अन्य

पौराणिक तिहार वैज्ञानिक तिहार

रोशन दाहाल
सूर्यका छोरा र मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गर्दै यमलोकबाट पृथ्वीमा आए । बहिनीको घरमा उनले खुसीसाथ पाँच दिन बिताए । यमुनाले दाइको निकै आदर सत्कार गरिन् । यसबाट यमराज खुसी भए । उनले यमुनासँग आफूले चाहेको कुरा माग्न भने । यमुनाले हरेक वर्ष दाइले यही समयमा आफूलाई भेट्न आऊन् भनेर मागिन् ।
दाइ आफूकहाँ आइरहेमा दाजु–बहिनीको प्रेम सधैँ अटल रहनेछ भन्ने यमुनाको विश्वास थियो ।
यमराजले उनको माग स्वीकार गरे । मन, वचन, कर्म र शुद्धचित्तले यसरी दाजुभाइको सम्मान गर्नेहरुको सधैँ उन्नति हुने भन्दै उनी फर्किए । त्यही घटनालाई आधार बनाएर पाँच दिनसम्म तिहारका रुपमा यो पर्व मनाइँदै आइएको छ ।
तिहार हिन्दु धर्मावलम्बीहरुको ठूला पर्वहरुमभ्ये एक हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु हुन्छ । पाँच दिनसम्म यो पर्व मनाइन्छ ।
काग तिहार :
तिहारको पहिलो दिन कागपूजा गरिन्छ । शास्त्रहरुमा कागलाई यमराजको दूत मानिएको छ । भनिन्छ, काग यमराजको प्रिय भक्त हो । कागले यमलोकमा गएर पृथ्वीबासीका विषयमा चित्रगुप्तलाई सूचित गर्छ । यमराज रहँदासम्म कागको विनाश सम्भव छैन भन्ने मान्यता छ ।
कागसँग सम्बन्धित पौराणिक प्रसङ्गहरु :
कागको रङका बारेमा एउटा किम्बदन्ती छ । जसअनुसार पहिला–पहिला काग सेतो हुने गथ्र्यो । एक ऋषिले एउटा सेतो कागलाई अमृत खोज्न पठाए । अमृतको जानकारी मात्रै लिनू तर त्यसलाई नपिउनू भनेर अह्राए ।
एक वर्षको परिश्रमपछि उक्त सेतो कागले अमृतको जानकारी पायो । उसले अमृत पिउने लोभ रोक्न सकेन र पियो । आफूले गरेका क्रियाकापका बारेमा उसले ऋषिलाई आएर जानकारी दियो ।
ऋषि आवेशमा आए र श्राप दिए, “तैँले मेरो वचन भङ्ग गर्दै यस अपवित्र चुच्चोबाट पवित्र अमृत भ्रष्ट गरिस् । त्यसैले प्राणीमात्रमा अबदेखि तँलाई घृणास्पद पक्षी मानिनेछ । अशुभ पक्षी मानेर मानवजातिले सधैँ तेरो निन्दा गर्नेछ । तर तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृश्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिने छ ।”
यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।
हिन्दुधर्ममा श्राद्धपक्षको समयमा कागहरुको विशेष महङ्खव हुन्छ । पितृलाई खुवाउनुभन्दा पहिला कागलाई खुवाउने गरिन्छ । व्यक्ति मरेपछि सबैभन्दा पहिला कागको रुपमा जन्म लिन्छ भन्ने मान्यता छ । कागलाई खुवाउँदा पितृले पाउँछन् भनिन्छ ।
ज्योतिषशास्त्रअनुसार कसैको कुण्डलीमा पितृदोष छ भने बिहानबिहान पानीमा रोटी भिजाएर कागलाई दियो भने सन्तान सुखमा आइपर्ने बाधा हटेर जान्छ ।
