अन्य

पर्वभित्रको मनोविज्ञान

रमेश नेपाल
जीवन विज्ञान विशेषज्ञ
नेपालीको महान् पर्व दसैँ सदाझैँ आएको छ । त्यसो त हामी हिन्दूहरुको महिनैपिच्छे चाडपर्व आउँछन । सबै चाडपर्वको आ–आफ्नै महत्व छ । प्रत्येक चाडपर्वको उद्देश्य फरक–फरक छ । हामी जसरी भौगोलिक रुपमा विविधतायुक्त छौँ, संस्कृतिमा पनि विविधतायुक्त छौँ । अरु धर्ममा यति धेरै विविधता सायदै पाइन्छ ।
वर्षको बाह्रै महिनामा कुनै न कुनै चाडपर्व परिरहन्छ । हामी त्यसैमा लागिरहन्छौँ । त्यसमध्ये पनि दसैँ एउटा विशेष पर्व हो । त्यसैले गर्दा पनि होला दसैँ हिन्दूहरुको मात्र पर्व रहेन, यो त राष्ट्रिय चाड नै हो भन्दा अत्युक्ति नहोला ।
दसैँको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष छन् । म आज दसैँलगायत हाम्रा चाडपर्वको मनोवैज्ञानिक प्रभावबारे चर्चा गर्नेछु ।
प्रत्येक महिनाजसो आउने पर्वले हामीलाई उम्किनै नसक्ने गरी बाँध्छ कि खुसी दिन्छ ? हाम्रो दैनिकी काममा अल्झन ल्याउँछ कि उत्साह थप्छ त ?
हामी दैनिक जीवनमा विभिन्न काम गरिरहेका हुन्छौँ । त्यो कामले हाम्रो मन एकतमासको हुन्छ । हाम्रो शरीरले मनोरञ्जन, आनन्द, खुसी खोजेको हुन्छ । महिनैपिच्छे आउने पर्वले हामीलाई बाँध्दैन । यसले त हामीलाई खुसी बनाउँछ । यसले हाम्रो दैनिकीमा अल्झन होइन, चाडपर्व मानिसकेपछि अझ बढी काम गर्ने उमंग, जोश र जाँगर थप्छ ।
सधैँ काम गर्दा थाकेको हाम्रो शरीरलाई स्फूर्ति दिन, ऊर्जावान् बनाउन, साथीभाइ इष्टमित्रसँग सम्बन्ध मजबुत बनाउन यसप्रकारका चाडपर्वले उमङ्ग र खुसी प्रदान गर्छ । चाडपर्वले खुसी र आनन्द निश्रित गर्ने हुँदा पर्वहरु वैज्ञानिक छन् ।
हाम्रो मनको व्यवस्थापनका लागि, खुसीका लागि यी चाडपर्व बनाइएका हुन् । जसले चाडपर्व मान्दैन, संस्कार मान्दैन, सकारात्मक कुरा ग्रहण गर्दैन । आफ्नो धर्म छाडेर अरु धर्म मान्छ, त्यस्ता मानिसमा कुनै न कुनै प्रकारको मानसिक रोग देखिएको छ । विभिन्न अध्ययनअनुसन्धान अनुसार चाडबाड मानेर खुसी हुनसक्ने मानिसमा मानसिक समस्या कम देखिएका छन् ।
हाम्रो संस्कृतिमा चाडपर्व धेरै छन् । हामी यसैमा भुलेका छौँ । सँगसँगै हामीमा सिर्जनशीलता पनि थपिन्छ । यसमा पनि चाडपर्वकै देन छ । प्रायः हाम्रोजस्तो देश जहाँ चाडपर्व धेरै छन्, यहाँ मानसिक रोगीको संख्या अत्यन्तै न्यून छ तर विकसित भनिएका देश, जहाँ कामैकाम भनेर मरिहत्ते गर्छन्, त्यहाँका आधाभन्दा बढी जनसख्ंया मानसिक रोगको सिकार बन्न पुगेको छ ।
जहाँ सस्ंकृति छैन, मासिएका छन्, मान्दैनन्, त्यस देशहरुमा डिपे्रसन लगायतका रोगबाट ग्रसित बन्न पुगेका छन् । नेपालकै पश्चिमी क्षेत्रभन्दा पूर्वी क्षेत्रमा आत्महत्या गर्नेको सख्ंया बढेको छ । यसको एउटै कारण हो, ‘आधुनिकता’को नाममा आफ्नो धर्म सस्ंकृति छाड्नु । मनलाई व्यवस्थापन गर्न बनाइएका पर्वहरु नमान्नेहरुले नै आत्महत्या रोजेका छन्, डिप्रेसनको सिकार भएका छन् ।
