'५ देखि ७ फिट गोलाइ र १० देखि १५ फिट लम्बाइका करिब १ हजार थान टुना लुकाएर राखेका अवस्थामा फेला परेको छ,' सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक चन्द्रप्रकाश गौतमले भने, 'यस क्षेत्रमा ४० हजार केजी खयरको काठसमेत भेटियो।' एक्साभेटरको सहायताले बाटो बनाउँदै चुरेक्षेत्रको यस जंगलमा तस्करले सुनियोजित रूपमा कटान गरेको उनले सुनाए। चुरे क्षेत्रको अर्नेडाँडामा एक हजारभन्दा बढी सालका रुख ढालिएका अवस्थामा फेला परेको उनले बताए।
'सालको रुख भएका क्षेत्रमा पुग्न एक्साभेटरले बाटो बनाई ट्रयाक्टरमा लोड गरेर ओसार्ने गरेको देखियो,' वन क्षेत्रमा गस्तीमा खटिएका उनले भने, 'जताततै रुख ढालिएको छ, गोलाइ काटिएको छ।' ठूला सालका रुख र खयर भएको क्षेत्रमा बाटो बनाउँदै कटानी गर्ने गरेको पाइएको उनले सुनाए। काठ तस्करीमा संलग्न व्यक्तिको खोजी जारी रहेकाले काटिएका रुखको परिमाण बढ्न सक्ने उनले बताए। स्थानीयका अनुसार कटानी भएका थुप्रै काठ निर्यात भइसकेका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले यसबारेमा अनुसन्धान सुरु भएको बताए। 'चुरे क्षेत्रमा ठूलो परिमाणमा अवैध कटानी भएको छ,' उनले भने, 'वन कर्मचारी र स्थानीय ब्रह्मस्थान वन उपभोक्ता समितिलाई छानबिनको घेरामा ल्याएका छौं। सिन्धुलीसँग सिमा जोडिएको यो क्षेत्र सदरमुकाम मलंगवाबाट ४५ किलोमिटर उत्तरमा पर्छ।
लामो समयदेखि व्यापक रूपमा वन फँडानी भए पनि जिल्ला वन कार्यलय मौन रहनुले उसलाई पनि शंकाको घेरामा राखिएको छ। प्रमुख जिल्ला वन अधिकृत शेखर यादवले आफूलाई वन फँडानीको विषयम समयमै जानकारी नभएको दाबी गरे। ' वनरक्षक र रेन्जरलाई यसबारे थाहा रहेछ,' उनले भने, 'उनीहरूले मलाई जानकारी नदिएकाले यो सब हुन गयो। ' वन उपभोक्ता समितिले बाटो बनाउन लगेको एक्साभेटर पल्टेकाले यो प्रकरण खुलेको उनले बताए। ' एक्साभेटर पल्टेकाले इन्सुरेन्स कम्पनीका प्रतिनिधिसँग वैशाख २० गते प्रहरी त्यहाँ पुग्दा व्यापक वन फँडानी भएको थाहा भयो,' उनले भने, ' त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहित त्यहाँ पुगेर अनुसन्धान थालेका छौं।'
वन विनासबारे स्थानीयले आफूलाई खबर नगरेको उनको भनाइ छ। राजनीतिक दलका कार्यकर्ताको मिलोमतो भएकाले स्थानीयले डराएर यसबारे कसैलाई जानकारी नदिएको उनले बताए। यत्रो घटना हुँदा पनि त्यस क्षेत्रका रेन्जर र वनरक्षकले जानकारी नदिएको उनको गुनासो छ। जानकारी नदिने चार वनरक्षकलाई निलम्बन गरिसकेको र रेन्जरलाई कारबाहीका लागि वन विभागमा पत्रचार गरेको उनले बताए।
संक्रमणकालीन अवस्थाको मौका छोपेर चारकोसे झाडीअन्तर्गतका बारा, पर्सा र रौतहट क्षेत्रमा पनि व्यापक वन फँडानी भएको छ। तस्करहरूले यहाँबाट साल कटानी गरेर सिमावर्ती भारतीय सहरमा पुर्याउने गरेका छन्। यस क्षेत्रको वन फँडानीमा वन कर्मचारी र वन जोगाउन गठन भएका विभिन्न समितिको मिलोमतो रहेको स्थानीयको भनाइ छ।
प्रकाशित: २७ वैशाख २०६७ २१:४९ सोमबार