अन्य

‘काठमाडौंले धेरैलाई मान्छे बनाएको छ’

रामकृष्ण ढकाल, गायक

तपाईंलाई मनपरेको सहर कुन हो ?

मेरो रोजाइको सहर पोखरा हो । पोखरा सफा र सुन्दर छ । होटल र घरको माथिल्लो तलाबाट हिमाल, फेवाताल र लेकहरू नियाल्न पाइन्छ । सहरको सुन्दरताबारे पोखरावासी सजक पनि छन् । यहाँ नागरिकले नै पुराना थोत्रा गाडी सञ्चालन गर्न निस्तेज गरेका छन् । प्रदूषण निम्तिने कुनै पनि उद्योग सञ्चालन भएका छैनन् । यहाँका संरचना पनि आकर्षक छन् । यहाँका रेस्टुरेन्ट व्यवस्थित छन्। 

काठमाडौं कस्तो लाग्छ ?

काठमाडौं मेरो कर्मभूमि हो । यही ठाउँबाट म गायन क्षेत्रमा स्थापित हुन पाएँ । काठमाडौंमा सबथोक छ । काठमाडौं नभइदिएको भए आज हामी धेरैले आफ्नो धोको पूरा गर्न बाहिरी देशका सहरमा पुग्नुपथ्र्यो होला । काठमाडौंले धेरैलाई मान्छे बनाएको छ । यहाँको जस्तो भौगोलिक बनावट र मौसम विश्वका कुनै देशका सहरमा पनि पाइँदैन । यहाँ ठिक्क जाडो र ठिक्क गर्मी हुन्छ । युरोप अमेरिकातिर हिउँ परेर हैरान हुन्छ । तर, हाम्रोमा  भिन्न मौसम छ । प्रकृतिले यति धेरै सम्भावना दिँदा पनि काठमाडौंलाई सजाउन सकेनौँ । पछिल्लो समय काठमाडौं अस्तव्यस्त छ । सहरका हरेक चोक धुलाम्मे र प्रदूषित छन् । यसलाई सुधार्ने जिम्मा हाम्रो होइन र ?

काठमाडौंमा बस्न कस्तो लाग्छ ?

हामी सबैका कारण काठमाडौं दिक्क लाग्ने भएको हो । पैदलयात्रुले सही ठाउँबाट बाटो काट्ने, सरकारी कर्मचारीले पारदर्शी भएर काम गर्ने, नेताले नढाँट्ने, ट्राफिक प्रहरीले आफ्नो कारबाहीलाई चुस्त पार्ने, सहरवासीमा नैतिकता र बानी–व्यवहार ठीक हुने भए काठमाडौं यतिसम्म प्रदूषित र अव्यवस्थित हुने थिएन । यहाँ त सवारी चलाउन पनि डर लाग्छ । कुनै ठाउँको विकासका लागि त्यहाँको कानुन र नीति–नियम कडा हुनुपर्छ । कानुनले सबैलाई बाँध्न सक्नुपर्छ । युरोप, अमेरिकामा पनि मानिस गलत काम गर्न इच्छुक हुन्छन्, तर त्यहाँको कानुनी व्यवस्था कडा भएकाले उनीहरू ठाउँमा बस्छन् । हाम्रोमा कानुनी व्यवस्था फितलो भएकै कारण सहरको विकास नभएको हो । 

तपाईंको विचारमा सहरको विकास कसरी होला ?

सहर आकर्षक देखिनका लागि सहरमा भएका संरचनाको ठूलो भूमिका रहन्छ । तर, उपत्यकाका संरचना एकै किसिमका छैनन् । यहाँ भवन निर्माणमा मनपरी छ । सरकारले पनि भवन निर्माण मापदण्ड कार्यान्वयन गराउन सकेको छैन । सहरमा ठूलाबडा र हुनेखानेको मनपरी चल्छ । सरकारले ल्याएको नीति–नियम पनि गरिबको पक्षमा लागू हुन्छ, तर हुनेखाने राजनीतिक पावर भएका व्यक्तिलाई कानुन लाग्दैन । यहाँको अदालत समेत राजनीतिक फोहोरबाट मुक्त हुन सकेको छैन । त्यसकारण सहर विकास हुनका लागि नीति–नियम, योजना, राज्यका निकाय र नागरिक सबै चुस्त हुनुपर्छ । सहरको विकासका लागि ल्याइएका योजनामा राजनीति हुनु हुँदैन । देशको कानुनले सबैलाई बाँधेको हुनुपर्छ, अनि मात्र सहरको विकास सम्भव छ । नत्र यस्तै चालले देश र जनताको विकास हुन सक्दैन । 