रामायणमा एउटा घटना उल्लेख छ । जसअनुसार श्रीराम सीताको कपालमा फूल सिउरिँदै थिए । यो दृश्यले इन्द्रपुत्र जयन्तलाई ईष्र्या लाग्यो । ईष्र्यावश उनले कागको रुप धारण गरे र सीताको खुट्टामा ठुँगे । रामले सजाय दिनका लागि उनीमाथि बाण चलाए । इन्द्रले माफी मागेपछि बाणले जयन्तको एउटा आँखामात्रै फुट्यो । त्यसै बेलादेखि कागलाई एकाक्षी मानिन्छ ।
ज्योतिषशास्त्रअनुसार हाम्रो वरिपरि रहने हरेक पशुपक्षीले हामीलाई शुभ र अशुभ सङ्केत दिइरहेका हुन्छन् । कागसँग जोडिएका कैयौँ मान्यता हाम्रो समाजमा व्याप्त छन् । कागले कहिले शुभ र कहिले अशुभ सन्देश दिइरहेका हुन्छन् भनिन्छ ।
जस्तैः
क. कागले आफ्नो खुट्टा कन्याइरहेको देखियो भने कार्य सिद्ध हुन्छ ।
ख. काग मध्यान्हको समयमा कुनै व्यक्तिमाथि घुम्न थाल्यो भने त्यस व्यक्तिलाई मान–सम्मान प्राप्त हुन्छ ।
ग. कागले उडिरहेको समयमा खुट्टाले टाउकोमा स्पर्श ग¥यो भने व्यक्तिलाई मृत्युतुल्य कष्ट हुन्छ ।
घ. काग कसैको शिरमा आएर बस्यो भने त्यो व्यक्तिको सुख र सौभाग्य नाश हुन्छ ।
ङ. कसैले खाना खाँदै गर्दा कागले झम्टेर लिएर गयो भने त्यो व्यक्तिले शत्रुबाट हारको सामना गर्नुपर्ने हुन्छ ।
च. बिहान कतै जाँदै गर्दा कागले आएर खुट्टामा स्पर्श ग¥यो भने उन्नति, धनलाभ र शत्रुमाथि विजय प्राप्त हुन्छ ।
छ. कागलाई गाईको ढाडमाथि देखियो भने सबैतिरबाट भय उत्पन्न हुन्छ ।
ज. कागलाई सुकेको रुखमा बसेको देखियो भने रोग लाग्ने सम्भावना हुन्छ ।
झ. काग भाँच्चिएको हाँगामा बसेको देखियो भने जेलयात्राको सङ्केत हो ।
ञ. कागले कसैको टाउकोमा हड्डीको टुक्रा खसाइदियो भने त्यस व्यक्तिको मृत्युको सङ्केत बुझिन्छ ।
ट. धेरै काग जम्मा भएर कराउन थाले भने त्यस नगर या गाउँमा भारी विपत्तिको सङ्केत मानिन्छ ।
ठ. काग पीठपछाडिबाट काँधमा आएर बस्यो भने विदेश यात्रामा लाभको सङ्केत दिएको हुन्छ ।
ड. यदि कुनै घरमा कागको झुण्ड आएर कराउन थाले भने घर मालिकमाथि कुनै सङ्कट आउने सङ्केत हो ।
कागलाई निकै उदण्ड, धूर्त र चलाख पक्षी पनि मानिन्छ । कागमा धेरै विविधता पाइन्छ । यसमाथि आधारित कागशास्त्रको रचनासमेत गरिएको छ ।
कागमाथि अनुसन्धान :
वैज्ञानिकहरु कागलाई उम्दा चतुर पक्षीमा गन्छन् । अमेरिकी युनिभर्सिटी अफ वासिङ्गटनका शोधकर्ताहरुको भनाइमा कागले आफूलाई भय उत्पन्न गर्ने अनुहारलाई पाँच वर्षसम्म याद राख्न सक्छ । कागले आफूले सुरक्षित राखेको भोजनका बारेमा पनि याद राख्छ ।
अक्सफोर्ड विश्वविद्यालयमा एउटा अध्ययन गरिएको थियो । जसमा केही कागलाई एउटा सानो कोठामा जन्माइएको थियो । ती कागले आफ्नो आवश्यकताअनुसार खन्न, नरम बनाउन या मोड्न थुप्रै नयाँ खालका सामान तयार पारेका थिए ।
विशेषज्ञहरुका अनुसार कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । मानिसहरुको नजरमा भने काग अछूत प्राणी हो । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ भनिन्छ ।
