अन्य

इ–कमर्सकै भरमा हुलाक

कुनैताका चिठीपत्र लिने र पठाउनेको भीड लाग्ने हुलाक सेवा कार्यालयहरू पछिल्लो समय इ–कमर्समा परिणत हुँदै गएका छन् । प्रविधिको फड्कोसँगै मानिसले हुलाकलाई आधुनिक रुपमा प्रयोग गर्न थालेका हुन्। 

अहिले हुलाक कार्यालयमार्फत संस्थागत चिठीपत्र, भिसा कार्डसँगै विभिन्न सामान पठाइने गरिन्छ । जसमा मोबाइल, लुगा, खाद्यान्न सामग्री, मह, औषधि, फलफूल, दूध, अचारलगायत हुन्छन् । हिजोआज दैनिक हजारभन्दा बढी मालसामानका चिठीपत्र आउने गरेको गौश्वारा हुलाक कार्यालयकी सूचना अधिकारी निर्मला थापाले जानकारी दिइन्। उनका अनुसार हिजोआज व्यक्तिगत कामका चिठीपत्र आउँदैनन् । पार्सल र इएमएस सेवाबाट पठाएका डकुमेन्ट र अन्य सामान आउँछन् । ‘हुलाकलाई हामीले चिठीपत्र पठाउने माध्यमका रुपमा मात्रै हे¥यौँ,’ उनले भनिन्, ‘हुलाकबाट हरेक किसिमका माल–सामान सस्तोमा पठाउन र प्राप्त गर्न सकिन्छ, यो आधुनिक समयको माग पनि हो ।’ उनले धेरैजसोले पछिल्लो समय हुलाकको कामकाज र प्रयोग थाहा नपाएका कारण हुलाक सेवा त्यति प्रभावकारी नदेखिएको सुनाइन् । ‘संसारका जुनसुकै कुनाबाट दुईदेखि २० केजीसम्मको सामान १० दिनभित्रै हुलाकका माध्यमबाट प्राप्त गर्न र पठाउन सकिन्छ,’ उनले भनिन्, ‘निजी कुरियर कम्पनीले भन्दा चारगुणा सस्तोमा हुलाकमार्फत सामान पठाउन सकिन्छ, तर नागरिक यसबारे जानकार नै छैनन् ।’ उनका अनुसार अहिले अनलाइन सपिङ तथा आफूलाई चाहिने जुनसुकै माल–सामान हुलाकका माध्यमबाट पठाउनेको संख्या बढ्दै गएको छ।

‘संसारका जुनसुकै कुनाबाट दुईदेखि २० केजीसम्मको सामान १० दिनभित्रै हुलाकका माध्यमबाट प्राप्त गर्न र पठाउन सकिन्छ,’ उनले भनिन्, ‘निजी कुरियर कम्पनीले भन्दा चारगुणा सस्तोमा हुलाकमार्फत सामान पठाउन सकिन्छ, तर नागरिक यसबारे जानकार नै छैनन् ।’

वैदेशिक रोजगारमा जानेको संख्या बढ्नु र आधुनिक प्रविधिको विकासले पछिल्लो समय नेपालमा हुलाक सेवा इ–कमर्समा चल्न थालेको मानिन्छ । हिजोआज वैदेशिक रोजगारमा गएकाले आफन्तलाई पठाउने धेरैजसो सामान पनि हुलाकबाटै पठाउने गरेका छन् । शुल्क सस्तो लाग्ने र कम्तीमा १० दिनभित्र आफन्तको हातमा पुग्ने भएपछि सामान पठाउन धेरैजसोले यही माध्यम प्रयोग गर्न थालेका हुन्। 

चेतनाको कमी र सरकारी सेवाको अविश्वासका कारण धेरैजसो सर्वसाधारणले निजी कुरियर कम्पनी नै खोज्ने गरेको गोश्वारा हुलाक कार्यालयका खरिदार दुर्गाचरण ढकाल बताउँछन् । ‘हुलाक सेवालाई विश्वास गर्ने हो भने धेरै सस्तो र सहज रूपमा सामान पठाउन र प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘धेरैजसोमा हुलाक भनेको चिठीपत्र पठाउने माध्यम मात्रै हो भन्ने बुझाइ छ, जसकारण हुलाक सेवालाई आधुनिक रूपमा प्रयोग गर्न कठिन भएको छ।’ 

कतिपयले आफ्नो ठेगाना नखुलाएका कारण सामान सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन असहज हुने गरेको उनले बताए । ‘पठाउनेले आफ्नो ठेगाना गल्ती लेखेको छ भने दुई केजीभन्दा बढी तौल भएका सामान लिलामी हुन्छन्,’ उनले भने । उनका अनुसार ठेगाना नखुलेका कतिपय डकुमेन्ट आफन्तले लिन नआए फिर्ता गरिन्छ। 

गोश्वारा हुलाक कार्यालका हलकारा भुपेन्द्र भट्टराईका अनुसार कतिपयले हुलाकमार्फत कुरियर गर्दा विधि नपुर्‍याएका कारण सामानलाई सहजै सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन सकिँदैन। 

आधुनिक हुलाक सेवाअन्तर्गत पोस्ट रेसिडेन्स र इमर्जेन्सी सेवा पनि छ । जसमा कसैलाई अत्यावश्यक परेको माल–सामान वा कुनै डकुमेन्ट छिटो सम्बन्धित स्थानमा पुर्‍याउन सकिन्छ । यो सेवा जुनसुकै मुलुकबाट पनि प्राप्त गर्न सकिने कार्यालयकी सूचना अधिकारी थापाले जानकारी दिइन् । उनका अनुसार पोस्ट रेसिडेन्स सेवा पनि पछिल्लो समय धेरै प्रयोगमा आएको छ । यो सेवा कुनै व्यक्ति छोटो समयका लागि कुनै मुलुकमा बस्न गएको छ भने त्यस्ता व्यक्तिले प्रयोग गर्न सक्छन् । हुलाक कार्यालयमा पोस्ट रेसिडेन्स भनेर छुट्टै कक्ष पनि राखिएको हुन्छ । ‘व्यक्तिगत प्रयोगका निम्ति अहिले पोस्ट रेसिडेन्स सेवा संसारभर चल्तीमा छ,’ उनले भनिन्, ‘कुनै मुलुकको भिजिटमा गएका नागरिकका निम्ति यो सेवा उपयुक्त मानिन्छ।’ 

पछिल्लो समय हुलाकका माध्यमबाट नेपालबाहिर पठाइएका धेरैजसो माल–सामान फिर्ता आउने गरेको खरिदार ढकाल बताउँछन् । हुलाकमार्फत पठाइएका औषधिमा समेत गुणस्तर नभएपछि फिर्ता आउने गरेको उनले बताए । ‘विदेशीले नेपालमा उत्पादन भएका वस्तु पनि माग गर्छन्,’ उनले भने, ‘तर, गुणस्तर नपुगेका कारण धेरैजसो वस्तुहरू फिर्ता आउने गरेका छन्।’ 

प्रकाशित: १२ माघ २०७४ ०७:१६ शुक्रबार

इ–कमर्सकै भरमा हुलाक