अन्य

भूकम्प पीडितसँग कमिशन असुल्दै इन्जिनियर

सिद्धालेक गाउँपालिकामा बन्दै गरेको अधुरो घर । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो। 

‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकहरुले पैसा माग्ने गरेका छन्, त्यो पैसा के का लागि लिइएको हो ? प्राविधिकलाई पैसा दिएपछी मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो ।’ धुनिबेसी नगरपालिकामा केही समय पहिले आयोजित एक छलफलमा स्थानीय वृन्दा कँडेल र इश्वर केसीले प्रश्न गरे।

प्राविधिकहरूले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् । धुनिबेसी गाउँपालिका वडा नं. ३, ४ र ५ (साविकको जिवनपुर गाविस) हेर्दै आएका इन्जिनियर विनोद कुमार यादवले भने ‘हामीले पैसा लिएर खाएको छैन, नागरिकहरुको आग्रहमा कन्सलटेल्सिबाट नक्सा बनाइदिएर ल्याएको हो ।’ ‘अहिले हामी आफैँले नक्सा बनाएको छैन् । पैसा लिएको पनि छैन् । अप्ठ्यारोमा परियो भन्नेहरुको लागि मध्यस्थकर्ता भैदिएको हो’ उनले थपे। 

नेपाल सरकारले अनुदानमा घर बनाउनको लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोट अनुसार १७ प्रकारका नक्सामा घर नवन्ने अवस्था आएमा सम्वन्धित घरको नक्सा २५ प्रतिशत तोडमोड गरेर भएपनि भुकम्प पीडितलाइ निशुल्क नक्सा दिनुपर्ने प्रावधान छ । तर इन्जिनियरहरुले भने १७ प्रकारमा घरको डिजाइन नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्प पीडितहरुलाई बाध्य पारिरहेका छन्।

नीलकण्ठ नगरपालिका वडा नं ९ का केशवमणी दुवाडी भने, ‘इन्जिनियरकै सल्लाह लिएर घर पुरै बनाइसके, दोस्रो किस्ताको निवेदन दिन जाँदा मेरो घर १७ प्रकार भित्र नपर्ने भएकाले नयाँ नक्सा लिएर आउन भनेका छन ।’ नयाँ नक्सा बनाउनु पर्ने नै भएपछि दोस्रो तेस्रो किस्ता सिफारिस गर्दा सजिलो हुन्छ भनेर आफ्नै वडाको इन्जिनियरलाई नक्सा बनाउन दिएको दुवाडीले बताए।

निलकण्ठ नगरपालिका, साविकको बेनिघाट गाविस लगायत पक्की घर बन्दै गरेका स्थानहरूबाट इन्जिनियरहरुले रकम असुल्ने गरेको लाभग्राहीहरूले गुनासो गरेका छन् । तर, पुननिर्माणको लागि गाउँमा खटिएका इन्जिनियरहरूले पुननिर्माण प्रयोजनको लागि नभई बैंकबाट ऋण निकाल्ने प्रोसेज मिलाउनका लागि लाभग्राहीकै आग्रहमा नक्सा बनाइदिने गरेको बताउदै जोगिने गरेका छन्। 

साँझ विहान फुर्सदको समयमा नक्सा बनाएर इन्जिनियरहरुले पैसा लिने गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका डिभिजन प्रमुख दिलिप भण्डारीले बताए । उनी भन्छन् ‘किस्ता लिन नक्सा अनिवार्य छैन, तर लाभग्राहीहरूले बैंकबाट ऋण लिन नक्सा चाहिन्छ, बैकिङ प्रकृयाको लागि सामान्य नक्सा बनाएर केही रकम लिएको हामीले पनि भेटेका छौं।’

नक्सा बनाएबापत कति लिन्छन् भन्ने कुरामा भने डिभिजन प्रमुख भण्डारीले बोल्न चाहेनन् । ‘हातमा सीप भएकाले फुर्सदमा बाहिरी काम गर्न पाउँछन् । यो सामान्य कुरा हो । नक्सा बनाइदिए बापत कति लिन्छन् भनेर भन्न सकिदैन’ उनले भने । लाभग्राहीहरूले भने एउटा नक्सा बनाएर ल्याइदिए बापत २ हजारदेखि १० हजारसम्म लिने गरेको गुनासो गरेका छन्।

