अन्य

भुटानी शरणार्थीका प्रश्न

‘यो भुटान हो, योचाहि“ नेपाल, ऊ त्यहा“ अमेरिका । अहिले म कहा“ छु ? नेपालमा । भुटान हाम्रो देश । परिस्थितिले गर्दा भुटानबाट नेपाल आयौ“ । अब आफ्नो देश नफर्केर अमेरिका जाने ! अनि, अमेरिकाबाट कहा“ जाने ?’ भुइ“मा ढुंगाले मानचित्रको रेखांकन गर्दै पात्र प्रश्न गर्छन् । 

काठमाडौं, शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ‘हरियो ढुंगा’ले भुटानका नेपालीभाषीलाई शरणार्थी बनाउने सारा राजनीतिलाई प्रश्न गर्छ । सुनील पोखरेलको निर्देशन रहेको नाटकमा यही गम्भीर प्रश्न प्रत्याख्यान बनेको छ । 

नेपालमा रहेका भुटानी शरणार्थीका लागि पुनर्वासको योजना ल्याइयो । झट्ट हेर्दा शरणार्थीले बास पाए, अझ भनौँ देश पाए, के यो अन्तिम समाधान हो त ? आज पुनर्वास योजनामा अमेरिका गएकाहरू भोलि फेरि शरणार्थी नबन्ने प्रत्याभूति के छ ? 

हुर्कन, फुल्न, फैलन मान्छेलाई नैसर्गिक हक भएको माटो चाहिन्छ । नचाह“दानचाह“दै कोही आफ्नो माटोस“ग विछोडिनुपर्छ भने त्यो कति विपज्जाल बन्ला ? आफ्नो देशबाट निर्वासित र अर्को देशमा शरणार्थी हुनु कति पीडादायी हुन्छ ? भुक्तभोगीले पनि शब्दमा व्यक्त गर्न नसक्ला । उसका भावना बुझ्न अर्को सम्यक् र समृद्ध भावना चाहिन्छ । अनि, अव्यक्त भावना व्यक्त हुन कलाकै सहारा चाहिन्छ । कला अर्को जीवन हो, कला र जीवन उसरी नै जोडिएका हुन्छन्, जसरी मान्छे र माटो जोडिएका हुन्छन् ।

डा. गिरीश रस्तोगी आफ्नो पुस्तक ‘हिन्दी नाटक सिद्धान्त और विवेचन’मा लेख्छिन्, ‘नाटक मूलतः रंगमञ्चीय कला हो । कुनै रचना विशेषलाई रंगमञ्चमा अभिनयमार्फत व्यक्त गर्नु नै नाटकको तात्पर्य हो ।’ 
उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’बाट लिइएको कथा अर्थात् रचना विशेष हो, हरियो ढुंगा नाटक । कुनै पनि कथाको जग मानव कल्पना, जीवन–जगत् नै हो । जसमा जीव र भूगोल पात्र र परिवेश भएर आउ“छन् । मानव जीवन र जगत्को आफ्नै इतिहास छ । मानव जीवनमा सामाजिक, राजनीतिक घटना आकाशबाट खस्दैनन् । तर, कथाकार सुब्बाले भुटानका नेपालीभाषी शरणार्थीका रूपमा एकैचोटि आकाशबाट नेपालको भूगोल झापामा खसेको मात्रै देखेका छन् । 
सुब्बाको कथाले नेपालीभाषीहरू भुटानबाट निर्वासित हुनुपरेको राजनीति बोल्दैन, अलिकति संकेत गर्न पनि आवश्यक ठान्दैन । नेपालीभाषी भुटानीहरू शरणार्थी हुनुको गर्भमा ‘भाषा’को राजनीति थियो र छ । विश्वमै जहा“जहा“ द्वन्द्व छ, त्यहा“ भाषिक, जातीय र धार्मिक मुद्दा नै मुखर रूपमा छन् ।    

