अन्य

बिहेको 'बिजनेस'

विश्वास र अञ्जना एउटै कलेजमा पढ्थे । समय क्रममा दुवैबीच माया हुर्कियो । छ वर्ष कलेजमा सँगै आउजाउ गर्दा कतिबेला समय घर्कियो, उनीहरुले पत्तै पाएनन् । अचानक अञ्जनाको बिहेको कुरा घरमा चल्न थाल्यो । उनले आफ्ना बुवाआमालाई आफ्नो प्रेमीका बारेमा बताउनै पर्ने भयो । जसै अञ्जनाले घरमा आफूले केटो छानिसकेको बताइन्, घरमा एउटा सानोतिनो भुइँचालो नै गयो । पछि अञ्जनाका अभिभावकले अनौपचारिक तवरमा विश्वासका बारेमा बुझे । केटो लायक नै देखेपछि उनीहरुले विवाहको मिति यही मंसिर महिनामा तोकेका छन् ।
यो कथा विश्वास र अञ्जनाको मात्र होइन, अधिकांश सहरी र अद्र्धसहरी क्षेत्रका युवायुवतीको हो । हिजोआज बिहे लमीले मिलाइदिने सामाजिक क्रियाकलाप होइन, प्रायः आफैँ छान्ने र बुबाआमाको स्वीकृति लिने चलन बढेको छ । समाजमा यतिबेला बिहे भनेको दुई परिवारको मिलन मात्र होइन, दुई परिचित भावि दुलाहा–दुलहीबीचको गहन सम्बन्ध पनि हो भन्ने मान्यता स्थापित भएको छ । पहिला बाबुआमा राजी भएपछि जस्तोसुकै व्यक्तिसँग पनि विवाह गराइदिने वा गर्ने चलन थियो भने समयसँगै त्यस किसिमको परिपाटीमा परिवर्तन आउन थालेको छ ।


एकातिर दुई परिवारले पहिल्यै परिचित वा प्रेममा परेको जोडीलाई घरजम गराइदिने क्रम त बढेको छ, सँगैमा यस्तो विशेष अवसरलाई अझ खास बनाउने लहर पनि उत्तिकै बढेको छ । त्यसैले पनि हिजोआज विवाहका लागि आफैँले तनाव नलिने बरु कुनै वेडिङ प्लानरलाई कामको जिम्मा दिने चलन बढेर गएको छ ।

पछिल्लो समय विवाहलाई विशेष बनाउने नाममा खोलाको पानीसरी खर्च गर्ने चलन पनि बढेको छ ।
विगत सात वर्षदेखि वेडिङ प्लानरका रुपमा काम गरिरहेकी सुजाता श्रेष्ठ दुलाहा र दुलही दुवैको परिवारको व्यस्तता बढेसँगै वेडिङ प्लानरले काम पाउन थालेको बताउँछिन् । उता १५ वर्षदेखि यस्तै काम गरिरहेका विजय सुवाल पनि बिहेजस्तो जीवनमा विरलै गरिने कार्यक्रमलाई अति भव्य बनाउने चाहनाका कारण वेडिङ प्लानरको क्षमताको परीक्षण हुन थालेको बताउँछन् ।

सुजाताले भने आफ्ना छरछिमेक र साथीभाइका बिहेलाई भव्य बनाउने काम गरिसकेकी छन् भने विजयले देशी, विदेशी र गैरआवासीय नेपालीसम्मको बिहेलाई भव्य, रोचक र स्मरणीय बनाउने काम गरिसकेका छन् ।

वेडिङ प्लानिङ एउटा चुनौतीपूर्ण कला भएको विजय बताउँछन्, भन्छन्, ‘एउटा सानो चूक भयो भने तपाईंको सारा मिहिनेत खेर जान्छ । यो त्यति जश पाउने काम भने होइन तर राम्रोसँग यो काम सम्पन्न गर्न सकियो भने मान्छे यति खुसी हुन्छन् कि हरेक पटक हामीले नै उनीहरुका कार्यक्रमको व्यवस्थापन गरिदिनुपर्ने हुन्छ ।’
