अन्य

सपनाको देशमा विचरण गर्दा

प्रा. गोपीकृष्ण शर्मा
चन्द्रकान्त आचार्यको नियात्रा संग्रह ‘सपनाको देशमा’ पढेपछि आफैँ त्यस देशमा विचरण गरेको महसुस भयो । नेपालमा यात्रा संस्मरण लेख्ने कार्य पुरानै भए पनि तानासर्माको ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तक २०२६ मा प्रकाशित भएपछि यसलाई नियात्राको नाम दिइयो र नियात्रा साहित्यबारे लेख्ने कार्य भए।

यात्राको गतिसँगै निजात्मक राग र अनुभूति मिसिएको रोचक र उन्मुक्त शैलीमा लेखिएको यथार्थपरक यात्रा लेखनलाई नियात्रा भनिने कुरामा यस सम्बन्धमा लेख्ने सबैजसो सहमत छन्, तर त्यस किसिमका रोचक र यथार्थपरक यात्रालाई औपन्यासिक ढाँचामा प्रस्तुत गर्ने कला सबैमा पाइँदैन, त्यसैले सबै यात्रा लेखन नियात्रा हुन सक्दैनन् । यस परिप्रेक्ष्यमा ‘सपनाको देशमा’ पढेपछि यो नितान्त रोचक र औपन्यासिक लाग्यो ।

यस संग्रहलाई पाँच भागमा बाँडिएको छ । सन् २००९ र पछि सन् २०१४ मा आपूmले भ्रमण गरेका ठाउँका जनजीवन समेतलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । पहिलो भ्रमणमा पूर्वतटीय र मध्यपश्चिम क्षेत्रमा यात्रा गर्दा भेटिएका स्मृति समावेश छन् भने दोस्रोपटकको भ्रमणमा खासगरी क्यालिफोर्निया र एट्लान्टातिरका नियात्रा प्रस्तुत गरिएका छन् ।

यस किसिमको प्रस्तुतिले यो नियात्रासंग्रह निर्मोही व्यासले त्यसमा लेखेको समीक्षात्मक टिप्पणीमा भनिएजस्तै संयुक्त राज्य अमेरिकाको सम्पूर्ण क्षेत्रको सजीव चित्रण भएको बहुआयामिक तस्बिर हो ।
पहिलो लेखमा सुदूरपूर्व जापानको टोकियोबाट सुदूरपश्चिम अमेरिकाको वासिङ्टन डिसी जाने जहाजमा एक्कासि रात परेर गोलाकार पृथ्वीको चक्कर लगाउँदा नयाँ अनुभूति प्राप्त भएको कुरा लेखिएको छ भने प्राविधिक पक्षको समेत उल्लेख गरेर कुतूहलता बढाउँदै टोकियोबाट उडेको समयभन्दा एक घन्टाअघि नै वासिङ्टन पुगेको रोचक वर्णन छ । वासिङ्टन र न्युयोर्कमा भेटेका अमेरिकी महिलाका सदासयताबारे लेख्दै यस्तै घटनाले लेखकलाई नियात्रा लेखनमा प्रेरणा मिलेको अनुभव हुन्छ । यी अनुभवका आधारमा उनले पहिल्यै नै अत्यन्त रोचक उपन्यास ‘न्युयोर्क सुन्दरी’ लेखिसकेको कुरा पनि यहाँ उल्लेख गर्न उपयुक्त लागेको छ ।

लेखकले युवावस्थाका ६ वर्ष रुसमा रहेर अध्ययन गर्दै त्यहाँका जनतासँग अत्यन्त मैत्रीपूर्ण र सरस जीवनयापन गरेको अनुभवका आधारमा आफ्नो पहिलो उपन्यास ज्वाला प्रकाशित गरेको र त्यसपछि धेरै रचना प्रकाशित गरेको सन्दर्भमा उनका रचनामा रुसतिरका कुरा सधैँजसो आइरहन्छन् । यस नियात्रा संग्रहमा पनि पटकपटक उनी अमेरिकाबाट रुस पुग्छन् । माथि उल्लिखित विषय प्रवेशको पहिलो पंक्ति नै यसरी सुरु भएको छ, ‘मेरा लागि संयुक्त राज्य अमेरिका कहिल्यै सपनाको देश रहेन, किनभने मैले किशोरावस्थामै रुस जाने सपना देख्न थालेको हुँ ।’

२०१३ सेप्टेम्बर १ मा साउथ क्यारोलाइनाको स्पार्टनबर्गमा हुने नेपालीको सम्मेलनमा भाग लिन लेखक आचार्य ३१ अगस्त राति वासिङ्टन डिसीबाट रेलमा चढेर त्यतातिर जाँदै थिए । उनलाई यात्रा वर्णन लेख्न मन लाग्यो र झट्ट १ सेप्टेम्बर भन्ने शीर्षक लेखिहाले । जसमा चञ्चले रुसी केटीहरूसँग भेट भएर मित्रता गाँसिएको कुरा अत्यन्त रोचक तरिकाले प्रस्तुत गरेका छन् । यस्ता पूर्वदीप्ति प्रकरणले धेरै ठाउँमा नियात्रालाई खँदिलो र रसिलो बनाएको छ ।

