अन्य

मायालु पित्लेक

सुन्तला खाने बेला भयो है ! रसिला अनि गुलिया सुन्तला । अग्र्यानिक तरकारी, कफि र महका लागि कहलिएको स्याङ्जाको पित्लेक पर्यटकीय गन्तव्य बनिसक्यो । त्यहाँ एग्रो टुरिजमको अभ्यास भैरहेको छ।  

वालिङ नगरपालिका–५ मा पर्ने तीनवटा गाउँहरु पित्लेक, आरुपाटा र पाँडेथोकलाई पित्लेक भनिन्छ । जहाँ गुरुङ, मगर, बाहुन र दलित समुदायको बसोबास छ । गाउँले आत्मीय छन् । मायालु व्यवहार गर्छन।  

मौसम खुल्ला हुँदा पित्लेक (१,५०० मिटर) गाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे« लगायत हिमाली लर्कन देखिन्छ । वरपरका बस्ती, पहाड र जंगलले लोभ्याउँछ । जंगलमा चिरबिर सुनिन्छ, थरिथरिका जनाबर डुल्छन्। 

अग्र्यानिक स्वादका लागि स्याङ्जाको पित्लेक गाउँ कहलिएको छ । ब्रेकफास्टमा कोदोको रोटी र मह पाइन्छ । फर्कंदा मह राम्रो कोसेली हुन्छ।

गाउँको शिरानमा अबस्थित भ्यू टावरबाट सूर्योदय देखिन्छ । अध्ययन गर्न र रमाउन गाउँमा आरुपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोप वे आदि छन् । त्यस्तै माहुरी, तरकारी, बाख्रा र लोकल कुखुरा फार्म छन्।  

डाँडाको कालिका मन्दिरमा पुराना हतियार छन् । नजिकै बौद्ध दर्शन सम्बन्धी क्होइबों पनि । एक्स्प्लोर हुन बाँकी एउटा ठूलो गुफा छ । फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनलाई झिकाएर त्यसको बिस्तृत अध्ययन गर्ने योजना बन्दैछ । त्यसो हुन सके यो एउटा राम्रो पर्यटकीय प्रोडक्ट बन्नेछ । गुफा नजिकै झरनामा क्यानोनिङ गराउन सकिन्छ।    

समग्रमा शितल पित्लेकमा मनको शान्ति मिल्छ।  

गाउँ घुम्न लायक छ । खान/बस्न दुःख छैन । गुरुङका ७ घरमा ०६६ सालदेखि होमस्टे चलाइएको छ । होमस्टेमा दालभात, ढिँडो, कोदोको रोटी, मह, घ्यू, दूध, दही आदि पाइन्छ । बिशेषतः अग्र्यानिक तरकारी खुवाइन्छ। 

पछिल्लो समय टनेल खेती मौलाएको छ । कोरियाबाट फर्केका दुई युवा भुपेन्द्र गुरुङ र तेजेन्द्र गुरुङ व्यवसायिक कृषिमा होमिएका छन् । यतिबेला टनेलमा गोलभेडा पाकेको रमाइलो दृश्य देखिन्छ । काउली, बन्दा, मुला आदि पनि झुलिरहेका छन्।  

जाडो याममा पहार ताप्न पित्लेक पुग्न सके राम्रै हुन्छ । ‘पित्लेकको अग्र्यानिक स्वादले मोहनी लगाउँछ’, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘एग्रो टुरिज्म केन्द्रका रुपमा हामी पित्लेकको प्रवद्र्धन गर्दैछौं।’   

गाउँ घुमेर फर्किँदा झोलामा हातबुना झोला, सुन्तला, सिजनेबल तरकारी र मह कोसेली ल्याउन सकिन्छ । मह किलोको हजार रुपैयाँ, लोकल कुखुरा ज्यूँदो किलोको ६ सय रुपैयाँ पर्छ।  

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि । पोखरा–मिर्दी ६० किमि । सिद्धार्थ राजमार्गको मिर्दीबाट पित्लेक जाने दुई बाटा छन् । एउटा मिर्दी, पाँडेथोक हुँदै पित्लेक ५ किमि । अर्को, मिर्दी जगतभञ्ज्याङ, आरुपाटा हुँदै पित्लेक ११ किमि। पोखराबाट जगतभञ्ज्याङसम्म सार्बजनिक बस चल्छ । भञ्ज्याङबाट एक घन्टा पदयात्रामा पित्लेक गाउँ । गाउँसम्म जीप र मोटरसाइकल लान सकिन्छ। 

प्रकाशित: ९ मंसिर २०७४ ०३:३२ शनिबार

मायालु पित्लेक