उनले केही वर्षअघि एउटा जोडीको वेडिङ प्लानिङ गरिदिएका थिए । उनको कामबाट ती ग्राहक यति खुसी भए कि पछि छोरीको जन्मदिनको प्लानिङ गर्ने जिम्मा पनि उनैलाई दिए । विजयले यस्ता कैयौँ सुखद् अनुभूति सँगालेका छन् ।
बिहेको बिजनेस सबैभन्दा आकर्षक हुने गर्छ । एउटा परिवारले बिहेका लागि लत्ता कपडा, गरगहनादेखि खान्की मात्र होइन अन्य धेरै कुरामा विचार पुर्याउनु पर्छ । वेडिङ प्लानरले ग्राहकको इच्छा, आवश्यकता र उनीहरुको बजेट हेरी ती सबै कुराको ख्याल राखिदिन्छन् ।
विजय भन्छन्, ‘मैले एक पटकमा तीन करोडसम्मको खर्चमा बिहे सम्पन्न गरेको छु ।’ उनले एक पटक कुनै विदेशीको वैवाहिक कार्यक्रम सम्पन्न गर्दा यति धेरै खर्च गरिदिए कि उनलाई डर थियो, ‘कतै यो पैसा आएन भने त लगानी जति सबै डुब्ला !’ तर उल्टै कार्यक्रमको भव्यताले बिहेघर यति सजियो कि दुलहीका पिताले बिना कुनै हिच्किचाहट ठूलो रकम तिर्न राजी भए । ‘एक पैसा पनि डिस्काउन्ट खोजेनन्,’ विजय भन्छन्, ‘यस हिसाबले यो काम रमाइलो पनि छ र उत्तिकै चुनौतीपूर्ण पनि ।’
ट्रेन्ड बन्दै वेडिङ प्लानिङ
वेडिङ प्लानरको सहयोग चाहिने भनेको उच्च घरानियालाई नै हो । परिवारका सबै जना अति व्यस्त हुनाले र कति त प्रायः विदेशमै रहनाले पनि वेडिङ प्लानरको सहयोग चाहिने गरेको सुजाता बताउँछिन् । भन्छिन्, ‘मैले अहिलेसम्म जति पनि बिहे गराएकी छु, उनीहरु प्रायः विदेशमा हुन्छन् । छोटो बिदामा आएका हुन्छन् । कहाँ किनमेल गर्ने, कताबाट डिजाइनर खोज्ने भन्ने समस्या हुन्छ । मेरै आफन्तले पनि त्यस्तो समस्या भोगेको पाएपछि एउटा फेसन डिजाइनरका रुपमा काम गरिसकेकी मलाई बिहे डिजाइन गर्न प्रेरित गर्यो ।’
उता विजय पनि पहिला विभिन्न किसिमका कन्सर्ट तथा फेसनका कार्यक्रम आयोजना गर्थे । त्यसमा विदेशी कम्पनीका कार्यक्रम पनि हुन्थे । उनले विदेशीले नेपालमा वेडिङ प्लानिङको काम गर्दैआएको देखेपछि यसमा हात हालेका हुन् । पोखरामा उनको स्थापित कम्पनी छ, जसले वेडिङ प्लानिङको काम गर्छ । काठमाडौँमा भने एकादुई बिहेको कार्यक्रम संयोजन गर्ने गरेको विजय बताउँछन् ।
वेडिङ प्लानरले दुलाहा र दुलही पक्षलाई बिहेको थिम जुराइदिने, थिमअनुसारको ड्रेस डिजाइन गराइदिने गर्छन् । यति मात्र होइन, बिहेका हरेक पललाई स्मरणीय बनाउनका लागि भिडियो र स्टिल फोटोग्राफीको जिम्मा पनि वेडिङ प्लानरकै हुन्छ ।
एकमुष्ठ रकम तिरेपछि यी सबै समस्या झेल्नु नपर्ने भएकाले सहरी क्षेत्रमा वेडिङ प्लानरको व्यस्तता बढ्दै जान थालेको छ ।
‘पोखरामा त हामी एक नम्बर नै हौँ,’ विजय सुवाल भन्छन्, ‘हाम्रो कार्यालयले वर्षैभरि यही काम मात्र हेर्ने गर्छ ।’ यसरी वर्षैभरि गर्नका लागि उत्तिकै चुस्त टिम र सिर्जनशीलता चाहिने विजय बताउँछन् ।
