अन्य

(कथा) म्यादी

रत्न प्रजापति

२०७४ असोज २४ को गोरखापत्र दैनिकमा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशित भयो । त्यसमा कुल ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्नाका लागि दर्खास्त खुलेको विवरण थियो । त्यो सूचना उसले आद्योपान्त पढ्यो । उसलाई केही दिन अघिदेखि नै त्यो सूचनाको प्रतीक्षा थियो । यसअघिको स्थानीय चुनावमा पनि उसले म्यादी प्रहरीमा भर्ना हुन चाहेको थियो । तर, भर्ना हुन पाएको थिएन । दर्खास्त फाराम भरेर पनि उसले बुझाउन पाएको थिएन । एक्कासि ज्वरो आएर ऊ चार दिनसम्म ओछ्यान परेको थियो । त्यही बेला दर्खास्त फाराम बुझाउने म्याद गुज्रिएकाले म्यादी प्रहरीमा भर्ना हुने उसको सपना अधुरै रहेको थियो । त्यहीबेला उसले अठोट गरेको थियो, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जसरी पनि म्यादी प्रहरीमा भर्ना भएरै छाड्छु ।

निर्वाचन सकिएसँगै उसको म्यादी जागिर सकियो । म्यादी जागिरसँगै उसको प्रेम पनि म्यादी नै भएर टुंगियो । 
५५ दिनको म्यादी प्रेमको अनुभव मनभरि सँगालेर ऊ एक्लै आफ्नो घर फर्कन लाग्यो । बस चढ्नलाई बसपार्क धेरै टाढा थियो ।


स्कुल पढ्दा राष्ट्रिय सेवा दलको तालिम लिएदेखि नै उसलाई सेना वा प्रहरीमा भर्ना हुने इच्छा थियो । तालिमका क्रममा शारीरिक र मानसिक व्यायामदेखि प्रतिरक्षात्मक सीपसमेत सिक्न पाउँदा ऊ सेना वा प्रहरी सेवाप्रति निकै आकर्षित भएको थियो । त्यसैले अरूले झैँ सेना वा प्रहरीमा भर्ना भई देशको सेवा गर्छु भन्ने सस्तो भावुकताको कुरा नगरे पनि उसले आफ्नै घरको दैनिक आवश्यकतालाई पूरा गर्न आफूले केही कमाउनैपर्ने भएकाले सेना वा प्रहरीमा भर्ना हुने इच्छा गरेको थियो । स्कुल पढ्दा मौकाले राष्ट्रिय सेवा दलको तालिम लिएदेखि नै उसलाई अरूमा भन्दा सेना वा प्रहरीमै भर्ना हुने इच्छा जागेको थियो । 
जब उसले आफ्नो पढाइ पूरा ग¥यो, अर्थात् सेना वा प्रहरीमा भर्ना हुनका लागि न्यूनतम योग्यता हासिल ग¥यो, त्यतिन्जेलसम्म उसको उमेरले सेना वा प्रहरीमा भर्ना हुनका लागि तोकिएको उमेरको न्यूनतम सीमारेखा पार गरिसकेको थियो । यसले गर्दा सेना वा प्रहरीमा भर्ना हुनबाट ऊ वञ्चित भयो र सेना वा प्रहरीमा भर्ना हुने उसको सपना पनि अधुरो भयो ।
