अन्य

लमी त जिल्ल !

रेणु त्वानाबासु
भक्तपुरका रत्नदेवी कासुला निराश छिन् किनभने उनले वर्षौंदेखि गरिआएको काम अहिले ठप्प भएको छ । उनले लगनको मौसममा लमीको काम गर्ने गर्थिन् । गएका ३० वर्षयता फुर्सदका बेला लमीको काम गर्दैआएकी थिइन् । कुनै बेला एक लगनमा ४–५ जोडीको विवाहसमेत उनले जुराएकी थिइन् । हिजोआज भने मुस्किलले २–३ वर्षमा एक जोडीको विवाह गराउँछिन् ।
कुनै समय भक्तपुरमा लमी अर्थात बिहेको कुरा मिलाई दिने व्यक्ति अनिवार्य चाहिन्थ्यो ।  अचेल लमीको चलन हराउँदै जान थालेको छ । कतिसम्म भने हिजोआज लमीको काम विभिन्न सामाजिक सञ्जालले नै गर्न थालेकाले लमी नै नचाहिने भएको छ । एक समय यस्तो थियो, लमीबिना केटा वा केटी खोज्ने हम्मेहम्मे पथ्र्यो । कसको घरमा को विवाहयोग्य वर या कन्या छन् भन्ने उनीहरुलाई कण्ठस्थ हुन्थ्यो । अहिले भने कसको घरमा को विवाहयोग्य भए, त्यो थाहा भए पनि विवाहका लागि कुरा चलाउनु कि नचलाउनु भन्ने दुविधामा पर्ने गरेका छन् ।
जमाना बद्लिएसँगै विवाहका लागि वर या कन्या खोजी गर्ने लमीको आवश्यकता हुन छाडेको छ । सबै काम लमीले नगरे पनि नाम मात्रैका लागि भए पनि लमी हाल्ने चलन भने यथावत् छ ।  
रत्नदेवी कासुला भन्छिन्, ‘अहिले केटाकेटी दुवै कलेज पढ्दापढ्दै मन पराइसकेका हुन्छन् । अहिले केटालाई केटी खोज्नु पर्दैन । केटीलाई केटा खोज्नु पर्दैन । केटाकेटी दुवैले मन पराइराखेका हुन्छन् । अनि हाम्रो के काम ?’
रत्नदेवीको मात्र होइन आशमती दुवाललाई पनि यस्तै लाग्छ । पहिलेका लमीको ठूलो भाउ हुन्थ्यो । घरघर जाने, मान्छे भेट्ने, विवाहयोग्य वर या कन्याका अभिभावकहरुको भावना बुझ्ने काम हुन्थ्यो । अहिले त अभिभावकको भावना बुझे पनि केटा या केटीको धारणा नै मुख्य हुन थालेपछि लमीको कामै कम हुन थालेको छ ।
प्रविधिले लमीलाई सहयोग पनि गरिरहेको बताउने आशमती भन्छिन्, ‘केटालाई केटीसँग चिनाउन फोन गरेर बोलाए पुग्छ । धेरै लम्बाचौडा गफ गरिरहनै नपर्ने अवस्था आएको छ । केटालाई केटी मन प¥यो वा केटीलाई केटा मन पर्यो भने बिहे पक्का । पहिले चाहिँ केटालाई घर परिवारले पनि मन पराउनुपर्ने अवस्था थियो ।’
आशमती भन्छिन्, ‘पहिला घरैपिच्छे लमी थिए किनभने नेवारी समुदायमा जीवनमा एक पल्ट लमी बन्नुपर्छ, यसो गर्दा धर्म कमाइन्छ भन्ने मान्यता थियो । लमी बनेर एक जोडीलाई विवाह गरायो भने त्योभन्दा ठूलो धर्म अरु हुँदैन भन्ने मान्यता थियो । अहिले चाहिँ लमीको काम घटेको छ ।’

