अन्य

क्यान्सर उपचारका लागि डिएनए

बेलायतका प्रमुख मेडिकल अधिकारी प्राध्यापक डेम स्याली डेभिसले आफ्नो वार्षिक रिपोर्टमा क्यान्सरको उम्दा उपचारका लागि रोगीहरुले नियमित रुपमा डिएनए टेस्ट गराउनु आवश्यक रहेको बताएकी छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा क्यान्सरका रोगीसमेत ३१ हजार रोगीहरुले आफ्नो डिएनए प्रोफाइलिङ गराएका छन् ।
ब्लड टेस्ट र बायोप्सीजस्तै सम्पूर्ण जिनोम स्क्रिनिङ (डब्ल्युजिएस)लाई मानक जाँचको अंश बनाउनुपर्ने डेम स्यालीको धारणा छ ।
मानव शरीरमा २० हजार जिन हुन्छन् । खासमा जिनमा डिएनए कोड अर्थात निर्देश हुन्छन् । तिनै कोड वा निर्देशले हाम्रो शरीरले के काम गर्ने वा नगर्ने, मानिस कस्तो हुने वा नहुने निर्धारण गर्छ ।
यही कोडमा हुने थोरबहुत गडबडी क्यान्सरको कारण बन्न पुग्छ ।
परीक्षण
यीमध्ये केही गडबडी आनुवांशिक हुन्छन् तर सामान्यतः स्वस्थ कोशिकाहरुमा कहिलेकाहीँ यस्ता गडबडी हुने गर्छन् ।
डब्ल्युजिएस जाँचमा करिब ७ सय पाउन्ड अर्थात एक लाख रुपैयाँसम्म खर्च हुने गर्छ । ट्युमर र सामन्य कोशिकाहरुको डिएनए तुलना गरी यस जाँचबाट जिनमा भएका गडबडी पत्ता लगाउन सकिन्छ ।
यस किसिमको जाँचपछि रोग चिन्न र उपचार गर्न सहज भइरहेको छ । यस जाँचपछि चिकित्सकले रोगीका लागि उचित औषधि चुन्न सहयोग पुग्छ । यस जाँचपछि अनावश्यक औषधि र कष्टदायक साइड इफेक्टबाट जोगाउन सकिने यसका पक्षधरको धारणा छ ।
यस प्रविधिको सुलभताले दुर्लभ रोगबाट पीडित रोगीलाई निकै फाइदा पुग्ने गर्छ भने रोगको पहिचान पनि चाँडै गर्न सकिन्छ ।
क्षयरोग पत्ता लगाउन र रोगको उपचार उम्दा तरिकाले गर्न पछिल्लो समय चिकित्सकहरुले यस प्रविधिको उपयोग गरिरहेका छन् ।
सेली भन्छिन्, ‘तर यसका लागि रोगीहरुलाई हामीले ढुक्क पार्नुपर्छ । उनीहरुको जेनेटिक डाटा सुरक्षित राखिनेछ र उनीहरुको निजी सूचना चुहिने छैन भन्नेमा ढुक्क पारिनुपर्छ ।’

 

प्रकाशित: २० भाद्र २०७४ ०३:२४ मंगलबार

क्यान्सर उपचारका लागि डिएनए नागरिक परिवार