संयोगवश स्थानीय तहको चुनावमा म्यादी प्रहरी भर्ना गर्ने खबर सुनेदेखि नै ऊ निकै उत्साहित भएको थियो । म्यादी प्रहरीमा १८ वर्षदेखि ५४ वर्षसम्मका पुरुष तथा महिलाले दर्खास्त दिन सकिने भएकाले ऊ ढुक्क थियो । साथै, म्यादी प्रहरीमा भर्ना हुनका लागि आवश्यक न्यूनतम योग्यता ऊसँग थियो नै । नेपाली नागरिक हुनुपर्ने, कुनै नैतिकपतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको र साधारण लेखपढ गर्न जान्ने आदि म्यादी प्रहरीमा भर्ना हुनका लागि आवश्यक न्यूनतम योग्यता थिए । उसले त आइए नै पास गरिसकेको थियो, जिल्लाकै क्याम्पसबाट । आवश्यक सबै न्यूनतम योग्यता भएर पनि बिसञ्चोका कारण उसले त्यतिखेर दर्खास्त फाराम बुझाउन पाएन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि म्यादी प्रहरी भर्ना गर्ने हल्लाले ऊ त्यही दिनको व्यग्र प्रतीक्षामा बस्यो ।
सूचनामा भनिएअनुसार सबै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने थियो । दर्खास्त बुझाउनकै लागि काठमाडौंसम्म जानुनपर्ने भएपछि ऊ ढुक्क भयो । काठमाडौंसम्म जाँदा–आउँदा र बस्दाको खर्च बच्ने भयो ।
ऊ कुनै विलम्ब नगरी जिल्ला प्रहरी कार्यालयमा दर्खास्त फाराम लिन गयो । फाराम लिएर घरतिर हिँड्यो ।
घर पुगेर फटाफट फाराम भर्न थाल्यो । फाराम बुझाउने अन्तिम म्याद असोज ३० गतेसम्म भए पनि उसले असोज २५ मै फाराम बुझायो । 
सम्पर्कका लागि तोकिएको मिति कात्तिक १ गते बिहान १० बजे नै ऊ जिल्ला प्रहरी कार्यालय पुग्यो । छनोट हुने मिति र छनोट प्रक्रियाबारे बुझेर ऊ फर्कियो । छनोट प्रारम्भ हुने मिति कात्तिक ५ देखि ८ सम्म थियो । अन्तिम छनोटको नतिजा भने कात्तिक १० गते प्रकाशित हुने थियो ।
ऊसँग छनोटका लागि आवश्यक न्यूनतम योग्यता थिए । त्यसैले ऊ छनोटमा प¥यो र छनोटको अन्तिम नतिजामा उसको नाम पनि प्रकाशित भयो । खुसीले उसको खुट्टै भुइँमा भएन । जिन्दगीमा सेना वा प्रहरीमा जागिर खाने इच्छा म्यादी प्रहरी भएरै भए पनि पूरा हुन लाग्दा उसलाई असाध्यै खुसी लाग्यो । यो खबर सुनाउँदा उसका वृद्ध बाबुआमा पनि खुसीले नरोई बस्न सकेनन् । 
५५ दिनजति म्यादी प्रहरी भएर चुनावमा खटिँदा झन्डै ३५ हजार रुपैयाँ हातमा पर्ने कुरा थाहा पाएर उसका बाबुआमा मात्रै होइन, ऊ आफैँ पनि दंग प¥यो । नगद आम्दानीको कुनै स्रोत नभएको अवस्थामा एकमुष्ठ त्यति धेरै रकम हात पर्दा घर–व्यवहार चलाउन निकै सजिलो हुन्छ, यही सोचेर सायद उसका बाबुआमा खुसी भए र ऊ आफैँ पनि खुसी भयो ।
कात्तिक १२ देखि २४ गतेसम्म बिदा कटाएर जम्मा १२ दिन तालिम हुँदै थियो । झन्डै यस्तै प्रकृतिको तालिम उसले राष्ट्रिय सेवा दलमा सहभागी हुँदा नै लिइसकेकाले उसलाई तालिममा के–कस्तो हुने भन्ने कुनै डर नै भएन ।
ऊ कात्तिक १२ गते तोकिएकै समय जिल्ला प्रहरी कार्यालयको प्रांगणमा उपस्थित भयो । ऊ पुग्दा अरू पनि दुई तीन युवा र युवती पुगिसकेका थिए । ती युवायुवती जिन्दगीमा पहिलोपटक म्यादी प्रहरी हुन पाउँदा अलिअलि पुलकित र चकित थिए भने तालिममा के–कस्तो हुने हो भनेर अलिअलि भयभीत पनि थिए । तर ऊ अरूझैँ भयभीत पटक्कै भएन । उसलाई भयहीन देखेर अरू युवायुवती थप चकित परे । उसको निर्भीक र निर्भय हाउभाउ देखेर एउटी युवतीले उसलाई निकै लोभिएर हेरी । जवाफमा ऊ मुस्कुरायो मात्रै ।