सुजाता पनि वेडिङ प्लानिङ ‘आइडिया’को काम भएको बताउँछिन् । त्यसैले बिहेलाई स्मरणीय बनाउने हरकोहीका लागि वेडिङ प्लानिङ जीवनभर याद सँगाल्ने माध्यम बन्ने सुजाता बताउँछिन् । उनी भने यो धनीमानीका लागि मात्र हुने कुरामा भने सहमत छैनन् । ‘जान्यो भने थोरै पैसामा पनि वेडिङ प्लानिङ गर्न सकिन्छ र बिहेलाई यादगार बनाउन सकिन्छ,’ उनी भन्छिन् ।
त्यसो त हिजोआज वेडिङ प्लानिङ गर्नेमा सामान्य आम्दानी भएकाहरुले पनि रुचि राख्न थालेको वेलकम एडभरटाइजिङकी इभेन्ट शाखा प्रबन्धक नीमा पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘सानो चार्ज तिरेर केही प्लानरहरुले कुनै ब्याँकेट वा पार्टी प्यालेसमा बिहे गर्ने चलन पनि उत्तिकै बढेको छ । खासगरी मध्यम तथा निम्न आयहरुले यस्ता ठाउँमा कार्यक्रम गर्ने गरेको पाइन्छ ।’
हुन पनि वेडिङ प्लानरहरुले होटलका महँगा ठाउँहरु बुकिङ मात्र गर्दैनन्, खान्कीमा पनि ठूलो धन खर्च गर्ने गर्छन् । यसको तुलनामा पार्टी प्यालेसको ठाउँ र सुविधा हेरी कम नै शुल्क लाग्ने गर्छ । त्यसैले बजेटअनुसार ठाउँ र खान्कीको चयन गर्ने गरिएको पौडेल बताउँछिन् ।
के–के पर्छन् प्लानिङमा ?
सामान्यतः स–साना कुराको जोहो गर्नेदेखि सुहागरात बेड सजाउनेसम्मको काम वेडिङ प्लानरले गर्छन् । जति बढी प्लानरको सहभागिता बढ्यो, उति नै शुल्क बढ्छ । प्लानरले त हनिमुनको यात्रासम्म योजना बनाइदिन्छन् ।
‘हामीले सामान्यतः वेडिङ प्लानिङमा थिम बनाउने, मेकअप हेरिदिने, फोटो र भिडियो खिचिदिनेसम्मका काम गर्छौं,’ सुजाता भन्छिन्, ‘बिहे भन्नेबित्तिकै झल्याकझुलुक र रमाइलो हुने हुनाले जति बढी रमाइलो र झल्याकझुलुक भयो, बिहे उति स्मरणीय हुन्छ । यस्तै कुरामा हामी ध्यान दिन्छौँ ।’
उता विजय भन्छन्, ‘दुलाहा र दुलही पक्षको आवश्यकता हेरी हामी हनिमुन कहाँ जाने हो, त्यहाँको होटल बुकिङदेखि घुम्ने ठाउँ र अन्य व्यवस्था मिलाइदिन्छौँ । विवाहलाई यादगार बनाउने जिम्मा नै वेडिङ प्लानरको हो ।’
५० हजार रुपैयाँबाट सुरु भएर २÷३ करोडसम्मको विवाह नेपालमा वेडिङ प्लानरहरुले गराइरहेका छन् । विजय भन्छन्, ‘अहिलेसम्म मैले बढीमा दुई करोडसम्मको बिहे गराएको छु ।’ त्यसो त नेपालमा विदेशी वेडिङ प्लानरहरुले करोडौँको विवाह गर्ने गरेका छन् ।
फोटो महत्वपूर्ण
त्यसो त विवाहका हरेक कुरा महत्वपूर्ण हुन्छन् तर खास ठाउँ भने फोटोग्राफी र भिडियोग्राफीले लिने गरेको छ । विवाह त आउँछ र जान्छ । विवाहका प्रत्येक पल फोटोग्राफी र भिडियोग्राफीले विशेष बनाइदिन्छ । खास खास पलहरु फोटो र भिडियोमा वर्षौंसम्म फ्रिज भएर बारम्बार याद दिलाउने भएकाले बिहेमा यसलाई बढी महत्व दिने गरेको लामो समयदेखि वेडिङ फोटोग्राफी गरिरहेका सहनवाज मोहम्मद बताउँछन् । आफ्नो तीनदेखि पाँच जनाको टोलीले एउटा विवाहको फोटोग्राफी र भिडियोग्राफी सम्हाल्ने उनको भनाइ छ ।
