अन्य

पुराना कपडाबाट बिछ्यौना राहत

गत साउनमा हिमालयन बैंकबाट जागिर छाडेर घर बसेका विदुर गिरी टेलिभिजन हेरिरहेका थिए । टिभीले तराईमा बाढी आएर सयौँ घर डुबानमा परेको समाचार दिइरहेको थियो । टिभीमा मात्र होइन, सामाजिक सञ्जालमा पनि बाढीको समाचार र तस्बिरले भरिइरहेका थिए ।

‘यसरी पुरानोबाट नयाँ बनाएर राहत वितरण गर्ने झन्झट कमैले गर्छन्, ग¥यो भने पुरानोबाट पनि पीडितको अनुहारमा खुसी ल्याउन सकिने रहेछ ।’

बाढीले वितण्डा मच्चाएका दृश्यले विदुरलाई पोलिरह्यो । ‘सुरुमा बाढीका दृश्यले निकै घोत्ल्यायो,’ गिरी भन्छन्, ‘त्यसपछि सकेको सहयोग गर्नुपर्छ भनेर जुटियो ।’ उनी नेपाल स्काउटमा संलग्न छन् । स्काउटका १० नियममध्ये तेस्रोमा लेखिएको छ, ‘स्काउट सहयोगी र उपयोगी हुन्छ, आफू बाँचेर अरुलाई बचाऊ ।’ उनलाई यही उद्गारले उत्साहित बनायो । गिरीले बाढीपीडितलाई सहयोग गर्ने योजना बनाए ।
उनले नेपाल स्काउटअन्तर्गत काठमाडौं मूलपानीस्थित ‘नेसनल ओपन स्काउट क्रियु’का ‘रोभर लिडर क्रियु’मार्फत सहयोग जुटाउने सोचे । विदुरले क्रियुका अध्यक्ष महेन्द्रराज घिमिरेसँग र प्रशिक्षक शैलेन्द्र पण्डितलगायत सबै सदस्यलाई आफ्नो योजना सुनाए । उनीहरू यसअघि पनि प्राकृतिक विपत्तिमा सहयोगका लागि जुट्ने गरेका थिए ।
पहिले उनीहरूको प्राथमिकता उद्धारमा हुन्थ्यो । त्यसपछि मात्र राहत लिएर पुग्ने गर्थे । प्राकृतिक विपत्तिमा स्वास्थ्य शिविरलगायत कार्यक्रम उनीहरू चलाउँथे । यसपालि भने विदुरको समूहले उद्धारभन्दा राहतमा केन्द्रित भयो ।
यसपटक विदुरको समूहका केही सदस्य मात्र उद्धारमा गए । अरु भने राजधानीमै राहत संकलनमा लागे । उनीहरूले बाढीपीडितका लागि कपडा संकलन गर्न थाले । ‘खाद्यान्न र कपडा संकलनलाई प्राथमिकता दिएका थियौँ,’ क्रियुका प्रशिक्षक विवेक थापाले भने, ‘संकलित खाद्यान्नचाहिँ पठाइरह्यौँ, कपडा संकलन गरेर वितरणका लागि आफैँ जाने योजना बनायौँ ।’
क्रियुका सदस्यले मूलपानी, गोठाटार, चाबहिललगायत क्षेत्रमा कपडा संकलन गर्दा साता दिनमै करिब दुई सय बोरा कपडा संकलन भयो । मूलपानीस्थित बाल गीताञ्जली विद्यालयको दुईवटा कोठा कपडाका बोराले भरिभराउ भयो ।
बाढीपीडितलाई कपडा वितरणका लागि तराई जान लागेका उनीहरूले संकलित कपडा हेर्दा त्यसमा काम लाग्नेभन्दा च्यातिएका धेरै पाए । ‘राहत लैजान जम्मा गरेका कपडामा काम नलाग्ने धेरै रहेछ,’ क्रियु रेन्जर मञ्जिला सुनुवारले भनिन्, ‘त्यस्ता कपडा लानुभन्दा नलानु नै बेसजस्तो लाग्यो ।’
काम नलाग्ने कपडा फ्याँक्ने सोचिरहेका वेला विदुरले आइडिया निकाले, पुराना कपडालाई रिसाइकल गरी निस्कने कपासबाट डसना बनाएर बाढीपीडितलाई वितरण गर्ने । उनीहरूले करिब २६ हजार रुपैयाँ खर्चेर कपडा रिसाइकल गरे । त्यसबाट उत्पादित कपास प्रयोग गरी ५० वटा डसना र एक सयवटा सिरानी बनाए । ‘पुराना कपडा देखेर हामी आफैँ लज्जित बनेका थियौँ,’ विदुरले भने, ‘रिसाइकल गरेर डसना र सिरानी बनाएपछि त मूलपानीका मान्छे समेत चकित भए ।’ मूलपानीका केही विद्यालय तथा चिनजानका संस्था पनि जोडिन आए उनीहरूसँग । उनीहरूको सहयोगमा थप ५० वटा ब्लांकेट खरिद गरेर स्काउट सदस्यले रौतहटको गौर र राजदेवी नगरपालिकाका बाढी अति प्रभावित ५० परिवारलाई डसना ब्लांकेट वितरण गर्ने योजना बनाए ।
‘जिल्ला स्काउटको सहयोगमा बाढी अति प्रभावित परिवारको छनोट ग¥यौँ,’ विदुरले भने, ‘तर त्यसैवेला स्थानीय तह निर्वाचन परेकाले जान सकेनौँ ।’ उनीहरूले नेसनल ओपन स्काउट क्रियु र डाइनमिक स्काउट क्रियुको संयुक्त प्रयासमा कात्तिक १० मा राहत सामग्री रौतहट पु¥याए ।
‘यसरी पुरानोबाट नयाँ बनाएर राहत वितरण गर्ने झन्झट कमैले गर्छन्,’ विदुरले भने, ‘ग¥यो भने पुरानोबाट पनि पीडितको अनुहारमा खुसी ल्याउन सकिने रहेछ ।’
उनका अनुसार पुराना कपडा रिसाइकल गरेर उत्पादन गरिएको कपास अझै बाँकी छ । ‘बाँकी कपास मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा राखेका छौँ,’ उनले भने, ‘त्यसलाई पनि यसैगरी सिरक, डसना बनाएर भूकम्पपीडित हिमाली क्षेत्रमा लगेर बाँड्ने योजना छ ।’

प्रकाशित: २५ कार्तिक २०७४ ०४:१६ शनिबार

पुराना कपडाबाट बिछ्यौना राहत