अन्य

देउसी-भैलोको शैली फेरिँदै

हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई ।

नाच्दै गाउँदै वर्ष दिनको चाड मान्नलाई
झिलीमिली बत्ती चारैतिर औंसीका अँधेरीमा
हजुरको आँगनीमा आयौँ देउसी खेल्नलाई...
०००
ए भनभन भाइ हो–देउसिरे
ए स्वर मिलाइ भन–देउसिरे
ए आँगनीमा–देउसिरे
नाच्दै गाउँदै–देउसिरे
छिर्काने मार्दै–देउसिरे
ए देउसिरे भन–देउसिरे...
०००
फूलको ढकमक्क
सेलरोटीको बास्ना आयो मगमग,
मादल र झ्याली बोकेर आए देउसे
नाच्दै र गाउँदै देउसिरे खेल्नलाई...
०००
तिहारमा यस्तै लोकभाकामा देउसी खेल्ने चलन छ । गीतबाट देउसीको प्रारम्भ गर्दै आँगनीमा प्रवेश गरिन्छ, त्यसपछि एक जनाले नेतृत्व गरी भट्याउन सुरु गर्छन् । र, बाँकी देउसेले बाजा–मादल, झ्याली आदिको साथमा देउसिरे भन्दै उत्साहसहित आँगनीमा नाच्ने गर्छन् ।

‘पहिला र अहिलेको देउसी–भैलोमा धेरै भिन्नता पाइन्छ,’ संस्कृतिविद् गोविन्द टन्डन भन्छन्, ‘पहिलाका देउसी–भैलोको आनन्दै छुट्टै हुन्छ । तर, अहिलेको देउसी–भैलोमा त्यस्तो रोमाञ्चक देखिन्न ।’

