अन्य

स्टिकरका चे ग्वेभारा

काठमाडौंका सार्वजनिक यातायातमा सिट पाउनु सुखद संयोग हो । शनिबार भने आक्कलझुक्कल सिट पाइन्छ । झन्डै दुई महिनाअघिको एक शनिबार अफिसका लागि बस चढ्दा सहजै सिट पाइयो ।

ड्रइभरछेउ तीन–चारजना अट्ने लामो सिटमा बस्दै गर्दा नजरअगाडि सिसामा अडिए । जहाँ सँगसँगैजस्तो टाँसिएका थिए, बब मार्ली र चे ग्वेभाराका तस्बिर ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनका झ्याल तथा भित्तामा टाँसिने स्टिकर हेर्दा लाग्छ, चालक–सहचालक चेका ‘फ्यान’ हुन्, उनको तस्बिर नटाँसीकन सहचालकले ढोका धकेल्न सक्दैनन्, चालकले स्टेयरिङ घुमाउने हिम्मत जुटाउँदैनन् ।

‘भाइ यो फोटो कसको ?’ चे ग्वेभाराको तस्बिर देखाउँदै सोध्दा ढोकामा उभिएका सहचालकले भने, ‘पप सिंगरको हो ।’ ‘माथिको त बब मार्ली, तल्लो चाहिँ ?’ दोस्रो प्रश्नमा उनको उत्तर थियो, ‘नाम त मलाई के थाहा ! पप गायक हो ।’ अब पक्का भयो, सहचालकलाई चे ग्वेभाराको तस्बिरबारे केही थाहा छैन ।
गाडीमा भीडभाड कम भएकाले चालक ‘फ्रेस मुड’मै थिए । ‘दाइले टाँस्नु’भा होला भाइलाई के थाहा हुन्थ्यो, कुन गायक हो दाइ ?’ चालकको जवाफ आयो, ‘पप गायकको टाँसिदिनु भनेको थिएँ, होला नि कुनै अंग्रेजी गायक ।’
बानेश्वर–सुन्धारा यात्राको यो संवादका आधारमै पनि भन्न सकिन्छ, चे ग्वेभाराका धेरै ‘फ्यान’लाई उनीबारे थाहा छैन । लामो कपालमाथि पाँचकुने तारा अंकित टोपी लगाएको तस्बिर टाँस्ने कतिपयलाई यो थाहा छैन, त्यो चेको तस्बिर हो ।
उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनका झ्याल तथा भित्तामा टाँसिने स्टिकर हेर्दा लाग्छ, चालक–सहचालक चेका ‘फ्यान’ हुन्, उनको तस्बिर नटाँसीकन सहचालकले ढोका धकेल्न सक्दैनन्, चालकले स्टेयरिङ घुमाउने हिम्मत जुटाउँदैनन् ।
सार्वजनिक सवारीसाधनका सिसा र भित्तामा टाँसिएका चेका तस्बिरले तिनको चामत्कारिक गुरिल्ला क्रान्ति र समाजवादप्रतिको लगाव भने बोल्न सक्दैनन् । जसले तिनको तस्बिर मनपराएर गाडीमा टाँसेका छन्, तिनले न चेलाई चिनेका छन्, न त उनको विचार र क्रान्तिकारी छविलाई । नचिन्दानचिन्दै पनि चे भने उपत्यकाभित्र मात्र होइन, गाउँगाउँमा समेत जीवित छन्, स्टिकर बनी गाडीका झ्यालहरूमा, टिसर्ट बनी मान्छेका छाती र पिठ्युँमा ।
गाडीका झ्याल, भित्ता र मान्छेका छाती एवं पिठ्युँमा स्टिकर बनी टाँसिएका चे धेरै नेपाली नेताका दिलदिमागमा पनि बसेका छन् । प्रवचनहरूमा तिनले चेका गाथा गाएर दिन बिताइदिन सक्छन् । उनका योगदानको चर्चा गरेर चामत्कारिक वाक्पटुता प्रदर्शन गर्न सक्छन् । चे चर्चामा रमाउने नेताले उनको त्याग, समर्पण, योगदान र राजनीतिक रणनीतिलाई आत्मसात् गरेको देख्न पाउनु गंगा–जमुनासँग मिल्ने सरस्वती नदी खोज्नु बराबर हो ।
