अन्य

म अब पार्टी छोडिदिन्छु

हरिशरण थापा

भत्केको पार्टीको चारैतिर ढोका हुन्छ
कुनै एउटा ढोकाबाट
निस्किन्छु र
उठाउँछु टाउको
टाउकोमाथि अझै फर्फराएको
जे छ त्यो पार्टीको झन्डा
च्यातेर
धोती बनाउँछु
अब म पार्टी  छोडिदिन्छु
भेडाले झैँ 
जुलुसको रोशीमा हामफालेकै हुँ
नसा चुँडिने गरी
आवाज बुलन्द पारेकै हुँ
सहिद बनेकै हुँ
कफ्र्यु तोडेकै हुँ
नेताको झोला बोकेकै हुँ
जनताभन्दा माथि कसैलाई राख्न हुन्न भन्ने भ्रममा
भत्काएको हुँ– सडकको सालिक
अहिले सम्झँदा असिनपसिन हुन्छु
अब म पार्टी छोडिदिन्छु
मेरो रगतको रंग चोरेर
कसले घर रंगीन बनायो
मेरी आमाको वण्डा गरेर
कसले कत्रो भाग हात पारे
र, मेरो आँसुको ढिका फोडेर
कसले साँझमा सितन बनायो
मलाई माफ गर
ए सयपत्री
तिमी अझै जाली र झेलीको गलामा
माला बन्न फुल्छौ भने
तिम्रो फूलबारीमा साँढे फुकाइदिन्छु
अब म पार्टी छोडिदिन्छु ।

प्रकाशित: १८ कार्तिक २०७४ ०७:२४ शनिबार

अब पार्टी छोडिदिन्छु