हाम्रा पर्वले मनको व्यवस्थापन, खुसी, उमंग, हर्ष, उल्लास प्रदान गर्छन् । जस्तै, दसैँ आउँदैछ भन्दा हाम्रो मन पुलकित हुन्छ, सम्झँदा आनन्दित हुन्छ । अघिपछि जे भए पनि दसैँमा परिवारको सदस्य भेट्नैपर्ने चलनले गर्दा घरबाट टाढा भएका, पढ्न बसेका, देशबाहिर गएका मनिसहरुको आगमन हुन्छ, जमघट बढ्छ । जसका कारण हामीमा एकअर्काबीच आत्मियता बढ््छ । आत्मियताले सम्बन्ध प्रेमपूर्ण हुन्छ । हाम्रो चाडबाड प्रेमैप्रेमका प्रतीक हुन् ।
काम गर्दै जाने सिलसिलामा तनाव आइपरेको हुन्छ तर जब चाडबाड आउँछन्, हामीले सारा पीडा बिर्सन्छौँ । पीडा भुलेर रमाइलो गर्न खुसी मनाउनतर्फ लाग्छौँ । जसले गर्दा मनलाई एउटा फरक आयामतर्फ मोडेर उमङ्ग भर्ने काम हुन्छ । यस्तोमा शरीरमा पुनः जाँगर भरिदिन्छ, उत्साह पलाउँछ । जसले काममा सिर्जनशीलतासँगै आत्मविश्वासी बनाउने र मार्गदर्शन पनि प्रदान गर्छ । खुसी भएर जसै हामी सोच विचार गर्छौं, सही ढंगले चाडबाड मान्छौँ, अनि हामी सफल हुन्छौँ । अघि बिग्रेका काम पनि सप्रन्छन् । अघि तनाव दिएका कामले पनि आनन्द दिन्छन् ।
जुन कुरा समाजमा हुन्छ, त्यो कुराले समाजमा प्रत्यक्ष प्रभाव पार्छ नै । हामी हिन्दू संस्कृतिलाई मान्छौँ यसका राम्रा–नराम्रा पक्षले समाजमा प्रत्यक्ष असर पारिरहेकै हुन्छ । हामी कतिपयलाई लाग्छ– हिन्दू संस्कारमा छुवाछुत प्रथा र महिलालाई धेरै विभेद गरेको छ, दास सम्झेको छ भन्ने एकथरीको गलत बुझाइ छ । यो गलत बुझाइ हो । महिलालाई हिन्दू संस्कृतिमा उच्च स्थानमा राखेको छ । महिलालाई हिन्दू संस्कारले जति अरु कुनै संस्कारले पुज्दैन । प्रवृत्ति बसाउने बरु गलत बसाए ।  गलत तŒवको सिकार महिला वर्ग भएकै हुन् तर धर्मले होइन, केही पुरातनवादीले गरेका विभेद गरेका हुन् । हाम्रो शास्त्रमा विभेद गर् भनेको छैन । जबकि हाम्रो शास्त्रमा महिलालाई शक्तिकी देवी दुर्गा, धनकी देवी लक्ष्मी र विद्याकी देवी सरस्वतीलाई मानेको छ । शक्ति, धन र विद्या सबैको प्रतीकात्मक स्वरुप महिला हुन् । जुन कुरा महिलाबाटै प्राप्त हुन्छ । पहिलो ज्ञान महिलाबाट प्राप्त हुन्छ । यो कुरा महिलालाई फकाउन झुकाउन भनिएको हैन । यसको गहिरो अर्थ छ । स्त्री जाति प्रकृति हुन्, जुन निरन्तर चलयामन हुन्छिन् । परिवर्तनशील हुन्छिन् । पुरुष जाति स्थिर छ । स्थिर जातिलाई ज्ञान, सम्पत्ति, विद्या सबै कुरा प्रकृतिबाट प्राप्त हुन्छ । यहाँ त संस्कारले महिलालाई दिने र पुरुषलाई लिने बनाएको छ । खोइ त कुरा बुझेको ? शास्त्रको गहिरो अध्ययन गरौँ । गलत रै’छ भने सबै मिलेर हटाऔँ, हैन भने शास्त्रको गलत व्याख्या गरेर केही पुरातनवादीले बसाएको नियमलाई शास्त्रले यही भन्छ भनेर संस्कृतिमाथि आक्रमण नगरौँ ।