बिहानको परेडबाट तालिम सुरु भयो । जिल्ला प्रहरी कार्यालयको ठूलो प्रांगणमा भएको परेड हेर्न नजिकको घरका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धा पनि भेला भए ।
म्यादी नै भए पनि आफूलाई प्रहरी नै सम्झेर युवायुवती परेड खेल्न थाले । जिल्ला प्रहरी कार्यालयको ठूलो प्रांगणवरिपरि म्यादी प्रहरीको परेड हेर्न बसेका दर्शकलाई पनि हो न हो प्रहरीहरू नै परेड खेलिरहेझैँ लाग्यो । परेड खेल्दै गरेका युवायुवती कराउँदाको ठूलो आवाज र उनीहरूको शारीरिक हाउभाउबाट निस्केको आवाज सुनेर दर्शकले पनि रमाइलो मानेर हेरे ।
परेड खेल्दाखेल्दै उसलाई भने अघि निकै चकित परेर आफूलाई लोभिएर हेर्ने युवतीको याद आयो । परेड खेल्दाखेल्दै मौका मिलाएर उसले यसो चारैतिर आँखा दौडायो । त्यो युवती ऊभन्दा पर तेस्रो लाइनमा रहिछ । त्यसैले पनि उसले मौका मिलाएर ऊतिरै हेरिरहेकी रहिछ । दुवैका आँखा जुधे । ऊसँग आँखा जुध्दा युवती तर्सेझैँ भई । ऊ भने युवतीलाई हेरेर मुसुक्क मुस्कुरायो । किनकिन त्यतिखेर उसलाई परेड खेलिरहँदा पनि पटक्कै थकाइ महसुस भएन । बरु शरीर चंगा भएजस्तो लाग्यो ।
बिहान ८ बजे परेड सकियो । परेडपछि खाना खाने समय भयो । धेरै समयपछि उसले हातमा थाल बोकेर भात थाप्यो । यसअघि राष्ट्रिय सेवा दलको तालिमका क्रममा त्रिशूलीको इन्द्रेणीचौरमा क्याम्पिङ जाँदा उसले यसैगरी हातमा थाल बोकेर भात थापेको थियो । प्रहरीका भान्सेले थालमा भात हाल्दै गर्दा उसले झलक्क आफ्नी वृद्धा आमाको अनुहार सम्झ्यो । उसकी आमाले कति प्रेमले खाना पस्किदिन्थिन् र कति कर गरीगरी खुवाउँथिन् । ऊ नाइँ भन्दाभन्दै पेटभरि खान्थ्यो र स्कुल जान्थ्यो ।
‘अझै पुगेन ?’ भात हाल्दै गरेको भान्से प्रहरी कड्केको सुनेर ऊ झसंग भयो । ऊ त आमालाई सम्झेर टोलाउन पुगेछ । भात, दाल र तरकारीले थाल भरिएछ । ऊ केही नभनी थाल बोकेर अलि पर गयो र उभिइउभिई खान थाल्यो । अरू पनि त्यसैगरी खाइरहेका थिए । दश मिनेटभित्र खाइसकेर थाल पनि माझिसक्नुपर्ने उर्दी थियो । सबैले त्यसै गरे । आरामले खान पनि पाएन उसले । कसैले पनि आरामले खान पाएनन् । जसको ढिलो खाने बानी छ, उसले आधा पेट पनि खान भ्याएन । थाल माझेर पु¥याउन जाँदा त्यो युवतीसित जम्का भेट भयो । यसपटक उसलाई हेरेर युवती मुसुक्क हाँसी । जवाफमा ऊ पनि हाँस्यो । बोलचाल भने भएन ।
