अन्य

हाम्रा चाडबाड

रामबाबु सुवेदी
चाड भनेका संस्कृति हुन् । संस्कृति भनेका मान्छेले स्वीकारेका चलन हुन् । चलन कुनै रसदार छन्, कुनै दार मात्र छन् । तत्तत् भूगोलसित हुर्कंदै गर्दा अर्थात् तत्तत् प्रकृतिसित खेल्दै र जुझ्दै गर्दा कुनै नियमित र कुनै आकस्मिक रूपमा चाडहरूको जन्म भएको हो । चाडहरू भिन्नभिन्न हुनु भनेको प्रकृतिहरू भिन्नभिन्न हुनु हो । मानवका रूपहरू, रङ्गहरू र स्वभावहरू भिन्नभिन्न भएझैँ तिनले चलनचल्तीमा ल्याएका चाडहरू पनि भिन्नभिन्न भएका हुन् । यी भिन्न हुनु पनि अनौठो होइन, अभिन्न हुनु पनि अनौठो होइन । 
चाडहरूका आ–आफ्ना इतिहास छन्, आ–आफ्ना गौरव छन् । सबैका मूलहरू सङ्ला र स्वच्छ छन् । बढ्दै र फैलिँदै जाँदा बिस्तारै तिनमा नयाँ आयाम, नयाँ चलन र नयाँ चल्ती पनि थपिएका र गाँसिएका छन् । थपिएका र गाँसिएका कुराहरू धेरैजसो सुन्दर छन् । तिनमा केही असुन्दर पनि छन् । असुन्दरले हामीलाई अनावश्यक दुःख दिएका पनि छन् । कहिलेकाहीँ हामी के सोच्छौँ भने ‘असुन्दर’ लाई फाल्दा ‘सुन्दर’ पनि फालिन्छ कि ! मलाई लाग्छ, त्यो फालिन्न । कसौँडी माझ्दा कसौँडीमा टाँसिएका धूलोमूलो फालिन्छन्, कसौँडी नै कहाँ फालिन्छ र ?
चाडबाडसँग धर्म हाबी हुनुहुन्न । चाडबाड भनेका बेग्लै कुरा हुन्, धर्म भनेका बेग्लै कुरा हुन् । धर्म संस्कृति होइन । यो आस्थाको विषय हो । चाडबाडहरू हृदयका कोमल उपज हुन्, धर्म बुद्धिको उपज हो । धर्मसँग अनेक तर्क छन्, वितर्क छन् । यो आयात पनि हुन्छ, निर्यात पनि हुन्छ । यी लड्छन् पनि र लडाउँछन् पनि । चाडबाडसँग तर्क छैनन्, छन् त खुसी छन्, रामरमिता छन् । यो न त आयात हुन्छ, न त निर्यात हुन्छ । न यो कसैसँग लड्छ, न त लडाउँछ । धर्म ‘उसपार’को निम्ति हो, चाड ‘यसवार’का निम्ति हो । ‘उसपार’ उधारो हो, ‘यसवार’ नगद । धर्मले कुन्नि किन हो ! मान्छेमा पापैपाप देख्छ, चाडले मान्छेमा खुसी नै खुसी देख्छ । खुसी देख्नु, खुसी हुनु नै सार्थक जीवन हुनु हो । म बेरोकटोक के भन्न सक्छु भने मान्छेबाट, मान्छेका निम्ति, मान्छेले बनाएका सबभन्दा सुन्दर कुरा चाडहरू नै हुन् । यसर्थ ‘धर्म’ धर्मकै ठाउँमा रहोस्, ‘चाड’ चाडकै ठाउँमा रहोस् ।
चाडको मुख्य स्रोत कर्म (काम) हो । कर्मबाट प्राप्ति निसृत हुन्छ । प्राप्तिले खुसी दिन्छ । असार पन्ध्र, साउने संक्रान्ति र माघे संक्रान्ति कृषिजन्य चाडहरू हुन् । असार पन्ध्रमा हामी हिलो खेल्छौँ, दबदबे हिलोमा बीउ रोप्छौँ र अन्नको सम्मान गर्छौँ । साउने संक्रान्तिमा हामी हिलो पखाल्छौँ, लुतो फाल्छौँ, अनदीको भात (लट्टे) खान्छौँ । माघे संक्रान्तिमा हामी खुदो चिउरा, तरुल र सखर खान्छौँ । किसान हुनु, श्रम रोप्नु र अन्नका भकारी उठाउनु प्रशंसनीय काम छन् । बेला–बेलामा बिसाई मार्दै चाड मनाउँदा निश्चय नै सुखको अनुभूति हुन्छ । यदाकदा, छोराछोरीको बिहे, ब्रतबन्ध हुन्छ । ती पनि लगभग चाडजस्तै रमाइला हुन्छन् । तीज, रतेली र रोदीले पनि हामीलाई रमाइलो प्रदान गर्छन् । आजभोलि, सहरियापनले यिनलाई प्रत्यक्ष वा परोक्ष रूपमा खज्मज्याएका छन् । हामीले खज्मजिन दिनुहुन्न । आवश्यक ठाउँमा सुधार र परिष्कार गर्दै जानुपर्छ । सुधार र परिष्कार नै उँभौलीका सोपान हुन् ।
