अन्य

व्यापारमा वास्तुशास्त्र

डा. राजकुमार सुवेदी                                 
व्यापारिक स्थललाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ । सपिङ मल, सपिङ मार्केट, सपिङ कम्प्लेक्स, बजार, पसल, बिक्री कार्यालय, व्यापारिक केन्द्र, संस्था, शिक्षा संस्थान, स्कुल, कलेज, नर्सिंङ होम र अस्पताल आदि । व्यापारिक प्रतिष्ठानमा वस्तु तथा सेवा बिक्री गरिन्छ । बजारका सबै वस्तुको उपयोग ग्राहकलाई सामग्री बेचेर बिक्री बढाउनु नै हो । रेस्टुराँ, ढाबा र मिठाई पसलले उत्पादित वस्तु सिधै बिक्री गर्ने गर्छन् भने अन्य सबै सामग्री तयार भएपछि विक्रय गरी, विभिन्न अवस्था पार गरेर स–साना पसलको माध्यमले उपभोक्तासम्म पुग्ने गर्छ । सामग्री कार्यालय या व्यापारिक केन्द्रमा उत्पादन गरिने होइन, व्यापार विकास कार्यक्रमसम्बन्धी एउटा हिस्सा मात्र हो । यस्ता ठाउँमा त विभिन्न वस्तुका अर्डर एकत्रित गरी बिक्री विभागमा सामान पठाउने निर्देशन दिइन्छ । व्यापार केन्द्र या कार्यालयमा बिक्रीको विवरण र सूचना, ग्राहकको हिसाबखाता राखिन्छ । उत्पादन, बिक्री, वितरण तथा नियन्त्रण, प्रबन्ध व्यवस्था एवं उत्पादनका लागि आवश्यक कच्चा सामानको समयानुकूल आपूर्ति आदि कार्य कार्यालय एवं व्यापार केन्द्रमा गरिने हुँदा यस्ता महत्वपूर्ण स्थानमा उच्चरूपले वास्तु विचार गर्नु आवश्यक छ ।
कार्यालयको वास्तु – वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्छ । वित्त प्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ । स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्व उत्तर स्थान चयन गर्नुपर्छ । कम्प्युटर विभाग, बिक्री विभाग प्रमुखका लागि पश्चिम–उत्तरलाई कक्ष बनाउनु उपयुक्त हुन्छ । वरिष्ठ प्रशासन अधिकारीले पश्चिमतर्फ स्थान ग्रहण गर्नु राम्रो हुन्छ । त्यसैगरी कार्यालय प्रमुख र कोषकारलाई दक्षिण–पश्चिम स्थानमा राख्न सकिन्छ । कार्यालयमा खाना बनाउने कक्ष एवं क्यान्टिन, कम्प्युटर साथै विद्युत् आपूर्ति, मिटर र जेनेरेटर, इन्भर्टरका लागि पूर्व–दक्षिण कोण वा आग्नेय कोणमा व्यवस्था गर्नुपर्छ । कार्यालयको अग्रभागस्थित क्याबिनलाई आयताकार बनाउनुुपर्छ । वास्तु शास्त्रानुसार वर्गाकार कक्ष एवं वर्गाकार रिसेप्सन केबिन राख्नु अशुभ मानिन्छ । चौडाइको अपेक्षाकृत लम्बाइ डेढ या पौने दुई गुणा हुनुपर्छ । कार्यालयको ब्रह्मस्थानलाई यथासंभव रिक्त राख्नुपर्छ । मुख्य कार्यालय तथा विभागको प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा