अन्य

माघीमा थारु परिकार

आउँदो सोमबार माघे संक्रान्ति परेको छ । माघे संक्रान्तिलाई धेरै समुदायले पर्वको रूपमा मनाउँछन् । थारु जातिले माघ १ गते धुमधाम माघी मनाउँछन् । थारु समुदायले माघीलाई नयाँ वर्ष मान्दछन् । त्यसैले सामाजिक व्यवहारका नयाँ सम्झौता यही दिन गरिन्छ । विभिन्न जिम्मेवार पदमा नेतृत्व चुन्ने समेत गरिन्छ।

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् । पछिल्ला वर्षमा माघी महोत्सवका दिन थारु परिकार खान अन्य समुदायका मानिस आउने क्रम बढेको थारु सी फुड भोजनालयका सञ्चालक राजेश चौधरी बताउँछन् । उनले माघी महोत्सवमा हरेक वर्ष थारु खानाको स्टल राख्ने गरेका छन् । भन्छन्, ‘काठमाडौंमा थारु परिकार सधैँ खान पाइँदैन । त्यसैले माघीका दिन थारु परिकार चखाउने गरेको छु ।’ 

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।

चौधरीले ६ वर्षदेखि काठमाडौं सुन्धारामा थारु सी फुड रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । भन्छन्, ‘सामुद्रिक जीवका परिकार थारु समुदायमा निकै प्रचलित छ । ती परिकार पकाउने उद्देश्यले थारु सी फुड भोजनालय खोलेको थिएँ ।’ सुरुसुरुमा उनले घोँगी, गंगटा, झिँगे माछाजस्ता थारु सी फुड पकाए । तर, पछि सामग्रीको उपलब्धता र अन्य समस्याका कारण नियमित ती परिकार बनाउन नसकिएको उनले बताए । उनको भोजनालयमा अहिले थारु स्वादको दालभात तरकारी पकाइन्छ । तर, वर्षको एक दिन माघीको दिन भने सबै थारु परिकार बनाउँछन् । यसपालि माघीका दिन पनि थारु जातिका परिकार पकाउने योजना रहेको उनले बताए । 

केही लोकप्रिय थारु परिकार 
ढिक्री
 
चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया (सानो मुख भएको माटोको भाँडो)माथि स्टिम गरी पकाइन्छ । थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको थारु सी फुड सञ्चालक राजेश बताउँछन् । माघीका बेला पनि ढिक्री खाइने उनले बताए । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ ।      

लाइलड्डु
नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयमा भुजियालाई गुँदमा मुछेर बनाइएको परिकारलाई थारुले लाइलड्डु भन्छन् । यसलाई मुरीको लड्डु पनि भनिन्छ । माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाइने राजेश चौधरी बताउँछन् । माघीको दिन थारु परिवारमा घरको चामल, दाल, नुन, खुर्सानीजस्ता अनाज परिवारका सबै सदस्यलाई भाग लगाइन्छ । बिहान ४ बजे नै नुहाएर शुद्ध भइसकेपछि सबैले आ–आफ्नो भाग छोएर लाइलड्डु भोग गर्ने नियम रहेको चौधरी बताउँछन् । सँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ। 

दूधपुवा
दूधपुवा पनि थारु जातिले खाने परिकार हो । चामलको पिठो मुछेर माटोको भाँडामा रोटी पकाइन्छ । तात्तातै रोटीलाई उम्लिरहेको दूधमा डुबाएर दूधपूवा बनाइन्छ । शरीरलाई दूध र चामलबाट पाइने पौष्टिक तŒव पाइने हुनाले यो स्वास्थ्यवद्र्धक हुने राजेश चौधरी बताउँछन् । 

घोँगी
थारुको अति प्रिय भोजन हो, घोँगी । शंखेकीराजस्तै देखिने घोँगी खोला अनि तलाउमा पाइने सामुद्रिक जीव हो । त्यसैले यसलाई थारु सी फुड पनि भनिन्छ । घोँगी खाएपछि ढाड, घुँडा, जोर्नीको दुखाइ निको हुने थारु समुदायको विश्वास रहेको राजेश चौधरी बताउँछन् । घोँगी बटुलेपछि सफा गर्ने थारु समुदायको आफ्नै प्रविधि छ । सफा गरी उसिनेर पकाइएको घोँगीलाई चुसेर खाइन्छ । राजेश भन्छन्, ‘चुस्दा घोँगीको भित्री मासु मुखमा आउँछ । पकाउँदा मरमसला हालिने भएकाले त्यो निकै स्वादिलो हुन्छ ।’