जय, विजय, प्राप्ति र विश्रान्ति चाडका सुन्दर स्रोत हुन् । दसैँसँग राम र दुर्गाका विजयहरू गाँसिएका छन् । रावण र महिषासुर खराब प्रवृत्तिका प्रतिनिधि हुन् भने राम र दुर्गा असल प्रवृत्तिका प्रतिनिधि हुन् । सीतालाई हरण गरेर रावणले अक्षम्य भूल गरेकै हो । खराब प्रवृत्तिलाई असल प्रवृत्तिले विजय गरेको खुसी भनेकै दसैँको खुसी हो । दशैँको गरिमा र महŒव यही खुसीको व्यापकतामा छ । हामीले ‘हिन्दूहरूको चाड’ ‘हिन्दूहरूको दसैँ’ आदि भन्न थाल्यौँ भने यसमा विवाद खडा हुन्छ । चाडहरू विवादभन्दा परका कुरा हुन् ।
छठ, ल्होसार, इद, उँभौली–उँधौली हाम्रा रमाइला र अर्थपूर्ण चाड हुन् । यिनको आफ्नै अस्तित्व छ । नेपालमा पछि परेका स्थान र जातिका चाडहरू पछि नै परेका छन् । हिजोका निरङ्कुश शासकहरूले मोफसललाई जसरी उठ्न दिएनन्, मोफसलका जनताले मनाउने चाडलाई पनि त्यसरी नै उठ्न दिएनन् । यो तिनीहरूको पाप कर्म हो । प्रजातन्त्रको उदयपछि, अझ गणतन्त्र प्राप्त भएपछि बिस्तारै मोफसलका चाडहरूको महŒव र गरिमा उजागर हुनथालेको छ । छठ मिथिलाबाट उठेर काठमाडौँको रानीपोखरीसम्म आइपुगेको छ । ल्होसार, इद र उँभौली–उँधौलीले आफ्नो अस्तित्व र सत्व बिस्तारै देखाउन थालेका छन् । हामीले मोफसलका चाडको विस्तार पनि गर्नु छ, यिनको खोज र अनुसन्धान पनि गर्नु छ । चाड हुनु भनेको सुगन्ध हुनु हो । जहाँ–जहाँ चाड छन्, त्यहाँ–त्यहाँ सुगन्ध छन् । अझै देशभरका सुगन्धको खोजतलास गर्नु छ । सिपी चाहनेले समुद्रमा डुबुल्की मार्नैपर्छ । देश डुबुल्कीको प्रतीक्षामा छ । 
तिहार हाम्रो प्रिय चाड हो । यो दिदीभाइ अथवा दाजुबहिनीसित सम्बन्धित छ । तिहार पौराणिक कथासित जोडिएको छ तापनि यसका सुन्दर पक्षहरू धेरै छन् । यो ममताको चाड हो । मीठो, स्वादिलो र रसदार चाड । यस चाडमा पशुपक्षीको पनि मान र सम्मान हुन्छ, पूजा हुन्छ । कुकुर, काग, गाई, गोरु र दाजुभाइको समान महिमा हुनु तिहारको सुन्दर पक्ष हो । पशुपक्षी र मानिसहरू वास्तवमा एकअर्काका सहयोगी साथी हुन् । यो बास्ना तिहारमा लवालवी छ । तिहारमा रमाई–रमाई पिङ खेलिन्छ, रोटेपिङ, लिङ्गेपिङ आदि । यो अर्को मनोहारी कुरा हो । सेल, अनरसा, झर तिहारका उत्तम स्वाद हुन् । सप्तरङ्गी टीको र मखमली माला तिहारका मुख्य उपहार हुन् । दिदीभाइ अथवा दाजुबहिनी बीचको मायाको सर्वोत्तम अभिव्यक्ति हो तिहार । तिहारलाई राष्ट्रिय चाडभन्दा पनि फरक पर्दैन । यो चाड सबै नेपालीले समान रूपमा मनाउँछन् । राष्ट्रका सबैले समान रूपमा मान्नु र समान रूपमा मनाउनु नै राष्ट्रिय चाड हुनु हो ।
तिहारको नराम्रो पक्ष भनेको जुवा हो । राणाकालमा जुवा फुक्थ्यो, गाउँगाउँमा, सहर–सहरमा । मानिसहरू मार्रा–मार्रा भन्दै जुवा खेल्थे । पाँच पाण्डवले स्वास्नी नै हारेको पनि कथा छ । हिजोआज पनि लुकिछिपी जुवा खेल्नेहरू छँदैछन् । जुवा खेल्नु सतप्रतिशत राम्रो होइन । यो खेलाउनु पनि हुँदैन, खेल्नु पनि हुँदैन । ज्ञानीहरू जुवा खेल्दैनन्, अज्ञानी मात्र जुवा खेल्छन् । अज्ञानीहरू हो ! होसियार !