खानापछि कक्षाकोठामा तालिम सुरु भयो । संयोगले ऊ र त्यो युवती एउटै कक्षाकोठामा परेछन् । सँगै भने बस्न पाएनन् । युवतीहरू मात्रै छुट्टै बसे । उसको कक्षाकोठामा जम्मा आठ युवती थिए । युवा भने ३२ जना थिए ।
कक्षाकोठाको तालिमपछि दिउँसो ३ बजेबाट फेरि परेड सुरु भयो । परेड खेल्दा ऊ र त्यो युवती सँगैको लाइनमा परे । दुवैको देखादेख भयो । दुवै मुस्कुराए । युवतीलाई सँगै देखेर उसलाई परेड खेल्दाको थकाइ महसुस भएन । राष्ट्रिय सेवा दलको तालिममै उसले यस्तो परेड धेरै खेलिसकेको थियो । त्यसैले उसलाई त्यो परेड केहीजस्तो पनि लागेन । तैपनि उसले युवतीलाई देखाउनकै लागि पनि मेहनतपूर्वक परेड खेल्यो । परेड खेलाउने सेनाको कमान्डर ऊसँग निकै प्रभावित भयो ।
कमान्डरको निर्देशनअनुसार अब उनीहरू एक किलोमिटरको दौडका लागि तयार भए । कमान्डरको निर्देशन पाउनासाथ सबै युवायुवती दौडिन थाले । अलिबेर दौडेपछि त्यो युवती थाकी । लामोलामो सास फेर्दै कम्मरमा हात लाएर बाटोमै उभिन थाली । उसलाई पनि त्यो युवतीलाई छाडेर दौडन मन लागेन । कमान्डरले ‘गो गो’ भन्दै दौडने निर्देशन दिइरहेको थियो । तर, त्यो युवती दौडनुको साटो हिँडी मात्रै रहेकी थिई । ऊ पनि दौडन छाडेर त्यो युवतीसँगै हिँड्न थाल्यो । कमान्डर कराइरहेको थियो– गो, गो ।
तालिम हो, दौडनैपर्छ । नत्र अयोग्य ठहरिन्छ । उसले त्यो युवतीलाई हात दियो । युवतीले उसको हात समाई र पुलुक्क उसको मुख हेरी । ऊ फेरि मुसुक्क हाँस्यो । तर युवती हाँसिन । अनौठोसित उसलाई हेर्न थाली ।
उसले युवतीको हात समातेर दौडने प्रयास ग¥यो । अब ऊ सँगसँगै युवतीले पनि दौडने प्रयास गरी । उनीहरू बिस्तारै दौडन थाले, अरू धेरै युवायुवती उनीहरूभन्दा अगाडि पुगिसकेका थिए भने अरू केही युवायुवती उनीहरूभन्दा पनि पछि थिए ।
उनीहरूभन्दा पछिका युवायुवती पनि निकै कष्टपूर्वक दौडन थाले । दौडँदादौडँदै दुई युवा र एक युवती बाटोमै बेहोस भएर लडे । प्रहरीका अधिकृत र जवानहरूले उनीहरूलाई होसमा ल्याउने प्रयास गरे ।
दौड सकिएपछि सेटअपका क्रममा एक युवा र दुई युवतीहरू उठ्नै नसक्ने भए । प्रहरीका जवानले उनीहरूलाई चौरमै सुताएर आराम गराए । एक जवानले बोटलमा पानी ल्याएर दियो । युवायुवतीले पानी खाए । केहीबेर आराम गरेपछि उनीहरू हिँड्न सक्ने भए ।
उक्त दिनको तालिम सकेर हिँड्ने बेला त्यो युवती आफैँ उसको नजिक आई र भनी, ‘सहयोगका लागि धन्यवाद ।’
अघि दौडने क्रममा उसले त्यस युवतीलाई केही मद्दत गरेको थियो । त्यसैका लागि युवतीले उसलाई धन्यवाद दिएकी थिई । धन्यवादको बदलामा ऊ हाँस्यो मात्रै । युवतीले मीठो मुस्कानसाथ उसलाई हेरिरही । उसले सबै थकाइ मेटिएको महसुस ग¥यो ।