‘यस (भुटानको लामीडा“डा) सुन्दर गाउ“मा मेरा पुर्खा करिब दुई सय वर्षअघि पुगेका थिए । नेपालको पा“चथर भन्ने ठाउ“बाट ब्रिटिस गोर्खा सैनिकमा संलग्न भएर पहिले मेरा पुर्खा भारतको गढवाल पुगेछन् । त्यहा“बाट सिक्किमको नाम्ची हु“दै भुटानको सिप्सु पुगेछन् । त्यसपछि लामीडा“डा बस्न पुगेका रहेछन्,’ टेकनाथ रिजाल आफ्नो पुस्तक ‘निर्वासन’मा लेख्छन्, ‘...डासो (माननीय) दागो छिरिङले ती नागरिकता परिचयपत्र लिन चाहने मानिसले परीक्षामा उत्तीर्ण हुनुपर्ने जुन सर्त बताए, त्यसअनुसार त्यस्ता उम्मेदवारले कक्षा १० सम्मको जोङखा भाषामा पारंगत हुनुपर्ने र भुटानको इतिहासबारे पूर्ण जानकारी राखेको हुनुपर्नेछ ।’  स्थानीय बोलीअनुसार ‘जोङ’ को अर्थ दरबार र ‘खा’को अर्थ भाषा हो । उनको पुस्तकमा भुटानका नेपालीभाषी अर्थात् ल्होत्साम्पामाथि त्यहा“को सत्ताले गरेको शंका–उपशंका, भाषिक, सांस्कृतिक दमनबारे उल्लेख छ ।

उपेन्द्र सुब्बाले कथामा भुटानी शरणार्थी निचुले कान्छाको दुःख–व्यथालाई उतारेका छन् । उनको कथाअनुसार यस्तो लाग्छ, निचुले कान्छो संसारका सारा दुःख सहन जन्मेको हो, उसको त्यो अवस्थाको कुनै पृष्ठभूमि छैन र अब अगाडि कहा“ जाने भन्ने गन्तव्यको कुनै संघर्ष र राजनीति छैन । यसरी एक ढंगले खोटोजस्तो रहेको कथारूपी सिक्कालाई निर्देशक पोखरेलले अनेक पात्र र संवाद थपेर कुनै खास राष्ट्रियता वा स्थानमा चल्ने नाटकरूपी सिक्का बनाएका छन् । 
नाटक र कथाका आ–आफ्नै सीमा हुन्छन् । फेरि पनि सुब्बाले जसरी निचुले कान्छाको कथा बलजफ्ती भन्ने प्रयास गरेका छन्, यस अर्थमा सुब्बाको कथा ‘प्रसभ’ हो भने नाटक ‘प्रसव’ बनेको छ । प्रसवले गम्भीर प्रश्न जन्माएको छ । प्रयोग र प्रयोजनको यस अर्थमा निर्देशक पोखरेल सफल छन् ।

रतुवा खोलामा गिटी कुट्ने एक समूह भुटानी शरणार्थीलाई मञ्चमा उतारिएको छ । निर्देशक पोखरेलले एउटै मञ्चमा, एकैपटक दुई दर्जन कलाकार अटाएका छन् । गिटी कुटिरहेका बेला होस् वा खानेपानीको लाइनमा बसिरहेका बेला होस्, सबै आ–आफ्नै धुनमा हुन्छन् तर सबै नाट्य लयमै हुन्छन् । मञ्चमा यति धेरै कलाकारलाई व्यवस्थित गर्नु निर्देशकीय क्षमता हो ।   

नाटक ‘हरियो ढुंगा’ले भुटानका नेपालीभाषीलाई शरणार्थी बनाउने सारा राजनीतिलाई प्रश्न गर्छ । नाटकमा यही गम्भीर प्रश्न प्रत्याख्यान बनेको छ ।

  नाटकको प्रधानपात्र निचुले कान्छोको कुनै ठूलो सपना छैन । आफ्नो देश भुटान छ“दा माछा मार्ने उनले नेपालमा गिटी कुट्दै छन् । उनले सपनामा ठूलो माछा देख्छन् । मानिस आफ्नो माटोस“ग कसरी मन–मस्तिष्कदेखि नै मिलित हुन्छ भन्ने यो विशिष्ट व्यञ्जना हो । र, कथाकारको क्षमता हो । 

गिटीका लागि ढुंगा बटुल्न जा“दा निचुलेलाई भोटाङे भन्दै लखेटिन्छ । उनको सम्पत्तिको नामका एउटा ढुंगा बोक्ने डोको थियो, त्यो पनि कसैले काटिदिन्छ । 

