नेपालमा काठमाडौँमा गुह्येश्वरी, संखुवासभामा सिद्धकाली र धरानमा दन्तकाली गरी तीन शक्तिपीठ छन् ।
धरानको दन्तकाली शक्तिपीठ भएको स्थानमा सतीदेवीको दन्त (बंगरा) खसेको भनेर पुराणहरुमा वर्णन गरिएको छ । नवरात्रमा प्रत्येक दिन शक्तिरुपि दुर्गाको अलग–अलग रुप एवं अवतारको विशेष पूजा गरिन्छ । अन्यत्रझैँ धरानको दन्तकाली मन्दिरमा पनि भक्तजनहरु आराधना गर्न आउनु सामान्य हो तर यहाँ लाग्ने नवरात्रि मेला सायदै अन्य शक्तिपीठमा लाग्छन् ।
के हो नवरात्रि मेला ?
घटस्थापनादेखि बडा दसैँ सुरु भएको मानिन्छ । घटस्थापनाको दिन बिहानै शक्तिपीठहरुमा विशेष पूजाअर्चना सुरु गरिन्छ । जौं, मकै, गहुँलाई विधिपूर्वक पूजा गरेर जमरा राखिन्छ र दसमीको दिन टीका लगाउँदा त्यही जमरा लगाइदिने चलन छ । घटस्थापनाको दिनदेखि नै नवरात्र पनि सुरु हुन्छ । शक्तिपीठहरुमा बिहानदेखि भक्तजनको घुइँचो लाग्छ । धरानको शक्तिपीठ दन्तकालीमा भने नवरात्र सुरु भएपछि श्रद्धालु भक्तजनभन्दा पनि धर्मप्रति खासै आस्था (रुचि) नभएका टिनएजर तथा युवायुवतीको चलहपलह सुरु हुन्छ । त्यो पनि उज्यालो नहुँदै, मन्दिरको द्वार नखुल्दै मध्यरातदेखि । उनीहरु राति नै नवरात्रि मेला जाने भनेर घरबाट निस्कन्छन् र विजयपुर डाँडामा अवस्थित मठमन्दिरतिर घुम्न निस्कन्छन् । उनीहरुको धार्मिक उद्देश्यले भन्दा पनि मेला भर्ने ध्येय हुन्छ । प्रेम जोडीहरुलाई भेटघाट गर्ने सुनौलो मौका पनि यसैबेला मिल्छ ।
दन्तकाली मन्दिरको द्वार भक्तजनहरुका लागि प्रायः साढे चार बजेपछि मात्र खुल्छ तर धरानका युवायुवती भने मध्यरातदेखि नै मेला भर्न निस्कन्छन् । विजयपुर गढी आफैँमा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यही ठाउँमा दन्तकाली शक्तिपीठ, पिण्डेश्वर महादेव, बूढासुब्बा र पञ्चकन्या मन्दिरजस्ता धार्मिक स्थलहरुले यस गढीको गरिमालाई बढाएको छ । प्रत्येक मन्दिरको आफ्नै महत्व छ । नवरात्रि मेला भर्न निस्किएका तन्नेरीहरु मध्यरातदेखि नै यिनै धार्मिक मठमन्दिरको फन्को मार्ने गरेका छन् । ‘घरबाट राति नै मठमन्दिर घुम्ने भनेर निस्कन्छन् तर उद्देश्य भने रमाइलो गर्ने हुन्छ । नवरात्रीमा युवायुवती, जोडीहरु देख्दा मात्र दसैँ आएछ भन्ने लाग्छ,’ स्थानीय सुनील भुजेल भन्छन्, ‘उज्यालो भएपछि युवायुवती फर्कन्छन्, त्यसपछि मात्र मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।’ माओवादी द्वन्द्वको समयमा मात्र संकटकालका बेला मेला प्रभावित भएको थियो । मध्यरातमा तन्नेरीहरु हिँड्न पाएनन् तर समयको अन्तरालसँगै पुनः नवरात्रिको रौनक फर्किएको छ ।