नगर तथा गाउँपालिका प्रमुखहरुले भने चुनाव अघि यस्ता धेरै गुनासो सुनिएको भएपनि अहिले सुन्न छोडेको प्रतिकृया दिएका छन् । ‘पहिल त कन्सल्टेन्सीवालाहरु नै गाउँमा पसेर हामी एनआएको इन्जिनियर हौ भन्दै नक्सा बनाइदिने भनेर पैसा लिएको समेत भेटेका थियौं, अहिले त्यस्तो गुनासो सुन्नमा आएको छैन’ निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले बताए।

गाउँमा प्राविधिक भेट्नै मुस्किल

पुननिर्माण प्राधिकरणले साविकको हरेक गाविसमा ३ देखि ४ जना प्राविधिकको टोली खटिएका छन् । तर अधिकांश ठाउँमा सबै प्राविधिक कहिल्यै पनि काममा नभेटिने लाभग्राहीहरुले गुनासो गरेका छन् । 

वडा कार्यालयमा राखिएको हाजिरीमा फिल्ड गएको जनाउँदै बिदामा बस्ने गरेको भेटिएको हो । बेनिघाट रोराङ गाउँपालिकाको साविक महादेवस्थान गाविसमा ४ जना प्राविधिकहरु छन् । उनीहरु पालैपालो बिदा बस्दै आएका छन् । २ जना बिदा बसेको बेला २ जनाले काम धान्दै आएकोले घर निर्माण थालेका लाभग्राहीहरुले इन्जिनियर भेट्न एक महिनासम्म कुर्न बाध्य छन् ।  

महादेवस्थानका रामबहादुर गुरङले पहिलो किस्ताले घर थालेर दोश्रो किस्ताको लागि घर हेरिदिन निवेदन दिएको एक महिना बित्यो इन्जिनियर अझै उनको घरमा नपुगेको गुनासो गरेका छन् । ‘एक महिना भयो निवेदन दिएको अझै इन्जिनियर गएनन् । शुक्रबार वडा कार्यालयमा भेटिएका गुरुङले भने ‘मेरो घरतिर जाने रुट नपरेकोले नगएको रे।’

सरकारले तोकेको भन्दा लाभग्राहीको आँखा छलेर बिदामा बस्नाले भनेको बेला लाभग्राहीले प्राविधिकको सहयोग नपाएका हुन् । बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा परेका इन्जिनियरहरुले बढी काम ठग्ने गरेको पाइएको छ । 

गजुरी गाउँपालिकामा पर्ने साविकको किरान्चोक गाविसमा पनि चार जना प्राविधिक टोली खटिएका छन् । तर सव इन्जिनियर लक्ष्मी खत्री बाहेक बाँकी तीन जनालाई गाउँमा कमै मात्र भेटिने गरेको स्थानीयको गुनासो छ । 

फोटो हेरेर इन्जिनियरिङ

उत्तरी धादिङको दुर्गम बस्तीहरुमा इन्जिनियरहरुले आफू वडा कार्यालयमै बसेर लाभग्राहीलाई नै मोबाइलमा फोटो खिचेर ल्याउनुस् भन्दै फोटो हेरेको भरका काम गर्ने गरेको फेला परेको छ । 

दुर्गममा पर्ने रुविभ्याली गाउँपालिकाको इवी, चोके लगायतका गाउँका स्थानीयले हामीले घर बनाउदै छौं हेरिदिनुप¥यो भन्दा फोटो खिचेर ल्याउनस् भन्दै पठाएको स्थानीय सरिमायाँ तामाङले बताए । इवीका बसन्त तामाङ, अञ्जन तामाङ, टेकु तामाङ लगायतले आफ्नो बन्दै गरेको घरको आफैले फोटो खिचेर इन्जिनियरलाई बुझाएको बताएका छन् । 

इवी, चोके लगायत गाउँका स्थानीयले अन्यत्र बनाएका घर हेरेकै भरमा आफ्नो घर बनाउन सुरु गरेका छन् । घर बनाउँदै गरेका टेकु तामाङ भन्छन् ‘ताजिम्राङमा बनेको घर हेरेर त्यस्तैगरी बनाएँ, फोटो खिचेर देखाएका छौं । पास हुन्छ की हुँदैन थाहा छैन ।’ 

प्राविधिक ज्ञानको अभावले त्यस क्षेत्रमा पुननिर्माणले गति लिन सकेको छैन । 

प्रकाशित: ३० असार २०७४ ११:२१ शुक्रबार