अन्य

पुस्तकालय प्रेम

‘पुस्तकालय विचारको जन्मका लागि प्रसूतिगृह हो,’ नर्मन कजिन्सको भनाइ छ, ‘जहाँ हाम्रो जीवनले इतिहास बुझ्ने अवसर पाउँछ ।’ कजिन्सले भनेझैँ कतिले पुस्तकालयबाट नयाँ विचार जन्माए वा इतिहास बुझेँ, हिसाब निकाल्न सजिलो नहोला । तर, ज्ञानको गहिराई पहिल्याउन पुस्तकालय धाउने क्रम उहिलेदेखि अहिलेसम्म चलिरहेको छ । मानव समाजमा ठूला–ठूला परिवर्तन ल्याउने सिद्धान्तको सुरुवात कि विज्ञान प्रयोगशालाबाट भएको छ कि त पुस्तकालयबाट ।

नयाँ पुस्तामा पुस्तकप्रेम बढेसँगै मुख्य लाइबे्ररीमा पुस्तक पढ्न आउने पाठकको भीड पनि लाग्ने गरेको छ । रुचिअनुसारको पुस्तक पढ्न धेरैजसो पाठकले लाइब्रेरीलाई नै माध्यम बनाउन थालेका छन् । लाइब्रेरीमा पुस्तक पढ्न पुग्नेमध्ये सबैभन्दा बढी युवा नै हुने गरेका छन् ।

जसरी कफी सपले युरोपमा ‘पब्लिक स्पेयर’को जन्म गरायो, त्यसैगरी पुस्तकालयले संसारका धेरै स्थानमा नयाँ वादहरू जन्माएको छ, धेरैको अर्धचेतन मनलाई जगाएको छ । पुस्तकालय संस्कृति कुनै पनि समाजका लागि नयाँ होइन र यो कसैका लागि पुरानो पनि बन्दैन । किनकि जब पुस्तकालय धाउने एउटा पुस्ताको अन्त्य हुन्छ, सँगसँगै अर्को पुस्ताको जन्म भइरहेको हुन्छ ।

पुस्तकालय धाउने त्यस्तै नयाँ पुस्ता मध्येकी एक हुन्, कीर्तिपुर बस्ने गायत्री बस्याल । उनी अचेल आफ्नो अधिकांश समय पुस्तकालयमा बिताउँछिन् । पुस्तकको खोजी र सन्दर्भ सामग्री जुटाउन उनी प्रायः त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालय पुग्छिन् । ‘लाइब्रेरी आएपछि छानिछानी पुस्तक पढ्न पाइन्छ,’ त्रिविमा स्नाकोत्तर अध्ययन गर्दै गरेकी बस्यालले भनिन्, ‘शान्त लाइबे्ररीमा बसेर अध्ययन गर्दा धेरै सजिलो हुन्छ, आजकाल लाइब्रेरीमै पुस्तक पढ्ने बानी पनि परेको छ ।’

भक्तपुर मध्यपुर थिमीका सुरज महर्जनको बानी पनि बस्यालसँग मिल्दो छ । उनी पुस्तक र पत्रपत्रिका अध्ययन गर्न लाइब्रेरीकै बढी भर परेको बताउँछन् । ‘लाइब्रेरीमा आएर पढ्ने बानीले गर्दा घरमा बसेर पढ्ने जाँगरै चल्दैन,’ बुधबार नेपाल–भारत पुस्तकालयमा भेटिएका महर्जनले सुनाए, ‘दिनभरि घरमा बसेर समय खेर फाल्नुभन्दा लाइब्रेरीमा आएपछि धेरै कुरा जान्न पाइन्छ ।’ उनी लाइब्रेरीमा आएर प्रायः पत्रपत्रिका, राजनीति इतिहास र पश्चिमा मुलुकबारे जानकारी भेटिने पुस्तक पढ्छन् ।

