अन्य

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।  

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई ०७२ को भूकम्पले भत्काएसँगै उनले उमंगसाथ भाइटीका मनाउन नपाएकी हुन् । वर्षमा एकपल्ट भाइटीकाका दिन मात्र खुल्ने यही मन्दिरभित्र बसेर उनले धेरैलाई भाइटीका लगाइदिँदै आएकी थिइन् । भूकम्पपछि भने उनले मन्दिरको मूलगेटमा मूर्तिको तस्बिर अगाडि राखेर टीका लगाइदिँदै आएकी छन् ।  
‘यसरी भाइटीका लगाउँदा पहिलेजस्तो रमाइलो हुँदैन,’ उनले भनिन्, ‘मन्दिरकै प्रांगणमा लगाउँदा बेग्लै रमाइलो हुन्थ्यो, भत्केको संरचना देख्दा मन खिन्न हुन्छ ।’ 

भाइटीकाका दिन दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीस्थित यही मन्दिरमा आउने गर्छन् । उनीहरूले मन्दिरको मूर्तिलाई साक्षी राखेर भाइटीका लगाउँथे । गएका दुई तिहारमा भने धेरैले मूर्तिको तस्बिरलाई मात्र साक्षी राखेर टीका लगाउनुप¥यो । मन्दिर पुनर्निर्माण नहुँदा यसपटक पनि उनीहरूले मूर्तिलाई साक्षी राख्न नपाउने भएका हुन् । 

भूकम्पले मन्दिर भत्काएपछि उनले दुई भाइटीका रानीपोखरीको मूलगेटमा मनाइन् । सरकारले रानीपोखरी र मन्दिरको पुनर्निर्माण नगर्दा यसपालि पनि उनले मूलगेटअगाडि तस्बिर राखेर भाइटीका लगाइदिनेछन् । 
रानीपोखरी र बालगोपालेश्वर मन्दिर राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तीन्द्र मल्लको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिन निर्माण गरेको इतिहासकार बताउँछन् । यसको निर्माण १७२५ सालदेखि १७२७ को बीचमा भएको मानिन्छ। 

‘दिदीबहिनी र दाजुभाइ हुनेले आफ्नै घरमा रमाइलो गरेर भाइटीका मनाउँछन्,’ संस्कृति अध्येता एकराम महर्जनले भने, ‘दिदीबहिनी र दाजुभाइ नभएकाको मन बहलाउन भाइटीकाको दिनमा मन्दिर खोल्ने गरिएको हुनुपर्छ ।’ 
उनका अनुसार भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरेमा दशनार्थीको मनोकांक्षा पूरा हुने जनविश्वास छ । काठमाडौं महानगरपालिकाले भूकम्पपछि सर्वसाधारणका लागि मन्दिरको मूलगेटमै तस्बिर राखेर भाइटीका मनाउने व्यवस्था गरिदिएको हो । भूकम्पले मन्दिर भत्काएपछि भाइटीकाको व्यवस्थापन गर्न कठिनाइ भएको महानगरपालिका मातहत रहेको रत्नपार्क–रानीपोखरी इकाइले जनाएको छ । 

‘भूकम्पले  रानीपोखरीभित्रका संरचना भत्केसँगै भाइटीका मनाउनेको उत्साह घटेको छ,’ रत्नपार्क–रानीपोखरी इकाइ प्रमुख हरिशरण केसीले भने, ‘पोहोरजस्तै यस वर्ष  मन्दिरभित्रका देवी–देवताका तस्बिर मूलगेटमा टाँगेर पूजाआजा गर्ने कार्यक्रम छ ।’ 

उनका अनुसार भूकम्प अघिसम्म रानीपोखरी परिसरमा दीपावलीसहित भाइटीका मनाउने गरिन्थ्यो । ‘भूकम्पले भत्किनुअघि रानीपोखरीमा भाइटीकाको धुमधाम तयारी हुन्थ्यो, रङरोगन र झिलिमिली बत्ती बालिन्थ्यो, विशेष सरसफाइ गरिन्थ्यो,’  उनले भने, ‘अहिले त जताततै निर्माण सामग्री छन्, कुनै तामझाम छैन, संस्कृति बचाउनेतर्फ मात्र लागिपरेका छाैँ ।’ 

पुस्तौँदेखि रानीपोखरीको सरसफाइ र रेखदेख गर्दै आएका कपाली परिवारका छोरी–बुहारीले दिदीबहिनी नहुने दाजुभाइलाई रानीपोखरीमा भाइटीका लगाउँदै आएको रमेश कपाली बताउँछन् । ‘हाम्रो परिवारले रानीपोखरी सरसफाइ र रेखदेखको जिम्मा मात्र पाएको छैन, तिहारमा भाइटीका लगाउने अवसर समेत पाएका छौँ,’ उनले भने, ‘हाम्रो परिवार र रानीपोखरीको सम्बन्ध गहिरो छ ।’ 

रानीपोखरीको पुनर्निर्माण नभएकामा कपाली दुःखी छन् । ‘दुई वर्षभित्र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्ने भनिएको थियो, सरकारी बेवास्ताले अझैसम्म हुन सकेको छैन,’ उनले भने, ‘यो हाम्रो पुस्तासँग जोडिएको छ, समयमै निर्माण नहुँदा मन खिन्न हुने रहेछ ।’

कपालीका अनुसार भूकम्पअघि रानीपोखरीमा भाइटीकाका दिन पाँच हजारभन्दा बढी भक्तालु आउने गर्थे  । त्यसमध्ये सात सयजतिले भाइटीका लगाउँथे । भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि त्यसको २५ प्रतिशत मात्रै भक्तजन आउने गरेका छन्।

प्रकाशित: ३० आश्विन २०७४ ०७:०८ सोमबार

बनेन बालगोपालेश्वर मन्दिर  फोटो राखेर भाइटीका