अन्य

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

भक्तपुरकी मनिषा श्रेष्ठलाई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया श्रेष्ठलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो ।
आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । चार महिनाअघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन । २२ दिनसम्म रक्तश्राव भइरहँदा उनी शिथिल भइन् र डाक्टरकहाँ पुगिन् । जाँच गराएपछि बल्ल उनले पाठेघरमा ट्युमर पलाएको रहेछ भनी थाहा पाइन् ।
‘कुनै रोग छैन भनेर कहिल्यै स्वास्थ्य परीक्षण गराइएन,’ श्रेष्ठले नागरिकसँग भनिन्, ‘रोगले बढी च्यापेपछि अन्तिम अवस्थामा मात्र जाँच गराउने हामी नेपालीको नराम्रो बानीकै कारण हाम्रो स्वास्थ्यमा समस्या हुन्छ ।’
उनी भिन्छन्, ‘आफूले स्वास्थ्यबारे लापरबाही गरेकै कारण पाठेघर झिक्नु परेको हो ।’ दुई छोराकी आमा श्रेष्ठ केही नलागेपछि अन्तमा उनी ललितपुरको अल्का अस्पतालमा डा. रंगिनाबाट ‘ल्याप्रोस्कोपी सर्जरी’ प्रविधिबाट पाठेघर झिक्नु परेको बताइन् ।
‘हामीले बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु पर्छ भन्ने चेतना नभएकै कारण विभिन्न समस्या भोग्नु पर्छ,’ उनले भनिन्, ‘त्यही भएर कम्तीमा ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउनुपर्ने बल्ल थाहा भयो ।’ उनले आफूले ल्याप्रोस्कोपी प्रविधिबाट सर्जरी गराएपछि सहज महसुस भएको र छिटो निको भएको पनि अनुभव सुनाइन् ।
श्रेष्ठ मात्र होइन अल्का अस्पतालमा पुग्दा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगिना लाइकङ्गबम (शाह) कहाँ पाठेघरको समस्या लिएर दिनहुँ जसो ३० जना आउने गरेका छन् ।
यसैगरी महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा पुग्दा डा. मीता सिंहकहाँ पनि पाठेघरसम्बन्धी समस्या लिएर थुप्रै महिला आएका थिए । त्यहाँ त ३५ वर्षदेखि माथिका महिला नै समस्या लिएर आएका थिए ।
टिचिङमा डा. मीतासँग पाठेघरको समस्याबारे उपचार गराउन पुगेकी ३५ वर्षीया गीता उप्रेती निकै चिन्तित थिइन् । जसको मुख्य कारण नै पाठेघरको समस्या थियो । गीताको विवाह भएको मात्र तीन वर्ष भएको छ । तर, उनको पाठेघरमा ट्युमर पलाएको कारण महिनावारी हुँदा निकै सास्ती खेप्नुपरेको सुनाइन् ।
‘श्रीमान बच्चाको रहर गर्नुहुुन्छ तर डाक्टरले ट्युमरले गर्दा बच्चा जन्माउँदा समस्या हुन्छ भन्छन् खै के गर्ने,’ उनले चिन्ता व्यक्त गरिन् । मैले तीन चारजना डाक्टरसँग सल्लाह लिएँ । सबैले ट्युमर निकालेर मात्र बच्चा जन्माउन सहज हुन्छ भनी सल्लाह दिएका छन् । उनले थपिन्, ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अपरेसन हुने अस्पतालमा अप्रेसन गराउन परिवारमा सल्लाह भइरहेको छ ।’  
महिलाले समयमै पाठेघर परीक्षण गराउनुपर्ने चेतनाको कमीका कारण उनीहरुको पाठेघरमा समस्या आउने र अन्तिममा पाठेघर नै फाल्नुपर्ने अवस्था बढ्दै गएको डा. रंगिनाको अनुभव छ ।
