काठमाडौं— आइतबार बिहानैदेखि म दोलखाका मतदान केन्द्रको भ्रमणमा निस्किएँ। मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी एवं सुरक्षाकर्मीहरु पहिलाका निर्वाचनमा झै व्यवस्थित देखिन्थे। फरक दृश्य यो थियो कि अधिकांश मतदान केन्द्रमा मतदाता लाइनमा बस्नुपर्ने अवस्थामा थिएनन्।
कालिन्चोक गाउँपालिकाको कालिन्चोक, बाबरे, लामिडाँडा, लातिलाङसहितका सात मतदान केन्द्रको स्थलगत अवलोकन गर्दा मतदातामा स्थानीय निर्वाचनजस्तो उल्लास देखिएन। स्थानीय निर्वाचनको बेला मतदाता बिहान ६ बजेदेखि लाइन बस्न आएका थिए।
बाबरेस्थित बुथमा पौने ८ बजेसम्म एक दुई जना मात्र मतदाता देखिएका थिए। ती पनि दलका सक्रिय कार्यकर्ता थिए। ८ बज्न लाग्दासम्म पनि त्यहाँ मतदाता आइपुगेका थिएनन्।
मतदाताको कम चासो एवं मतदान केन्द्र राजनीतिक पार्टीको कब्जामा पुग्दा नै बुथ कब्जा हुने हो। यो पटक पनि मतदाता फाट्ट फुट्ट मात्र भएका बुथमा लोकतान्त्रिक एवं बाम गठबन्धनले कमजोर अर्को पक्षलाई लखेटेर खस्न बाँकी रहेका मत आफ्नो पक्षमा खसाल्ने खतरा छ।
गाउँको बिहानै खाना खाने, भोट हाल्न जाने अनि दिउँसो कामतिर लाग्ने एक किसिमको तालिका हुन्छ। लामिडाँडाको भगवती मावि मतदान केन्द्र १० बजे पुग्दा त्यहाँ मतदाताको पंक्ति थिएन। १ हजार २ सय मतदाता रहेको केन्द्रमा १९३ मत मात्र खसेको थियो। त्यहाँबाट अर्को मतदान केन्द्रतर्फ लाग्दा फाट्टफुट्ट मतदाता सो केन्द्र गइरहेका भेटिएका थिए।
मेरो अर्को गन्तव्य थियो सोही गाउँपालिकाको लातिलाङस्थित जनज्योति मावि मतदान केन्द्र। यो १ हजार ७ सय मतदाता भएको केन्द्र हो। म त्यहाँ १२:१५ मा पुगेको थिएँ। निर्वाचन अधिकारीले ५८० मत खसेको जानकारी दिए। लाइनमा ४-५ जना मान्छे थिए। सोही मतदान केन्द्रका मतदाता जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले त्यहीँ भेटिए। उनी भोट खसाल्न आएका रहेछन्। 'भरेसम्म धेरै खसे ९ देखि ११ सयसम्म खस्न सक्छ', उनले भने।
उत्साह किन घट्यो?
१. राजनीतिप्रति वितृष्णा : मतदानप्रति जनतामा उत्साह कम हुनु मतदानमा कम सहभागिताके मुख्य कारक हो। कहिले माओवादी–काँग्रेस मिलेर आउने। कहिले एमाले माओवादी मिलेर आउने गर्दा सर्वसाधारणलाई यो फोहोरी खेल हो भन्ने परेको छ। यसको असर पनि मतदानमा परेको हुनसक्छ। यसअघिको स्थानीय निर्वाचनमा दोलखामा काँग्रेस-माओवादी गठबन्धन थियो। अहिले एमाले-माओवादी गठबन्धन छ।
२. घर निर्माणको समय : मतदातामा उत्साह नहुनुको अर्को मुख्य कारण भूकम्पले भत्काएपछि अस्थायी टहरामा बस्दै आएका सर्वसाधारण यतिबेला पक्की घर निर्माण गरिरहेका देखिन्छन्। चिसो बढ्दै गरेको अवस्थामा छिटो घर निर्माण सिध्याउनु पर्ने दवाब उनीहरुलाई छ। बाबर भन्ने ठाउँका एक जना मतदाता मीनबहादुर बुढाथोकीले भने, 'कति हाल्नु भोट। अस्ति भर्खर हालेको। आज घरको डिपिसी छ। यो सिध्याए भ्याइयो भरेसम्म जानुपर्ला।' उनी घर निर्माणका लागि डिपीसी गर्दै थिए।
३. फर्किएनन बाहिर गएका मतदाता : अर्को पक्ष के देखिएको छ भने बाहिर गएका मतदाता थोरै मात्र फर्किएका छन्। जिल्लाका ४०-५० प्रतिशत मतदाता रोजगारीका लागि राजधानी काठमाडौं अथवा अन्यन्त्र गएका छन्। गाउँमा मान्छे यसै कम छन्।
४. स्थानीयभन्दा फरक अायामः स्थानीय चुनाबमा आफन्त वा छिमेकी उम्मेदवार हुँदा उनीहरुले मतदाता बोलाएका थिए। तर अहिले घर फर्किने मतदाताको संख्या कम छ। यसअघिको स्थानीय निर्वाचनमा तल्लोघर माथ्लोघर छिमेकी एवं आफन्त उम्मेदवार थिए। यसले गर्दा छिमेकी वा आफन्त मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए। अहिलेका उम्मेदवार कहाँ हुन् को हुन् भन्ने जानकारी मतदातालाई छैन।
यसअघिका निर्वाचनलाई उदाहरण मान्ने हो भने दोलखामा लगभग सबै चुनाबमा हिंसा, बुथ कब्जाका घटना भएको देखिन्छ। मतदाताको कम चासो एवं मतदान केन्द्र राजनीतिक पार्टीको कब्जामा पुग्दा नै बुथ कब्जा हुने हो। यो पटक पनि मतदाता फाट्ट फुट्ट मात्र भएका बुथहरु खतराको सूचिमा पर्न सक्छन्। लोकतान्त्रिक एवं बाम गठबन्धनले कमजोर अर्को पक्षलाई लखेटेर खस्न बाँकी रहेका मत आफ्नो पक्षमा खसाल्ने खतरा उत्तिकै छ।
प्रकाशित: १० मंसिर २०७४ ०७:५० आइतबार