अन्य

‘मलाई प्रधानमन्त्री पाउने नेपालको भाग्य भए पो !’

निखिल उप्रेती, अभिनेता
नेपाली चलचित्र ‘पिँजडा’बाट रजतपटमा देखापरेका निखिल उप्रेती ‘एक्सन हिरो’का रुपमा परिचित छन् । उनी हाल ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ नामक चलचित्रको सुटिङमा व्यस्त छन् ।
तपाईं अभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?
म आवारा बन्थेँ होला जस्तो लाग्छ । रिसर्च गर्न पनि मनपर्छ, सायद साइन्टिस्ट पनि बन्थेँ होला । नभए आर्टिस्ट त बन्थेँ नै ।
अभिनेता बनिसकेपछि के कुरालाई सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
प्राइभेसी र पर्सनल लाइफ मिस हुन्छ किनभने निकै पीडामा हुँदा पनि दर्शकका लागि सेल्फी खिच्नुपर्छ । आराम गर्न बस्दा पनि आफ्ना कोही फ्यान आए बोलिहाल्नुपर्छ, फोटो खिच्नुपर्छ ।
तपाईंको पहिलो जागिर र तलब कति थियो, भन्न मिल्छ ?
मेरो पहिलो जागिर त मार्सल आर्ट हो । मुम्बईमा हुँदा म मार्सलआर्ट सिकाउँथेँ । त्यस बेला तलब कति थियो त भुलेँ तर एउटा विद्यार्थीको त्यस समयको महिनावारी फि तीन हजार थियो । त्यसमा बाँडिचुँडी गर्दा कति हात पथ्र्यो त्यो बिर्सिएँ । फिल्ममा भने ‘पिँजडा’ गर्दा डेढ लाख रुपैयाँ लिएको थिएँ ।
जीवनको कुनै यस्तो दिन, जसलाई तपाई फेरि जिउन चाहनुहुन्छ ?
सधैँ, एभ्रिडे मेरालागि जीवन इन्जोय गर्नका लागि हो, त्यही गरिरहेको छु । त्यही भएर यही दिन, यस्तो दिन भन्ने छैन । म सबै दिन जिउन चाहन्छु ।
मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
मनोरञ्जन क्षेत्रको मनोरञ्जन नै मलाई सबैभन्दा बढी मन पर्छ ।
मन नपर्ने कुरा ?
मन नपर्ने कुरा भने फाल्तु गफ हो । यो क्षेत्रमा एकदम धेरै फाल्तु गफ हुन्छ । कतिको त कामै फाल्तु कुरा गरेर बस्ने पनि छ । यो चाहिँ मलाई मन पर्दैन ।
के कुराले तपाईंलाई बढी चित्त दुख्छ ?
केही मानिस यस्ता पनि छन् कि कुरै नबुझी अन्दाजको भरमा बोलिदिन्छन् । यस्ता कुराले खुबै चित्त दुख्छ ।
तपाई देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
मजस्तो प्रधानमन्त्री पाउने नेपालको भाग्य छैन । त्यसमाथि म केही योजना नबनाई हिँड्ने मान्छे, केही छैन । भएँ भने जे गर्छु, त्यसैबेला थाहा हुन्छ ।
कस्ता कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
कोही खुसी भएर हिँड्ने मानिस देखेँ भने मलाई खुसी लाग्छ । दुनियाँको सबैभन्दा खुसी मानिस पनि म नै हुँलाजस्तो लाग्छ ।
के देख्दा दु्ःख लाग्छ ?
अवश्य दुःखी मानिस देख्दा दुःख लाग्छ किनभने खुसी मानिस देख्दा खुसी हुने म, कोही दुःखी देखे दुःख लाग्ने नै भयो नि !
युवतीहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
त्यो त राम्रो लाग्ने नै भयो नि ! कसैले आफूलाई माया गर्छ भने त राम्रो लाग्नु स्वभाविक हो । कसैले आई लभ यु भन्दा म पनि आई लभ यु टु भनिदिन्छु ।
अहिलेसम्म कति युवतीलाई आई लभ यु भन्नु भएको छ ?
छैन । मलाई बच्चा मनपर्छ । त्यही भएर बच्चालाई चाहिँ भनेको छु ।
तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
म खुला मान्छे भएकाले पनि होला मेरा प्रायः कुराहरु दर्शकलाई थाहा छ तर पनि मलाई गुलियो खुब मनपर्छ । त्यस्तै म भेजिटेरियन हुँ र अर्को कुरा मेरो फेसबुक एकाउन्ट छैन र चलाउन पनि आउँदैन ।
तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
मैले पहिल्यै पनि भने म योजना बनाएर काम गर्ने मानिस हैन । त्यही भएर अधुरो अपुरो भन्ने नै छैन । योजना बनाए पनि योजनाअनुरुप नभए त्यो काम अधुरो हुन्थ्यो ।
तपाईंको कमजोरी के हो ?
हेल्प गर्न खोज्ने तर नसक्ने मेरो कमजोरी हो । सबैलाई सहयोग गरौं जस्तो लाग्छ तर समय अभावका कारण सहयोग गर्न सक्दिनँ ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
आत्मविश्वास ।
आफूलाई नै मनपर्ने आफ्नो बानी ?
सकारात्मक सोचाई । सबै कुरालाई पोजेटिभ तरिकाले हेर्ने मेरो बानी म आफैँलाई खुब मनपर्छ ।
    

 

प्रकाशित: ७ श्रावण २०७४ ०८:५५ शनिबार

मलाई प्रधानमन्त्री पाउने नेपालको भाग्य भए पो नागरिक परिवार