त्यस्तै हिन्दू धर्मले सबै जातिलाई सम्मान गरेको छ । विभेद भने केही पुरातनवादीले बसाएको नियम हो । एउटा कथामा छ । भगवान राम बनबास जाँदै हुनुहुन्थ्यो । यो कुरा सबरी नामक एक वृद्धाले थाहा पाइन् । उनले भगवान रामलाई निकै श्रद्धा गर्थिन् । त्यस कारण उनले बयर खुवाउने विचार गरिन् । सबरीले भुइँमा खसेका बयर टिपिन् । मिठामिठा बयर भगवान् रामका लागि र नमिठो आफैँले खाइन् । यसर्थ सबै बयर टोक्दै राख्दै गरिन् । भगवान् राम उनी छेउ पुगेपछि बयर राम र लक्ष्मण दुवैलाई दिइन् । भगवान् रामले खानुभयो, लक्ष्मणले सबरीले नदेख्ने गरी फालिदिनु भयो । पछि लक्ष्मण बिरामी हुँदा त्यही बयर हनुमानले उठएर लगे । फ्याँकिएको बयर खाएपछि लक्ष्मणलाई ठीक भयो भन्ने कथामा छ । सबरी यतिबेलाको भनाइअनुसार दलित महिला हुनुहुन्थ्यो । त्यतिबेला जात त थियो तर विभेद थिएन । विभेद त पछि विकृति भिœयाउनेले बनाएका हुन्, शास्त्रले  होइन । अब भन्नुस्, धर्मले कसरी विभेद गरेको छ ? धर्म मान्छु पनि भन्ने अनि रामको व्यवहारको अनुशरण नगर्ने ? जातिप्रथा मानु धर्म मान्नु होइन ।
हिन्दू धर्म जात, लिंगभन्दा माथि छ । न त यसले लिंगका आधारमा भेदभाव गर्छ न त जातको नै ।
फेरि दसैँकै चर्चा गरौँ ।  
दसैँमा कालीको पूजा गरिन्छ । काली स्त्री हुन् भनिरहनु परेन । के हो त काली ? किन पूजा गरिन्छ त काली को ? रात्रिमा उनको पूजा गर्नुका पछाडिको विज्ञान के छ ?
कालीको अर्थ काल अर्थात् अँध्यारो हो । अँध्यारोमा केही थाहा हुँदैन तर जे पनि महत्वपूर्ण कार्य छ, अँध्यारो समयमै हुन्छ । जस्तैः रुख छ, त्यो रुखको जरा जमिनमुनि हुन्छ । त्यहाँ अँध्यारो हुन्छ । जराले रुखलाई पोषण दिइरहेको हुन्छ । अँध्यारोमा पनि बहुमूल्य कुरा छ भनेर बुझाउन कालरात्रि गर्न सिकाइयो ।
हामी बाहिर जे देखिन्छौँ, त्यति मात्रै हैनौँ । हामीभित्रको आवरण हेरौँ जुन अँध्यारो कुनामा छ । बाहिरी आवरणमा हामी स्त्री पुरुष जे भए पनि भित्री आवरणमा के स्त्री, के पुरुष, को सानो, को ठूलो ? हामीभित्र केही फरक छैन । बाहिरी आवरणले केही प्रभाव पार्दैन, जे पार्छ भित्री आवरणले पार्छ ।
मानिसको अनुहार आकारमा छ तर भित्री अनुहार निराकारमा छ । हाम्रो विचार अँध्यारोमा छ । हाम्रो मन अँध्यारो छ । त्यसकारण पूजा गर्न लगाइयो, त्यस दिन बली दिएर कुप्रथा भिœयाइयो । बली दिनु शास्त्रमा कहीँकतै उल्लेख छैन । बली दिने होइन, तिमीभित्रको नकारात्मक कुराको बली देऊ । तिमीभित्रको राम्रा कुरा उजगार गर भनेको हो । हामीले गलत बुझ्दैछौँ धर्मको सही पक्ष बुझौँ । त्यसैअनुसार अनुशरण गरौँ । त्यसकारण दसैँ वैज्ञानिक पर्व हो ।