भलै दिलदिमागमा चेलाई राखेको बखान गर्नेले समेत तिनलाई बिर्सिरहेका हुन्, चेको चामत्कारिक लोकप्रियता भने तिनी बितेको आधा शताब्दी भइसक्दा पनि फैलिरहेकै छ । विश्वभरका युवा ‘चे क्रेज’को जञ्जालमा फसेकै छन् ।
संसारभरका क्रान्तिकारीले हिरो बनाएका र उनको साहस एवं गुरिल्ला शैलीबाट शत्रुलाई समेत प्रशंसक बनाउन सफल चे आजभन्दा ठीक ५० वर्षअघि अक्टोबर ९, १९६७ मा बोलिभियाको जंगलमा मारिएका थिए । उनी मारिएको ५०औँ वर्ष बितिसक्दा पनि उनीबारे चर्चा कम भएको छैन । त्यसैले त अक्टोबर लागेदेखि नै दिनैपिच्छे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चेबारे आलेख र समाचार आइरहेका छन् ।
आज पनि एकथरीले चेलाई महानायक मान्छन् भने अर्काथरीले हत्यारा । एकथरीले उनको विचार र योगदानबारे विमर्श गर्छन् भने महानायक मान्नेको आममनोविज्ञानलाई अर्काथरीले स्टिकर बनाएर बेचिरहेछन् । विभिन्न व्यक्ति र विचार समूहले चेबारे बनाएका यिनै परस्पर विरोधी धारणाकै कारण आज पनि चे विवादमै परिरहेका छन् ।  
चे मारिएको ५०औँ स्मृति दिवस अवसरमा हालै आयरल्यान्डमा चेको तस्बिर अंकित हुलाक टिकट ल्याउँदा त्यस्तै विवाद खडा भएको छ । आइरिस र स्पेनिस मूलका पुर्खा भएका चेको सम्मानमा ल्याइएको टिकटले आइरिसलाई दुई फरक धारणामा विभक्त गरिदिएको छ । चेका पिता अर्नेस्टो ग्वेभारा लिन्चका पुर्खा आइरिस भएकाले हुलाक टिकट ल्याइएको भए पनि धेरैले आमनरसंहार निम्त्याउनेलाई सम्मान गरिएको भन्दै विरोध गरेका छन् ।
मध्यम वर्गीय अर्जेन्टिनी परिवारमा जन्मिएर क्युबाको क्रान्ति नायक बनेका एवं विश्वभर समाजवादी क्रान्तिको सपना देखेर गुरिल्ला युद्धमा होमिएका उनीमाथि नश्लवादी र समलैंगिकता विरोधीको आरोप पनि लाग्दै आएको हो । माक्र्सवादी र कम्युनिस्टका विद्रोहको ‘आइकन’ चेलाई आजसम्म पनि कतिपयले हत्याराकै रूपमा लिने गरेका छन् ।
नेपालमै पनि धेरैका लागि नायक बनेका चे तेस्रोलिंगी अधिकारका लागि लडिरहेकाका निम्ति नायक होइनन् । समलिंगी विवाहबारे राखेको धारणाका कारण चेलाई अहिले विश्वभर अधिकारको लडाइँमा रहेका तेस्रोलिंगीले खलनायककै रूपमा हेर्न सक्छन् ।
‘ग्वेभारा ः अ रिभोलुसनरी लाइफ’ पुस्तकका लेखक एवं पत्रकार जोन ली एन्डरसनले समलैंगिक सम्बन्धबारे चेका धारणा उदार नरहेको बताएका छन् । एक महिनाअघि बेलायतमा भएको ‘हे फेस्टिभल–२०१७’मा सहभागीका  प्रश्नको जवाफ दिँदै एन्डरसनले तेस्रोलिंगीप्रति उनको धारणा सकारात्मक नरहेको उत्तर दिएका थिए ।
‘उनी समलैंगिक सम्बन्धविरोधी भएको सत्य हो, तर समलैंगिकताबारे बहस १० वर्ष पहिले सुरु भयो, ५० वर्षअघि लगभग सबै नै यसको विरोधी थिए,’ एन्डरसनले सहभागीलाई उत्तर दिँदै भनेका थिए, ‘ऊबेला यो गैरकानुनी थियो, हामीले आजको परिस्थितिका आधारमा विगतका व्यक्तिबारे धारणा बनाउनु अघि सोच्नु जरुरी छ ।’