बाटोमा उनीहरू सँगै हिँडे । बल्ल उनीहरूले आज एकआपसमा परिचय गर्ने अवसर पाए । उसले भन्यो, ‘म संयोग ।’ युवतीले भनी, ‘म सहनशिला ।’ एकले अर्कोको नाउँ थाहा पाए ।
बाटो मोडिएर छुट्टिने बेला दुवैले एकले अर्कोलाई प्रेमपूर्वक हेरे र हेरिरहे । दुवैलाई छुट्टिन गाह्रो लागेजस्तो भयो । कति छिटै बाटोको मोड आएजस्तो लाग्यो दुवैलाई । ‘भोलि भेटौँला,’ उसले भन्यो । युवतीले हाँसेर टाउको हल्लाई । अब उसलाई छुट्टिन सहज भयो । ऊ चंगाजस्तै भएर हिँड्न थाल्यो । सायद त्यो युवती पनि उसैगरी चंगाजस्तै भएर हिँडी ।
१२ दिनसम्मको तालिममा उनीहरू धेरै नजिक भए । एकले अर्काको धेरै कुरा थाहा पाए र धेरै कुरा थाहा पाएनन् पनि । किनभने यस्तो बेला सबै कुरा भनिएको हुँदैन र भन्न हुँदैन पनि । उसको मिजास र मेहनतबाट युवती धेरै प्रभावित भई । अनि, युवतीको सुशील र सहनशील स्वभावबाट ऊ पनि प्रभावित भयो ।
ऊ तालिममा अब्बल भयो । कमान्डरले उसलाई बधाई दियो । ऊ खुसी भयो । उसको खुसीमा त्यो युवती खुसी नभई रहन सकिन । युवतीले ऊसँग हातै मिलाएर भनी, ‘बधाई छ ।’ पहिलोपटक त्यस युवतीको हातको मीठो स्पर्श पाएर उसको शरीरमा अनौठो अनुभूति भयो । ऊ अकमकाएर बोल्न सकेन । खालि युवतीको मुख हेरेर मुस्कुरायो मात्रै । युवती पनि मुस्कुराई । सायद युवतीलाई पनि पहिलोपटक उसको हातको तातो स्पर्श पाएर अनौठो अनुभूति भइरहेको थियो । उसका राता गाला झन् राता हुँदै थिए ।
उसलाई राति निद्रा लागेन । ऊ रातभर छटपटाइरह्यो । उसले युवतीलाई मात्रै सम्झिरह्यो । युवतीले पनि उसलाई सम्झी होली । यो के भयो मलाई ? उसले सोच्यो । सायद उसलाई प्रेम भयो । प्रेममा यस्तै हुन्छ । प्रेमका भुक्तभोगीहरूको अनुभव यस्तै छ ।
अब उसलाई त्यो युवती आफ्नैजस्तो लाग्न थाल्यो । कुन्नि युवतीलाई चाहिँ के भयो ।
तालिम सकेर दुई दिन छुट्टीमा बस्दा पनि उसलाई लाग्न थाल्यो– ऊ के गरिरहेकी होली ! कहिले भेटुँ, कहिले देखुँ । दुई दिन पनि दुई महिनाजस्तै गरी गाह्रोसँग बित्यो ।
अर्को दिन फेरि जिल्ला प्रहरी कार्यालयको प्रांगणमा उनीहरूको भेट भयो । दुवै अब मतदान केन्द्रमा खटिनका लागि तयार भएर आएका थिए । उसले आफ्नो लुगाफाटो र बन्दोबस्तीका सामान बोकेको थियो । युवतीले पनि आफ्नो लुगाफाटो र बन्दोबस्तीका सामान बोकेकी थिई । दुवैका झोला भारी थिए, उनीहरूको मनजस्तै । उनीहरूका मनमा के के बोल्नुपर्ने कुरा थिए, के के भन्नुपर्ने कुराहरू थिए । के के सुन्नुपर्ने कुरा थिए । के के सुनाउनुपर्ने कुरा थिए । यतिन्जेल ती सबै कुरा मनमै गुम्सिरहेका थिए । त्यसैले उनीहरूको मन भारी भइरहेको थियो । मनको भारी बिसाउने साइत जुरिसकेको थिएन । अब त झन् मतदान केन्द्रमा खटिँदै छन् । को कहाँ पर्ने हो थाहा छैन । त्यसैले दुवैका मन बेचैन भइरहेका थिए ।