नेपाली फोटोग्राफरको स्तर विदेशीको जत्तिकै प्रतिस्पर्धी र राम्रो भएकाले यतिबेला नेपाली चर्चित फोटोग्राफरहरुको माग ह्वात्त बढेको एक दशकदेखि काम गरिरहेका शैशवकिशोर श्रेष्ठ बताउँछन् । अहिलेसम्म ३०/४० वटा विवाहको फोटोग्राफी सम्हालेका शैशवले ६० प्रतिशतभन्दा बढी गैरआवासीय नेपालीकै काम गरेको र तिनीहरुले फोटोग्राफीमा कुनै सम्झौता नगर्ने अनुभव बोकेको बताउँछन् ।
‘विवाहको प्रत्येक ससाना पलहरु फोटो र भिडियोमा आओस् भन्ने परिवारको चाहना हुन्छ,’ सहनवाज भन्छन्, ‘त्यो अपेक्षामा खरो उत्रियौँ भने हाम्रो भिडियो र फोटोग्राफी सफल भयो ।’ त्यसैले अधिकांश फोटोग्राफरले ‘मोमेन्ट क्याप्चर’मा ध्यान दिने आफ्नो अनुभव रहेको शैशवकिशोर बताउँछन् । शैशवले एसकेएस फोटोग्राफी भन्ने कम्पनी नै चलाइरहेका छन् ।
ग्राहकलाई खुसी पार्न फोटोग्राफी
त्यसो त विवाहको रोचक पलमा आइपर्ने सानातिना गल्तीलाई ग्राहकहरुले उति महत्व दिँदैनन् र पनि २० प्रतिशत ग्राहकहरुले भने ससाना कुरामा पनि गनगन गर्ने गरेको अनुभव फोटोग्राफरहरुको छ । उनीहरुले अग्रिम जानकारी नगराएका कतिपय कुराहरु अकस्मात आदेश दिनेजस्ता क्रियाकलापले वातावरण विथोल्ने मात्र होइन, चाहेजस्तो तस्बिर र भिडियो नबन्ने शैशवको अनुभव छ ।
केही महिनाअघि मात्र विवाह गरेका काठमाडौँ फुड कोर्टका सञ्चालक अजय पोखरेल विवाहलाई विशेष बनाउने काम फोटोग्राफीको बढी नै भूमिका हुने अनुभव साट्छन् । उनी भन्छन्, ‘बिहे हुन्छ र सकिन्छ तर त्यस पलमा के भए भन्ने पाटो फोटोले बताइदिन्छ । त्यसैले यसको भूमिका विशेष छ ।’
आफ्नो अनुभवको हिसाबले बेहुला–बेहुलीकै राम्रो फोटो÷भिडियो प्याकेज बनाउनु उचित हुने चाँदनी शर्मा बताउँछिन् । अजयसँगका पल फोटोग्राफीले नै विशेष बनाएको उनको भनाइ थियो । चाँदनी भन्छिन्, ‘वेडिङ फोटोग्राफी अन्यभन्दा दुई रुपैयाँ महँगो भए पनि जीवनभरको मोमेन्ट बनाउन काफी हुन्छ ।’
चाँदनीका कुरामा सही थाप्दै अजय भन्छन्, ‘हाम्रो बिहेको तस्बिरहरु हेरेर मेरै भाञ्जीले पनि फोटोग्राफीका लागि विशेष युनिट नै चयन गरेकी थिइन् । यस्तो फोटोग्राफीमा अनुभवीलाई चुन्न पायो भने यस्तो गर्न पाएको हुन्थ्यो भनी चुकचुकाउनु नपर्ने रहेछ ।’
मेकअपको भूमिका पनि उत्तिकै
