अन्य

रागिनीका रङहरु

‘घरमा कोही आयो भने म छैन भन्दिनू,’ उनको बुवाको आदेश हुन्थ्यो ।
कोही आउँथ्यो, ढोका ढक्ढक्याउँथ्यो र ढोका खुल्दा उनकी आमा झुल्किन्थिन् र भन्थिन्, ‘उहाँले भन्नु भा’को उहाँ हुनुहुन्न रे !’ ‘म यस्तो सत्यवादी, सत्यप्रिय परिवारमा जन्मिएँ,’ भक्तपुरको बालकोटस्थित चित्रकलाको स्टुडियोजस्तै घरमा मध्य साउनमा यो पंक्तिकार नेपालकी प्रख्यात  चित्रकार रागिनी उपाध्यायलाई भेट्दा गफिँदै उनले भनिन्, ‘म यस्तो परिवारमा हुर्किएँ, जहाँ सत्य, इमान्दारी र बोलीमा सधैँ ध्यान दिइन्थ्यो । यस्ता केही घटना छन्, जसले मलाई गम्भीर प्रभाव पा¥यो । मैले छलछाम जानिनँ तर सधैँ सङ्घर्ष गर्न प्रेरित गरिरह्यो ।’

जुत्ताले सिकाएको इमान्दारी
इलाहाबादमा पढ्दै गर्दा एक पटक बुवाले किनमेलका लागि त्यहाँको चर्चित सपिङ स्पट सिभिल लाइनमा लैजानुभयो । किन्दै गर्दा चार जोडी जुत्ताको साटो पसलेले छ जोडी जुत्ता हाल्यो । रागिनीले दाइहरुलाई भनिन्, ‘यल्ले त चारको साटो छ जोर हालिदियो त !’
दाइहरुले उनलाई चूप लाग्ने आदेश दिए, ‘चूप लाग् । तेरो के गयो र ?’
दाजुबहिनीको खुसुरफुसुर चमेना गृहमा खाजा खाउञ्जेलसम्म चल्यो । यो देखेर बुवाले सोध्नुभयो, ‘के भयो ?’
रागिनीले भनिन्, ‘जुत्ता बढी आयो ।’ बुबा छक्क पर्नुभयो ।
रागिनी सम्झन्छिन्, ‘त्यसपछि बुबाले फेरि पसलमा लैजानुभयो । म्यानेजरअघिल्तिर मेरा दुई जना दाइहरुलाई माफी माग्न लगाउनुभयो । जुत्ता पसलको म्यानेजर पनि चकित पर्यो र सोध्यो– के भयो ?’
अब त्यहाँको घटना नाटकीय बन्यो । दुई वटा किशोरलाई एक बुबाले माफी माग्न लगाउँदै हुनुहुन्थ्यो । कारण थियो, उनीहरुले बढी जुत्ता हालेको देखे पनि मौन बसे । बढीको लोभ गरे । ‘चोर्नु र आफ्नो हक नलाग्ने कुरामा चुप लागेर स्वीकार्नुमा केही फरक हुँदैन,’ बुबाले भन्नुभयो, ‘तिमीहरु चोरी गरेजत्तिकै हो यो ।’
मानिसहरुको भिड थियो । यस्तोमा रागिनीका दुई दाइहरुलाई माफी माग्नु बडो कठीन भयो । उनीहरु रुँदै माफी माग्न थाले ।
अब पालि आयो, रागिनीको । बुबाले भन्नुभयो, ‘लु, अब तँ पनि माफी माग् ! तैँले थाहा पाएर पनि किन गलत कामविरुद्ध बोलिनस् ?’
रागिनीले पनि रुँदै माफी मागिन् । उनको दोष यति मात्र थियो, गलत देख्नेबित्तिकै उनले त्यसको विरोध गरिनन् । यस पाठ उनले जीवनभर कहिल्यै बिर्सिनन् ।
घुसको पाठ
इलाहाबादको पढाइ सकिएपछि उनी थप अध्ययन गर्न लखनउ कलेज अफ आर्ट्समा पढिन् । त्यहाँको पढाइ सकिएपछि बिदा हुने बेलाको घटना पनि उनको जीवनमा सबैभन्दा बढी प्रभाव पार्न घटना हो ।

राजनीतिक रुपमा सचेत, पढेलेखेको र सम्पन्न परिवारमा जन्मिएकाले रागिनी उपाध्यायले कहिल्यै छोराछोरीको भेद खेप्नु परेन । पढ्दा पनि आफूले रोजेकै फाइन आर्ट पढिन् । सन् १९८७ मा नयाँदिल्लीबाट पढाइ सकेर नेपाल फर्कंदा उनीसित आत्मविश्वास र गुन्टाबाहेक केही थिएन ।