प्रहरीका अधिकृतले मतदान केन्द्रमा खटिने म्यादी प्रहरीको नाउँ र उनीहरू जानुपर्ने ठाउँको विवरण सुनाउँदै थियो । संयोगले उनीहरू दुवैजना एकै ठाउँमा परेछन् । आफूहरू एकै ठाउँमा परेको थाहा पाएर दुवैले एकले अर्कोलाई मुखामुख गरे, दुवैको भारी मन अब हल्का भयो । 
उनीहरूले सुने, विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार लक्षित गरी हिंसात्मक आक्रमण हुन थालेका छन् । कतै गाडीमै बम आक्रमण गर्ने, कतै आगजनी गर्ने र कतै धराप थापेर विस्फोट गराउनेजस्ता हिंसात्मक गतिविधि बढेको थाहा पाएर ऊ भित्रभित्रै भयभीत भयो । यस्तोमा कसरी आफूलाई सुरक्षित राखेर ड्युटी निभाउने होला ? ऊ सोचमग्न हुन थाल्यो ।
नीलो सर्ट, नीलो पाइन्ट, नीलो स्वेटर, नीलो टोपी र नीलै जुत्ता लगाएर हातमा एउटा लाठी बोकेर उनीहरू ड्युटीमा खटिए । प्रहरीसँगै यसरी ड्युटीमा खटिँदा उसलाई हो न हो आफू प्रहरी नै भएजस्तो लाग्यो । अनि सानैदेखि आफू प्रहरी हुने सपना पूरा भएजस्तो लाग्यो । तर जाबो एउटा लाठी हातमा लिएर परिआउँदा भीडन्त र आक्रमणबाट आफूलाई कसरी सुरक्षित राख्ने ? एउटा लाठीको भरमा मतदाताको सुरक्षा गर्नु कि आफ्नै सुरक्षा गर्नु ? खुकुरी, भाला र बम बोकेर आक्रमणमा उत्रिनेसित एउटा लाठीको भरमा सामना गर्नु चानचुने कुरा होइन । प्रहरी नै भइसकेपछि भने मतदाता, मतदानस्थल र मतपेटिकाको सुरक्षाका लागि अब उसले आफूलाई समर्पित गर्नैपर्छ । उसले यस्तै सोच्यो र ड्युटीमा खटियो । ड्युटीमा खटुन्जेल पनि उसले त्यो युवतीलाई सम्झिरह्यो ।
गस्तीमा घुमिरहँदा उनीहरूको जम्काभेट भयो । एकले अर्कोलाई देख्नासाथ उनीहरूले सन्तोषको सास फेरे । अनि एकले अर्कोलाई धित मरुन्जेल हेरे । नीलो टोपी भित्रबाट सर्प झुन्डिएजस्तो उसको सर्लक्क परेको एक मुठी कालो सिल्की कपाल उसलाई असाध्यै मनप¥यो । उसले निकै लोभिएर हे¥यो, त्यस युवतीलाई । युवती लाजले रातै भई । अरूले चालै पाएनन् उसको मौनप्रेम । 
मंसिर १०, चुनावको दिन उनीहरू एउटै मतदान केन्द्रमा खटिए । उसको खुसीको सीमै रहेन । बिहानैदेखि मतदाता, मतदान केन्द्र र मतपेटिकाको सुरक्षामा खटिएका उनीहरू मतदान केन्द्र वरिपरि घुमिरहे– कहिले सँगै,  कहिले एक्लाएक्लै  । तर एकैछिन छुट्टिँदा पनि मन बेचैन हुन्थ्यो । उसलाई कतिखेर युवतीलाई देखुँजस्तो हुन्थ्यो । सायद युवतीलाई पनि त्यस्तै हुन्थ्यो । दिनभरि यसैगरी ड्युटी गरे ।
सौभाग्यवश मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतदान केन्द्रबाट मतपेटिका जिल्ला मतदान अधिकृतको अफिसमा लगेपछि उनीहरू फुर्सदिला भए । धेरैबेरसम्म यताउताका कुरा गरेपछि साँझ छुट्टिए ।