दसैँमा विभिन्न विकृति पनि आएका छन् । दसैँमा पर्वको महत्व बुझेर भन्दा पनि रमाइलो गर्ने निहुँमा बिसंगति भित्रिएका छन् । आम्दानी कम हुनेले मनाउनै नसकिने गरी दसैँ महँगो हुन थालेको छ । दसैँ जुवा–तास खेल्ने, रक्सी खाने, हुल्दंगा गर्ने समस्या आएका छन् । दसैँमा पिङ खेल्ने, व्रत बस्ने, देवी दुर्गाको मह्त्वको चर्चा गर्ने काम कमी हुन्छन् । यसले हामीलाई कता लैजान्छ सोच्नुपर्ने बेला आएको छ ।
अघिपछि अफिसबाट सधैँ साँझ छ बजे आइपुग्ने व्यक्ति दसैँमा दिनभरि रातभरि जुवातास खेलेर घरमा बासै नहुने देखिन्छ । दसैंमा आफू मात्र होइन, घरपरिवारका सदस्यलाई पनि रमाइलो गर्न दिनुपर्छ । सँगै बसेर काम सघाउँदा छोराछोरी, श्रीमतीका कुरा सुन्दा छुट्टै रमाइलो हुन्छ । दसैँ सबैका लागि हो । त्यसकारण जुवातास–जाँडरक्सीबाट अलग रही फरक ढंगले मनाऔँ ।   
हामीले संस्कृति धुमिल बनाउने काम गर्न हुन्न । संस्कृति रहे मात्र देश रहन्छ । राष्ट्रियता भनेको देशको भूगोल मात्रै होइन जति भूगोलको महत्व छ, त्यसरी नै हाम्रो भाषा, संस्कृति र भेषभूषाको पनि महत्वपूर्ण छ । हाम्रो भेषभूषा, संस्कार छ र त हाम्रो राष्ट्रियता पनि बलियो छ ।
दसैँका हरेक दिन महत्वपूर्ण छन् । दस दिन किन मनाइयो त ? यो साधनाका लागि हो । कुनै पनि कुरा तपाईंले ९ दिनसम्म गज्जबले साधना गर्नुभयो भने दसौँ दिनको दिन फल प्राप्त हुन्छ । त्यसकारण विजयदशमी भनिएको हो ।
हामीले सही ढंगले साधना ग¥यौँ भने ९ दिनसम्म हाम्रो अवचेतन मन प्रशिक्षित हुन्छ र त्यसलाई हामीले गरेको साधनामा डुबाउन सक्छौँ । हामीले म प्रेमिल हुन्छु भनेर नौ दिनसम्म साधना गर्यौँ भने दसौँ दिन हामी प्रेमिल हुन्छौँ ।
अभ्यासबाट मात्रै कुनै पनि शक्ति प्राप्त हुन्छ । त्यसै हुँदैन फल प्राप्ति, यसका लागि त साधना अनिवार्य छ ।
हामीले ९ दिनसम्म दया, माया, प्रेम, करुणा, शान्त, मातृत्वजस्ता कुराको साधना गरौँ, यसले हामीलाई एकीकृत पार्छ । सबैप्रति सम्मान भाव बढाउँछ ।  यसरी नै हामी पूर्ण हुन सक्छौँ ।
जसरी अँध्यारोमा उज्यालो बालेपछि अँध्यारो आफैँ हट्छ, त्यसरी नै प्रेमपूर्ण हुने साधना हामीले गर्यौँ भने हामीबाट घृणा आफैँ भाग्छ तर नराम्रो कुरा सोच्यौँ भने नराम्रो नै हुन्छ ।
तसर्थ यो दसैँ र यसपछिका हरेक दसैँ फरक ढंगले मनाऔँ । योग, ध्यान र प्रेमपूर्ण बन्न साधना गरौँ । परिवारका सदस्यलाई अझै बढी खुसी प्रदान गरौँ । दसैँको सबैलाई शुभकामना ।     

(प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

प्रकाशित: ८ आश्विन २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App