उनको लोकप्रियता कत्ति थियो भन्ने एन्डरसनले त्यसै कार्यक्रममा अभिव्यक्त गरेको धारणाले प्रस्ट हुन्छ, ‘उनको लोकप्रियताकै कारण म उनीबारे लेख्न बाध्य भएँ । मलाई लाग्छ, उनको घोषित शत्रु सिआइए समेत उनको प्रशंसा गर्छ ।’
क्युबाली क्रान्ति सफल भए पनि चे थाकेनन् । विश्व क्रान्तिको सपना देखेका उनी त्यहाँबाट कंगो पुगेका थिए, गुरिल्ला युद्धबाट समाजवाद ल्याउन । कंगोमा उनी सफल हुन सकेनन् । त्यसपछि उनले फेरि दक्षिण अमेरिकाकै बाटो तताए र पुगे बोलिभिया । जहाँ उनलाई अमेरिकी गुप्तचर एजेन्सी सिआइएको सहयोगमा बोलिभियाली रेन्जरले गोली ठोकेर मारे ।
मृत्युको ४७ वर्षसम्म उनको चिहान कहाँ छ भन्ने पत्तो थिएन । तर, बोलिभियाका अवकाशप्राप्त सैनिक जनरल मारियो भर्गासले रहस्योद्घाटन गरेपछि चिहानबाट उत्खनन् गरी उनको शव क्युबा पु¥याइयो । क्युबाले हरेक वर्ष उनी मारिएको दिनलाई ‘हिरोइक गुरिल्ला डे’का रूपमा भव्य समारोह गरी मनाउने गर्छ ।
बिबिसीका पत्रकार बिल ग्रान्टले क्युबामा हालै चेका छोरा अर्नेस्टो ग्वेभारासँग मोटरसाइल यात्रा गरी एक रिपोर्ट तयार पारेका छन् । मोटरसाइकल यात्राका क्रममा क्युबाली क्रान्तिपछि धेरैलाई मृत्युदण्ड दिइएको स्थानमा पुग्दा ग्रान्ट चे पुत्रलाई उनका पिताले कतै मृत्युदण्ड दिँदा गल्ती त गरेका थिएनन् भन्ने प्रश्न सोध्छन् । त्यसको जवाफमा अर्नेस्टो भन्छन्, ‘दुश्मन जे पनि भन्न सक्छन्, क्युबाका जनता जान्दछन् कि किन उनीहरूलाई मृत्युदण्ड दिइएको थियो, यो क्युबाली समाजमा शान्ति ल्याउन गरिएको थियो ।’
चेका पुत्रले आफ्ना पिताको बचाउ गरे पनि क्रान्तिपछि पूर्ववर्ती सरकारी अधिकारीमाथि सुनुवाइ गर्ने अधिकार पाएका चेले कुनै प्रक्रिया नपु¥याई धेरैको हत्या गरेको आरोप लगाउने छँदै छन् । विशेषगरी क्युबाली क्रान्तिका कारण मुलुक छाडेर अमेरिका पुगेका धेरै क्युबालीले यही कारण चेलाई माफ गर्न सकेका छैनन् ।
चेको मृत्यु भएको आधा शताब्दीपछि पनि उनलाई नायक मानेर उनैको पथमा हिँड्छौ भन्नेहरू धेरै छन् । नेपालमा पनि चेको विचारधारा बोकेर क्रान्ति गर्छौं भन्नेहरू नदेखिएका होइनन् । कुनै पनि नेपाली नेताले चेको विचारधारालाई आत्मसात् गरेर उनको पथ पछ्याउन सकेनन् । दक्षिण अमेरिकामा चेले लडेझैँ गुरिल्ला युद्ध लडेर सत्तामा पुगेकाहरू पनि जनताका वास्तविक नेता हुन सकेनन् । न उनीहरूले चेलाई पछ्याउन सके, न त चेझैँ संसारभर बिक्ने स्टिकर बन्न सके ।
पटकपटकका विद्रोह र आन्दोलनका लागि नयाँ–नयाँ चे जन्माउन खोजिरहेको नेपालका सडकमा गुड्ने सवारीका झ्याल र भित्तामा स्टिकर बनेर चे टाँसिन छाडेका छैनन् । जसले उनी आफैँले जीवनभर आचोलना गर्दै विश्वभरबाटै समाप्त पार्न खोजेको पुँजीवादलाई फाइदा पु¥याइरहेको छ । अनि विश्वव्यापीकरणको बुई चढेर विश्व बजारमा बिक्री भइरहेका चे ग्वेभाराका चित्रले तिनको समाजवादी चिन्तनलाई नै गिज्याइरहेजस्तो लाग्छ ।

प्रकाशित: २८ आश्विन २०७४ ०४:२० शनिबार

स्टिकरका चे ग्वेभारा