कुनैताका काठमाडौं पनि पोखराजस्तै शान्त र व्यवस्थित थियो, सरकारले उचित व्यवस्थापन गर्न नसक्दा अव्यवस्थित भयो, पोखरा पनि त्यस्तै होला कि ?

काठमाडौंमा हरेक सेवा–सुविधा भएकाले देशैभरका मानिस यहीँ आए । मौसम र हावापानीले पनि धेरैलाई काठमाडौंमै तान्यो । अझै पनि बाहिरबाट काठमाडौं आएर घर बनाएर बस्ने क्रम जारी छ । पोखरामा काठमाडौंमा जस्तो बसाइँ सरेर घर बनाउने छैनन् । यहाँ काठमाडौंको जस्तो सरकारी सेवा र अन्य सेवा लिन जानुपर्दैन । यहाँ पुग्नुको उद्देश्य आफूलाई केहीछिन भए पनि आनन्द राख्नु, प्राकृतिक दृश्य नियाल्नु हो । ध्यान नदिने हो भने सहर बिग्रन सक्छ, त्यसैले सहरको विकास र भविष्यबारे सरकार र नागरिकले ध्यान दिनुपर्छ । हामीले आफू बसेको सहरलाई सफा राख्दैनौँ, सहरमा बेथिति गर्छौं भने त्यसले हामीलाई विनाश गर्छ । अहिलेसम्म पोखरावासी सहरप्रति सचेत नै छन् । 

सरकारको कस्तो कमजोरीले सहर बिग्रिएको होला ? 

संसारमा कुनै पनि देशको विकास र सभ्यताका लागि त्यहाँको सरकारले मुख्य भूमिका खेलेको हुन्छ । सरकार नै सहर विकासको मुख्य आधार–स्तम्भ हुन्छ । तर, हाम्रोमा ठ्याक्कै उल्टो देखिन्छ । विकास गर्न भनेर सत्तामा गएका नेता र सरकारी कर्मचारीले जनता ठगेको, घुस खाएको देख्न र सुन्नुपर्छ । जबसम्म सरकारी र उच्च पदमा रहेको व्यक्तिमा अनुशासन, जिम्मेवारी र पारदर्शिता हुँदैन, तबसम्म जनताले जेजे गरे पनि सहरको विकास हुनेवाला छैन । अहिले काठमाडौंमा सवारी हाँक्ने चालकमा पनि अनुशासन छैन । व्यस्त सहरमा दर्जनौँ यात्रु बोकेको चालकलाई सवारीको गति थाहा हुँदैन । जोडले सवारी हाँकेका हुन्छन् । जेब्रा क्रसमा पनि सवारीले किचरे मार्ला भन्ने डर हुन्छ । 

सहरको विकासका लागि सहरवासीको भूमिका के देख्नुहुन्छ ?