हुनुपर्छ । आजको आधुनिक व्यापार विकासको कारणले गर्दा उच्च स्थानको कमी र आकासिँदो बहालका कारण पसल एवं सो रुमलाई वास्तुसम्मत बनाउन प्रायः असम्भव नै छ तापनि व्यापारिक पसलको आकार, मापन, ढलान, द्वार र आन्तरिक सज्जाका लागि वास्तुनियमको पालना गर्नाले शुभ–कल्याण हुन्छ । अब व्यापारिक कक्षको आकारप्रकारलाई विचार गर्दा, निम्न प्रकारले विचार गर्नु उपयुक्त हुन्छ । पसलको आकार बनाउँदा वर्गाकार, आयताकार या त अष्टकोणीय हुनुपर्छ । अनिश्चित आकार व्यापारको लागि बाधक हुन्छ । बाघको जस्तो आकार या सिंहाकार पसल त्यति शुभ मानिँदैन तर अगाडिको भाग अधिक चौडा पछाडिको भाग कम चौडा भएमा शुभ मानिन्छ । पसलको पूर्व एवं पश्चिम दिशातर्फ सडक भएमा प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा राख्नु पर्छ । पसलको चौडाइ एवं गहिराइको अनुपात १ः२ हुनुपर्दछ । साथै २.५ देखि ३ मिटर चौडा र ५ या ६ मिटर गहिरो पसल पनि शुभ नै मानिन्छ । अन्य विद्वान्हरुको मतानुसार १ः३ समेत शुभ मानिन्छ । साथै ३ गुणा गहिरो पसलमा सामान राख्न सजाउन अधिक सरल एवं प्रभावी हुने वास्तुशास्त्रमा पाइन्छ । व्यापारिक कोठाको उचाइ ८ फिटभन्दा कम राख्नु हुँदैन, अझ १० फिटको उचाइ भएमा, उक्त स्थानमा सफलता र समृद्धिका लागि श्रेष्ठ मानिएको छ । पसल प्रवेशको निमित्त बनाइने सिँढी, पसलअगाडि पूरै लम्बाइ लिएर बनाउनुपर्छ । कुनै कारणवश पूरै लम्बाइ कभर गरी सिँढी बनाउन नसक्ने अवस्थामा धनात्मक ऊर्जा उत्पन्न हुने गरी सिँढी तयार गर्नुपर्छ । व्यापारिक पसलको पूर्व दिशामा बनाइने खुट्किला सीधा र समान भएमा शुभ हुन्छ । पश्चिम दिशामा बनाइने सिँढी वृत्ताकार, अर्धवृत्ताकार एवं अण्डाकार (दीर्घवृत्ताकार) भएमा कल्याण एवं शुभप्रद हुन्छ । उत्तर दिशातर्फ भने वर्गाकार सिँढी कल्याणप्रद मानिएको छ । दक्षिण दिशाबाट प्रवेशका लागि बनाएको सिँढीमा भने कुनै पनि विषम आकृति या लहरादार, कमलको फूल पानको पातजस्तो भएमा शुभ मानिन्छ । पसलको भित्री सतह बाहिरीभन्दा अधिक अग्लो हुनुपर्छ । पसलको सतह सडकदेखि ४५० मि.मि. अग्लो भएमा वर्षाको पानी, सडक नाली, पसलमा पस्ने डर रहँदैन । व्यापारिक पसल खोल्दा, हर तवरले धनात्मक ऊर्जा उत्पन्न क्षेत्रमा नै पसलको प्रवेशढोका या रोलिङ सटर बनाउनुपर्छ । यसो गर्नाले शुभ एवं कल्याणकारी चुम्बकीय तरंग कार्य स्थानमा प्रवेश गरी व्यक्तिमा उच्च आशा, उत्साह एवं उल्लासको वातावरण बनिरहने हुन्छ । एकभन्दा अधिक द्वार राख्नुपर्ने भएमा रोलिङ सटर या ढोका धनात्मक ऊर्जा भएको क्षेत्रमा नै राख्नु