शंखमूलकी सुनिता थापालाई पनि पुस्तकालयमा गएर अध्ययन गर्ने बानी परिसकेको छ । उनी मनपर्ने पुस्तक पढ्न काठमाडौंको सुन्धारास्थित नेपाल–भारत पुस्तकालयमा धाउँछिन् । बुधबार पुस्तकालयमा भेटिएकी उनले पुस्तकालयमा आएर पुस्तक पढ्दा छुट्टै आनन्द हुने बताइन् । ‘समय मिलेसम्म पुस्तकालयमा नै पुग्ने गरेकी छु,’ उनले भनिन्, ‘सदस्यता लिएपछि महिनामा १० वटा पुस्तक घरमा ल्याएर पढ्न सकिन्छ ।’

उपत्यकाका मुख्य लाइब्रेरीमा पुस्तक पढ्न आएका यी केही पात्र मात्रै हुन् । पछिल्लो समय पुस्तकालयमा पुगेर अध्ययन गर्ने यस्ता पात्र धेरै भेटिन्छन् । नयाँ पुस्तामा पुस्तकप्रेम बढेसँगै मुख्य लाइबे्ररीमा पुस्तक पढ्न आउने पाठकको भीड पनि लाग्ने गरेको छ । रुचिअनुसारको पुस्तक पढ्न धेरैजसो पाठकले लाइब्रेरीलाई नै माध्यम बनाउन थालेका छन् । लाइब्रेरीमा पुस्तक पढ्न पुग्नेमध्ये सबैभन्दा बढी युवा नै हुने गरेका छन् । ‘पहिले–पहिले पुस्तकालयमा सीमित व्यक्तिमात्रै आउँथे,’ मदन पुरस्कार पुस्तकालय संकलन विभाग निर्देशक राजीव सिंहले भने, ‘अहिले नयाँ पुस्ता र विदेशीले पुस्तकालय भरिन्छ, यहाँ आउने धेरैले इतिहासबारेकै पुस्तक बढी खोज्ने गरेका छन् ।’ उनका अनुसार अहिले दिनमा विदेशी र नेपाली गरी सयभन्दा बढी पाठक पुस्तक पढ्न आउने गर्छन् । यहाँ आउनेमध्ये बढी युवायुवती नै हुन्छन् ।

२०१२ मा स्थापना भएको मदन पुरस्कार पुस्तकालयमा ५० भन्दा बढी विधाका पुस्तक छन् । यहाँ धेरैजसो इतिहास, साहित्य, धर्म र राजनीतिबारे लेखिएका पुस्तक छन् । ‘राजनीतिबारे लेखिएका पुस्तक हामीकहाँ धेरै छन्,’ निर्देशक सिंहले भने, ‘जंगबहादुरको मुलुकी ऐनदेखि सेनाको वीरचरित्रसम्मका पुस्तक छन्, यी पुस्तक झन्डै दुई सय वर्ष पुराना हुन् ।’

मदन पुरस्कार पुस्तकालय नेपालको पुरानो लाइब्रेरीमध्ये पर्छ । यहाँ भारतको बनारसमा छापिएका धेरै पुस्तक संग्रहित छन् । पुस्तकालयमा करिब १० हजार बढी पुस्तक रहेको विभाग निर्देशक सिंहले बताए । उनले पछिल्लो समय यहाँ भएका पुस्तक अनलाइनबाटै पनि हेर्न सकिने बताए । ‘हामीले अनलाइन क्याटल सिस्टमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने, ‘हामीकहाँ भएका सबै पुस्तक अनलाइनबाटै हेर्न सकिन्छ ।’

अहिले यस पुस्तकालयमा आउने पाठकमध्ये धेरै अनुसन्धानकर्ता छन् । थेसिस लेख्ने, इतिहासबारे अध्ययन गर्दै गरेका पाठक यहाँ आउने गरेका छन् ।

उपत्यकाका अन्य लाइब्रेरी नेपाल–भारत लाइब्रेरी, काठमाडौं भ्याली पब्लिक लाइबे्ररी, राष्ट्रिय लाइबे्ररी, केन्द्रीय लाइब्रेरी लगायतमा पहिलेभन्दा अहिले पाठक बढेका छन् ।