कक्षा सकिएर नेपाल फर्कने अन्तिम दिन उनलाई लिन बुबा आउनुभयो । रेलको टिकट काटिसकेको छ, होस्टलको पैसा तिरिसकेको थिएन । दुई वर्षको पूरै तिर्नुपथ्र्यो र ढिला रकम तिरेबापत विलम्ब शुल्क तिर्नुपर्ने थियो । तर त्यहाँको एकाउन्टेन्टले भन्यो, ‘तिमी मलाई थोरै पैसा देऊ, म तिम्रो शुल्क मिनाहा गरिदिन्छु ।’ सुरुमा यो प्रस्ताव सुनेर उनी खुसी भइन् । उनले तत्काल ‘घुस’ दिइन् र फर्किइन् ।
फर्किएपछि भने उनको मन गह्रुँगो भयो । जीवनभर शिक्षकले इमान्दारीको पाठ पढाउँछन् तर यति सानो रकममा मन फुरुङ्ग बनाउँदै तिर्नुपर्ने कुरा तिर्दैनौँ, गर्नुपर्ने काम गर्दैनौँ । त्यसमाथि बुबा उनलाई कुरेर बसिरहनु भएको थियो । बुबा त इमान्दारीको पाठ पढाउने सबैभन्दा ठूलो शिक्षक हुनुहुन्थ्यो । इलाहाबादको घटना उनले अझै बिर्सिएकी थिइनन् । त्यसैले बुबाको अघिल्तिर पर्नेबित्तिकै उनको अनुहार अँध्यारो भयो । बुबाले सोध्नुभयो, ‘घर जाने बेलामा झन् खुसी हुनुपर्ने, छोरीको अनुहार उज्यालो छैन नि !’
रागिनीले ढाँटिन्, ‘क्यै हैन, टाउको दुखिरहेको छ ।’
आखिरमा बुबाको मनले के मान्थ्यो, सोधिखोजी थाल्नेबित्तिकै रागिनीको बाँध फुट्यो । उनले सत्य कुरा बताइदिइन्, कसरी अकाउन्टेन्टले छुटको लोभ देखाएर तिर्नुपर्ने रकम तिरिनन् र त्यसको भारले उनलाई कसरी थिचिरहेको छ !
बुबाले भन्नुभयो, ‘देख्यौ ! बेइमानीको भार कति हुँदोरहेछ !’