गंगटा
थारु समुदायमा प्रसिद्ध सी फुड गंगटा पनि हो । गंगटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहाननजिक गंगटा पाइन्छन् । गंगटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा फ्राई गरी पकाइन्छ । यसलाई फ्राइड वा सुप दुवै तरिकाले पकाएर खाने चलन रहेको राजेश बताउँछन् । ‘लसुन र प्याजको मात्रा धेरै हाली पकाउँदा गंगटा निकै स्वादिलो हुन्छ,’ उनी भन्छन्, ‘गंगटा सेतो रगत भएको जीव भएकाले हाम्रो रगतलाई समेत राम्रो बनाउँछ भन्ने मान्यता छ।’ 

झिँगे माछा
पानीमा झिँगाजस्तै उफ्रिहिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारुको पनि यो प्रिय परिकार रहेको थारु सी फुडका राजेश बताउँछन् । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । राजेश भन्छन्, ‘काँचो हुँदा कालोकालो रङको हुन्छ । तेलमा तारेपछि यो रातो हुन्छ । निकै मीठो र स्वादिष्ट पनि हुन्छ ।’ झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ । उनले भने, ‘जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता हाम्रो समुदायमा रहेको छ।’

सानो बाम
सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ । थारुले सानो बाम माछालाई तारेर सस्युँ र लसुनमा पकाउने चलन रहेको राजेश बताउँछन् । उनी भन्छन्, ‘माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ । उच्च प्रोटिनयुक्त हुने र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ ।’     

ऐँठा
घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा । राजेश चौधरी भन्छन्, ‘घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ ।’ घोँगीलाई पोथी र ऐँठालाई भाले भनिने उनी बताउँछन् । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कने उनी बताउँछन् । त्यसरी निस्केको मासुलाई सेकुवा वा तास बनाएर खाने चलन रहेको चौधरी बताउँछन् । ऐँठा पनि घोँगीजस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियमयुक्त मानिन्छ।

सितुवा
सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । यसको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । यो जमेको पानी या तलाउहरूमा पाइन्छ । सितुवालाई पहिले उसिन्नुपर्छ । उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र खाइन्छ । थारु सी फुड भोजनालयका राजेश चौधरी भन्छन्, ‘सितुवाको सेतो मासुलाई तास बनाएर खाँदा निकै स्वादिलो हुन्छ ।’ सितुवा खाए शरीरमा न्यानोपन बढ्ने मान्यता रहेको उनी बताउँछन् । साथै, सितुवाको मासुलाई शुद्ध र सफा मासु मान्ने चलन रहेको उनले बताए । 

अनई माछा
सर्पजस्तो आकारको हिले माछालाई थारु जातिले अनई माछा भन्छन् । यो पानीको स्रोतनजिकका माटो, हिलो र दलदलमा पाइन्छ । हिलोमा बस्ने भएकाले यसलाई समात्न निकै गाह्रो हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यो अन्य माछाभन्दा धेरै चिप्लो पनि हुन्छ । त्यसैले सजिलै समाउन सकिँदैन।’ 

सर्पजस्तो भए पनि यो माछाले टोक्दैन । पुच्छरको भाग माछाको जस्तो चेप्टो हुनाले अनई माछालाई चिन्न सकिन्छ । अनई माछा खाए रगत बढाउने र मेरुदण्ड, जोर्नी दुखेको ठीक पार्छ भन्ने थारु समुदायमा विश्वास रहेको चौधरी बताउँछन् । उनका अनुसार अनईलाई सुकुटी बनाएर झोल वा फ्राई गरी खान सकिन्छ । उनी भन्छन्, ‘अनई माछाको अरु माछाको जस्तो काँडा हुँदैन । सिक्रीजस्तो जोडिएको हड्डी हुन्छ।’

प्रकाशित: २८ पुस २०७४ ०८:२७ शुक्रबार

माघीमा थारु परिकार