अस्टे«लियाको क्विसल्यान्डमा कागको एउटा प्रजाति भेटिएको थियो । जसले बट्टालाई खोलेर पानी पिउन सक्छन् ।
काग आफ्ना बच्चा र आफ्नो समूहका लागि ज्यानै दिन तयार हुन्छ ।

कुकुर तिहार :
यमपञ्चकको दोस्रो दिन दिन कुकुरतिहार मनाइन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराधीहरु पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मनपर्ने खाना खुवाई पूजा गरी माला लगाइदिन्छौँ ।
कुकुरलाई भैरवको सेवक पनि मानिन्छ । कुकुरलाई भोजन दिनाले भैरव खुसी हुन्छन् । भैरव खुसी भएमा आकस्मिक सङ्कट आइपर्दा भक्तको रक्षा गर्छन् । मान्यता छ, कुकुरलाई देखेर हरेक खालका आत्मा भाग्छन् ।
कुकुरको योग्यता :
कुकुरले भविष्यमा हुने घटना र सूक्ष्म जगतका आत्मालाई देख्ने क्षमता राख्छ । कैयौँ किलोमिटरसम्मको गन्ध सुँघ्न सक्छ । कुकुरलाई हिन्दु धर्ममा एक रहस्यमय प्राणी मानिएको छ ।
कुकुर एक इमान्दार प्राणी हो । प्राचीन र मध्यकालमा मानिसहरु कुकुरलाई आफ्नो साथमा राख्थे । यसबाट उनीहरुलाई जङ्गली जनावर, चोर, भूतादिबाट रक्षा हुन्थ्यो । जङ्गलमा रहने साधुसन्तले पनि कुकुर पाल्थे ।  
समाजमा चलेका कुकुरसँग जोडिएका शुभ र अशुभ फल :
१. कुकुर रुनुलाई अशुभ मानिन्छ । यदि कुकुर घरको चारैतिर घुम्दै करायो भने कुनै अद्भुत घटना घट्न सक्छ ।
२. सूत्रग्रन्थमा कुकुरलाई अपवित्र मानिएको छ । यसको स्पर्शले भोजन अपवित्र हुन्छ । कुकुर यमसँग सम्बन्धित भएकाले यस्तो मानिएको हो ।
३. शुभ कार्यको समयमा कुकुरले बाटो छेक्यो भने कुनै विषमता आउन सक्छ ।
४. ज्योतिषशास्त्रका अनुसार कुकुर केतुको प्रतीक हो । कुकुर पाल्नाले या कुकुरको सेवा गर्नाले केतुको अशुभ प्रभाव समाप्त हुन्छ ।
हिन्दुशास्त्रमा कुकुर :
रामायणका अनुसार एकपटक राम बेलुकाको समयमा सधैंझैँ मानिसहरुको समस्या सुन्न बसेका थिए । सबैको प्रश्न सुनेपछि उनले बाहिर अझै कसैले आफूलाई भेट्न खोजिरहेको छ कि भनेर हेर्न लक्ष्मणलाई पठाए । लक्ष्मणले बाहिर गएर हेरे तर कसैलाई देखेनन् । रामलाई बाहिर कसैले आफ्नो प्रतीक्षा गरिरहेको भान भयो । उनले लक्ष्मणलाई फेरि पठाए । लक्ष्मणले फेरि पनि केही देखेनन् ।
भित्र छिर्नै लाग्दा उनको दृष्टि उदास भएर बसिरहेको एउटा कुकुरमाथि प¥यो ।
कुकुरले रामबाट न्याय चाहेको बतायो । लक्ष्मणले उनलाई रामको सामुन्ने उपस्थित गराए ।
कुकुरले सर्वथासिद्ध नाम गरेको व्यक्तिले आफूलाई बिनाकारण लौरोले टाउकोमा हानेकाले आफूले न्याय पाउनुपर्ने र सर्वथासिद्धले सजाय पाउनुपर्ने बिन्ती ग¥यो ।
सर्वथासिद्ध एक भिखारी थियो । उसलाई तत्कालै दरबार झिकाइयो । सबैको सल्लाहमा सर्वथासिद्धलाई के सजाय दिने भन्ने कुरा कुकुरमाथि नै छाडियो । कुकुरले भन्यो, “यो व्यक्तिलाई कालिञ्जर मठको महन्त बनाइयोस् ।”
