अन्य

महिला आत्मसुरक्षा अभियन्ता

उनलाई त्यत्तिबेला खुसी लाग्छ, जब दिदीबहिनीलाई दुर्व्यवहार गर्न खोजेको बेला उम्कने उपाय सिकाउने मौका पाउँछन्। त्यसैले त समय मिलेसम्म उनी विभिन्न ठाउँ जान्छन् र सकेसम्म धेरैलाई यस्तो कला सिकाउँछन्। बल, बुद्धि र विवेक लगाएर यौनजन्य हिंसाको सिकारबाट जोगिने ज्ञान बाँडिरहेका हुन्छन्। उनी हुन्–महिलालाई आत्मसुरक्षा कला सिकाउने गिरीबहादुर सुनार।

पेसाले उनी हुन्, पुर्नवास विज्ञ। कार्यालय हो, काठमाडौं आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिरहेका सुनारसँग खेलाडीको परिचय पनि छ।

पेसाले उनी हुन्, पुर्नवास विज्ञ। कार्यालय हो, काठमाडौं आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिरहेका सुनारसँग खेलाडीको परिचय पनि छ। तेक्वान्दो खेलाडी सुनार एक दशकदेखि महिलामाथि हुने यौनजन्य हिंसाविरुद्ध कसरी लड्ने भनेर महिलालाई मानसिक र व्यवहारिक सीप सिकाउँदै आएका छन्।

लाहुरे परिवारका सुनारका बुबा र हजुरबुबा पूर्व भारतीय सेना हुन्। आर्थिक हिसाबमा सम्पन्न भएकाले उनको पुर्खाले न सुन बनाउने काम गरे, न त फलाम पिट्ने नै। मगर बस्तीको सुनार परिवारले सामाजिक अपहेलना भने सहिरह्यो। उनको गाउँ बाग्लुङ बिहुँमा अझै छुवाछुत प्रथा छ।

कसरी छुवाछुत हटाउन सकिन्छ? उनको दिमागमा प्रश्न उब्जिरहन्थ्यो। यसैले उनी एसएलसीपछि बाग्लुङबाट म्याग्दी पुगेर तेक्वान्दो सिक्न थाले। तेक्वान्दो सिक्ने, संगठन बनाउने, शिक्षित बन्ने र छुवाछुतविरुद्ध लड्ने सपना थियो सुनारसँग। शारीरिक रूपमा पनि तयार रहने लक्ष्य थियो उनमा। त्यसबेला उनी १७ वर्षका थिए। यो २०४९ सालको कुरा हो।

तेक्वान्दो सिक्दै गर्दा ओशो दर्शनबाट प्रभावित भए उनी। ओशो सन्यासी बनेपछि सुनारको योजना परिवर्तन भयो। हत्या हिंसा गलत भएको ज्ञान ओशोबाट प्राप्त गरे पनि उनी परिवर्तन भए। त्यसपछि क्लब र विद्यालयमा मार्सल आर्ट सिकाउन थाले।

खेलसँगै अध्ययनलाई अगाडि बढाइरहेका सुनारको प्राथमिकता अध्ययनमै थियो। उनीसँगैका साथी तेक्वान्दोबाट राष्ट्रियस्तरमा छाए। ‘साथीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर देशलाई योगदान दिइरहँदा मचाँही कसरी राष्ट्रलाई योगदान दिने भनेर सोच्थेँ,’ सुनार भन्छन्। उनलाई परिवारका सदस्यले पनि राष्ट्रका लागि योगदान गर्न प्रोत्साहन गर्थे।

अध्ययनका लागि काठमाडौं आएपछि सञ्चार माध्यममा दिनहुँ महिला बलात्कारका समाचार देख्न थाले। यस्ता समाचारले उनलाई सोचमग्न बनायो। ‘महिला बलात्कारको समाचार देख्दा भित्रैदेखि पोलेर आउँथ्यो,’ उनले भने, ‘के अभियान चलाउँदा घटना न्यूनीकरण हुन्छ भनेर सोचमग्न हुन्थेँ।’