अमेरिकामा रहेका आफ्ना छोराछोरीसँग बस्न पुगेका पाका नेपालीका समस्यालाई पनि यस संग्रहले मनग्गे ठाउँ दिएको छ । ‘ग्रिनकार्ड कि स्वदेश’ भन्ने लेखमा त साहरुख खान अभिनीत हिन्दी फिल्म स्वदेशको उदाहरण दिएर त्यता बस्न खोज्ने नेपालीलाई नेपालतिर आकर्षित गर्ने प्रयत्न गरिएको छ । त्यता स्थायी रुपले बस्ने नेपालीलाई पनि अमेरिकी समाजमा पानीमा चिनी घुलेजस्तो होइन कि सलादका टुक्राजस्तै मिलेर बस्ने र आफ्नो देशको उन्नति र विकासका लागि सलादका अन्य टुक्राहरूलाई पनि आकर्षित गर्ने भन्ने राम्रो उदाहरण घतलाग्दो गरी प्रस्तुत गरिएको छ ।

अलेक्जान्ड्रियाको बाटोमा लेखक दम्पतीले एउटी अमेरिकी केटी भेट्छन् । तिनको सहयोगलाई अति उच्च मूल्यांकन गर्दै आचार्य लेख्छन्, ‘धपक्कै बलेको अनुहार थियो, कोटि सूर्य त्यहीँ चम्किरहेजस्तो लाग्यो...  यिनको अनुहारमा मैले न्युयोर्ककी स्वतन्त्रताकी मूर्ति देखेँ । यिनका आँखाबाट मैले वासिङ्टन मनुमेन्टबाट देखिने अमेरिका देखेँ । यिनका डायरीमा मैले मार्टिन लुथर किङको ‘मेरो एउटा सपना छ’ भन्ने योजना र अब्राह्म लिंकनको डेमोक्रेसीको परिभाषा मात्र होइन, अहिलेको ओबामा केयर योजना समेत विस्तारमा लेखिएको देखेँ ।’

न्युयोर्क, बोस्टन, सिकागो र क्यालिफोर्नियातिर भेट भएका अमेरिकीका व्यवहारबाट धेरै प्रभावित भएका लेखकले अन्तमा ‘अमेरिका हिजो र आज’ शीर्षकमा पुराना केही उदाहरण लिँदै अहिले अमेरिकी समाज धेरै परिवर्तित भएको बताउँछन् । मेट्रोमा काला पुरुषसँग प्रेमपूर्ण व्यवहार देखाउने गोरी केटी देख्ता उनी सन् १९५५ मा अमेरिकाकै अलावामा राज्यको मोन्टोगोमेरीमा थकित काली महिला रोजा पाक्र्सले बसमा गोरालाई सिट नछाडिदिएकामा जेल जानुपरेको घटना सम्झन्छन् । धेरै उदाहरणले त्यति बेलाको अमेरिका र अहिले फरक भएको बताउँदै पूर्वसोभियत संघको समयका सोभियतका कट्टर समर्थक वरिष्ठ कानुनविद् कृष्णप्रसाद भण्डारीले अमेरिका नै अब सबैलाई पाल्न सक्ने भएको छ भनेको कुराबाट आचार्यले यस संग्रहको बिट मारेका छन् । एक जर्मन प्राविधिज्ञले पनि ‘नो ह्वेयर लाइक अमेरिका’ भनेको कुरा उद्धृत गर्दै सबैका लागि संयुक्त राज्य अमेरिका सपनाको देश भएको सिद्ध गर्न खोजिएको छ ।

अन्ततिर आइपुग्दा यस नियात्रा संग्रहबाट एउटा अनुच्छेद उद्धृत गर्न उपयुक्त लाग्यो, ‘धेरै वर्षपहिले त्यस सपनाको देशमा आफ्नो चुनावी भाषणमा राष्ट्रपति केनेडीले भनेका थिए, ‘मेरा प्रिय अमेरिकी साथीहरू, राष्ट्रले मलाई के दिन सक्छ भनेर प्रश्न नगर, म राष्ट्रलाई के दिन सक्छु भन्ने कुरामा विचार गर ।’ धेरै अमेरिकीले त्यस कुरालाई मनन गरेका छन् र म राष्ट्रलाई के दिन सक्छु भनेर काम गरेकाले आज त्यो देश सबैका लागि सपनाको देश भएको छ । प्रत्येक नागरिकले देश बनाउँछु भन्ने भावना राखेर काम गरेकाले मात्र जापान, दक्षिण कोरिया आदि देशहरू विकसित भएको प्रत्यक्ष प्रमाण छ । त्यसरी काम गर्न सिक्यौँ भने भविष्यमा हाम्रै देश सपनाको देशमा परिवर्तित हुनेछ र हाम्रा युवालाई त्यस दारुण परिस्थितिमा यात्रा गर्ने बाध्यता रहनेछैन भन्ने आशा गरौँ ।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यो नियात्रासंग्रह समग्रमा अत्यन्त रोचक र ज्ञानवद्र्धक समेत छ । १६–१७ वर्षपहिले रुसको सन्दर्भमा लेखिएको पहिलो उपन्यासमा भूमिका लेख्न पाएको स्मृति ताजा छ । त्यति बेला नै लेखक आचार्यका कृतिले नेपाली साहित्यको क्षेत्रमा उपयुक्त स्थान पाउने आशा गरिएको थियो । हालसम्म पाँच उपन्यास र दुई नियात्रासंग्रह निकालेका आचार्यको यस पछिल्लो कृतिले त्यो अनुमान सही साबित गरेको छ ।

 

प्रकाशित: ६ माघ २०७४ ०३:१९ शनिबार

सपनाको देशमा विचरण गर्दा