कालिञ्जर राम जन्मनुभन्दा पहिल्यैदेखिको एउटा प्रसिद्ध मठ थियो ।
रामले कुकुरको इच्छाअनुसार नै सर्वथासिद्धलाई सजाय दिए । यस्तो अचम्मको सजाय दिएको बारेमा सर्वथासिद्ध गइसकेपछि कुकुरसँग दरबारीहरुले सोधे ।
कुकुरले भन्यो, “म पूर्वजन्ममा कालिञ्जर मठको महन्त थिएँ । पहिला त म मठप्रति समर्पित थिएँ । मेरो बढ्दो ख्यातिले मलाई अहंकारी बनाइदियो । मैले आफू धर्मगुरु नभए पनि बाहिर त्यस्तै नाटक गरेँ । कैयौँपटक म त्यसबाट उम्कन खोजेँ तर सकिनँ । मेरो कुण्ठा मैले कहिल्यै त्याग्न सकिनँ । ठ्याक्कै मेरैजस्तो व्यवहार छ सर्वथासिद्धको पनि । ऊ त्यहाँको मठाधीश भइसकेपछि पक्कै अहंकारी बन्नेछ र मैलेजस्तै सजाय पाउनेछ । त्यसैले उसलाई महन्त बनाइदिन भनेको हुँ ।”
महाभारतकालको एउटा रोचक घटना कुकुरसँग जोडिएको छ । जसअनुसार युधिष्ठिर आदि पाण्डव र द्रौपदी हिमालको यात्रामा रहँदा एउटा कुकुर पनि सँगै जान्छ । बाटोमा सबैले शरीर छाड्दै जान्छन् । कुकुर युधिष्ठिरसँग अन्तिम समयसम्मै रहन्छ ।
युधिष्ठिरलाई स्वर्गका राजा इन्द्रले आफ्नो रथमा राखेर स्वर्ग जाऔँ भन्दा युधिष्ठिरले लामो समयदेखि आफूलाई पिछा गरिरहेको कुकुरलाई लाने भएमात्रै जान्छु भन्छन् । इन्द्रले मान्दैनन् । युधिष्ठिरले पनि कुकुरबिना एक्लै स्वर्ग नजाने भन्छन् । केही समयपछि कुकुरको ठाउँमा यमराज प्रकट हुन्छन् । यमराजले कुकुरको रुप लिएर युधिष्ठिरको परीक्षा लिइरहेको थाहा हुन्छ ।
गाई तिहार र लक्ष्मी पूजा :
यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यी दिनमा मृत्यु हुने कुनै पनि मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो ।
अर्को एउटा प्रसङ्गअनुसार रामले लोककल्याणको भावनाले रावणादि विविध असुरहरुको नाश गरेपछि कार्तिक कृष्ण औँसीका दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेका थिए । यस खुसियालीमा अयोध्यावासीले दीपावली गरेर रमाइलो गरेका थिए । यसै समयदेखि हरेक वर्ष दिवापली गर्ने चलन चल्दै आएको मान्यता छ ।
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने हिन्दुहरुको संस्कार छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।
हिन्दु शास्त्रमा गाई :
रामको वनवासको समयमा भरतले १४ वर्षसम्म स्वस्थ रहेर आध्यात्मिक उन्नति गर्दै रहे । हिन्दु शास्त्रहरुमा गाईसम्बन्धी विभिन्न प्रसङ्गहरु उल्लेख छन्–
१. गणेशको जन्म भएपछि महादेवले भूलवश उनको टाउको काटिदिए । यो देखेर पार्वती निराश भइन् । गणेशलाई ठीक गर्नका लागि देवताहरुले देवताहरुका वैद्य अश्विनीकुमारलाई बोलाए । उनलाई उनले मागेको वर दिने भनियो । अश्विनीकुमारले कुनै हात्तीको मस्तक जोडेर गणेशलाई जीवित गरिदिए र वरदानमा महादेवलाई नै मागे । ठूलो समस्या उत्पन्न भयो । यो समस्या समाधान गर्नका लागि देवताहरुको बीचमा छलफल भयो । पछि उनीहरुले महादेवको मूल्यका लागि एउटा गाई राखे र अश्विनीकुमारलाई दिएर सन्तुष्ट गरे ।