निचुलेको भूमिकामा बिपिन कार्की छन् । ‘सपनामा माछा देखे“ । मेरो डोको काटिदियो,’ नाटकमा निचुले कान्छो अर्थात् बिपिनले बोल्ने संवाद यति नै हो । नाटकभरि नै बिपिनको आंगिक अभिनय उद्भुत लाग्छ । उनले अभिनयमार्फत मनोभाव यति जीवन्त ढंगले व्यक्त गरेका छन्, दर्शकलाई लाग्छ– त्यो अभिनय होइन, कसैको जीवन हो । 
निचुले कान्छीको भूमिका शौभाग्य सिंह (शोभा) ले निभाएकी छन् । उनले जबर्जस्त अभिनयमार्फत व्यक्त गरेको मनस्थिति र परिस्थितिले नाटकमा नया“ रंग र मोड दिन्छ ।

निचुलेको जेठो छोरा हल्दारेको भूमिका प्रभात बास्कोटाले निभाएका छन् । उनको अभिनयले एउटा शरणार्थी युवा कसरी लक्ष्यविहीन वा बेवारिसे हुन पुग्छ भन्ने प्रस्ट्याएको छ । निचुलेको कान्छो छोरा बैदारेको भूमिकामा छन्, रवीनचन्द्र अर्याल । अपांगता भएको व्यक्तिका रूपमा उनको अभिनय सशक्त लाग्छ । 

निचुलेकी कान्छी छोरी सक्कलीको भूमिका कृतिका भट्टराईले निभाएकी छन् । निचुले परिवारमा सक्कलीकै हुकुम चल्छ । तर, उनलाई नक्कलीको छविमा प्रस्तुत गरिएको छ । जब एक छोरीले आफ्नो राज्यको त संरक्षण पाइन, शरणार्थी जीवनमा पनि उसलाई अर्को राज्यको एक प्रहरीले नजर लगाउ“छ । यो साहित्यको प्रचलित सूत्र ‘समाजको ऐना’ हो । तर, यो ऐना हेरेर मात्रै बस्ने जमाना होइन । ऐनामा देखिएको प्रतिविम्ब नै छद्म हो कि ? वा, ती प्रतिविम्ब त्यस्ता किन देखिए ? प्रश्न गर्ने र सत्य खोज्ने समय हो ।

एक–दुई संवाद र संकेतले नै यस्ता अभाव परिपूर्ति गर्न सकिन्छ । यसमा भने निर्देशक र कथाकार दुवै चुकेको देखिन्छ । आफ्नो देश फर्कने रहरमा सक्कली अन्ततः भारतका कोठीमा बेचिई कि भन्ने संकेत नाटकले गरेको छ । दर्शकले सोच्न सक्छ, यसरी बेचिइनु हुन्न । तर, गरिबका छोरीहरू वा जुनसुकै देशका, जुनसुकै वर्गका र कुनै पु“जीवादी सपना र रहर पालेका छोरीहरू बेचिने जुन विश्व व्यवस्था छ, त्यसलाई भत्काउनेतिर पनि आजको कला र साहित्यले संकेत गर्नुपर्छ, विरोध वा विद्रोहको झिल्को कतै देखिनुपर्छ । जेहोस्, सक्कली अर्थात् कृतिकाको अभिनयमा खोट देखि“दैन ।
सुब्बेनी काकीको भूमिमा निभाएकी कुसुम गुरुङ, कर्साङको भूमिका निभाएका अनिल सुब्बा, राई माइलीको भूमिका निभाएकी सब्बु गुरुङ नाट्य लयमा छन् ।   

नाटकको मूल मोड हो, एउटा हरियो ढुंगा, जुन निचुलेले भेटाउ“छ र केही नगदमा बिक्री हुन्छ । यसपछि झनै निचुलेको जीवनमा दुःख थपिन्छ । ‘हरियो ढुंगा’ अमेरिकी सपना (हरियो डलर वा अमेरिकी पुनर्वास)को विम्बजस्तो लाग्छ । तर, कथाकार सुब्बाको भनाइ अर्कै छ, ‘एउटा बूढो मान्छे देखाएर हरियो ढुंगाको कथा मलाई कसैले सुनायो । कथामार्फत के भन्छु भन्ने मस“ग कुनै आइडिया थिएन । निचुलेको कथा सुनाउने हतारो मात्रै थियो ।’