पर्यटनकर्मी एवं शास्त्रका अध्येता वासुदेव बरालका अनुसार सबै शक्तिपीठमा नवरात्रिमा विशेष पूजाआराधना हुन्छ तर नवरात्रि मेलाको चलन भने धरानको शक्तिपीठमा मात्र छ । धर्मप्रति रुचि नभएका टिनएजर मनोरञ्जनको उद्देश्यले मठमन्दिर घुम्नुलाई पनि उनी सकरात्मक ठान्छन् । ‘मनोरञ्जनको अर्को माध्यम नभएर पनि हाम्रा युवाहरु नवरात्रि मेला भर्न जान्छन्, यसलाई सकरात्मक रुपमा नै लिनुपर्छ,’ बराल भन्छन्, ‘युवाहरु सिधै पूजाआराधनामा चासो राख्दैनन् तर यति भएन भने पनि उनीहरुमा धर्म, संस्कृतिप्रति आस्था बढ्दैन । यो नवरात्रि मेला मनोरञ्जनकै लागि भए पनि युवापुस्तामा आस्था निर्माणको प्रारम्भिक चरण हो ।’ उनका अनुसार इलामको सिंहवाहिनी मन्दिरमा पनि नवरात्रि मेलाको चलन छ तर त्यो सतीदेवीको अंग पतन भएको शक्तिपीठ भने होइन ।
दन्तकालीको धार्मिक महत्व
धर्मग्रन्थहरुका अनुसार दक्ष प्रजापतिकी छोरी सतीको विवाह हिन्दुका आराध्यदेव शिवसँग भएको हुन्छ । यो विवाहप्रति बेखुस दक्ष प्रजापतिले एक दिन यज्ञको आयोजना गर्छन् तर आफ्नी छोरीज्वाइँलाई निम्ता दिँदैनन् । सतीदेवीले कारण जान्न चाहँदा दक्षले शिवको अनादर गर्छन् । आफ्नो पतिको अनादर भएको सहन नसकी सतीले यज्ञमा आत्मदाह गर्छिन् । यो थाहा पाएर विक्षिप्त बनेका शिव सतीको शव बोकेर ब्रह्माण्डमा भौतारिन्छन् । त्यसै क्रममा विभिन्न ठाउँमा सतीको अंग पतन हुन्छ । विजयपुरमा भने सतीको माथिल्लो दाँत (बंगरा) खसेको दन्तकाली मन्दिरका मुख्य पुजारी एवं दन्तकाली विकास समितिका अध्यक्ष विश्वराज खनाल बताउँछन् । ‘स्कन्द पुराणको हिमाद्री खण्डमा यो कुरा उल्लेख छ, जहाँ जहाँ सती देवीको अंग पतन हुन्छ, त्यस स्थानमा देवीदेवताहरुले शिवको आराधना गर्छन् । त्यसैले शक्तिपीठनजिकै महादेवको मन्दिर हुन्छ,’ मुख्य पुजारी खनाल भन्छन्, ‘तसर्थ, शक्तिपीठको दर्शन गरेपछि महादेवको दर्शन गर्नु भनिन्छ ।’
धरानमा दन्तकाली शक्तिपीठनजिक १ कि.मि.कै दुरीमा पिण्डेश्वर महादेवको मन्दिर छ । यस्तै, काठमाडौँमा पनि गुह्येश्वरीनजिकै पशुपतिनाथको मन्दिर छ । पुजारी खनालका अनुसार नवरात्र सुरु भएपछि पहिलो दिन दुर्गालाई शैल (हिमालय) पुत्रीका रुपमा विशेष पूजाआराधना गरिन्छ । शैलपुत्री नै पार्वती हुन् । दोस्रो दिन ब्रह्मचरिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको रुपमा पूजा गरिन्छ । मुख्य पुजारी खनाल भन्छन्, ‘यी सबै दुर्गाका रुप हुन्, यी रुप धारण गरेर दुर्गाले अधर्मी विभिन्न दानवहरुको अन्त्य गरेको पुराणहरुमा उल्लेख छ ।’
विजयपुरगढीः धार्मिक पर्यटनको केन्द्र
