अन्य

छुट्टीमा भाडाको साइकल सरर

उनी यतिखेर त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा मुटुका बिरामीहरुको उपचारमा तल्लिन भेटिन्छन् । उनको मनमा एउटै कुरा हुन्छ, अस्पतालमा आएका बिरामीलाई जसरी हुन्छ सेवा दिनु । यो सोच पूरा गर्न उनी अस्पतालले खटाएको भन्दा बढी समय खटेर भए पनि आफ्ना बिरामीको उपचार गर्छन् । उनी हुन्, त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग सर्जन डा.भगवान कोइराला । 

अहिलेका अब्बल चिकित्सक कहलिएका यी डाक्टरले भने एउटा फरक कलेज जीवन बाँचे । पाल्पाको विकट गाउँमा हुर्केर गाउँकै पदम पब्लिक हाइस्कुलबाट २०३६ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाको लागि त्यसै वर्ष कोइराला पिताका साथ राजधानी छिरे । पाल्पाको विकट गाउँबाट राजधानी पुगेका कोइरालालाई सबै कुरा नौला थिए । ‘कोही आफन्तले दोहोर्याएर लगेमा कतै जान्थें नत्र कलेजको छात्रावासमै सीमित हुन्थेँ,’ डाक्टर कोइरालाले विगत सम्झँदै भने ।


एसएलसी पास गरेपछि आफन्तको सल्लाहमा डाक्टर बन्ने  निधो गरे र त्यही वर्ष त्रिविवि अध्ययन संस्थान महारागंज क्याम्पसमा भर्ना भए । त्यस बेलाको शैक्षिक प्रणालीअनुसार तीन वर्षे अहेव विषयको पढाइ हुन्थ्यो । यस विषयमा सेमेस्टर प्रणाली नै थियो । पछि भारतीय शिक्षकहरु आएर नेपाललाई सुझाव दिन थालेपछि वार्षिक परीक्षा प्रणाली लागू भएको थियो ।

कलेजमा सुरुका दिनहरुमा डा. कोइरालाका लागि कठिन बने । कारण सहर घर छोडेर टाढा जानुको अप्ठेरो थियो नै । नेपाली भाषा माध्यममा एसएलसी पूरा गरेका उनलाई एकाएक पूरै विषय अंगे्रजी माध्ययमा पढ्नु परेको थियो । यसका कारण उनले अरुले भन्दा दोब्बर मिहिनेत गर्नु प¥यो– भाषा र पाठ्यक्रमका विषय । ‘घोप्टे मुन्टो लाएर बस्थें, आन्तरिक मूल्यांकनमा झण्डै गुल्टिएको थिएँ,’ उनले भने ।

घर छोडेपछि कलेजकै छात्रावासमा बस्न थाले र छात्रावासकै क्यान्टिनको खाजा र खाना खान्थे । सुरुका दिनहरुमा सबैसँग सजिलै घुलमिल हुन सजिलो थिएन । पढाइ भएको दिन, कलेज नभएको दिन आफ्नै कोठामा बसेर पढाइमा तल्लिन हुन्थे । घरमा सम्पर्क गर्नको लागि न फोन थियो न त इन्टरनेट नै । कलेज भर्ना हुँदाको वर्ष नै नेपालमा ०३६ सालको आन्दोलन चल्यो ।

यस आन्दोलनमा महाराजगंज क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा सरिक भए । कक्षा चल्न सकेन । आन्दोलनका कारण पढाइ सुचारु हुन सकेन । करिब पाँच महिना जति पढाइ नै भएन । यसको असर पनि उनले भोग्नु पर्यो । छुटेको कोर्सका लागि शिक्षकले थप कक्षा पढाएर पूरा गरिदिन्थे । पढ्नका लागि शिक्षकबाहेक अन्य विकल्प थिएन । पहिलो वर्षमै कलेजमा भोग्नु परेका दुई वटा फरक परिस्थितिको असर उनको अध्ययनमा असर पर्यो र पहिलो सेमेस्टरमा राम्रो अंक लिएर उत्तीर्ण हुन सकेनन् । ‘झण्डै गुल्टिएको थिएँ, झुण्डिएर पास भएँ,’ कोइरालाले भने ।

त्यसपछि कलेजजीवन नियमित बन्दै गयो । छात्रावासमा बस्नु, मिहिनेतका साथ पढ्नु र छुट्टीको दिन साइकलमा राजधानी सयर गर्नु उनको रीत बन्दै गयो । अरु दिन फुर्सदको बेला ब्याडमिन्टन खेल्थे । शनिबारको दिन भने कोइरालाको दिन विशेष दिन हुन्थ्यो । एक रुपैयाँ तिरेर भाडामा साइकल लिने र महाराज क्याम्पसदेखि बूढानीलकण्ठसम्म पुग्नु । ‘एक रुपैयाँ तिरेपछि साइकल भाडमा पाइन्थ्यो, त्यही लिएर बूढानीलकण्ठसम्म पुग्थें,’ कोइरालाले सुनाए । साइकल, ब्याडमिन्टन, पढाइ नियमित बनेको कोइराला अरु कुरामा भन्दा पढाइमै अब्बल बन्दै गए । अहेव तहको पढाइमा अब्बल बनेका कोइरालाले सन् १९८२ मा चिकित्सा शास्त्र अध्ययनकै लागि छात्रावृत्ति पाए र सोभियत संघ गए । उतैबाट अध्ययन सकेर आएपछि आजको वरिष्ठ मुटु सर्जन भगवान कोइराला बनेका हुन् ।

अप्ठेराका बीच कलेजजीवन पूरा गरेका कोइरालाले आजको पुस्तालाई अध्ययनका लागि खुला वातावरण भएको बताउँछन् । ‘हाम्रो जमानामा न फोन, न इन्टरनेट, न गुगल न युट्युब,’ उनले भने । प्रविधिको विकासका कारण आजको पुस्तालाई अध्ययन गर्न थप सहयोग मिलेको र खुला वातवरणमा हुर्किन पाएको उनको अनुभव छ ।

प्रकाशित: १८ पुस २०७४ ०९:१२ मंगलबार

छुट्टीमा भाडाको साइकल सरर नागरिक परिवार