अन्य

‘काठमाडौं वैरागलाग्दो छ’

केदार घिमिरे ‘माग्नेबूढो’, कलाकार

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मैले विश्वका २० भन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये मन लोभ्याउने सहर स्विट्जरल्यान्डको जुरिक हो । त्यो सहर आधुनिक शैलीको छ । त्यहाँ असन र बानेश्वरजस्तै बाटो क्रस गर्ने मानिसको भीड हुन्छ तर त्यहाँका सडकमा ट्राफिक लाइट राखिएको छ । धुवाँधुलो कतै देखिन्न। 

नेपालभित्रका मनपर्ने सहर भन्नुपर्दा ?
मलाई पोखरा र इलाम असाध्यै मनपर्छ । त्यहाँको प्राकृतिक सुन्दरताले जो–कोहीलाई मोहित पार्छ । यी ठाउँमा हावापानी, सरसफाइ र रमणीय दृश्य धेरै छन् । यसो फुर्सद हुँदा उपत्यका बाहिर घुम्न जानुपर्‍यो भने यी ठाउँ नै रोज्छु। 

काठमाडौं सहर कस्तो लाग्छ ?
काठमाडौं सहर वैरागलाग्दो छ । यहाँको प्रदूषण र सडकको अवस्थालाई सम्झँदा काठमाडौंमा बाध्यताले मात्रै बसेको छु जस्तो लाग्छ । यहाँ बस्ने धेरै मानिस यहाँको प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकदेखि आजित छन् । सरकारले योजनाबद्ध रूपमा काम नगरकै कारण राजधानी अव्यवस्थित बनेको हो। 

काठमाडौंको राम्रो र नराम्रो लाग्ने पक्ष के के हुन् ?
काठमाडौंमा धेरै मिलनसार मानिस बस्छन् । यहाँ सबै जाति छन् तर एकले अर्कोको संस्कृति मान्छन्, यो यहाँको राम्रो पक्ष हो । त्यस्तै, मौसमी सुन्दरता, हरियाली, सुगमता यहाँका राम्रा पक्ष हुन् । यहाँका दिक्क लाग्ने पक्ष भनेकै ट्राफिक जाम र अव्यवस्थित सडक हो। 

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहर सबैको सपना, अवसर र रहरले भरिएको ठाउँ हुनुपर्छ । सहर हेर्दै रमणीय र ऊर्जा जगाउने खालको हुनुपर्छ । मेरो सपनाको सहर यस्तो होस्, जहाँ फराकिला सडक होऊन्, सडकछेउ एकैनास घर होऊन् । घरको छेउछाउ फोहोर जम्मा गर्ने भाँडा राखिएको होस् । हरियाली पार्क होऊन् र सहरमा पाइने सबैखाले सेवा–सुविधा पाइयोस् । यति भए मात्रै सहरवासीले आफू सहरमै भएको अनुभूति गर्न सक्छन् । तर, दुःखको कुरा हाम्रा देशका सहर नामले मात्र सहर बनेका छन् । यहाँ खास सुविधा पाइँदैन । सरकारी काम–कारबाही पनि सहर व्यवस्थित बनाउने खालका छैनन्।

हाम्रा सहर अरु देशका सहरजस्तै बन्न सक्लान् ?
किन नसक्नु ? बनाउने हो भने यहाँ असम्भव केही छैन । नेपाल एउटा यस्तो देश हो, जहाँ हरेकथोक पाइन्छ । तर राज्यले यहाँका अवसर र सम्भावनालाई कहिल्यै बुझ्न सकेन । देश बनाउँछु भनेर राजनीतिमा लागेका नेता आफ्नै स्वार्थ पूर्तितिर लागे । यस्तै–यस्तै कारण देश विकास हुन नसकेको हो। 

आफू घुमेको विदेशी सहरको के मनपर्‍यो ?
जुरिक, क्लोराडो, सिड्नीको भौतिक संरचना अति नै राम्रो छ । विदेशका अधिकांश सहरमा भवन एकैनासका र एकै–एकै शैलीका हुन्छन् । सरकारको नीति–नियम पनि कसिलो हुन्छ । नागरिकहरू सहरको सुन्दरताको विषयमा गम्भीर हुन्छन् । तर, हाम्रोमा जेनजेत आफ्नो घर सफा राखे पुग्छ । आफ्नो घरको फोहोर सडकमा ल्याएर मिल्काउने प्रवृत्ति छ । यो अति नै दुःखद कुरा हो । 

हाम्रोमा पनि त्यस्तै भौतिक निर्माण सम्भव होला, तपाईंलाई के लाग्छ ?
सरकार र जनता लाग्ने हो भने देश विकास सम्भव छ । काठमाडौं महानगरपालिकाले नीति–नियम र मापदण्डमा केही कडाइ गर्ने हो भने बन्दै गरेका भवन एकनासका हुन्थे । यसरी नै अन्य सहर पनि सुन्दर बनाउन सकिन्छ । 
 
विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
मौलिकता र ऐतिहासिक पाटोलाई हेर्दा विदेशी सहरभन्दा हाम्रै सहर अघि छन् । मैले घुमेका धेरै सहरको इतिहास नेपाली सहरको जस्तो पुरानो र ऐतिहासिक छैन । सहरको विकास गर्दा मौलिकता र आधुनिकतालाई ध्यानमा राखेका कारण विदेशका सहर राम्रा बनेका हुन् । मैले घुमेका धेरै विदेशी सहरमा नेपालका सहरको जस्तो विशेषता कतै पाइनँ । धुवाँधुलो र फोहोरले हाम्रा सहर थोरै अव्यवस्थित होलान् तर यहाँको विशेषता र मौलिकता अरु देशका सहरभन्दा फरक छन् । हाम्रा सहरले पुरानो इतिहास बोलेका छन् । नेपाल र नेपालीको पहिचान झल्किएका छन् । 

तपाईंको विचारमा हाम्रा सहरमा त्यस्तो खास के छ, जसलाई विकास गरेर हामी विश्वमा चिनिन सक्छौँ ?
इतिहास र मौलिकताका हिसाबले हाम्रा सहर विदेशी सहरको तुलनामा धेरै अगाडि छन् । तर आधुनिकताका हिसाबले विदेशी सहर अगाडि छन् । विश्वमा धेरै ठाउँका सहर स्मार्ट सिटीको अवधारणाले विकास भएका हुन् । सरकारले चाहने र काम गर्ने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ। 

सहरी विकासका लागि सरकारले कसरी काम गर्नुपर्लाजस्तो लाग्छ ?
सहरको विकासका निम्ति सबै सरकारी निकायबीच समन्वय हुनुपर्छ । हाम्रा सहर नबन्नुको मुख्य कारण  समन्वयकै अभाव हो । एक पक्षले बनाउँदै जाने अर्कोले फेरि भत्काउने प्रवृत्तिले सहर बिग्रिएको हो । 

उपत्यकाभित्र कतै घुम्न निस्कनुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
नगरकोट, कपन, त्रिभुवन पार्क, चन्द्रागिरि नै रोज्छु । यी ठाउँ रमणीय लाग्छन् । सहरनजिकै शीतल प्रदान गर्ने ठाउँ भनेकै यिनै हुन् । अहिले त मानिसको चापले गर्दा यी ठाउँमा पनि भीडभाड देखिन्छ । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २ आश्विन २०७४ ०५:४१ सोमबार

काठमाडौं वैरागलाग्दो