केन्द्रीय पुस्तकालयमा दुई वर्ष अघिसम्म दैनिक एक सयको संख्यामा पाठक आउने गर्थे । अहिले त्यो संख्या बढेर तीन सयभन्दा बढी पाठक आउने गरेको पुस्तकालयका सह–लाइबे्ररियन प्रशासन अधिकृत पूर्णलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय पुस्तकालयमा पाठकको भीड लाग्छ । ‘यहाँ आउने धेरैजसो पाठक युवा छन्,’ उनले भने, ‘कलेज पढ्ने र अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्नेका लागि सबै खाले पुस्तक लाइब्रेरीमै भेटिन्छन् ।’ उनका अनुसार अहिले केन्द्रीय लाइब्रेरीमा सदस्य बनेर पुस्तक पढ्नेको संख्या आठ हजार नाघेको छ । सदस्य बनेर घरमै पुस्तक लगेर अध्ययन गरी २० दिनपछि पुस्तक फिर्ता ल्याउन सकिन्छ ।

‘केन्द्रीय पुस्तकालयले पछिल्ला हरेक वर्ष ३५ लाख रुपैयाँ बराबरको पत्रपत्रिका र नयाँ पुस्तक थप्दै गएको छ,’ अधिकृत श्रेष्ठले भने । उनले यो वर्ष पनि अर्थ मन्त्रालयले नयाँ पुस्तक थप्न ८० लाख बजेट छुट्याएको बताए । ‘हामीकहाँ पुराना पुस्तक छैनन् तर पछिल्लो समय पाठ्यक्रम मिल्दा पुस्तक धेरै छन्,’ श्रेष्ठले भने, ‘हामीले हरेक वर्ष हजार प्रतिभन्दा बढी नयाँ पुस्तक थप्ने गरेका छौँ ।’

केन्द्रीय पुस्तकालयका पूर्वाध्यक्ष जनार्दन ढुंगानाले नेपालका मुख्य लाइब्रेरीले नेपाली भाषामा प्रकाशन भएका सबैखाले पुस्तक पुस्तकालयमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिए । ‘नेपाली लेखकले नेपाली भाषामा लेखेको जुनसुकै पुस्तक पनि ठूला लाइब्रेरीले दुई प्रति राख्नुपर्ने कानुनी व्यवस्था छ, तर धेरैजसोले उक्त नियम मानेका छैनन्,’ उनले भने, ‘धेरै पुस्तकालयले नयाँ किताब नराख्दा पाठक मर्कामा पर्ने गरेका छन् ।’

यता, नेपाली, हिन्दी, उर्दु, मराठी, अंगे्रजी लगायत भाषाका पुस्तक पाइने नेपाल–भारत पुस्तकालयमा पनि पाठकको भीड देखिन्छ । यहाँ दैनिक तीन सयभन्दा बढी पाठक आउने गर्छन् । भारत र नेपालको सम्बन्धबारे पुराना पुस्तक पढ्न यहाँ पाका पुस्तासम्म आउने गरेका छन् । ‘हामीकहाँ युवाभन्दा पाका र शिक्षक, अनुसन्धानकर्ता बढी आउने गरेका छन्,’ पुस्तकालयका रेकर्डिङ शाखा प्रमुख विमलप्रसाद भट्टले भने, ‘डाक्टर, इन्जिनियर पढ्ने विद्यार्थी पनि उत्तिकै आउने गरेका छन् ।’ उनका अनुसार रोजाइका पुस्तक पढ्न बालबालिका पनि यहाँ आउने गरेका छन् । उनले धेरै पाठक पुस्तकालयमा पुस्तक अध्ययन गर्न उपस्थित भइरहँदा केही समूह भने पुस्तकालयमै साथीभाइ भेटघाट गर्न उपस्थित हुने गरेको पनि बताए ।