यो मेरो ठाउँ हो, यसलाई राम्रो पार्नु मेरो पनि जिम्मेवारी हो भन्ने सबैलाई लागे मात्र काठमाडौं राम्रो बन्ला । त्यस्तै, महानगरका प्रतिनिधिले पनि व्यवस्थित सहर बनाउनेबारे सोच्नुप¥यो । यो विषयमा पनि अनुशासन नै जोडिन्छ । मानिसमा अनुशासन र सहरप्रतिको माया भएन भने सहरको विकास पनि हुँदैन । अरु देशका सहरमा काननुले नै सहरवासीलाई नियन्त्रणमा लिएको हुन्छ । सहरमा फोहोर फ्याँक्नेलाई ठूलो जरिवाना र कारबाही हुन्छ । हाम्रोमा त्यस्तो छैन । विदेश घुमेर आएका नागरिकले पनि यो त नेपाल हो, जे गरे पनि हुन्छ भनेर हेलचेक्र्याइँ गर्छन् । विदेशी देशमा बाटोलाई हेरेर सभ्य मुलुक ठानिन्छ, तर हाम्रोमा त सडक अवस्था हेर्दा डर लाग्छ । ट्राफिकले पनि जाम निम्त्याएको हुन्छ । बढी जाम भएको ठाउँमा हेर्दैनन् । सवारी चालकलाई लेनबारे थाहा छैन । 

नेपाल बाहिरका सहर कतिको घुम्नुभएको छ ?

मैले करिब ५० देशका प्रायः सहर घुमेको छु । ती देशका सहर अति नै व्यवस्थित छन् । त्यहाँका सहरलाई कानुनले बाँधेको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन । 

विदेशका सहर कस्तो लाग्यो ?

विदेशका सहर धेरै नै सुन्दर छन् । नेपालभन्दा पछि जन्मिएका धेरै देशका सहर नमुना भएका छन् । दुबई, मलेसिया, जापान, युरोपतिरका सहर अति नै व्यवस्थित र सुन्दर छन् । 

हाम्रा सहर र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्न पाउनुभयो ?

विदेशी सहरमा हरेक सेवा–सुविधा चुस्त हुन्छ । दुइटा ट्राफिक प्रहरीले पनि पूरै सहरलाई निगरानी राख्न सक्छन् । सहरमा कसैले गल्ती गर्‍यो भने तुरुन्तै कारबाही हुन्छ । प्राकृतिक र ऐतिहासिक रूपमा भने हामी धनी छौँ । हाम्रा सहर कला र परम्पराले सजिएका छन् । यहाँको जस्तो मौलिकता अन्त पाइन्न । नेपालका सहरको इतिहास धेरै लामो छ । यहाँका मठ–मन्दिर र दरबार विश्वकै नमुना हुन् । 

देशका अन्य सहर कस्तो लाग्छ ?

उपत्यका बाहिरका सहर पनि राम्रो लाग्छ । नेपालको सम्पत्ति भनेकै मौसम, पहाड, हिमाल र हेरिटेज हो । हाम्रोमा हजारौँ वर्ष पहिलेका मन्दिर र जात्रा–पर्वहरू छन् । 

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?

मलाई मेरो देशको प्राकृतिक सौन्दर्य र हावापानी अति नै मनपर्छ । मैले यही ठाउँलाई नै सपनाको सहर ठान्छु । तर, हामीले चिसो हुने कंक्रिटका घर बनायौँ । मौलिक शैलीमा बनेका घर सबै भत्कायौँ, यो हामी सबैको कमजोरी हो । विकासले गति नलिँदा सहर यस्तो भएको हो । सहरवासीमा एउटै सोच, अनुशासन अनि सरकारको नियम पनि कडा र पारदर्शी भएको भए सहर अझ राम्रो हुन्थ्यो होला । 

उपत्यकाको मनपर्ने पक्ष के हो ?

उपत्यकाभित्र ऐतिहासिक दुर्लभ क्षेत्र छन् । यहाँका मठ–मन्दिर र ऐतिहासिक सम्पदा मलाई राम्रो लाग्छ । 

मननपर्ने पक्ष ?

धुवाँधुलो, ट्राफिक जाम, भीडभाड र अव्यवस्थित पार्किङले नै उपत्यकालाई कुरूप बनाएको छ । 

उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने ?

नगरकोट र धुलिखेल जान्छु । उपत्यका नजिक घुम्ने ठाउँ यिनै हुन् ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?

मलाई नेपालकै रारा जाने मन छ । यो ठाउँमा पुगेर भिडियो बनाउने रहर छ । 

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १२ माघ २०७४ ०७:३४ शुक्रबार

काठमाडौंले धेरैलाई मान्छे बनाएको