पहिले बिहेका लागि मेकअप गर्ने भनेको अग्रज भाउजू या दिदीहरुले गरिदिने चलन थियो । हिजोआज भने विवाहअघि नै कसकहाँ कसरी मेकअप गर्ने भन्ने सुनिश्चित गर्ने चलन बसिसकेको छ । पहिरनका रुपमा दुलहीले खद्दरको साडी र दुलाहाले दौरा, सुरुवाल लगाउने चलन थियो । हिजोआज भने विवाहको थिमअनुसार पहिरन चयन गर्ने चलन बढेर गएको छ । अहिलेका विवाहका पहिरन, गरगहना, मेकअप तथा जुत्ता सबै कुरा ब्रान्डेड हुन थालेका छन् । ब्रान्डसँगै महँगो गाँसिनु स्वाभाविक हुन्छ । विवाहको दिन दुलहा र दुलहीको मेकअप गर्ने मात्र होइन, परिवारका अधिकांश सदस्यहरुको पनि मेकअप गर्ने चलन छ । बजेटअनुसार दुलाहा र दुलही तथा आफन्तको मेकअप गर्न÷गराउन पनि सकिन्छ ।
विवाहको मण्डपमा दुलहीलाई लामो समय बस्नुपर्ने हुन्छ । त्यसैले विवाहमा दुलहीको मेकअप लामो समय टिक्ने किसिमको लगाउनुपर्ने सौन्दर्य विशेषज्ञको भनाइ छ । लामो समय टिक्ने मेकअपका लागि गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्र्नुपर्छ । मेकअपमा छालाअनुसारको मेकअप, आँखा सानो भएकी दुलहीका गाजल लगाएर ठूलो बनाउने लगायतका काम मेकअप आर्टिस्टहरुले गर्छन् ।
यस्तै विवाहमा पफ निकालेर जुरो बनाउँदा दुलहीहरू आकर्षक देखिन्छन् । अधिकांश दुलहीले हिजोआज यस्तै गर्ने गर्छन् । अहिले चिम्टी तथा सुनका गहना पनि केशमा सजाउने चलन बढेको छ । जसमा शिरफूल तथा शिरबन्दी मुख्य मानिन्छन् । बजारमा विभिन्न शैलीमा दुलहीको कपाललाई सजाउनको लागि विभिन्न एसेसरिज पाइने भएकाले आकर्षक एसेसरिज प्रयोग गर्दा हेयर स्टाइलमा भिन्नता पनि देखिन्छ । फरक शैली देखिने भएकाले हेयर स्टाइलमा विशेष ध्यान दिनु आवश्यक छ । दुलहीको हेयर स्टाइल बनाउँदा सिउँदो छुट्याउन बिर्सनु हुँदैन ।
दुलहीका लागि नभई नहुने श्रृंगार मेहन्दी पनि हो । मेहन्दी लगाएपछि मात्र दुलहीको मेकअप पूरा भएको मानिन्छ । अझ दुलहीको हातमा लागेको कडा मेहन्दीले दुलाहाले कति प्रेम गर्छ भन्ने अनुमानसमेत गर्ने परम्परा छ । मेहन्दी प्रयोग गर्दा रसायनरहित मेहन्दी प्रयोग गर्नुपर्छ ।
हिजोआज मेहन्दी लगाउन पोख्त मानिसहरु जताततै पाइन्छन् । मूलतः तीज, पञ्चमीजस्ता पर्वका बेला मेहन्दी आफूआफूमा लगाउने चलन बढेको भए पनि मेहन्दी आर्टिस्टबाट नै मेहन्दी लगाउने चलन हिजोआज अलि बढेर गएको छ ।
दुलहाको मेकअप
पहिलेका विवाहमा दुलहाले खासै मेकअप गर्दैन थिए । मेकअप गर्नैपरे पनि हल्का फाउन्डेसन र आँखामा गाजल मात्र लगाइन्थ्यो । अहिले भने दुलाहाहरू पनि जेन्ट्स पार्लरमा सम्पूर्ण मेकअप गर्ने प्रचलन बढेको छ । जेन्ट्स मेकअप दुलहीको तुलनामा सजिलोका साथै छिटो पनि हुने गरेको छ । दुलहाले ह्याभी मेकअप गर्नु पर्दैन । त्यसैले मेकअपसम्बन्धी सामान्य जानकारी भएका व्यक्तिले घरैमा मेकअप गर्न÷गराउँदा हुने विज्ञको धारणा छ । बेहुला भएको समयमा सकेसम्म अनुहार सफा र चम्किलो बनाउनु पर्छ । त्यसका लागि फेसियल उत्तम उपाय हो । दुलहाले पनि फेसियल गर्नुभन्दा एक दिन अगाडि सेभिङ गर्नु राम्रो हुने