यौनजन्य दुर्व्यहारबाट कसरी उम्कन सकिन्छ भनेर धेरै अनुसन्धान गरे उनले। अनुसन्धानले सुनार आफैंसँग भएको खेल नै यसको बलियो माध्यम हुने पत्ता लगाए। बन्द कोठामा रहेको मार्सल आर्टलाई फरक ढंगबाट बाहिर निकालेर महिला आत्मसुरक्षा अभियान चलाउने योजना बनाए। सोही योजनानुसार अहिले उनी यौनजन्य हिंसाबाट बल, बुद्धि र विवेक लगाएर कसरी उम्कनेबारे ज्ञान बाँडिरहेका छन्। सुनारले यसरी ज्ञान बाँड्न थालेको दशक पुगिसकेको छ। दर्जनौं ठाउँमा आत्मसुरक्षा सम्बन्धी ज्ञान दिएका छन्।

उनी बलात्कार गर्न खोजेको अवस्थाबाट कसरी उम्कने भनेर सिकाउँछन्। बलात्कारको सिकार हुनबाट कसरी जोगिने? कसरी समाए के गर्ने? अन्तिम अवस्थामा के गर्ने? लगायतका विषयलाई समेटेर उनले पाठ्यक्रम नै बनाएका छन्। त्यसैलाई पछ्याउँदै उनी कक्षा दिन्छन्। उनको कक्षामा मानसिक र शारीरिक रूपमा तयार रहेर कसरी आत्मसुरक्षा गर्ने सिकाइन्छ।

व्यवहारिक ज्ञान दिइए पनि महिलाले प्रतिकार गर्न भने सकिरहेका हुँदैनन्। यसको मूल समस्या नै मानसिक रूपमा तयार नरहनु हो। यसैलाई अध्ययन गरेर सुनारले पनि पहिलो चरणमा मानसिक तयार रहनुपर्ने निष्कर्ष निकालेका छन्।

शरीर यन्त्र र दिमाग चालक भएको उनको बुझाई छ। ‘दिमागलाई तयार पारेको खण्डमा मात्रै टेक्निक प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘दिमाग तयार पारेर टेक्निक प्रयोग गरेको खण्डमा यौन दुर्व्यहारबाट उम्कन गाह्रो हुँदैन।’

आत्मसुरक्षा तालिम सबैले लिनुपर्ने उनी बताउँछन्। ‘यो तालिम सबैले लिन सकेको खण्डमा बलात्कार घट्छ,’ उनले भने, ‘विद्यालय तहमै यस्तो शिक्षा समावेश गर्नु आवश्यक छ।’

एमफिलपछि पिएचडीको तयारीमा रहेका सुनार महिला आत्मसुरक्षा तालिमलाई कसरी हुन्छ देशभर फैलाउन सकिन्छ भन्ने अभियानमा छन्। उनले धेरैलाई तालिम दिए। तर, प्रशिक्षक भने बनाउन सकेका छैनन्। ‘तालिम धेरैलाई दिए पनि प्रशिक्षक तयार गर्ने तालिम भने सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘तालिम लिएका महिलाले तालिमपछि व्यवहारमा उतारेका छन्।’ सिकेको टेक्निक प्रयोग गरेर उम्कन सफल भए भनेर फोन आउने गरेको उनी बताउँछन्। 

प्रत्येक जिल्लामा १० जना प्रशिक्षक बनाउने सपना उनीसँग छ। तर, यो अभियानमा एक्लो छन् सुनार। यसैले त उनी संघसंस्था तथा सरकारले पनि सहयोग गरिदिए हुन्थ्यो भन्ने पक्षमा छन्। ‘सबै महिलाले यो तालिम लिएको खण्डमा बल, बुद्धि र विवेक लगाएर यौनजन्य हिंसाको सिकार हुनबाट जोगिन सक्छन्,’ उनी भन्छन्।

प्रकाशित: २ असार २०७४ ०६:५६ शुक्रबार

महिला आत्मसुरक्षा अभियन्ता