इलाहाबादको स्कुल
अच्छा, एक्कैछिन हामी रागिनी उपाध्यायलाई चिनौँ । उनका हजुरबुवा देवीप्रसाद उपाध्याय बनारसबाट ‘गोरखा’ नामक पत्रिका निकाल्थे । नेपालमा प्रजातन्त्र र भाषाको विस्तारका लागि उनको योगदान कम थिएन । उनै देवीप्रसादकी नातिनी थिइन्, नोना उपाध्याय, जो पछि कोइराला परिवारकी बुहारी भइन् । रागिनी पनि तिनै देवीप्रसादकी नातिनी हुन् ।
उपाध्याय परिवारमा छोरा हुन् वा छोरी शिक्षालाई ठूलो महत्व दिइन्थ्यो । त्यसैले पनि चाहे रामनगर (अहिले त्यो भारतमा छ, सुगौली सन्धिअघि नेपालकै भाग थियो) रहँदाका बेला प्राथमिक शिक्षा लिइँदा होस् या त्यसभन्दा उच्च शिक्षा लिन, परिवारले सधैँ प्रोत्साहित गरिरहन्थ्यो ।
इलाहावादमा पढ्दाका दिन उनलाई रमाइला दिन लाग्छन् । त्यहाँ उनको सानिमा हुनुहुन्थ्यो । सानिमाको अभिभावकत्वमा पढ्न सजिलो हुने बुवाको आँकलन थियो । त्यसो त होस्टल बसेर पढ्नुपर्ने र कहिलेकाहीँ मात्र बिदामा सानिमाकहाँ जान पाइन्थ्यो । बेलाबेलामा बुबा छोराछोरी (उनका दाइ पनि त्यहीँ बसेर पढ्दै थिए)लाई आवश्यक पर्ने सामग्री किनिदिन इलाहाबाद आइपुग्थे ।
दैनिक खर्चका लागि थोरबहुत पैसा हुन्थ्यो, रागिनीसँग । विद्यालयमा पढ्ने एउटी साथीसँग पैसाको सधैँ अभाव हुन्थ्यो । साथीहरुले खाजा खान्थे, ती साथी खाजा खान्न थिइन् । धेरै पछि मात्र उनले बुझिन्, पैसाको अभावले उनी खाजा नखाएकी रहिछन् । त्यसपछि रागिनीले दैनिक उनलाई समेत खाजामा सामेल गर्न थालिन् । ‘मान्छेलाई खाने कुराको अभाव हुन्छ, गरिबी पनि चरम हुँदोरहेछ भन्ने कुरा पहिलो पटक थाहा पाएँ,’ रागिनीले भनिन्, ‘जिन्दगीका यस्ता साना घटनाले पनि मलाई छुन्थ्यो । तिनै कुरा म चित्र कोरेर बस्थेँ ।’
रागिनी पढ्नमा अब्बल थिइनन् । परिवारमा उनी पढ्नमा सबैभन्दा कमजोर मानिने हुनाले उनको भविष्यलाई लिएर चिन्तित थिए । यही विद्यालयकी प्राध्यापकले कति पटक रागिनीकै अघिल्तिर उनका बुवालाई गुनासो गरेकी थिइन् । जिन्दगीमा सबैभन्दा सम्मान गर्ने बुवाका अघिल्तिर आफ्नो आलोचना गरिदिँदा खुब चित्त दुख्थ्यो ।
परिवारकै सबैभन्दा कान्छी रागिनीप्रति बुवाको स्नेह थियो र बुबाको माया खेर जान नदिने उनको प्रयत्न थियो । यस्तैमा एक दिन स्कुलकी आर्ट टिचरले उनलाई विद्यालयस्तरीय कला प्रतियोगितामा भाग लिन नाम लेखाइदिइन् । उनले प्रतियोगितामा सिल्ड जितेर ल्याएपछि भने प्रिन्सिपलको आलोचना कम भयो किनभने उनले स्कुलकै इतिहासमा आर्टमा पहिलो भएर देखाएकी थिइन् । उनकी आर्ट टिचरले त्यही बेलादेखि दिमागमा घुसाइदिएकी थिइन्– तेरालागि यही एउटा फिल्ड हो, जसमा तैँले अरु सबैलाई उछिन्न सक्छेस् ।
यसरी उनमा कलामोह छिर्यो ।