नाटकमा निर्देशकले थुप्रै पात्र थपेका छन् । थपिएकामध्ये हुन्– सुरज तमु, सुनिशा बजगाईं, आभास अधिकारी । सुनिशा सुस्ती अर्थात् फरक क्षमता भएकी किशोरीको भूमिकामा छन् । उनको गोजीमा कन्डोम छ, जसलाई उनले बेलाबेला फुक्छिन् । कन्डोम अर्थात् ‘मेड इन अमेरिका’, यसलाई विविध व्यञ्जनामा बुझ्न सकिन्छ । 
निर्देशक पोखरेलको पछिल्लो रुचि विभिन्न देशका नेपालीभाषीप्रति देखिन्छ । उनले यसअघि इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’लाई नाटकमा ढालेका थिए । जसमा सुनिशा जयमायाको भूमिका थिइन् । यसपालि सुनिशाको अभिनय अझ निखारिएको देखिन्छ ।

सुरजले लाक्पाको चरित्र निभाएका छन् । लाक्पा भुटानी मूलकै हुन् । तर, नेपालीभाषीलाई सहयोग गरेको आरोपमा उनले शरणार्थी हुनुपरेको छ । माटोको कथाको मूल मर्म यसमै छ कि उनलाई ‘भोटाङ्गे’ भनेको मनपर्दैन । सुरजको अभिनय नाट्य लयमा छ । नाटकमा सूत्रधारको रूपमा छन्, आभास । आभास नेपालमा जन्मे–हुर्केका भुटानी शरणार्थी हुन् । उनले कुनलाई आफ्नो देश मान्ने ? उनैले कथा भन्नु नाटकको सुन्दर पक्ष हो ।

थुप्रै कलाकार उतारिएकाले मञ्च अलि अव्यवस्थितजस्तो लाग्छ । केही ढुंगाहरूमाथि धुमधुम्ती बसिरहेको निचुले कान्छो मात्रै एउटा स्थापित दृश्यमा देखाइएको पात्र हो, यसले पनि दृश्य स्थापित गरेजस्तो त्यति लाग्दैन । निर्देशक पोखरेल भन्छन्, ‘कथावस्तुको शैलीअनुसार नाटकमा दृश्य स्थापित पनि गरिन्छ । तर, यसमा मैले दृश्य स्थापना गर्नेतिर सोचिन“ । किनभने, कथाअनुसार यति धेरै दृश्य छन् कि त्यसलाई स्थापित गर्नतिर लाग्ने हो भने नाटक अढाइ घन्टाको बन्छ ।’
नाटकको अन्तर्यमा राज्य, राष्ट्र, राष्ट्रियताको बहस लुकेको छ, उठाइएको छैन । एक राज्यमा बहुराष्ट्रियता भएका नागरिक हुन सक्छन्, उनीहरूले एकै राज्यभित्र कसरी समान नागरिकको प्रत्याभूति गर्ने ? आजको बहस यो पनि हो । यस्ता बहसलाई पनि कला, साहित्यले उठाउनुपर्छ, संकेत गर्नुपर्छ । 

सुब्बाको कथामा एउटा संवाद छ, ‘आइमाई र आकाशको भर हुन्न ।’ अर्थात् आकाशबाट पानी कुनै पनि बेला बर्सन सक्छ र आइमाई ? प्रश्न यो पनि छ । यो संवादलाई यो नाटकमा अलिकति तोडमोड गरिएको छ ।

कुनै समाजको शक्तिशाली व्यक्तिको अभिव्यक्ति हो, भनाइ वा उक्ति । तर, आज पानी पार्ने बादलको विज्ञान छ, कुनै महिला चरित्र निर्माणको समाजशास्त्र, राजनीतिशास्त्र छ ।  आजको चेतनशील कथाकार वा रंगकर्मीले बरु यो बुझ्नुपर्छ– सत्ता र शासकको कुनै भर हु“दैन । कहा“, कति बेला को ‘शरणार्थी’ हुनुपर्ने हो ?

निर्देशक पोखरेल एकमुष्ठ भन्छन्, ‘कला राजनीतिक रूपमा सही हुँदैन । त्यसो भयो भने त कला कुनै घोषणापत्र बन्न पुग्छ । कला घोषणापत्रभन्दा माथि हुनुपर्छ ।’सुनीलले भनेझैँ कला कलाकै लागि होस्, तर भुटानी शरणार्थी एक राजनीतिक समस्या हो र यसले राजनीतिक रूपमै समाधान खोज्छ ।
 
 

प्रकाशित: १५ पुस २०७४ ०१:२४ शनिबार

भुटानी शरणार्थीका प्रश्न