अन्य

आज विजयादशमी मनाइँदै

काठमाडौं –आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

‘राज्य सञ्चालकहरूले साइतकै टीका लगाउनु राम्रो हुन्छ। सर्वसाधारणका लागि भने साइत खोजिरहनु पर्दैन’, उनले भने। विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत खोज्नु नपर्ने उनको भनाइ थियो। 

विजय दशमीका दिन मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने विश्वास गरिन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ। 

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ।

प्रकाशित: १४ आश्विन २०७४ ००:५२ शनिबार

विजयादशमी मनाइँदै