अन्य

नेपाल निर्क्योल

विमल आचार्य
सुशील शर्माबाट सुरु भएको ‘नेपाल किन बनेन’ भन्ने धारावाहिक अखबारी बहस हामीले पढेजानेकै कुरा हो । ‘नेपाल किन बनेन’ मात्रै पढिसुनिरहेका हामी अब एकछिन ठ्याक्कै उल्टो सुनिने ‘नेपाल कसरी बन्योे’ भन्ने प्रश्नमा घोत्लिऔँ । नेपाल । पछिल्लो प्रश्नले चैँ नेपाल शब्दको कुरा गरेको है ।
“नेपाल’ कसरी बन्यो ?’ यसबारेका अनेक कथा–उपकथाको कुनै कमी छैन, हामीकहाँ । इतिहासकै पुस्तक–पाठ्यपुस्तकसमेत प्रमाण हैन, अनुमानले भरिभराउ छन् । नेपालको इतिहासको आधारभूत प्रस्थापना अर्थात् नेपाल–व्युत्पत्तिमै प्रशस्त अन्योल छन् । समीक्ष्य पुस्तक पढेपछि अन्योल छन् हैन, अन्योल थिए भन्नुपर्ने हुन्छ । नेपाल (शब्द)को सही व्युत्पत्तिविनै नेपाल (देश)को उत्पत्तिका कथा मात्रै अब कति हाल्नु ! ‘नेपाल’ व्युत्पत्ति–उत्पत्तिका सारा अन्योलमा टेकेर नेपाल–निक्र्याेल गरिएको पुस्तक निस्किएको छ, ‘नीपजन र नेपाल ः एउटा छोटो आद्य इतिहास’ ।
नेपालको व्युत्पत्ति कथासित ने नामका बुद्ध÷मुनि पनि जोडियो । पवित्र गुफा र ऊनको अर्थमा ने शब्दको पनि प्रयोग भयो (लरेन्स अस्टन वाडेल) । नेपाललाई भोट बर्मेली भाषाबाट सिद्ध गर्ने प्रयास पनि गरियो (कमलप्रकाश मल्ल) । तर, नेपाल शब्दको व्युत्पत्ति खोज्ने पहिलो आधुनिक प्रयास गर्ने क्रिस्टियन लासेनले सन् १८४७ मै छापिएको आफ्नो पुस्तकमा नीपको कुरा गरे । भलै, उनले नीपमा आलय जोडे, जुन आचार्यका अनुसार गलत हो । नेपालको बनोट÷बुनोटमा धेरै काम गरेका ज्ञानमणि नेपालका तर्कको धूवाँदार खण्डन र मण्डनमा यो पुस्तक बढी केन्द्रित छ । क्रिस्टियन लासेनदेखि सिल्भाँ लेभी हुँदै ज्ञानमणि नेपालसम्म आइपुग्दा नीप शब्दबाट नेपाल बनेको हो भन्ने तथ्य अगाडि त आयो तर व्युत्पत्तिको सही प्रक्रिया भने ओझेलमै प¥यो । लासेन–लेभी–नेपालहरूले उठान गरेको नेपाल–व्युत्पत्तिलाई आचार्यले बैठान गरेका छन् ।
    ‘नेपाल’बारे लेखेका विभिन्न पश्चिमा तथा हाम्रै ज्ञानमणि नेपाल, प्रयागराज शर्मा, कमलप्रकाश मल्लहरूलाई नै पत्याइरहनुभएको छ भने यो पुस्तक नपढी सुखै छैन । आचार्यले यसबारे पहिलो लेख त २०५६ सालमै छपाएका थिए । करिब दुई दशकसम्मको अध्ययन, अनुसन्धान, संशोधन र परिष्कारपछि तयार पारिएको यो पुस्तक नेपालको प्राच्य इतिहासको एउटा अकाट्य दस्तावेज बनेको छ । अब पनि हाम्रा विद्यालय–विश्वविद्यालयमा ‘नेपाल नाम यसरी रहन गयो’ भनेर काल्पनिक कहानी कथिरहने कि विद्यालय तहको सामाजिक विषयको इतिहास खण्डमा यसलाई एउटा परिच्छेद बनाएर पढाउन ढिलो नगर्ने ? अथवा, ऐतिहासिकहरूले यस पुस्तकका तथ्य र तर्कलाई सतर्क भई स–तर्क खारेज गरे पनि भयो (हामी धेरैले मानिआएका ऐतिहासिक ज्ञानमणि नेपालका तर्कमा सुरुदेखि अन्त्यसम्म प्रश्नै प्रश्न उठाएर ‘प्रामाणिक सत्योद्घाटन’ गरेका आचार्यलाई ज्ञानमणिज्यूले दिने धन्यवाद वा धारणा यही नागरिक पत्रिकामा पढ्न चाहन्छ, यो पंक्तिकार) । आचार्यको यो आद्य–इतिहास (प्रोटो–हिस्ट्री) मा यस्ता बलिया आधार छन्, जसले बहस र छलफलका लागि पर्याप्त पृष्ठ÷समय माग गर्छ ।  
