूले मानिसको विभिन्न प्रतिक्रिया पाएको उनी बताउँछिन् ।
‘मेरो कपाल कालो र घुम्रेको छ, कालो टीका लगाउँदा कसैले नाटकी देखियो भने । कसैले त कस्तो माताजी जस्तो देखियो, माता बन्न लागेको हो भनेर पनि सोधे,’ उनले भनिन्।

उनी वर्षको दुई दिन भने टीका लगाउँदिनन् । ‘तीजमा रातो लगाउँछु, दसैँमा अक्षता हुन्छ, त्यही भएर लगाउँदिनँ,’ उनले भनिन् । ठूलो कालो टीका लगाउँदा आफू सुन्दर, आत्मविश्वासी भएको महसुस गर्ने उनी बताउँछिन् । कालो रङलाई अपशकुन, नराम्रो हुन्छ भनी आफूले विश्वास नगर्ने उनी बताउँछिन् । ‘नेपाली नारीको संस्कृतिलाई तोडेको छैन, आफ्नो इच्छाले लगाएकी हुँ,’ उनले भनिन्।

राष्ट्रिय सूचना विभागकी आयुक्त यशोदा तिमल्सिना आफ्नो लुगाअनुसार टीका लगाउँछिन् । टीका लगाउँदा आफू परिपक्व देखिने उनी बताउँछिन् । ‘परिपक्वताका लागि काम गरेर देखाउने त छँदै छ । लुक्स र गेटअपले पनि देखिनुपर्छ,’ उनले भनिन् । यशोदाका निम्ति टीका अनिवार्यजस्तै भएको छ । ‘टीका त नभई हुँदैन, कहिलेकाहीँ सकिएको थाह भएन भने मागेर पनि लगाउँछु,’ उनले भनिन् । विभिन्न चाडपर्वमा टीका, पोते उपहारस्वरूप पाउने गरेको उनले बताइन्।

‘मलाई सधैँ नै टीका लगाएको देख्नेले कहिलेकाहीँ नलगाउँदा खाली देखिएको भन्छन्,’ उनी भन्छिन्, ‘म प्रायः रातो रङको ठूलो टीका लगाउँछु । अलिक सानो साइजको टीका लगाउन सल्लाह दिने पनि छन्।’

उनलाई आमाले पनि उपहारको रूपमा टीका दिन्छिन् । त्यो टीका लगाउँदा आमा खुसी हुने गरेको उनी बताउँछिन् । ‘आफूले लगाएको टीकाले आमाको ओठमा हाँसो ल्याउँदा खुसी लाग्छ,’ उनले भनिन्।

महिलाको सौभाग्यको रुपमा टीका लगाउने चलन चलाएको भए पनि पुरुष र महिला दुवैले लगाउने चलन रहेको समाजशास्त्री राम लोहनी बताउँछन् । ‘शरीरका सातवटा चक्रमध्ये आँखीभौँको बीचमा रहेको आज्ञा–चक्र महŒवपूर्ण छ,’ उनले भने, ‘दुई आँखीभौँको बीचमा टीका लगाउँदा ध्यान गर्नेहरु ध्यानमा केन्द्रित हुनसक्छन्।’

पशुको बलिको रगतलाई प्रसादका रूपमा निधारबीच लगाउन थालिएको उनी बताउँछन् । ‘निधारको बीचमा रातो टीका सफलता र विजयको रूपमा लगाइन्छ,’ उनने भने।

महिलाको सुरक्षाका लागि टीका लगाउने चलन रहेको उनले बताए । ‘विवाहित महिलालाई अन्य पुरुषले हेर्ने दृष्टिकोणमा फरक पर्ने भएर पनि टीका लगाउने चलन चलाइएको हो,’ उनले भने, ‘टीका लगाउनैपर्छ भन्ने छैन । आफ्नो इच्छाको कुरा हो।’

प्रकाशित: १५ माघ २०७४ ०६:४३ सोमबार

टीका ट्रेन्ड