मादक पदार्थका विषयमा भिन्न–भिन्न कुरा हुन सक्छन् । कुनै जातिका निम्ति चाडमा रक्सी हुनैपर्छ । रक्सी आफैँमा सतप्रतिसत खराब चीज होइन । त्यसैले यसलाई चाडबाडमा पनि प्रयोग गरिएको हो । यसमा हामीले अन्यथा सोच्नुहुन्न । यत्ति हो कि रक्सी नै खानुपर्छ भने चाडले रक्सी खाओस्, रक्सीले चाड नखाओस् !
चाडहरूमा सुधारका पक्षहरू एक होइन, अनेक छन् । दसैँमा घरघरमा खसी काटिन्छ । आवश्यकताभन्दा बढी खर्च गर्ने प्रवृत्ति छ । गरिब–गुरुवाका निम्ति यो बोझ पनि बनेको छ । पूर्णिमासम्म नै टीको लगाउने चलन छ । दसैँलाई छरित्तो बनाउनुपर्छ । केही वर्ष अगाडिसम्म दसैँमा १५ दिनसम्म बिदा दिने चलन थियो । हिजोआज सरकारले बिदा घटाएको छ । आम जनसमुदायले दसैँ मान्ने दिन भने घटाएका छैनन् । दसैँ मान्ने दिन पनि घटाउनुपर्छ । गाउँमा कतैकतै छिमेकका दुई–तीन घर मिलेर एउटा खसी किन्ने, बली दिने र मासु बाँडिचुडी खाने पनि चलन छ । यो उदाहरणीय चलन हो । सबभन्दा बढी त तीजले आजभोलि सीमा नै नाघेको छ । गहनाको प्रदर्शन गर्नु, भोजभतेरको खोलो बगाउनु, तँभन्दा म के कम ! जस्तो गरेर दिनका दिन बहुमूल्य सारी पैरनु– तीजका सोचनीय पक्ष हुन् । योभन्दा पनि बढी सोचनीय पक्ष चाहिँ तीजका गीतको उछितो काढ्नु हो । तीज संस्कृति हो भने सांस्कृतिक गीत गाउनुपर्छ । तीजको निउमा वाक्क र ब्याक्क हुने खालका गीत गाउनु र नाच्नु लाजको कुरा हो । यसमा हाम्रा नयाँ नेपालका नयाँ दिदीबहिनीहरूले सोच्नैपर्छ । तपाईंहरूले नै नसोचे कसले सोच्ने ?
हाम्रा अरू चाडमा पनि सुधार्नुपर्ने पक्षहरू छँदैछन् । चाड भनेका श्राद्धमा बाँधेका बिराला होइनन् । हाम्रा लागि ती कति ठीक छन्, कति बेठीक छन्, निर्धक्कसित छुट्याउन सक्नुपर्छ । बेठीक कुरालाई फाल्न सक्नुपर्छ । चाड कल्याणकारी हुनुपर्छ, अकल्याणकारी हुनुहुन्न । 
मेरो घर हंसपुर हो । आमाको नाम पवित्रा सुवेदी । प्रस्तुत ‘चाडबाड’ लेख लेखिरहँदा मेरो स्मृति पचास वर्ष पहिलेको मेरो गाउँमा पुगेको छ । आमाको छायामुनि बसेर दसैं र तिहार मनाएको कुरा झल्झली सम्झिरहेको छु । ती स्वर्गीय दिन थिए । आमाले पकाएका सेल, अनरसा, लट्टे, मसिनाको भात, मुँगीमासको दाल, चिचिन्नो–घिरौंलाको तरकारी, खीर र करेलाको अचारको स्वाद मेरो जिउरोमा अझै पनि छ । हातको जुठो सावनपानीले त्यतिखेरै पखालियो, गयो, हरायो । आमाको माया र चाडका मिष्ठान्नको स्वाद कहाँ पखालिनु, कहाँ जानु, कहाँ हराउनु ! नढाँटीकन भन्नुपर्दा हिजोको दसैँ आज छैन, हिजोको छठ आज छैन, हिजोको ल्होसार आज छैन, हिजोको तिहार आज छैन, हिजोको इद आज छैन, हिजोको उँभौली–उँधौली आज छैन । यी गाढा हुँदै गएका छन् कि फिक्का हुँदै गएका छन्, एकपटक हामी सबैले सोच्ने हो कि !
(नागरिक परिवारबाट साभार)

प्रकाशित: १३ आश्विन २०७४ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App