अन्य

दशैका खाना कस्तो हुनु पर्छ ?

दशैंमा राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खान सकेमा स्वस्थ र स्वादिलो दसैं बन्छ ।  यी परिकार मांसाहारीले पनि खाएमा फाइदा पुर्याउँछ ।

नेपालीहरुको महान पर्व दशैंमा प्रवेश गरिसकेका छौं । कतिले दसैंलाई मासुको पर्वका रुपमा पनि लिन्छन् । दसैंलाई लक्षित गरेरै विदेशबाट खसी–च्याङ्रग्रा आयात हुन्छ । अर्थात मासु र दसैं पर्व पर्यायवाची जस्तै बनेको छ ।
दसैंमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार भुटन, मासु, झोल जस्ता परिकार बनाएर खाने चलन छ ।  नेवार समुदायले भने छोइला, कचेला, सेकुवा, भुटन, मासु लगायत थुपै्र परिकार बनाएर खाने चलन छ । दसैंको पाहुनालाई पनि मासु नै पकाएर सत्कार गरिन्छ । यी सबै परिकार खाने क्रममा एउटा व्यक्तिले दैनिक आवश्यक क्यालोरी भन्दा बढी खाइरहेको हुन्छ । चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका हिसाबले भने उचित मानिँदैन । खानु नै परेमा भने विधि पुर्वक खानु पर्ने वीर अस्पतालकी पोषणविद राजेश्वरी पाण्डे बताउँछिन् ।

पोषणविद पाण्डे भन्छिन्, ‘नेवारी समुदायमा चर्चित मासुका परिकार कचिला, छोइला, सेकुवा, भुटन खानु हुँदैन । यी परिकार राम्रोसँग नपाक्ने हुनाले मासुसंगै आउने जिवाणुहरु मरेका पनि हुँदैनन ।’  

विधिपूर्वक खान जानेमा दसैं स्वस्थ, स्वादिलो र रमाइलो दसैं मनाउन सकिने पोषणविद पाण्डेको सुझाव छ । पाण्डेका अनुसार हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनु पर्छ । बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पु¥याउनु पर्छ । ताजा मासु रातो देखिन्छ भने बासी मासु रंग उडेको र छाम्दा गिलो हुन्छ । यस्तो मासु प्रयोग गर्नु हुँदैन ।

दसैंमा मासु सञ्चित गरेर राख्ने चलन छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो हैन । दसैंमा सुकुटी बनाएर राख्ने, एकैपटक पकाएर राख्ने र तताउँदै खाने चलन स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसरी राख्दा मासुको स्वाद र भिटामिन नष्ट हुँदै जाने विज्ञ बताउँछन् । सुकुटी बनाउँदा मासुमा किटाणु जम्मा हुने, झिंगा भन्केर संक्रमित हुने, धुवाँ, धुलो जम्मा हुने, भिटामिन समेत नष्ट हुने, मासुको स्वाद बिगिने समस्या हुन्छ । पकाएर राखेको मासु तताउँदै खानाले पेटसम्बन्धी रोग लाग्ने स्वास्थ्यकर्मी बताउँछन् ।  


मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ ।  मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ । भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ । मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन ।  कलेजोमा फलाम र कार्बाेहाइड्रेट पाइन्छ । हड्डीमा क्याल्सियम पाइन्छ । मासु गलाएर पकाएको खण्डमा क्याल्सियम पनि पनि प्राप्त हुन्छ । मासुको कुुर्कुरे हड्डीमा क्याल्सियम पाइने हुनाले हड्डीसहित गलाएर पकाउनु राम्रो हुन्छ ।

ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ । मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ । टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन । टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ । मासु आफै चिल्लो हुने भएकोले  कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनु पर्छ । मसला ठिक्क राखेर पकाएको मासु  स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ । चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्राम  सम्म खाँदा असर गर्दैन । शारीरिक श्रम गर्नेले भने ९० ग्राम सम्म खान सक्छन् । मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानु पर्छ ।

मासु बढी मात्रामा खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन । नियमित रुपमा अधिक मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली, मुटु, मिर्गौला, कलेजोको रोग लाग्ने चिकित्सक बताउँछन् । रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसी, रांगो जस्ता रातो मासुहरु सकेसम्म कम प्रयोग गर्नुपर्छ । नियमित प्रयोग गर्दा नसामा बोसो जम्मा भई मुटु र मस्तिष्कघात र हृदयघात जस्ता रोग लाग्छन् । त्यो बाहेक मासु बढी प्रयोग गर्दा शरीरमा एन्टिअक्सिडेन्ट तत्व (एक प्रकारको बिषादी ) जम्मा भई पाचन प्रणालीका रोग लाग्छन् । छालामा समेत असर गरी उमेर भन्दा पहिल्यै नै बुढो देखिने समस्या हुन्छ ।