‘करिब ५० जनाको विवाह गराएँ’
सत्यमाया कवां

भक्तपुर गोल्मढीकी ५५ वर्षीया सत्यमाया कवांले अहिलेसम्म ५० जनाको विवाह गराएकी छन् । उनका लागि लमी पेसा नै बनेको छ । आफूले कुनै वर्ष त ५ जोडीसम्मको विवाह सम्झन्छिन् । लगनको सिजनका बेला आफूलाई केटा वा केटीको घर आउजाउ गर्न, विवाहयोग्य कन्या वा वरलाई चिन्न चिनाउन भ्याई नभ्याई हुन्छ । आफ्नो विवाहपछि लमीको काम थालेको उनी बताउँछिन् ।
‘लमी भएबापत खासै केही पाइँदैन, पाउने भनेको एक जोर लुगा त हो !’ सत्यमाया कवां भन्छिन्, ‘एकताका बिहेमा किनिदिने एक जोर लुगा नै ठूलो कुरा हुन्थ्यो । त्यसका लागि पनि लमीको काम गर्न मानिसहरु इच्छुक हुन्थे । पुण्य कमाइन्छ भनेर लाग्नेहरु पनि हुन्थे ।’
लमी राखेर बिहे गर्नुका फाइदा
७३ वर्षीय लक्ष्मीदेवीले आफ्ना सबै सन्तानको बिहे लमी राखेर नै गरेकी हुन् । उनी भन्छिन्, ‘लमी राखेर बिहे गराउँदा भोलिका दिनमा केही समस्या आएको खण्डमा परिवारले साथ दिन्छन् । परिवारले खोजेको केटासँग विवाह गरेका कारण छोरा या छोरीले केही दुःख पाए परिवारको साथ पाइन्छ । लमी नराखी भागेर विवाह गर्नेहरु पनि हुन्थे तर पछि दुलाहा–दुलहीलाई केही समस्या परे परिवारले हेर्दैनन् ।’ आफैँले रोजेर गएको उसैले भोग्छ दुःख भन्ने चलन रहेको लक्ष्मीदेवी बताउँछिन् ।
एकजोडी विवाह गर्न दुई लमी
विवाहका लागि पहिला दुई जना लमी चाहिन्थ्यो । एक जना केटाका तर्फबाट र अर्को केटीका तर्फबाट । पहिला विवाहका लागि सबै कुराहरु लमीबाट सुरु हुँदै लमीले सक्छ । केटातर्फको लमीले केटाको परिवारबारे सबै जानकारी केटीको परिवारलाई दिन्छ । यसरी दुवै पक्षका लमीले एकअर्काको परिवारबारे जानकारी दिने चलन हुन्थ्यो ।
त्यतिबेला विवाहका लागि लमीमाथि भर पर्ने गरिन्थ्यो । लमीले नै दुवै परिवारमा आएका जुनसुकै समस्या समाधान गर्ने वा मिलाइदिने काम गर्थे । केटा र केटीको परिवारले लमीको कुरा सुनेरै मात्र विवाह गरेको हुन्छ । न त केटाको परिवारले केटीको परिवारलाई चिनेको हुन्छ न त केटीको परिवारले नै । पहिलेका विवाह लमीको विश्वासमा हुने गथ्र्यो ।
कहिलेकाहीँ झुक्याएर बिहे गर्ने चलन पनि व्यापक थियो । एउटा केटी देखाउने र बिहेको जग्गेमा अर्कै केटी राख्ने जस्ता बदमासी हुन्थे । व्यापार र बिहेमा झुक्याउन मिल्छ भन्ने लमीको पनि कुनै कमी थिएन ।
अहिले भने केटाकेटीले पहिला नै मन पराइराखेका हुन्छन् । घरमा बिहेको कुरा निस्क्यो भने केटा वा केटीले आफूले पहिले नै दुलही खोजिसकेको भनी मुख खोल्छन् ।
लाखा दिने चलन
नेवार समुदायमा लमी बनेको बापत लाखा (उपहार) दिने चलन छ । लाखा अर्थात् एक किसिमको उपहार । यो उपहार केटाको अर्थात् बेहुलाको परिवारले दिने गर्छ । उनीहरुलाई बुहारी मिलाई दिएबापत खुसी भएर दिने गरिन्छ । पहिला पहिला उपहारको स्वरुप एकजोडी लुगा दिने चलन थियो तर अहिले भने लुगाको सट्टा पैसा पनि दिन थालिएको छ । यो पैसा लमीले मागेर होइन, बेहुलाको परिवारको इच्छाअनुरुप दिने गर्छ ।

प्रकाशित: ६ मंसिर २०७४ ०६:५० बुधबार

लमी जिल्ल नागरिक परिवार