मेकअप आर्टिस्ट सुदेशना विष्ट बताउँछिन् । सेभिङ गर्दा अनुहार काटिने तथा कोतरिने सम्भावना पनि हुन्छ । त्यस्तो अनुहारमा फेसियल गर्दा पोल्ने समस्या पर्न सक्छ । सोही कारण एक दिनअगाडि सेभिङ गर्नु राम्रो हुन्छ । फेसियल गर्दा तुरुन्त असर देखिने गरी दक्ष प्राविधिकहरूबाट फेसियल गर्नुपर्छ । फेसियल गरेको केही घन्टापछि मेकअप गर्नु उत्तम हुन्छ । बेहुलाको मेकअप गर्दा अनुहारको रङ अनुसार लाइट कभरेज फाउन्डेसन गर्नुपर्छ ।
दुलहाको अनुहार फेस क्लिन्जर अथवा सादा सफा पानीले पखाल्नुपर्छ । अनुहारमा दाद, पिम्पल, ओपन पोर्स भएको खण्डमा मेकअप प्राइमर प्रयोग गरी दाद, पिम्पल छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । यस प्रकारका कन्सिलर स्टिक वा पेन्सिल फर्ममा हुनुपर्छ । हल्का फाउन्डेसन प्रयोग गरी त्यसमाथि अनुहारमा छालाको रौँ अनुसार  पाउडरको गर्नुपर्छ । त्यसपछि ओठमा लिप ग्लस लगाउनुपर्छ । त्यसपछि आँखामा गाजल लगाउने पनि प्रचलन छ । त्यस्तोमा देखिने गरी हल्का तरिकाले गाजल लगाउन सकिन्छ । दुलहा हुँदा टोपी लाउने प्रचलन छ । त्यसैले कपाललाई खासै धेरै मिहिनेत गर्नु पर्दैन । तर, टोपी बाहिर देखिने भागलाई भने जेन्ट्स पार्लरमा गएर मिलाउनु राम्रो हुन्छ ।
यस किसिमको मेकअपमा ६÷७ हजारदेखि २५ हजारसम्म लाग्ने सिर्जना ब्युटिपार्लरकी सञ्चालिका सिर्जना श्रेष्ठ बताउँछिन् ।
किनमेलको बजार
विवाहको मौसमसँगै गरगहनाको व्यवसाय पनि फस्टाउने गर्छ । बिहेकै मौसममा सबैभन्दा बढी गरगहना बनाइने चलन रहेको क्लासिक डायमन्ड काठमाडौँमा फेला परेकी एक युवतीले बताइन् । उनी आफ्नो विवाहका लागि हिराका गहना हेर्न पुगेकी थिइन् ।
त्यसो त विवाहको गहनाका लागि जति सुनका गहना मन पराइन्छन्, उति अन्य किसिमका गहनामा आँखै लाग्दैनन् ।
काठमाडौँको  न्युरोडस्थित स्वर्ण सुनचाँदी पसलका सञ्चालक कल्पना भन्छिन्, ‘अघिपछि खासै व्यापार नभए पनि यो सिजनमा न्यूनतम ४/५ तोलादेखि अधिकतम १०/१२ तोलासम्म एउटा बिहेका लागि अर्डर आउने गर्छ ।’
आयस्तरअनुसार सुनको माग हुने उनको भनाइ छ । माग बमोजिम सुन नपाएको र सोचे जति व्यापार गर्न नपाएको पनि कल्पनाको गुनासो थियो ।
उता आरआर ज्वेलर्सका सञ्चालक रमेश रिजाल विवाहको मौसममा ५/७ तोलादेखि १५/२० तोलासम्म एउटा बिहेमा सुनचाँदीको क्रय हुने गरेको बताउँछन् । ‘तर भने जति सुन सरकारले दिँदैन, दिए त यो व्यवसाय अझ फस्टाउने थियो,’ उनी भन्छन् ।
काठमाडौँमा मात्रै २५ हजार जति सुनचाँदी व्यवसायी छन् । तिनले दैनिक २०/२५ केजी सुनको व्यापार गर्ने गरेको तर मागअनुसार दिन नसकिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष मोहन सुनारले बताए । बजारमा दैनिक ३०/३५ केजी सुनको प्रवाह भए सर्वसाधारणको चासोअनुसार व्यापार गर्न सहज हुने उनको भनाइ थियो ।