मंसिर २१ को चुनाव बाँकी थियो । त्यतिन्जेलका लागि उनीहरू जिल्लाकै विभिन्न स्थानमा सुरक्षार्थ नेपाल प्रहरीसँगै खटिए । छुट्टाछुट्टै समूहमा बाँडिएर खटिएकाले उनीहरूको भेट पनि हुन पाएन । एकले अर्कोलाई मिस गरिरहे ।
संयोगले मंसिर २१ गतेको चुनावको दिन उनीहरू फेरि एउटै मतदान केन्द्रमा खटिए, मंसिर १० गतेझैँ कहिले सँगै, कहिले छुट्टिएर । एकैछिन छुट्टिँदा पनि दुवै बेचैन हुन्थे । 
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतदान केन्द्रबाट मतपेटिकाहरू जिल्ला मतदान अधिकृतको अफिसमा लगेपछि उनीहरू फुर्सदिला भए । धेरै बेरसम्म यताउताका कुरा गरेर बसे । भन्नैपर्ने कुरा भन्नलाई चाहिँ उसलाई निकै गाह्रो भयो । अब त मैले भन्नैपर्छ भन्ने सोचेर हिम्मत गर्दै उसले केही भन्नै लाग्दा युवतीले नै पहिला भनी, ‘भोलि बिहानै उहाँ आउँदै हुनुहुन्छ मलाई लिन । भाग्यमा भए फेरि भेट होला नि ।’
युवतीको कुरा सुनेर उसको मुटुमा विशाल पहिरो गयो । उसलाई त्यो पहिरोभित्र आफैँ पुरिन लागेजस्तो कहाली लाग्यो । उसले लामोलामो सास फेर्न थाल्यो ।
युवतीले अत्तालिँदै भनी, ‘के भयो तपाईंलाई ?’
उसले सम्हालिँदै भन्यो, ‘केही होइन । मलाई कहिलेकाहीँ यस्तै हुन्छ । सास फेर्न गाह्रो हुन्छ ।’
युवतीले दुवै हातले उसलाई भर दिई र उसको छातीमा सुमसुम्याइदिई । युवतीको कोमल हातको मीठो स्पर्श पाएर उसले सञ्चो अनुभव ग¥यो । उसले आँखा चिम्म गरिरह्यो । त्यही बेला युवतीले उसको अनुहारमा नियालेर हेरी । तर, एकै छिनपछि विनाप्रतिक्रिया युवतीले भनी, ‘अब हामी जानुपर्छ ।’
‘हो, अब हामी जानुपर्छ । नत्र ढिला हुन्छ ?’ उसले पनि भन्यो ।
युवती उठी । ऊ पनि उठ्यो । तर ऊ उठ्दा जमिन नै भासिएजस्तो लाग्यो उसलाई । युवती अघिअघि हिँडी । सायद उसलाई आफ्नो गन्तव्यमा पुग्न हतार थियो । ऊ युवतीको पछिपछि बिस्तारै हिँडिरह्यो । उसलाई अब कतै पुग्ने हतारो लागेन ।
भोलिपल्ट बिहानै त्यो युवती उसलाई भेट्न आइपुगी, आफ्नो लोग्नेलाई साथमै लिएर । त्यसको लोग्नेले ऊतिर हात बढाएर भन्यो, ‘हाई, म असई नीरज ठकुरी, सहनशिलाको श्रीमान् ।’
उसले पनि गाह्रोसँग हात बढाएर भन्यो, ‘म संयोग, म्यादी प्रहरी ।’
युवतीले अनौठोसित हेरिरही, उनीहरूबीचको कुराकानी । 
निर्वाचन सकिएसँगै उसको म्यादी जागिर सकियो । म्यादी जागिरसँगै उसको प्रेम पनि म्यादी नै भएर टुंगियो । 
५५ दिनको म्यादी प्रेमको अनुभव मनभरि सँगालेर ऊ एक्लै आफ्नो घर फर्कन लाग्यो । बस चढ्नलाई बसपार्क धेरै टाढा थियो ।

प्रकाशित: १ पुस २०७४ ०४:०१ शनिबार

कथा म्यादी