‘म कहाँ त ज्यादै ठूलो (भकुण्डो) जत्रो ट्युमर लिएर आउँदा पो समस्या हुन्छ,’ डा. रंगिनाले भनिन्, ‘समय समयमा महिलाले पाठेघरको परीक्षण गराएमा रोग पत्ता लाग्ने र समयमै उपचार गर्दा पाठेघर फाल्नु पर्दैन,’ उनले थपिन्, ‘तर नेपाली महिला आफ्नो स्वास्थ्यको बारेमा कत्ति पनि संवेदनशील नहुँदा दुःख लाग्छ ।’
एक अध्ययनका अनुसार हाल नेपालमा ६ लाख महिलाले पाठेघरको समस्या खेपिरहेका छन् । जसको मुख्य कारण महिलामा आफ्नो स्वास्थ्यबारे चेतना नहुनु नै हो ।
‘मैले महिनामा २०–२५ महिलाको पाठेघरको अपरेसन गरिरहेकी छु,’ डा. रंगिना भन्छिन्, ‘नेपालमा यो विकराल समस्या बन्दै गएको छ ।’ उनले सुझाइन्, ‘सरकारले स्वास्थ्य बीमा ल्याए पनि नेपालीमा स्वास्थ्यबारे चेतना नहुँदासम्म कुनै काम लाग्दैन ।’ त्यस कारण सरकारले प्रथमतः नेपालीमा स्वास्थ्यबारे सचेतना जगाउने व्यावहारिक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।
उनले अस्पतालमा महिला र पुरुषले के–के र कुन–कुन समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेबारे छुट्टाछुट्टै सूची सबैले देख्ने ठाउँमा (बडापत्रजस्तै) राख्ने व्यवस्था सरकारले अनिवार्य गर्दा मात्र नेपालीमा स्वास्थ्य परीक्षण र रोग लाग्नुभन्दा पहिले नै त्यसबारेमा थाहा हुने सुझाइन् ।
टेकु स्वास्थ्य विभागको परिवार स्वास्थ्य महाशाखाको आमा सुरक्षा कार्यक्रम शाखा प्रमुख डा. पुन्य पौडेलले मुख्यरूपमा ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलामा पाठेघरको समस्या बढी हुने गरेको जनाइन् । उनले हर्मोनको गडबडी भएमा १७ वर्षको किशोरीमा समेत पाठेघरमा ट्युमर पलाउने समस्या हुन सक्ने जनाइन् । डेढ वर्ष अघिसम्म थापाथलीमा रहेको प्रसूति गृहका स्त्री तथा प्रसूति रोग विशेष डा. पौडेलले दैनिक ३ सय महिला पाठेघरको समस्या लिएर आउने गरेको सुनाइन् ।
‘डेढ वर्षअघि म प्रसूति गृहमा हुँदा महिलामा पाठेघर खस्ने, पाठेघरभित्र ट्युमर पलाउने, पाठेघरको मुखको क्यान्सरको समस्या लिएर नै बढी आउने गरेका थिए,’ डा. पौडेलले भनिन्, ‘मकहाँ आउने बिरामी रोगको सुरुवातीभन्दा रोगले बढी च्यापेर अन्तिम अवस्थामा पुगिसकेपछि नै बढी आउँथे ।’ उनले थपिन्, ‘महिलामा आफ्नो स्वास्थ्यको चेतनामा कमी भएकै कारण यो समस्या वृद्धि भएको हो ।’
हर्मोनको गडबडी, इन्फेक्सन, जन्मजात, कम समयको अन्तरालमा धेरै बच्चा जन्माउने, बहुविवाह, सुत्केरी अवस्थामा राम्रो स्याहारसुसार नभएकै कारण महिलामा पाठेघरको समस्या बढी भएको हो । महिलामा पाठेघर खस्ने, सुन्निने, मासु पलाउने, क्यान्सर हुने समस्या प्रमुख हुन् ।
उनले यो समस्याबाट बच्न महिलामा स्वास्थ्यबारे सचेतना आउन आवश्यक रहेको बताइन् । उनले महिला स्वस्थ रहन कम्तीमा ६–६ महिनाको अन्तरमा स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाइन् ।

प्रकाशित: १७ पुस २०७४ ११:५० सोमबार

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै नागरिक परिवार