बुधबार उनी दङ्ग थिए। अनुहारमा मुस्कान थियो। उनको मुहारमा दुई वर्षपछि पहिलो पटक यस्तो मुस्कान फैलँदै थियो। दुई वर्षअघिको विनासकारी भूकम्पले ढलेको उनको घर अझै उठ्न सकेको छैन। टहराको बासमै तेस्रो मनसुन काट्न लागेका रामेछाप मन्थलीका नवराज काफ्लेको मुहारमा मुस्कान भरिदिएको थियो– ‘सिरियल नम्बर–१००१२’ ले।
‘भूकम्पले घर लुट्यो, भगवानको कृपाले परिवारका सदस्यलाई केही भएन,’ उनले भने, ‘ढिलै भए पनि भाग्यशाली चिट्ठामार्फत ट्याक्सी नम्बर पाइयो, खुसी छु।’
बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा जब उनले आफ्नो हातको ‘सिरियल नम्बर’ घोषणा भएको सुने, एकपटक त बुरुक्कै उफ्रिए। उनको मुहारमा खुसी ल्याउने यो ‘सिरियल नम्बर’ले काफ्लेलाई दिलाउँदै थियो एउटा ट्याक्सी नम्बर। त्यसैका आधारमा अब उनी ट्याक्सी चलाउन पाउनेछन्।
‘गरिबी देखेर नै भाग्यशाली चिट्ठा परेको होला,’ काफ्लेले भने, ‘घर भत्किएर असरल्ल अवस्थामा छ, चिट्ठा त पर्यो अब ट्याक्सी कसरी किन्नु हो खोइ ?’ उनले तीन महिनाभित्र घर बनाएर ट्याक्सी गुडाउने योजना बुनेका छन्। ‘ट्याक्सी नम्बर त पाइने भइयो,’ उनले भने, ‘ऋण गरेर भए पनि ट्याक्सी किनेर गुजारा चलाउने टुंगोमा पुगेको छु।’
ट्याक्सी नम्बर पाउने भएपछि काफ्ले जस्तै काभ्रेका ४३ वर्षीय मेकबहादुर श्रेष्ठ पनि उस्तै खुसी देखिन्थे। ‘भूकम्पले घर लुट्यो, भगवानको कृपाले परिवारका सदस्यलाई केही भएन,’ उनले भने, ‘ढिलै भए पनि भाग्यशाली चिट्ठामार्फत ट्याक्सी नम्बर पाइयो, खुसी छु।’
मेकबहादुर भूकम्पले भत्काएको घरको जग हाल्दैछन्। ‘चिट्ठा त प¥यो अब कसरी ट्याक्सी किन्ने भनेर घरपरिवार र इस्टमित्रसँग सरसल्लाहमा जुटेको छु,’ उनले भने, ‘आफैसँग ट्याक्सी किन्ने पैसा त छैन, अब बैंकसँग ऋण गरेरै भए पनि किन्ने योजना बनाएको छु।’
नवराज र मेकबहादुर जस्तै भूकम्प अतिप्रभावित १४ जिल्लाका १५ सय भूकम्पपीडितलाई सरकारले ट्याक्सी नम्बर उपलब्ध गराए पछि उनीहरूमा खुसी छाएको छ।
सरकारले बुधबार नुवाकोट, काभ्रे र रामेछापका चार सय ९१ जना भूकम्पपीडितलाई नम्बर प्लेट वितरण गरेको हो । यसैगरी बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५ सय १३ पीडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिएको छ।
शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ४ सय ९६ वटा ट्याक्सी नम्बर गोलाप्रथाबाट वितरण गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी बताए।
१ हजार ५ सय जनाको कोटामा १ लाख ४९ हजार ५ सय भूकम्पपीडितले आवेदन दिएका थिए । विभागका अनुसार १ सय जनामा १ जनालाई गोलाप्रथाबाट ट्याक्सी पर्न गएको छ।
गाउँमा कसरी चलाउनु ?
चिट्ठामार्फत ट्याक्सी नम्बर पाएका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले महानगरभित्र ट्याक्सी चलाउन रोक लगाएको निर्णयले भने दुःखी बनाएको छ।
‘सरकारले भूकम्पपीडितका लागि उपत्यकामा चल्ने गरी ट्याक्सी नम्बर वितरण ग¥यो, महानगरपालिकाले सम्बन्धित जिल्लामा नै चलाउनुपर्ने निर्णय गरेको छ,’ काफ्लेले भने, ‘गाउँघरको ढुंगा माटोमा कसरी ट्याक्सी गुडाउनु ?’ उनले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताए।
कहिले पाइन्छ नम्बर प्लेट ?
यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सीको नम्बर प्लेट असार ११ गतेदेखि नै सुुरु गर्ने जनाएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले आइतबारदेखि नै भूकम्पपीडितलाई नम्बर उपलब्ध गराउने बताए। ‘नम्बर प्लेट पाएका भूकम्पपीडितले नयाँ खरिद गरेर यातायात कार्यालयमा दर्ता गराउन आउनुपर्छ,’ उनले भने, ‘नयाँ ट्याक्सी किनेको कागजातका साथमा भूकम्पपीडितले निवेदनसमेत साथमा लिएर आउनुपर्छ ।’ भूकम्पपीडितले नयाँ ट्याक्सीमा प्रिन्टर सहितको बिलिङ मिटर जडान गरेर ल्याउनुपर्छ । नम्बर प्लेट यातायात व्यवस्था कार्यालय साना–ठूला कार्यालय एकान्तकुनाबाट हुनेछ ।
यस्ता छन् ट्याक्सी
सवारी बिक्रेताले भूकम्पप्रभावितका लागि विभिन्न ब्रान्डका ट्याक्सी बजारमा ल्याएका छन् । सुजुकीले अल्टो, टाटाले इन्डिकालगायत ट्याक्सी बजारमा ल्याएका छन् । सिजी मोटोकर्पका ‘एसिस्टेन्स म्यानेजर’ रोहित कंसाकारले सुजुकी अल्टो ट्याक्सी १४ लाख ९९ हजार पाइने बताए ।
सिप्रदी ट्रेडिङका सेल्स अफिसर रविन श्रेष्ठले टाटा इन्डिकालाई २० लाख ९५ हजार रूपैयाँमा पर्ने जानकारी दिए । उनका अनुसार व्यक्तिगत खरिदमा ५० हजार र सामूहिक खरिदमा १ लाख रूपैयाँसम्म छुटको व्यवस्था रहेको जानकारी दिए ।
कुन जिल्लाका कतिले पाए ?
काभ्रेपलाञ्चोक २०१
रामेछाप १६५
नुवाकोट १२५
दोलखा २१४
सिन्धुली ४६
सिन्धुपाल्चोक २५३
काठमाडौं ९५
ललितपुर ७२
भक्तपुर ४३
मकवानपुर ३१
धादिङ ११७
ओखलढुङगा ३०
गोरखा ७८
रसुवा ३०
प्रकाशित: ९ असार २०७४ ०६:१७ शुक्रबार