राम्रो एवं शुभ हुन्छ । अत्यावश्यक भएर द्वारको प्रयोग गर्नुपर्ने भएमा अधिक धनात्मक ऊर्जा भएको ढोका नै बढी प्रयोग गर्नुपर्छ । उच्च ऊर्जा भएका द्वारको अधिक प्रयोग गर्नाले धन, वैभव, मानप्रतिष्ठाको वृद्धिमा सहायक हुन्छ । रिसेप्सन एवं काउन्टर सजावटका लागि प्रयोग गरिने सामग्री काँच, प्लास्टिक गवाक्ष एवं ¥याकलाई ऋणात्मक ऊर्जा क्षेत्र (पूर्व–दक्षिण दक्षिण–पश्चिम या उत्तर–पश्चिम)  दिशामा राख्नु पर्दछ । हामी ध्यान राखौं पूर्व–उत्तर दिशा या ईशान कोणमा बिक्रीका सामान कहिल्यै पनि राख्नु हुँदैन । तुरुन्तै बेच्नुपर्ने सामग्रीलाई उत्तर दिशाातर्फ सजाउनुपर्छ, अझै वायव्य कोणमा बिक्री वस्तु राखेमा शीघ्रातिशीघ्र बिक्री हुन्छ । पसलको स्वामी (व्यापारी) ले उत्तर दिशातर्फ फर्केर, उत्तर दिशाको भित्तालाई नछोइकन, उत्तर या पूर्व दिशातर्फ मुख फर्काएर गद्दीमा बसी सामान बेच्नुपर्छ । व्यापारीको मुख उत्तरतर्फ फर्केर बसेको खण्डमा क्यास बक्स आफ्नो बायाँतर्फ राख्नुपर्छ । पसलेको मुख पूर्वतर्फ फर्केर बसेको अवस्थामा क्यास बक्स दायाँतर्फ राख्नु उचित हुन्छ । उत्तर गेट भएको व्यापारिक भवनमा धनात्मक ऊर्जा क्षेत्रमा प्रवेश मार्ग बनाउनाले धन लाभ हुने र सुख साथै समृद्धि प्राप्त हुन्छ । व्यापारको स्वामी यदि कुर्सीमा बस्नुपर्ने अवस्थामा पूर्व दिशाको मध्यभाग दक्षिण पूर्व (अग्निकोण) लाई छोडेर मालिकको कुर्सी राख्नुपर्छ । आग्नेय कोणमा कुर्सी राख्नै पर्ने अवस्था आएमा, पूर्वी भित्ताको दक्षिणी भागतर्फ नछोइकन बस्ने व्यवस्था गर्नुपर्छ । क्यास काउन्टर सधैँ उत्तर–पूर्व दिशा (इशान) कोणमै बनाएमा पूर्ण लाभ मिल्छ । धनात्मक ऊर्जा क्षेत्रमा प्राप्त धन अधिक कालसम्म रहिरहने बताइएको छ । व्यापारिक भवनमा सुरक्षार्थ खटिएका प्रहरी एवं सुरक्षा गार्ड उत्तर–पूर्व या  पूर्व दिशामा रहनु आवश्यक छ । दक्षिण–पूर्व (अग्नि कोण) मा खडा प्रहरी उत्तर मुखगरी उभिएमा चिन्ता बढाउने साथै गलत खालको व्यापारिक सन्देश, बाहिर निस्केर स्वामीलाई क्षमायाचनासमेत गर्नुपर्ने हुन सक्छ । रत्नाभूषण, ऊनी कपडा, खाद्यान्न, विभिन्न प्राविधिक उपकरण या कमिसनसम्बन्धी कामको लागि पूर्व दिशा फर्केको स्थान शुभ हुन्छ । यस प्रकार उपयुक्त वास्तुशास्त्रीय सिद्धान्तमाथि विभिन्न वर्गका व्यापारीहरुले पालना गरी आफ्नो व्यापारव्यवसाय गरेमा उच्च आम्दानी गरी धन–धान्य, समृद्धि, सुख शान्ति प्राप्त हुने निश्चित छ ।

 

 

प्रकाशित: १३ भाद्र २०७४ ०७:३१ मंगलबार

व्यापारमा वास्तुशास्त्र नागरिक परिवार