यस कारण मांसाहारीहरुले दसैं मनाउँदा मासुको मात्रा मिलाएर खानुका साथै उत्तिकै मात्रामा हरियो सागपात, सलाद, फलफूल, दही, मही जस्ता खाने कुरा पनि मिलाएर खाँदा भोजन सन्तुलित हुन्छ । यसले पाचन प्रक्रिया सहज बनाउने पाण्डे बताउँछिन् ।

जनावरजन्य मासुमा कोलस्ट्रोल बढी हुने भएकोले सकेसम्म चराचुरुंगीका मासु र माछाको प्रयोग गर्न पाण्डे सुझाउँछिन् । मासु बढी खाएमा युरिक एसिड, युरिया, नाइट्रोजिन जस्ता पदार्थ जम्मा भई अपशिष्ट पदार्थ रगतमा जम्मा हुन्छ । यी पदार्थले मिर्गौलाको निष्कासनमा अप्ठेरो पर्न जान्छ र मिर्गौलाको समस्या देखा पर्न सक्छ ।

शाहाकारीको लागि मासु  नभएपछि अन्य मिठा र स्वस्थ परिकार बनाएर खान सकिने पोषणविद पाण्डेको सुझाव छ । यसको लागि दाल, गेडागुडी, पनिर, दुध, कुरिलो, भट्टमास जस्ता खानेकुराबाट पनि  मासुको जस्तै प्रोटिन प्राप्त गर्न सक्छन् । शाहाकारीले यी मध्येका खानाहरु नियमित खानु पर्छ नै चाडपर्वमा यिनी लगायतका अन्य परिकार बनाएर स्वादिलो दशै मनाउन सक्छन् । क्वाँटीको झोल, पनिर, मिक्स भेज सुप, दही, केरा, चिउरा, सलाद, अन्य फलफूल खानामा सामेल गराएर खान सकिन्छ ।
यी खाने कुराको तुलनामा सेल रोटी तर घिउ तेलमा तारेका खाने कुरा नखाएको राम्रो मानिन्छ । तर रमाइलोको लागि राइता, सिकर्नी, ताजा अचार  बनाएर भोजनलाई स्वादिलो बनाउन सकिन्छ । राइटा घरैमा बनाउनको लागि काँक्रा कोरेर दही बेसार, रायो नुन राखी यसलाई मेथीले झानेर खान सकिन्छ । घरमै बनाएका मिठाइका परिकार थोरै मात्र भोजनमा समावेश गराउन सकिन्छ ।

दसैं भोजनका लागि सिकर्नी उत्तिकै मीठो परिकार बन्न सक्छ । यसको लागि दहीलाई कुनै सुतिको सफा कपडामा बाँधेर झुण्डयाउने, त्यसबाट पुरै पानी तैरिसकेपछि निकाल्ने, पानी तैरेको आठ÷दश घण्टापछि साह«ो बनेको दहीमा चिनी, सुकमेल र मरिच राखेर चलाउने र भाँडामा दही राखे जस्तो राख्ने, त्यो बट्टामा राख्ने र पाहुना र आफुले आवश्यकता परेको बेला खान सकिन्छ । यसबाट निस्केको पानी भने महीको रुपमा प्रयोग गर्न सकिन्छ ।

दसैंमा घरैमा रसवरी बनाएर खान सकिन्छ । रसबरी बनाउन दुधलाई फटाएको थेग्रालाई कपडामा राखेर निखार्ने, त्यसपछि गह्रौं चिजले थिचेर पनि पानी निखार्न सकिन्छ । पानी निख्रेको थेग्रोमा थोरै बेकिङ पाउडर राख्ने र सानो डल्लो बनाई चिनीको पानीमा पकाउने ।

दसंैको परिकारमा समावेश गर्न सकिनेमा काँक्रा तथा अन्य थरिका अचार हुन् । जसलाई हामीले घरमा इच्छा अनुसार बनाउन सक्छौं । त्यसको साथै मन परेका रोटीका परिकार पनि बनाउन सकिन्छ । सकेसम्म बढी चिनी र तेल प्रयोग भएका खाने कुरा खानु हुँदैन ।  दसैंको बेला बजारका तयारी खानेकुराभन्दा घरैमा बनाएका खाने कुरा सेवन गरेमा स्वादिलो र स्वस्थ दसैं मनाउन सकिने पाण्डे सुझाउँछिन् ।
‘छुट्टीको बेला मिलेर पकाएका खाने कुरा नै स्वादिला हुन्छन् ।’ उनले भनिन् । तर बढी तेल र गुलियो प्रयोग भएका खाने कुराहरु कम खान उनको सुझाव छ ।

प्रकाशित: ७ आश्विन २०७४ ०६:०२ शनिबार

दशैका खाना कस्तो हुनु पर्छ