आधुनिक सहर धरानको शिर हो, विजयपुर गढी । यो गढी हाल वडा नम्बर १४ मा पर्छ । एउटा वडामा खुम्चिए पनि विजयपुरको इतिहास भने ज्यादै फराकिलो छ । पाल्पाका सेनवंशी राजाले राज्य विस्तारको क्रममा विजयपुरगढी स्थापना गरेको मानिन्छ । यो सामरिक हिसाबले महत्वपूर्ण किल्लाको रुपमा थियो । सेनवंशी राजा विजयनारायणले स्थापना गरेकाले गढीको नाम पनि विजयपुर रहन गएको पनि भनिन्छ ।
विजयपुरका सेनवंशी राजाका सेनापति मुरेहाङ थिए । उनलाई मृत्युदण्ड दिइएको थियो । त्यसको बदला उनका छोरा बाजाहाङले लिम्वूवानका सेना उठाएर विजयपुर कब्जा गरेको र पछि बुद्धिकर्ण राय राजा हुँदा गोर्खाका शाह राजाले सन्धि गरेर विजयपुर पनि कब्जा गरेको इतिहास छ । वि.स.१८३१ मा तत्कालीन गोर्खाली राजा र लिम्बु राजाबीच सम्झौता भई नेपालमा विलय हुनुपूर्व विजयपुर गढीको स्वतन्त्र अस्तित्व रहेको किरात इतिहासकार इमानसिंह चेम्जोङको किरात इतिहास पुस्तकमा उल्लेख छ । विजयपुरमा सेनकालीन राज्यको दरबार थियो भन्ने जनाउ दिने थुप्रै ढुंगाइँटा र दुईवटा तोपसमेत भएको बुढापाकाहरु बताउँछन् । तर, ती पुरात्तात्विक महŒवका सम्पदाहरुको संरक्षणमा कसैले पनि ध्यान दिएनन् । तत्कालिन बडाहाकिम भूपालमानसिंह कार्कीले वि.सं. २०१० सालतिर विजयपुरको तोप र सेनकालीन केही ढुंगाहरु मोरङको रंगेली लगेका केहीको दाबी छ ।
यही ऐतिहासिक गढी धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ पनि हो । विजयपुरको उत्तरमा अवस्थित छ, पञ्चकन्या मन्दिर । पक्की सडक, मानव बस्ती हुँदै सालघारी (जंगल)भित्र पुगेपछि पञ्चकन्या मन्दिर र पाथीभरा युमा मन्दिरको प्रांगणमा पुगिन्छ । हिन्दुधर्ममा पाँच कन्याको रुपमा अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीलाई मानिन्छ । मन्दिरभित्र त्यही उत्पत्ति भएको पाँच कन्या (सिला) छन् । पञ्चकन्या मन्दिर करिब १७ सयतिर सेनवंशी राजाकै पालामा स्थापना भएको मानिन्छ । नजिकैको पाथीभरा मन्दिर भने भर्खर मात्र बनेको हो । पञ्चकन्या मन्दिरदेखि उत्तर घना पञ्चकन्या जंगल छ । त्यहाँ किराती राजा बुद्धिकर्ण रायको दरबारको भग्नवशेष भएको ठाउँ छ । किरात इतिहासका अध्येताहरु भने यो ठाउँ दरबार नभई तत्कालीन राजाको सेन्ट्री बस्ने ठाउँ मात्र भएको बताउँछन् । त्यहाँ किराती समुदायले बर्सेनि उँभौली–उँधौली चाडमा भुमे पूजा गरी च्याब्रङ, साकेला नाच्ने गर्छन् ।