पुस्तकमा तीन अध्याय छन्, ‘नेपाल शब्दको व्युत्पत्ति र अर्थ’, ‘जातिवाचक नीप शब्द र व्याकरण महाभाष्य’ र ‘नीपहरू को हुन् ?’ आचार्यले नेपालको व्युत्पत्तिगत संरचना मात्र केलाएका छैनन्, यहाँ कहाँबाट कसरी को आए–गए अर्थात् बासिन्दाको पनि गोरेटो कोरेका छन् । पुस्तकको ब्लर्बमा लेखिएझैँ यो पुस्तकको अर्काे वैशिष्ट्य के पनि हो भने यसमा आर्य–अनार्य, प्रकृतिपूजक–मूर्तिपूजक–याज्ञिक, किरात–संस्कृतजस्ता चल्तीमा रहेका द्विचर विरोधभन्दा फरक ढंगले नेपाललाई बुझिनुपर्छ÷बुझ्न सकिन्छ भन्ने संकेत गरिएको छ । उनी भन्छन्, ‘गोपाल, किरात र लिच्छवि एउटै वा उस्तै समयमा तर अलगअलग क्षेत्रमा अस्तित्वमा रहेका पनि हुन सक्छन् र वंशावलीले मात्र यिनलाई एकको समाप्तिपछि अर्काे अस्तित्वमा आएको देखाउन पुगेका हुनसक्छन् ।’   
जुन भूभागलाई अहिले नेपाल भनिन्छ, यसलाई कहिलेदेखि र किन नेपाल भन्न थालियो होला ? यसको प्रामाणिक जवाफ हो, ‘नीपजन र नेपाल’ । नीप । नि+अप् । नि उपसर्ग हो । अप् पानी बुझाउने शब्द हो । यिनलाई जोड्दा अर्थ हुन्छ— पानी नजिकको होचो र गहिरो ठाउँ । नीपले तत्स्थानको प्राणी र वनस्पतिलाई पनि बुझाउँछ । यो आचार्यको आग्रह होइन, कपोलकल्पित व्याख्या होइन । यो तथ्य वैदिक संस्कृतका थुप्रै वाङ्मयमा उल्लिखित छ, जसको प्रमाण पुस्तकमा यथेष्ट छ । गोपालराजवंशावलीमा पनि नेपालको सम्बन्ध नेप नामका ग्वालासँग देखाइएको छ ।
संस्कृत भाषामा नेपाल शब्द इस्वीको पहिलो–दोस्रो शताब्दीदेखि छ । यसको मूल नीप त झनै यसभन्दा सयौँ वर्षअघिदेखि प्रयोगमा छ । तर, नेपालको व्युुत्पत्ति गर्दा धेरै पछिको सन्दर्भ र हुँदै नभएका भाषामा खोज्नु अर्थहीन छ भन्ने लेखकको तर्क छ । पाणिनिले अर्थ लगाउनुभन्दा पनि पहिले यजुर्वेदमा नीप शब्दबाट बनेको नीप्य शब्द छ भनेर देखाएका छन्, आचार्यले ।
आचार्य लेख्छन्, ‘पाणिनीय व्याकरण शैलीमा नेपाल शब्दको व्युत्पत्ति÷निर्वचन गर्नुपर्दा जनपदवाची नीप शब्द वा त्यसैको वैकल्पिक रूप नेपबाट स्वार्थमा, अथवा जाति (वर्ग÷समूह) वाची नीप वा नेप शब्दबाट देश अर्थात् जनपद अर्थमा –आ+ल प्रत्यय अर्थात् अ वा आ आगमसहितको –ल प्रत्यय गर्नुपर्छ ।’ आचार्यको कुरो छ— कुनै महत्वपूर्ण व्यक्तिको नाममा नीप शब्द जोडिएको पहिलो उदाहरण ऋग्वेदमा पाइन्छ । ती नीपातिथि हुन् ।...ऋग्वेद र अथर्ववेदमा नीप–कण्वजन र तिनका प्रतिपक्ष आंगिरसजनका प्रशस्त रचना भेटिन्छन् ।   
हाल अक्सफोर्ड विश्वविद्यालयमा स्पाल्डिङ प्राध्यापकका रूपमा कार्यरत दिवाकर आचार्य नेपाललगायत जापाज, जर्मनी, अस्ट्रिया र नेदरल्यान्डका विश्वविद्यालयमा अध्यापन र शोध गरेका बौद्धिक हुन् । समीक्ष्य पुस्तक पढेपछि थाहा लाग्छ, अनुसन्धानको जरा कति भित्रसम्म गाडिएको हुन्छ र एउटा शोधार्थी ती जरा उधिन्न कतिसम्म डुब्नुपर्छ । यसमा उनले नेपाल निष्पत्तिबारेका हालसम्मका तर्क कसरी तथ्यहीन र तथ्य कसरी तर्कहीन छन् भनेर खण्डन गरेका छन् । वैदिक संस्कृतका विभिन्न प्राचीन वाङ्मयको सूक्ष्म अवलोकनदेखि संस्कृत–अंग्रेजी–नेपाली–हिन्दीजस्ता अनेकन् भाषाका ग्रन्थदेखि सामान्य चिर्कटासम्मको मिहिन अध्ययन गरेर उनले यो पुस्तक तयार पारेका छन् ।
