अन्य

ब्युटिपार्लर क्रेज

शृंगार गर्दै ब्युटिसियन । तस्बिर : गिरिराज बाँस्कोटा

पाँचथर सदरमुकाम फिदिममा चर्चित छ, ‘लक्की ब्युटिपार्लर’ । दिनहुँजसो भीडभाड हुने यो ब्युटिपार्लर १४ वर्षअघि लक्की सुजीले सञ्चालन गरेकी हुन्।

‘मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो अवस्था थिएन । त्यतिबेला ग्राहक आउन हिच्किचाउँथे,’ लक्की भन्छिन्, ‘अहिले ब्युटिपार्लरप्रति समाजको दृष्टिकोण बदलिएको छ । सहरका मात्र होइन, गाउँका युवती र महिलासमेत निर्धक्क आउँछन् । गाउँगाउँमा ब्युटिपार्लर खुलेका छन्।’

मासिक ५०/६० हजार आम्दानी हुने सञ्चालक उनी बताउँछिन्। उनले ब्युटिपार्लर व्यवसाय मात्र सञ्चालन गरेकी छैनन्, यसबारे तालिमसमेत सिकाउँछिन् । अहिले उनीसँग १० जनाले तालिम लिइरहेका छन् । उनीसँग तालिम लिएकाहरूले कतिपयले ब्युटिपार्लर पनि खोलेका छन् । ‘यसले मलाई सन्तुष्ठ बनाएको छ,’ उनी भन्छिन् । 

उनका अनुसार पछिल्लो समय ब्युटिपार्लर प्रतिको धारणा बदलिँदै गएको छ । ‘अहिले सौन्दर्यप्रति सबै सचेत हुन थालेका छन्,’ ब्युटिसियन लक्की भन्छिन्, ‘त्यसैले युवती र महिलाको भीड लाग्ने गरेको छ।’

फिदिमका चोकैपिच्छे ब्युटिपार्लर खुलेका छन् । सदरमुकाम या अन्यत्रबाट तीन महिने बेसिक कोर्स गरेर कतिपयले पार्लर सञ्चालन गरिरहेका छन्।

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि ब्युटिपार्लरप्रति आकर्षण देखिएको छ । उत्तरी क्षेत्र ओयाममा एक महिनाअघि सोनी बेघाले ब्युटिपार्लर सञ्चालन गरेकी छिन् । उनले तीन लाख खर्च गरी ब्युटिपार्लर सञ्चालन गरेको बताइन् । ‘राम्रो कमाइ हुने सम्भावना देखेर नै ब्युटिपार्लर खोलेकी हुँ,’ लक्की भन्छिन्, ‘सुरुवात पनि राम्रै छ ।’ तीन महिना तालिम लिएर व्यवसाय सुरु गरेको उनी बताउँछिन्। 

पछिल्लो समय विवाह, पार्टी तथा उत्सवमा जानुअघि ब्युटिपार्लर जाने चलन बढेको छ।
यहाँका ग्रामीण बजार थर्पु, ओयाम, फलैचा, यासोक, मेमेङ, रवि, मौवा, सप्तमी, पञ्चमीलगायतका स्थानमा ब्युटिपार्लर खुलेका छन् । यासोकमा दुईवटा पार्लर सञ्चालन भएका छन् । पार्लर सञ्चालन गर्नेमा अधिकांश युवती नै छन् । कतिपय ब्युटिपार्लरले आधुनिक प्रविधि समेत भिœयाएका छन् । ब्युटिपार्लरबाट राम्रै आम्दानी भएको व्यावसायी बताउँछन् । 
गाउँगाउँमा पार्लर खुल्ने क्रम बढ्दै गएको पाइन्छ । सिक्ने उत्तिकै छन् । गाउँपालिका निर्माण भएपछि केन्द्रमा जमघट बढेको छ । यही जमघट हुने ठाउँमा पार्लर खोल्ने क्रम बढेको छ।

केही वर्ष अर्काको पसलमा ब्युटिसियनको काम गरेकी नितु ‘सम्झना’ मुखियाले फिदिममा हालै ब्युटिपार्लर खोलेकी छिन् । उनले तीन लाख रूपैयाँ लगानी गरी ब्युटिपार्लर सञ्चालन गरेकी हुन् । ब्युटिपार्लरमा गाउँगाउँबाट आउने बढी रहेको उनी बताउँछिन् । ‘सानैदेखि सौन्दर्यतामा सौखिन थिए । त्यसैले ब्युटिपार्लर खोलेकी हुँ,’ उनी भन्छिन्, ‘अहिले मानिस सौन्दर्यप्रति धेरै सचेत भएका छन्।’

कतिपय ग्राहकले मोबाइलमा फोटो देखाएर यस्तो गरिदिन भनी आग्रह गर्ने गरेको उनी बताउँछिन् । पछिल्लो समय उमेर र वर्गको बन्धन समेत हराउँदै गएको उनले बताइन्। 

ब्युटिपार्लरमा पाका उमेरका पनि आउने गरेको उनले बताइन् । अनुहार र कपालको शृंगारका लागि पनि आउने रहेको उनले सुनाइन् । सीप तथा कला भएकाले राम्रो गर्न सक्ने नितुको भनाइ छ।

ब्युटिपार्लर सिजनको व्यवसाय भएको अर्की ब्युटिसियन मेनु योङ्या बताउँछिन् । साउनमा मेहेन्दी लगाउने, मंसिर–माघमा बेहुली शृंगारको काम हुने उनको भनाइ छ। चाडवाडको बेलामा ब्युटिपार्लरमा भीडभाड हुने उनले सुनाइन्। 
पार्लरमा कमाई राम्रो भएकाले खुल्ने क्रम बढेको उनको बुझाइ छ । तीन वर्षदेखि फिदिममा पार्लर चलाएकी मनुका परिवर्तनसँगै मान्छेका आकांक्षा बढ्दै जाने सुनाउँछिन्।

ब्युटिपार्लरमा हेयर स्टेट, हेयर कर्ली, थे्रडिङ, फेसियल, कटिङलगायत काम हुने गरेको छ । पछिल्लो समय बेहुली शृंगार गर्न पनि पार्लरमा आउने क्रम बढेको छ। 

 

प्रकाशित: १६ मंसिर २०७४ ०२:५६ शनिबार

ब्युटिपार्लर क्रेज