विजयपुरमा अवस्थित छ अर्को प्रसिद्ध बूढासुब्बा मन्दिर । मूर्ति नभएको यो अचम्मको मन्दिर छ । मन्दिरभित्र माटोको ढिस्को छ । भक्तजनहरुले त्यसैलाई पुज्नुपर्छ । ढिस्कोबारे अनेक किवंदन्तीहरु छन् । कसैले बूढा सुब्बा र सुब्बेनीको समाधि भन्छन् त कसैले किरात राजा बुद्धिकण रायको समाधि । किरात इतिहासका इमान सिं चेम्जोङले बूढासुब्बा राजा बुद्धिकण राय (बूढा सुभा)को समाधिस्थल हो भनेका छन् । यहाँ पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरमा टुप्पो बिनाका बाँसका झ्याङ छन् । यो बूढा सुब्बा र सुब्बेनीको धनु काँडबाट उम्रेको बाँस भएकाले टुप्पो नभएको भन्ने किंवदन्ती पनि छ । दशकअघिसम्म ती बाँसमा प्रेमीप्रेमिकाको नाम खोप्ने चलन थियो । त्यसो गरे प्रेम सफल हुने विश्वास गरिन्थ्यो । अहिले बाँसमा नाम खोप्न पाइँदैन । युवा जोडीहरुले बाँस जोगाउन बारेको तारजालीमा डोरो बाँधेर आफ्नो प्रेम सफलताको कामना गर्छन् ।
विजयपुरमा पौराणिक महत्वको अर्को पिण्डेश्वर मन्दिर छ । पिण्डेश्वर हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल हो । स्कन्द पुराणमा यस ठाउँलाई रुद्राक्षरष्य क्षेत्र पनि भनिएको छ । रुद्राक्षको उत्पत्ति थलो हो, पिण्डेश्वर क्षेत्र । समुन्द्र मन्थनका बेला निस्किएको कालकुट विष पिएका महादेवको पीडा यहाँ आएपछि शान्त भएको र आँशु खस्दा रुद्राक्ष उत्पत्ति भएको विश्वास गरिन्छ । यस्तै, देवताहरुले अमृतको छोक्रा पिण्ड बनाई पिण्डेश्वर महादेव (शिवलिङ्ग) स्थापना गरेको पनि विश्वास गरिन्छ । यही मन्दिरमा जंगबहादुर र भीमसेन थापाले चढाएका दुई ठूला घण्ट छन् । मन्दिरनजिकै सरस्वती सरोवर छ । डाँडामा अचम्मको इनार छ । साउन महिनामा यहाँ लाग्ने बोलबम मेलामा सप्तकोसीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइँचो हुन्छ ।
यी प्रमुख धार्मिकस्थलबाहेक पनि विजयपुरमा थुप्रै मठमन्दिर र गन्तव्यहरु छन् । विजयपुर प्रवेश गर्ने थुप्रै बाटोहरु छन् । ती मध्ये एक हो, सिंहदेवी चोक । त्यहाँ पनि सिंहदेवी मन्दिर अवस्थित छ । अलिक मास्तिर बालगोपाल मन्दिर छ । ऐतिहासिक दुई धारे । विजयपुर चोकमा पार्क छ । पार्कभित्रको रंगीचंगी फूलबारी । कलाकार, सहित्यकारहरुले श्रष्टा विभूति स्मारक बनाएका छन् । पार्कबाहिर फलामे कुर्सीहरु छन् भने दन्तकाली मन्दिरनजिकै भ्यु पोइन्ट छ । यहाँबाट धरान बजारको सुन्दर दृश्य हेर्न सकिन्छ । फलामे कुर्सीमा युवायुवतीको जोडीहरु गफिदै गरेको, पृष्ठभूमिमा धरानलाई राखेर फोटो खिच्दै गरेकाहरु थुप्रै हुन्छन् । धरान नगरपालिकाले २०६७ सालमा स्थापनाको स्वर्ण महोत्सव मनाउँदा यो पोइन्ट निर्माण गरेको थियो ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: ७ आश्विन २०७४ ०६:५४ शनिबार