एकोहोरो भट्याइरहँदा पट्यारलाग्दो होला भनेर बीचबीच तिहारसँगै जोडेर गीत गाउने गरेको पाइन्छ धेरै ठाउँमा । यसले देउसी खेल्नेलाई मात्रै नभई हेर्ने र देउसी खेलिने घरबेटीलाई समेत रोमाञ्चकता दिन्छ । जसले गर्दा घरबेटीको मनोबल बढेर बढी दक्षिणा दिने अनुमान गरिन्छ । दक्षिणापछि देउसेले पनि आशिष दिएर घरबेटीलाई झनै खुसी पारिन्छ ।
तर, हिजोआज यस्तो देउसी देखिन मुस्किल पर्छ । पहाडको केही ठाउँमा रहे पनि सहरी क्षेत्रमा भने देउसी खेल्ने शैली फेरिएको छ । ‘पहिला र अहिलेको देउसी–भैलोमा धेरै भिन्नता पाइन्छ,’ संस्कृतिविद् गोविन्द टन्डन भन्छन्, ‘पहिलाका देउसी–भैलोको आनन्दै छुट्टै हुन्छ । तर, अहिलेको देउसी–भैलोमा त्यस्तो रोमाञ्चक देखिन्न ।’ उनका अनुसार सहरका धेरै ठाउँमा ड्रम सेट बजाएर कन्सर्ट जसरी देउसी खेलिने गरेको छ । हिन्दी तथा आधुनिक गीतको तालमा उफ्रिने गरिएको छ । यसरी देउसी खेल्नुमा कुनै अर्थ नभएको टण्डनको भनाई छ ।
‘देउसी–भैलो भनेको संस्कृति र परम्परा हो,’ उनले भने, ‘सयमसँगै परिवर्तन त हुनपर्छ । तर, मौलिकता भने भुल्न हुँदैन ।’ पश्चिम नेपाल तथा पहाडी जिल्लामा भने देउसीको मौलिकता अझै नबिग्रिएको उनको अनुमान छ । तर पनि कतिपय ठाउँमा देउसी खेल्न आउँछौं भनेर पहिलै पत्र पठाउने गरिन्छ । यस्तो प्रवृत्तिले भने देउसीलाई मगन्ते चाड जस्तो बनाएको उनको बुझाइ छ ।
देउसी–भैलोमा खुब चासो राख्ने व्यक्तिमा पर्छन् ओखलढुंंगाका कृष्णबहादुर बुढाथोकी । ६५ वर्षीय बुढाथोकीलाई अझै पनि मादल बजाउँदै आँगनमा देउसेसँगै छिर्कने मार्ने रहर जाग्छ तिहारबेला । तर, देउसी–भैलोको मौलिकता हराउन जान थालेपछि उनी चिन्तित छन् । ‘पहिलाको जस्तो देउसी–भैलो छैन,’ उनले चिन्ता प्रकट गरे, ‘हाम्रो पालामा त खुब रहर गरिन्थ्यो । अहिलेका युवा त अल्छे छन्, साउन्ड सिस्टम बोकेर बजाउँदै पो हिँड्छन् ।’ देउसी–भैलोको मौलिकता हराउँदै गएको उनले बताए ।
‘देउसी–भैलोको मौलिकता सबैले बिर्सिहालेको पनि छैन,’ उनले भने, ‘तर, पहिलाको जस्तो मादल बजाएर गाउँदै, भट्याउँदै रौस गरेर खेलेको पनि पाइँदैन ।’ उनका अनुसार पहिलाको जस्तो देउसी–भैलो कमै मात्रै खेलिन्छ । त्यस्ता गाउँमा पनि देउसी–भैलोमा केही विकृति भने देखिएका छन् । होहल्ला बढी गर्ने, थर्काएर दक्षिणा माग्ने, मदिरा सेवन गर्नेलगायत गाउँघरतिर धेरै हुने गरेको उनले बताए ।
संस्कृतिविद् पुरुषोतम लोचन श्रेष्ठलाई पनि अहिलेको देउसी खेल्ने शैलीप्रति खासै सन्तुष्ट छैनन् । ‘अहिलेको देउसीमा धेरै आधुनिकता थपिएको छ,’ उनले भने, ‘समय अनुसार परिवर्तन हुन परे पनि देउसीमा देखिएको परिवर्तन भड्किलो छ ।’ सहरी क्षेत्र खेलिने देउसीले त कुनै नाचगानको झल्को दिने गरेको उनी बताउँछन् । यद्यपि सहरकै केही देउसीले मौलिकता भने कायम गरेका छन् । सन्देश फरक भए पनि सिस्नो पानी नेपाललगायत संस्थाले मौलिकता बचाइरहेको उनले बताए ।
सिस्नो पानी नेपालले वर्षेनी सामूहिक देउसी खेल्दै आएको छ । हास्यव्यङ्ग्य कलाकारको समूहले खेल्ने उक्त देउसी–भैलो २०५५ मा सुरु भएको हो । सबै क्षेत्रका व्यक्तिको प्रतिनिधित्व गराएर सामूहिकरूपमा खेलिने देउसी–भैलोको मौलिकता परम्परागत भए पनि विषय भने फरक हुने गरेको छ । ‘हामीले देउसीको मौलिकतालाई कतिपनि तलमाथि हुन दिएका छैनौं,’ सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भने, ‘देउसीलाई सामाजिक परिवर्तनको पाटो बनाएका छौं ।’ उनका अनुसार देउसी मनोरञ्जनसँगै सामाजिक भाव तथा परिवर्तनका लागि खेलिनुपर्छ । सिस्नु पानी नेपालले पनि परम्परागत देउसीलाई समाज तथा राजनीतिमा देखिएका परिवर्तनलाई अँगालेर सोही अनुसार रोचक बनाउने गरेको उनले बताए ।
त्यसो त अहिले देउसी गाउँदेखि सहरसम्म साथीभाई मिलेर खेल्ने भन्दा सामूहिकरूपमा खेलेको बढी पाइन्छ । अझ कुनै संघसंस्थाको नेतृत्व गरेर खेलेको धेरै पाइन्छ । देउसी–भैलो खेलेर संकलन भएको रकम अधिकांश संघसंस्थाले सामाजिक कार्यमा खर्चिने गरेका छन् ।
‘सामाजिक कामका लागि देउसी खेल्ने चलन बढेको छ,’ संस्कृतिविद् टन्डनले भने, ‘गाउँघरतिर आमा समूह, क्लबलगायतले देउसी खेलेर रकम संकलन गरी बाटो खन्ने, सामुदायिक भवन बनाउने, विद्यालयलाई दान जुटाउनेलगायत काम गरेको पाइन्छ ।’ यसो गर्नु राम्रो भए पनि सामाजिक संस्था तथा काम गर्ने नाम भजाएर देउसी खेलेर त्यहाँबाट आएको दानचाँही अन्य कार्यमा खर्च हुनु देउसीको दुःखद् पक्ष रहेको उनको बुझाइ छ ।
दीपावली (तिहार) भनेको दीप जस्तै उज्जवल दिने चाड रहेको भन्दै दीपावलीको उज्यालो बाहिर मात्रै नभएर मान्छेको मनमा पनि देखिनुपर्ने उनको बुझाइ छ । रमाइलोका नाममा परम्परा र संस्कृति भुल्न नहुने संस्कृतीविद् टन्डन बताउँछन् ।

किन खेलिन्छ देउसी–भैलो ?
संस्कृतिविद् टन्डनका अनुसार बलि राजा निकै अहंकारी थिए । उनको घमन्ड तोड्न भगवान विष्णु बाउन्ने रूप धारण गरेर राजाको घरमा पुगे । बलि राजाले घरमा पुगेका बाउन्ने रूपी भगवान विष्णुलाई जे मागे पनि दिने प्रतिबद्धता गरे । विष्णुले तीन पाइला जमिन मागे । एक पाइलामा पृथ्वी र अर्को पाइलामा अन्तरिक्ष सकियो । तेस्रो पाइलामा भने राजाले आफ्नो शिर राखेर विष्णुको खुट्टा ढोेगे । त्यसपछि राजाले अंहकार छाडेर असल बने । त्यही खुसीयालीमा बलि राजाले रैतीलाई देउसी खेल्न पठाएको किम्बदन्ती छ ।
त्यसैले पनि देउसी खेल्दा भट्याउँदा बली राजाले पठाएको भन्ने चलन रहेको पौराणिक कथामा लेखिएको टण्डन बताउँछन् । उनका अनुसार तिहारसँग जोडिएका धेरै पौराणिक कथा छन् ।

प्रकाशित: २८ आश्विन २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App