लत्ताकपडाको व्यापार
विवाहमा लत्ताकपडाको पनि उल्लेख्य व्यापार हुने गर्छ । १५ वर्षदेखि बागबजारस्थित नयाँ आचँल कपडा पसलकी सञ्चालकका अनुसार पहिलेको तुलनामा अहिले बजारमा  प्रतिस्पर्धा बढेका कारण व्यापार कम हुन थालेको छ । उनका अनुसार बिहेका बेला कम्तीमा पनि ७/८ हजारदेखि ३०/३५ हजारसम्म पर्ने साडीहरु बिक्री हुने गरेको उनी बताउँँछिन् ।
ललितपुरस्थित लालित्य कपडा पसलकी प्रमुख सबिना स्याउलाले विवाहको सिजनमा   औसतमा २ देखि ४ लाखसम्मको कारोबार हुने बताइन् । ‘नेपालीहरुमा फेसनप्रति सचेतना बढ्दै गएको र विवाह तथा चाडपर्व व्यापारीका लागि राम्रो कमाइ गर्ने अवसरका रुपमा उदाएको छ । सामन्यतः महिलाको कपडमा धेरै खर्च हुने भए पनि पुरुषका कपडामा पनि खर्च कम नहुने द ह्यारी कलेक्सनका प्रमुख राजमान महर्जनले बताए । यो बेला दैनिक १ लाखभन्दा बढीको कारोबार हुँदै गएको उनले बताए । युवा पुस्तामा बढी फेसनेबल हुँदै जानु, वैदशिक रोजगारीका कारण मानिसहरुको आयस्तर बढ्दै जानु, कुन बेला कस्तो कपडा लगाउने भन्ने सचेतना बढ्दै जानु यस व्यवसाय बढ्नुको प्रमुख कारण भएको उनी बताउँछन् ।
अन्य बिजनेस
विवाहको याममा कतिपय जोडीले नयाँ जीवन सुरु गर्ने भएकाले उनीहरुका लागि फर्निचर, पर्दा, कार्पेट लगायतका सामग्री पनि जुटाउनु पर्ने हुन्छ । त्यसैले पनि बिहेको याममा यी सामग्रीको राम्रो व्यापार हुने बागबजारस्थित सुरुचि डेकोरेसनका सञ्चालकले आफ्नो नाउँ उल्लेख नगर्ने शर्तमा बताए । यो सिजनमा एउटा विवाहका लागि न्यूनतम एक लाखदेखि ५/७ लाखसम्मको अर्डर आउने सुरुचिका सञ्चालकले बताए ।
चाडपर्वका बेलाजस्तै विवाह पनि व्यवसायमैत्री बन्दै गएको छ । यस प्रकारको व्यापार व्यावसायले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ त ? अर्थशास्त्रका प्राध्यापक दिपेश मूर्ति पन्त भन्छन्, ‘अनुत्पादक क्षेत्रमा गरिएको यस्ता खर्चले राष्ट्रिय उत्पादनमा उचित वृद्धि गर्न सक्दैन । अझ त्यसमा पनि आयतित वस्तुहरुको उच्च उपभोगले आय  प्रवाहमा चुहावटको काम गर्छन् । जसले राष्ट्रिय आम्दानीलाई संकुचित पार्ने गर्छ । यस्ता कुरामा गरिने खर्चले अर्थतन्त्रमा सुधार त गर्दैन नै देशभित्रकै उत्पादन पनि उच्च खर्च गरिने विवाहमा ठाउँ पाउँदैन । त्यसैले ठूलो खर्चमा हुने विवाहले देशलाई फाइदा होइन, हानि नै पुर्याउँछ । नूनदेखि सुनसम्म आयात गर्ने हाम्रोजस्तो देशले यस्ता खर्चिला बिहेमा ध्यान नदिएकै राम्रो ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: ७ मंसिर २०७४ ०६:२६ बिहीबार

बिहेको बिजनेस नागरिक परिवार