२. च्यवन ऋषि एकपटक गङ्गाको गर्भमा तपस्या गरिरहेका थिए । त्यहीँ केही माझी माछा मार्न आए । जालमा मछाको सट्टा ऋषि फँसे । माझीहरुले उनलाई बेच्नका लागि दरबार लगे । राजाले ऋषिको बदलामा एउटा थैलीभरि सुनका सिक्का दिन चाहे । ऋषिले आफ्नो मोल यति कम हुन सक्दैन भनेर त्यो प्रस्ताव मानेनन् । राजाले अझै धेरै सुन दिए । अन्त्यमा मुनिको बदलामा सबै राज्य दिन चाहे । ऋषिले त्यसलाई पनि कम माने । राजाले विनयपूर्वक भने, “महाराज, तपाइँ आफ्नो मूल्य आफैँ बताउनुहोस् ।” च्यवन ऋषिले आफ्नो मूल्य एउटा गाई हो भने र गाई मागे । माझीहरुलाई गाई दिइयो । यसबाट त्यस युगमा गाईको मूल्य राज्यको भन्दा पनि धेरै थियो भनेर थाहा हुन्छ ।
३. पद्यपुराणमा ब्रह्मा र नारदबीचको संवादअनुसार जसलाई गाईको दूध, दही र घिउ खाने सौभाग्य मिल्दैन उसको शरीर मल समान हो । अन्न आदिले पाँच रात्रिसम्म, दूधले सात रात्रिसम्म, दहीले बीस रात्रिसम्म र घिउले एक महिनासम्म शरीरमा आफ्नो प्रभाव राख्छन् ।
४. अथर्ववेदअनुसार गाई समृद्धिको मूल स्रोत हो ।
गाईको वैज्ञानिक पक्ष :
१. वैज्ञानिकहरुका अनुसार गाई एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छोड्छ । जबकि मनुष्यसहित अन्य सबै प्राणीले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड छोड्छन् ।
२. गाईको गोबरले घर लिप्दा घर शुद्ध हुन्छ र नराम्रा कीटाणुहरु नजिक आउन सक्दैनन् । यसको मूत्रलाई शुद्ध मानेर सेवन गर्ने चलन छ ।
३. दूध, दही, घिउ, मूत्र र गोबरबाट पञ्चगव्य बनाइन्छ । पञ्चगव्य कैयौँ रोगमा लाभदायक मानिन्छ ।  रोगनिरोधक क्षमता बढ्छ ।
४. गाईको गहुँतमा पोटासियम, सोडियम, नाइट्रोजन, फस्फेट, युरिया, युरिक एसिड र दूध दिइरहेको समयको गहुँतमा लेक्टोज आदिको मात्रा प्रशस्त हुन्छ ।
गाईको शुभ फल :
१. गाईमा सकारात्मक ऊर्जाको भण्डार हुन्छ ।
२. गाईले मार्ग रोक्नु शुभ मानिन्छ ।
३. बाछाको साथमा एकैपटक गाईको दर्शन गर्नु शुभ मानिन्छ ।
४. घरको वरिपरि गाई हुनुको मतलब सबै खालका सङ्कटबाट टाढै रहेर सुख र समृद्धिपूर्वक जीवन बाँच्नु हो ।
५. गाई नजिकै जानाले मात्रै पनि सङ्क्रामक रोग कफ, रुघा आदिको नाश हुन्छ ।
यस दिनसित जोडिएका रोचक तथ्यहरु ः
यसै दिन विष्णु भगवान्ले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।
लक्ष्मी र धन्वन्तरि प्रकट यसै दिन प्रकट भएका हुन् । समुद्रमन्थनपछि लक्ष्मी र धन्वन्तरि प्रकट भएका थिए ।
जैन धर्मावलम्वीका अनुसार चौबीसौँ तीर्थङ्कर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीकै दिनमा पर्छ ।