अब अलिकति गफ गरौँ । प्राज्ञिक अनुसन्धानको अनुशासन नै नबुझी हामीकहाँ बडेबडे साहित्यकारहरूबाट ‘मेन टेक्स्टभन्दा फुटनोट बढी भएको, सन्दर्भ सामग्रीको चाङ लगाएको’ भनेर समग्र अनुसन्धानलाई नै उडाइन्छ र यसकै वाहवाही पनि हुन्छ । अब यो ६८ पृष्ठको पुस्तकमा ९० वटा फुटनोट, १०० भन्दा बढी उद्धृत सन्दर्भ सामग्री छन् । हावादारी साहित्यकार, एउटै सन्दर्भस्रोत नखोली लेख्ने ‘एन्टीकरेन्ट’ लेखक, नेपाली–संस्कृतमा लेखिएका सबै झुर र अंग्रेजीमा लेखिएका सबै सुपर देख्नेहरूले यो पुस्तक एकचोटि पढ्ने कि ? संस्कृत भाषालाई नै धार्मिक र अन्धविश्वासी देख्ने तथा संस्कृत भाषाका लिखतलाई प्रमाण नमानेर प्रमाणाभास मात्र मान्ने कमरेडदेखि पश्चिमवादीहरू र तिनलाई आँखा चिम्लेर पत्याउनेहरूले पनि यो पुस्तक पढून् र उडाऊन् । पुस्तकका बोक्रा मात्र पढेर गफ छाँट्ने खोक्रा बौद्धिक र तिनका लहडी अनुयायीहरूले शासन गरेको हाम्रो बौद्धिक–संसारमा यति गहकिलो पुस्तक आउनु धेरै नै स्वागतयोग्य कुरा हो ।
आफ्नै शोध–प्रश्नबारे लेखिएका पुस्तक–जर्नल लेख हेर्दै नहेरी, तिनको खण्डन–मण्डन केही नगरी ‘फलानासँग फलाना मितिमा गरिएको कुराकानी’ मात्रै–मात्रैको भरमा अनुसन्धानात्मक पुस्तक भनेर होहल्ला पिटिन्छ र पुरस्कार पनि थमाइन्छ, यहाँ । अनुसन्धानको सामान्य अनुशासन नै पालना नगरिएका पपुलर ननफिक्सन–पपुलर हिस्ट्रीको बाढीमा यो पुस्तक बडा दुर्लभ प्राप्ति हो । अर्काे कुरा छ, मलाई बडा रोचक लाग्ने । हिजोआजका हाम्रा पुस्तक–वार्ताहरूमा एउटा स्थायी प्रश्न हुन्छ, ‘नेपालमा कस्ता पुस्तक लेखिए हुन्थ्यो ?’ बडा अचम्म छ, जवाफ पनि स्थायी नै हुन्छ, ‘नेपालको इतिहास, सभ्यता, संस्कृति, दर्शन, सामाजार्थिक विषयमा गम्भीर अनुसन्धान गरिएका गहकिला पुस्तक लेखिन जरुरी छ ।’ जवाफ सबका सबले यसै दिइराखेका हुन्छन्, तर यसरी लेखिएका पुस्तक ती जवाफको एक प्रतिशत पनि पढिएका–बिक्री भएका छैनन् । ‘अनुसन्धानात्मक गहकिला पुस्तक लेखिनुपर्छ’ भनेर जवाफ दिएका एक लेखक नै नयराज पन्त र नयनराज पाण्डेलाई एकै देख्छन् भने सक्किगो नि !
यो समीक्षा होइन । केवल पठन–अनुभव हो । लेखकका तथ्य र तर्क जाँच्ने सामथ्र्य पंक्तिकारसँग छैन । यो पुस्तक गएगुज्रेको पनि हुन सक्छ । विज्ञ–विशेषज्ञहरूको प्रतिक्रिया पढ्न पाइओस् । पुस्तकले नेपालको आद्य–इतिहास त भनि नै हाल्छ, अनुसन्धानको गहिराइ नाप्न चाहने र अनुसन्धानमा डुब्न चाहनेका लागि पनि यो पुस्तक गुरु हुनसक्छ ।

नीपजन र नेपाल
एउटा छोटो आद्य इतिहास
लेखक : दिवाकर आचार्य
प्रकाशक : मार्टिन चौतारी
मूल्य : २०० रुपियाँ
पृष्ठ : ६८
संस्करण : २०७४

प्रकाशित: ३१ आश्विन २०७४ ११:४८ मंगलबार

नेपाल निर्क्योल