अन्य

जुझारु कुन्दा

–सृजना
विवाह गरेको तीन वर्षमै एकल महिला भइन्, नयाँ बानेश्वरकी कुन्दा शर्मा । ३० वर्षको उमेरमा विवाह गरेकी उनी अहिले ६० वर्षकी भइन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष काम गरेको अनुभव पनि छ उनीसँग । अहिले उनी एकल महिला समूहकी महासचिव हुन् । उनी र उनको समूहले मिलेर बालुवाटरको एकल महिला समूहमा ‘हाम्रो आधार’ नामको सहकारी पनि चलाएका छन् ।
विगतका दिन सम्झदै कुन्दा भन्छिन्, ‘श्रीमान् एक्कासि बिरामी परेर अस्पताल पु¥याएको १५ दिनमा बित्नुभयो, उहाँको मृत्यु हुँदा छोरी मेधा साढे दुई वर्ष र छोरा अजित १८ महिनाको थियो ।’ श्रीमान्को मृत्युपछि परिवारको जिम्मेवारी उनको काँधमा आइलाग्यो । ‘जागिर छोडूँ छोराछोरी कसरी हुर्काउने, जागिर खाउँ बच्चालाई कसले हेरिदिने,’ उनी भन्छिन्, ‘त्यतिखेर मलाई जागिर ‘टोक्नु न बोक्नु’ भएको थियो, आफ्नो जवान छोरा गुमाउनुपर्दा सासुआमाको अवस्था निकै नाजुक थियो, उहाँ बच्चा हेरिदिने स्थितिमा हुनुहुन्थेन ।’ श्रीमान्को मृत्यु हुँदा उनले जागिर खाएको १३ वर्ष भएको थियो ।  कुन्दाले छोराछोरीलाई माइतमा राखिन् । श्रीमान् बितेको २० दिनदेखि उनी अफिस जान थालिन् । भन्छिन्, ‘जसरी भए पनि पेन्सन पकाउनुथ्यो, छोराछोरीलाई पढाउनुथ्यो, काम नगरी सुखै थिएन ।’
सहायकको रूपमा जागिर सुरु गरेकी उनी शाखा म्यानेजरको पदसम्म पुगिन् । अहिले उनी रिटायर्ड भएको आठ वर्ष भइसक्यो । ‘अर्थविना परिवारमा पातै हल्लिँदैन भनेर बुझेको थिएँ, त्यसैले काम गरेँ, दुःख गरेँ,’ उनी भन्छिन् ।
काम गरे मात्र छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने आफूले बुझेको उनी बताउँछिन् । त्यसैले शुक्रवारको आधी बिदा र अन्य बिदाको समय उनी सहकारी संस्थालाई दिन्थिन् । ‘आमा बलियो भए मात्रै उनका सन्तान जस्तोसुकै समस्यासँग जुध्न सक्छन्,’ उनी भन्छिन्, ‘छोराछोरीलाई शिक्षा दिन पाए बाँकी कुरा उनीहरूले जीवनमा आफैँले हासिल गर्न सक्छन् ।’
‘म एक वर्षकी हुँदा बुबा बित्नुभएको थियो, मलाई पनि आमाले एक्लै हुर्काउनुभएको हो,’ कुन्दा थप्छिन्, ‘मलाई हुर्काउँदा आमाले भोग्नुभएका दुःखलाई मैले धेरै नजिकबाट नियालेकी छु, समाजसँग कसरी जुध्ने, दालभात जुटाउन कसरी के गर्ने ? यी कुरा मैले आमाबाट सिकेँ ।’
कुन्दाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । भन्छिन्, ‘छोराछोरीको हेरविचारसँगै अफिस सकेपछि रातिको सिफ्टमा त्रिचन्द्र कलेजमा गएर पढ्थेँ, घर फर्कंदा लगभग नौ बज्थ्यो, बिस्तारै छोराछोरी हुर्कंदै गए,  दुःखका दिन पार हुँदै गए ।’ उनका छोराछोरी हुर्किसके । ‘छोरीले दुई वर्षअघि मात्रै बीबीए सकिन्, छोरा अहिले इन्जिनियरिङ कोर्स गर्दैछ,’ उनी भन्छिन्, ‘तर, यतिलाई मात्र म उनीहरूको सफलता मान्दिनँ, शिक्षा क्षेत्रमा उनीहरू केही हदसम्म सफल भए, तर समाजसँग उनीहरूले जुध्न अझै बाँकी छ ।’

 

प्रकाशित: १३ असार २०७४ ०९:२४ मंगलबार

नागरिक परिवार