नेपाल सम्बत्को नयाँ वर्ष यसै दिन सुरू हुन्छ ।
भैली अनि देउसी
अयोध्यावासीहरुले आफ्ना परमप्रिय राजाको आगमनमा खुसियाली मनाउने क्रममा घिउका दियाहरु बालेका थिए । मानिसहरुले घर–घर र गल्ली–गल्लीमा श्रीरामको नारा लाउँदै घुमेका थिए । देव श्रीरामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ । सोही परम्परालाई मान्दै आज पनि नेपालीहरु देउसी खेल्दै हिँड्ने चलन छ ।
देउसीसँगै जोडिएको अर्को एउटा कथा पनि छ ः
बलि नाम गरेका राजाले पृथ्वीमा राज्य गर्थे । उनी प्रत्येक दिन दान नगरी केही खाँदैनथे । उनको दानको प्रभावले गर्दा स्वर्गादि लोकहरु हल्लिन थाले । यसबाट डराएका देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे । विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए ।
विष्णु वामनको रुप धारण गरेर बलिकहाँ पुगे । त्यहाँ उनले दानी स्वभावका बलिसँग तीन पाउ जमिन मागे । बलिलाई वामनले मागेको जमिन अति थोरै भएजस्तो लाग्यो । उनले यसलाई अस्वीकार गर्ने कुरै थिएन । बलिबाट वचन लिएपछि वामनले आफ्नो रुपलाई विराट बनाए । उनको एउटै पाउले पूरै पृथ्वी ढाकियो । अर्को पाउले आकाश ढाक्यो । तेस्रो पाइलाभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे ।
उनले विष्णुसँग आफूलाई वर्षमा एकपटक तिहारको बेलामा पृथ्वी घुम्न दिइयोस् भनेर प्रार्थना गरे । विष्णुले स्वीकार गरे । भनिन्छ, बलि यस बेला घुम्न आउँछन् ।
देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भन्ने गर्छन् ।

गोरु तिहार
श्रीकृष्ण गोकुलमा गोपालहरुसँग बस्थे । गोपालहरुले वर्षेनी इन्द्रको पूजा गर्थे । तर इन्द्रबाट केही पनि पाउँदैन थिए । एक वर्ष श्रीकृष्णले गोकुलवासीहरुलाई इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवद्र्धन पर्वतको पूजा गर्नु राम्रो हो भने । सबै जना श्रीकृष्णको भनाइमा राजी भए ।
हर्षोल्लाषका साथ गोवद्र्धन पूजा गरियो । आफ्नो सट्टा गोवद्र्धन पर्वतलाई पूजा गरेको भन्दै इन्द्र रिसाए । उनले गोकुलमा लगातार असिना पानीको वृष्टि गराए । गोकुल डुब्न थालेपछि श्रीकृष्णले गोवद्र्धन पर्वतलाई हातले उचाले र सबै गोकुलवासीलाई आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्वीकार गर्दै कृष्णसमक्ष क्षमा मागे । भनिन्छ, त्यसै समयदेखि गोवद्र्धन पूजाको आरम्भ भएको हो ।

भाइ तिहार
यस दिनमा दिदी–बहिनीले दाजुभाइलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दाजुभाइले पनि दिदीबहिनीलाई दान–दक्षिणा एवम् वस्त्र आदि दिने परम्परा छ ।
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ ।

 

प्रकाशित: १४ कार्तिक २०७४ ०८:१५ मंगलबार

पौराणिक तिहार वैज्ञानिक तिहार नागरिक परिवार