पत्रिका पढ्न लाइब्रेरी

उपत्यकाका मुख्य लाइब्रेरीमा पुस्तक पढ्नेको मात्रै होइन, पत्रपत्रिका पढ्न आउनेको पनि उत्तिकै भीड लाग्छ । पत्रपत्रिका पढ्न पाका पुस्तादेखि विद्यार्थीसम्म लाइब्रेरी नै धाउने गरेको पुस्तकाललका कर्मचारी बताउँछन् । ‘पुस्तकालयमा अहिले पत्रपत्रिका पढ्ने धेरै आउँछन्, कसैले ताजा पत्रिका खोज्छन्, कसैले पुराना पत्रिकाका फाइल,’ केन्द्रीय पुस्तकालय पुस्तक संकलन शाखाका रमेश थापाले भने, ‘हामीकहाँ आएकामध्ये ३० प्रतिशत पाठक पत्रपत्रिका पढेर फर्किन्छन् ।’ त्यसो त नेपाल–भारत पुस्तकालयमा पनि पुस्तक पढ्न आउने पाठकको उत्तिकै भीड लाग्ने गर्छ । यहाँ बिहान १० बजेदेखि बेलुकी पुस्तकालय बन्द नहुँदासम्म पत्रिका पढ्ने पाठक ओहोरदोहोर गर्छन् ।

नेपाली लाइब्रेरी विदेशी पाठक

पछिल्लो समय नेपालमा विभिन्न लाइब्रेरी घुम्ने हो भने विदेशी पाठक पनि उत्तिकै भेटिन्छन् । उनीहरु राजनीति, इतिहास, धर्म–संस्कृति लगायत विषयबारे जानकारी लिन पुस्तकालय पुग्ने गरेका हुन् ।  मदन पुरस्कार पुस्तकालय संकलन विभाग निर्देशक राजीव सिंहले अहिले विदेशी पाठक पनि नेपाली लाइब्रेरीमा छिर्ने गरेको बताए । उनले नेपालको धर्म–संस्कृति, सम्पदा र राजनीतिबारे चासो राख्ने धेरै पर्यटक नेपाली लाइब्रेरीमा गएर अध्ययन गर्ने गरेको बताए । ‘नेपालबारे लेखिएका अंग्रेजी पुस्तक खोज्दै धेरै पर्यटक आउँछन्,’ उनले भने, ‘केहीले त नेपाली भाषा अनुवाद गर्न सक्ने व्यक्ति लिएर पुस्तकालयमा आउने गरेका छन् ।’ उनले पुस्तकालयमा आउने पाठकमध्ये ३० प्रतिशत पर्यटक रहेको बताए ।

लाइब्रेरीमा पुराना पुस्तक मात्रै

उपत्यकाका मुख्य लाइब्रेरीमा प्रायः पुराना पुस्तक मात्रै भेटिन्छन् । नयाँ र पुराना दुवै पुस्तक अध्ययन गर्ने सोचमा लाइब्रेरी पुगेका पाठकले दशौँ वर्ष पुराना पुस्तक मात्रै लाइब्रेरीमा रहेको गुनासो गरे । ‘मुख्य लाइब्रेरीमा हामीले नयाँ पुस्तक बिरलै भेटाउँछौँ,’ बुधबार नेपाल–भारत पुस्तकालयमा भेटिएका श्यामसुन्दर कुँवरले भने, ‘यहाँ पनि पुराना पुस्तक मात्रै भेटाएँ ।’ यता, केन्द्रीय पुस्तकालयका पूर्वाध्यक्ष जनार्दन ढुंगानाले धेरै पुस्तकालयले नयाँ किताब नराख्दा पाठक मर्कामा पर्ने गरेको बताए । उनले पनि  नेपाली भाषामा लेखेको जुनसुकै पुस्तक दुई प्रति राख्नैपर्ने व्यवस्थालाई ठूला लाइब्रेरीले अटेरी गरेको बताए । ‘यसबारे अनुगमन शिक्षा मन्त्रालय अन्र्तगतका निकायले गर्न सक्नुपर्छ, अनुगमन नभएका कारण  धेरैजसोले उक्त नियम मानेका छैनन्,’ उनले भने ।

प्रकाशित: २४ भाद्र २०७४ ०५:०८ शनिबार

पुस्तकालय प्रेम