फिल्म हेर्ने चाह
छात्राबासमा पढ्दाताका रागिनीलाई सम्झना हुने एउटा घटना छ । उनकै नातेदार पर्ने नलिनी (नलिनी ज्ञवाली अहिले भारतीय जनता पार्टीकी नेतृका रुपमा चर्चित छन्) र उनीसँग भेट्न आइतबारे एउटा बिदाको दिन होस्टलमा रागिनीकै दाइ रवि आइपुगे ।
रविले प्रस्ताव राखे, ‘फिल्म हेर्न जान्छौ ?’
के खोज्छस् कानो आँखो ! छात्राबासमा कति थुनिएर बस्नु ? त्यसपछि रवि, नलिनी र रागिनी लागे सिनेमा हलमा । दिउँसोको सो थियो । रागिनीलाई कुन फिल्म हेरियो, सम्झना छैन तर त्यस दिनको लोभ र बदमासी भने अझै स्मरण छ ।
‘रवि दाले फिल्म हेराइसकेपछि हामीलाई छात्राअगाडि ल्याएर छाडिदिनु भयो,’ रागिनीले भनिन्, ‘गेट खुल्लै रै’छ अनि चौकीदार पनि त्यै बेला कता गएकाले होला कोही थिएन । त्यो देखेर नलिनीले भनिन्, हामी बाहिर एक छिन घुम्न जाऊँ किनभने अझै रात पर्न बाँकी छ ।’
लोभ लाग्यो । दुवै जना हतार हतार गेटबाहिर निस्के र एउटा रिक्सा बोलाए तर त्यहाँ समस्या के थियो भने रवि दाइ भर्खरै उनीहरुलाई छाडेर फर्किरहेका थिए । दोबाटोमध्ये कुन बाटोतिर गए होलान् । नलिनीले भनिन्, ‘दादा अर्कै बाटो जानुभयो होला, हामी दाहिनीतिर जाऔँ ।’
रिक्सावाला दाहिनेतिर लाग्यो तर अगाडि जाँदाजाँदै रविले उनलाई पक्रिहाले । रिक्सावालालाई रविले जुरुक्क उचालेर भने, ‘तैँले यिनलाई कहाँ लैजान खोज्या ?’
रिक्सावाला अकस्मातको आक्रमणपछि अत्तालियो र भन्यो, ‘मलाई के था त ? उनीहरुले जाउँ भने म हिँडे !’
दुई केटीको अनुहार रातोपिरो ! केही बोल्न पनि सकेनन् । फेरि रविले दुवैलाई छात्राबासमै पुर्याएर फर्किए ।
‘यस घटनापछि त हामीलाई कहिल्यै आँखा छल्ने हिम्मत पनि आएन,’ रमाइलो मान्दै रागिनी त्यो क्षण सम्झन्छिन् ।
स्कुलको शिक्षा सकिएपछि उनलाई कलेज तहमा फाइन आर्टमा केही गर्नु थियो । यसका लागि उनले विभिन्न ठाउँमा प्रयास पनि गरिन् तर धेरैले सुझाव दिए– ‘नेपाल छेउमै लखनउमा पनि राम्रो पढाइ हुन्छ, त्यहीँ पढ्नू ।’
कलेजमा भर्ती हुन जाँदा त्यहाँ तालाबन्दी थियो । म्याद गुज्रिएला भन्ने पिरलो । लखनउमा रागिनीकी मितिनी आमा सरोजिनी हुनुहुन्थ्यो । त्यहाँ बस्दा कतिपय गाह्रोसाह्रोमा मितिनी आमाको सहयोग पाउने भएकाले उनी त्यहीँ पढ्ने निर्णय गरिन् । त्यहाँ पढ्दा प्रिन्ट मेकिङमा आफूलाई निखार्न थालिन् ।
लखनउको पढाइ सकिएपछि उनी थप अध्ययनका लागि दिल्ली गइन् । दिल्लीमा बिहान ८ बजेदेखि १ बजेसम्म पढाउँथिन् र बाँकी समय समकालीन र अग्रज कलाकारहरुसँग कलाबारे ज्ञान लिन्थिन् । त्यहाँ थुप्रै कलाकारहरु साथी बने । तीमध्ये एक जना हिम्मत शाहलाई अझै सम्झिन्छिन् ।
हिम्मत शाह मूर्तिकलामै केही गर्न भनेर संघर्षरत थिए । उनका लागि त्यो बेला आज खाए भोलि के खाउँको अवस्था थियो । गरिबीकै कारण उनले त्यो बेला उमेर घर्किसक्दा पनि बिहे गरेका थिएनन् । मूर्ति बनाउने स्टुडियोमा नै सुत्ने गर्थे । रागिनी उनको कलाकारिता बुझ्न गइरहन्थिन् । जाँदा उनलाई केही खानेकुरा पनि लैजान्थिन् किनभने हिम्मतले दिउँसोसम्म केही खाएका छैनन् भन्ने थाहा थियो ।
त्यो बेलाको साथका कारण पछि हिम्मत शाहले उनलाई नेपाल फर्किनेबेला ‘रागिनी मैंने तुम्हारा बहुत खाना खाया है, यह एक लेलो’ भन्दै एउटा मूर्ति उपहार दिएका थिए । ‘अहिले त्यसको मूल्य १५ लाखभन्दा बढी पर्छ,’ कुनाको एउटा सानो मूर्ति देखाउँदै गर्दा रागिनीको अनुहार उज्यालो थियो, भनिन्, ‘अहिले उनी मूर्तिकलाबाट करोडपति हुने मूर्तिकारमध्येमा गनिन्छन् ।’
यस्तो संघर्ष देखेकी रागिनी १९८६ मा एउटा सुटकेस मात्र लिएर नेपाल फर्कंदा आत्मविश्वास र गतिलो शिक्षा लिएर आएकी थिइन् । नेपालमै पनि उनको संघर्ष बल्ल सुरु भएको थियो तर लगत्तै एक वर्षपछि उनले चित्रकला प्रदर्शन गरिन् । प्रदर्शनीमा रानी ऐश्वर्या आएकी थिइन् । यसले उनलाई एकै पटकमा चर्चित मात्र बनाइदिएन, सबै चित्रकलाहरु बिक्यो पनि ।
त्यसपछि त रागिनी नेपालकै चर्चित कलाकार भनेर राइजिङ नेपालले लेख्यो । त्यो बेला राइजिङ नेपालले लेखेपछि सक्किइगो नि !

(नागरिक परिवारबाट साभार)

प्रकाशित: ११ भाद्र २०७४ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App