दायाँ काँधमा गह्रौँ झोला, बायाँ हातमा नातिनीको कलिलो हात। ढाका चोलीमा सजिएर ७७ वर्षीया गुणमाया विद्यालयतर्फ लम्कँदाको दृश्य हो यो। बुढेसकालमा वर्षे हिलो पार गर्दै गुणमाया तिमल्सिनाले नातिनीलाई स्कुल पुर्याएको दृश्य स्थानीयवासी चाख मानेर हेर्छन्।
अध्ययनका लागि कहिल्यै विद्यालय नटेकेकी उनी हरेक दिन नातिनीलाई स्कुल पुर्याउने र ल्याउने गर्छिन्। नातिनीलाई विद्यालय पुर्याउँदा र ल्याउँदा उनको चेहरामा प्रशन्नता भाव झल्केको देखिन्छ।
सिन्धुपाल्चोक बाह्रबिसेकी गुणमायाको कथा उनले हिँड्ने बाटोजस्तै टेढोमेढो छ। यस्तै वक्ररेखामा जीवनका धेरै वसन्त पार गरेकी गुणमायाको जीवनमा भने कहिल्यै वसन्त आएन।
विद्यालय उमेरमा घाँस–दाउरा गर्न बाध्य गुणमाया आफूले पढ्न नपाएको पीडामा भन्दा नातिनीलाई यो उमेरमा सघाउन पाएकामा प्रफुल्लित छन्। 'मलाई अब यसैले धेरै पढेको हेर्नु छ,' उनी भन्छिन्, 'जहिलेसम्म डोर्याउन सक्छु यसैगरी जान्छु।'
विद्यालयको गेटमा पुग्दा उनलाई पनि कहिलेकाहीँ आफैँ कक्षामा बसौँजस्तो लाग्छ। 'झोला बोेकेर स्कुल जाँदा आफैँ बच्चाजस्तो लाग्छ,' उनी भन्छिन्, 'तर, नातिनीले हात समाएपछि हजुरआमा भएको थाहा भइहाल्छ।'
उनी हरेक बिहान ९ बजे तयार भएर नातिनीसँगै स्कुल जान्छिन्। हिलो भएका बेला नातिनीलाई पिठ्युँमा बोक्छिन्। गुणमायाकी आठ वर्षीया नातिनी दुई कक्षामा पढ्छिन्।
'नर्सरीदेखि नै बोकेर र डोर्याएर लगेकी हुँ,' उनी भन्छिन्, 'अहिले त कहिलेकाहीँ नातिनीले पो डोर्याउँछे!'
सिन्धुपाल्चोक बाह्रबिसेकी गुणमायाको कथा उनले हिँड्ने बाटोजस्तै टेढोमेढो छ। यस्तै वक्र रेखामा जीवनका धेरै वसन्त पार गरेकी गुणमायाको जीवनमा भने कहिल्यै वसन्त आएन।
६ वर्षकै उमेरमा तीन वर्षले कान्छा केटासँग उनको बिहे भयो । घाँसपात र मेला उनको दैनिकी बन्यो। पतिले केही समय कापी–किताब समाए, लामो समयसम्म टिक्न सकेन। तीन छोरा र चार छोरीकी आमा उनले सन्तान नाबालक छँदै पति वियोग खेपिन्। 'मेलापात र पर्म गरेर छोराछोरी हुर्काएँ,' मूलपानी बस्दै आएकी उनले भनिन्, 'पुराना कुरा सम्झँदा दुःख लाग्छ।'
शिक्षाले समाजमा चेतना पलाएको उनको बुझाइ छ। त्यही चेतनाले पनि उनलाई केही खुसी दिएको छ। श्रीमान्को मृत्युपछि एक वर्ष सेतो कपडा लगाएकी उनले त्यसपछि नीलो, हरियो र पहेँला कपडा लगाउन थालिन्। 'समयअनुसार मैले पनि रातो कपडा लगाउन थालेकी छु,' उनले भनिन्, 'पहिलेभन्दा अहिलेको सजिलो छ।'
एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनको बुझाइ छ। पढेलेखेका मानिसका कारण समाज परिवर्तन भएको उनी बताउँछिन्। 'पहिले कालो सारी लगाउँदा पनि फेरोमा रातो छ कि भनेर चियोचर्चो गर्ने जमाना थियो,' उनी भन्छिन्, 'अहिले पूरै रातो लगाए पनि चासो हुन छाड्यो।'
उनी नातिनीले धेरै पढोस् भन्ने चाहन्छिन्। समाजलाई ज्ञान बाँडोस् भन्ने अपेक्षा राख्छिन्। त्यसैले बिहान नातिनीलाई स्कुल पुर्याए पनि दिनभर उनको मन भने नातिनीमै हुन्छ। विद्यालय नजिकै भएकाले प्रत्येक घन्टीको आवाज उनको कानसम्म आइपुग्छ । 'नानीले कति विषय पढी भन्ने थाहा हुन्छ,' उनी भन्छिन्, 'प्रत्येक घन्टीसँगै उनले धेरै पढेजस्तो लाग्छ।'
प्रकाशित: २ भाद्र २०७४ ०६:४२ शुक्रबार